पनामा पेपर्स खुलासा–२ सार्वजनिक, अवैध धन राख्नेमा राष्ट्रपतिदेखि फुटबल खेलाडीसम्म


काठमाडौं । करछली गरी अवैध धन लुकाउनेमा अर्जेन्टिनाका राष्ट्रपतिदेखि फुटबल खेलाडी मेसीसम्म रहेको पाइएको छ । खोज–पत्रकारहरूको अन्तर्राष्ट्रिय समूह कन्र्साेटियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट (आईसीआईजे)ले बुधबार राति सार्वजनिक गरेको पनामा पेपर्स–२ ले अवैध धन लुकाउने खेलाडीदेखि नेतासम्मको विवरण सार्वजनिक गरेको हो ।

पहिलो विवरण (पनामा पेपर्स) खुलासा भएको दुई वर्षपछि आईसीआईजेले बुधबार राति दोस्रो विवरण सार्वजनिक गरेको हो । मोसेक फोन्सेका नामको बिचौलिया ल फर्मबाट आईसीआईजेले पाएको विवरणअनुसार चर्चित फुटबल खेलाडी लियोनल मेसी, अर्जेन्टिनाका राष्ट्रपति मउरिसियो मार्सी र कुवेतका उच्च पदस्थ अधिकारीलगायत अवैध सम्पत्ति सञ्चय र करछली प्रकरणमा जोडिएका छन् ।

मेसीको नाम पहिलो पनामा पेपर्समा समेत सार्वजनिक भएको थियो । त्यतिबेला उनले मेघा स्टार इन्टरप्राइजेज ‘पुरै निष्क्रिय’ रहेको दाबी गरेका थिए । तर, कम्पनी सक्रिय राखेर फेरि करछली गरेको थप विवरण बुधबार सार्वजनिक भएको हो । ‘मोसेक फोन्सेकाको आन्तरिक इमेलको अभिलेखले मेसीको दाबीमाथि प्रश्न खडा गरिदिएको छ,’ आईसीआईजेले भनेको छ ।

आईसीआईजेले विश्वभरका सयभन्दा बढी सञ्चार माध्यमसँग मिलेर सार्वजनिक गरेको ‘पनामा पेपर्स–२’ मा चर्चित फुटबल खेलाडी मेसी र उनका पिता गोर्खे होरासियो मेसीले पनि ट्याक्स हेभनमा अवैध सम्पत्ति राखेका छन् । उनीहरूले पनामामा खोलिएका अफसोर कम्पनीहरूमार्फत अर्बौं डलर करछली गरेको खुलासा भएको हो ।

करछली गर्न सुरक्षित मुलुक मानिने पनामामा लियोनल मेसी र उनका पिताले ‘मेघा स्टार इन्टरप्राइजेज’ नामक गोप्य कम्पनीमार्फत कारोबार गरेर कर छलेको भेटिएको छ । करछलीको अघिल्लो खुलासा सार्वजनिक भएपछि मेसीलाई स्पेनिस कोर्टले २१ महिना जेल सजाय र २२ लाख अमेरिकी डलर (करिब २४ करोड रुपैयाँ) जरिबाना गर्ने सजाय सुनाएको थियो ।

तर, बीबीसीका अनुसार ‘स्पेनको कानुनअनुसार २ वर्षभन्दा कम सजाय भएको कसुरमा फुटबल खेलाडीले जेल बस्नुनपर्ने व्यवस्थाका कारण’ उनले उन्मुक्ति पाएका थिए ।

पनामा पेपर्स–२ ले अर्जेन्टिनाका राष्ट्रपति मउरिसियो म्यार्कीलाई पनि छोएको छ । त्यसमा आफ्नो स्वामित्वमा रहेको बाहमासस्थित ‘फ्लेग ट्रेडिङ कम्पनी’ स्थापना भएको मिति परिवर्तन गरेर चोखिन खोजेको पनामास्थित मोसेक फोन्सेकाको केन्द्र्रीय कार्यालय र उरुग्वेस्थित शाखाबीच सन् २०१६ सेप्टेम्बर र अक्टोबरमा भएको इमेल कुराकानीले पुष्टि गरेको आईसीआईजेले जनाएको छ ।

बाहमासमा रहेको ‘फ्लेग ट्रेडिङ कम्पनी’ र पनामाको मोसेक फोन्सेकाबीच सम्बन्ध भएको तथ्य लुकाउन पहिल्यैको मिति राखेर कागजात बनाउने मोसेक फोन्सेका कम्पनीका कर्मचारीले प्रयास गरेका थिए ।

मलेसिया, कुवेत र रुसका राजनीतिज्ञको नामसमेत पनामा पेपर्स–२ ले सार्वजनिक गरेको छ । विवरणअनुसार मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाकका भाइ मोहम्मद निजाम विन अब्दुल रजाकले ब्रिटिस भर्जिन आइल्यान्ड्समा कम्पनी दर्ता गरेका थिए ।

रुसका धनाढ्य तथा राजनीतिकर्मी विटाली मल्किनले पनि स्रोत नखुलेको अर्बौं डलर विदेशमा लगानी गरेको भेटिएको छ । काजकस्थानका राष्ट्रपति नरसुल्तान नजरबयभकी छोरी डरिगा नजरबयभ पनि ब्रिटिस भर्जिन आइल्यान्ड्सस्थित कम्पनीमा लगानीकर्ता देखिएकी छन् ।

इभर ब्राइट युनिभर्सल होल्डिङ्स लिमिटेड कम्पनीको नाममा अमेरिकामा समेत उनको सम्पत्ति छ । सन् २०१७ मेमा भएको संसदीय निर्वाचनबाट सत्ताच्यूत भएका रजाकले आफ्नो कार्यकालमा राज्यको लगानी कोषबाट अर्बांै डलर (खर्ब रुपैयाँ) हिनामिना गरेका थिए ।

यसअघि दुई वर्षपहिले पहिलोपटक पानामा पेपर सार्वजनिक भएको थियो । विश्वका चर्चित व्यक्ति र तिनका कम्पनीले अवैध सम्पत्ति लुकाउन र कर छल्न कसरी सुरक्षित स्थान (ट्याक्स हेभन) रोजेका छन् भन्ने विवरण त्यसमा समेटिएको थियो । जसमा विश्वका चर्चित व्यक्ति परेका थिए । दुई वर्षअघिको पनामा पेपर्समा २० नेपालीको समेत नाम सार्वजनिक भएको थियो । यसबारे नेपाल सरकारले अहिलेसम्म कुनै छानबिन तथा कारबाही अघि बढाएको छैन ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: