नेपाली–चीनबीच आठ परियोजनामा सम्झौता,के–के भए सम्झौता ?


काठमाडौं । नेपाल र चीनका लगानीकर्ताबीच आठ परियोजनामा सम्झौता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा दुई देशका सरकारी र निजी कम्पनीबीच ऊर्जा, जलस्रोत, सिमेन्ट उद्योग तथा फलफूल उद्योग स्थापना गर्ने सम्झौता भएको हो ।
चीनको बेइजिङस्थित नेपाली दूतावासमा बुधबार नेपाली लगानीकर्ता र चिनियाँ लगानीकर्ताबीच द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

परराष्ट्रका अनुसार १६४ मेगावाट क्षमताको नेपालको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माणका लागि हाइड्रो सोलुसनका प्रमुख ज्ञानेन्द्रलाल प्रधान र चीनको युनान सिन्हवा वाटर कन्जरभेन्सी एन्ड हाइड्रोपावर इन्भेस्टमेन्ट कम्पनीबीच संयुक्त लगानीमा आयोजना बनाउने सम्झौता भएको हो ।

यस्तै, दैनिक तीन हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने हुवासिन सिमेन्ट उद्योग स्थापनाका लागि लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र हुवासिन सिमेन्टका तर्फबाट उपाध्यक्ष सू गाङले हस्ताक्षर गरेका छन् । धादिङमा रहेको चुनढुंगा खानी प्रयोग गरेर सिमेन्ट उद्योग स्थापना गर्ने यो परियोजनामा हुवासिनले १४ अर्ब ४० करोड लगानी गर्नेछ । परियोजनाले एक हजार जनालाई रोजगारी दिने बताइएको छ ।

यस्तै, पूर्वी तराईको सिँचाइ प्रणालीलाई व्यवस्थित गर्न निर्माण गर्न लागिएको बिरिङ, कमला, कन्काई नदी सिँचाइ परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारीको सहयोगसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरे र चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीका डेपुटी जनरल म्यानेजर लिऊ दोङग्युआनबीच सो समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
नेपाल पश्मिना उद्योग संघ र ओबोर परियोजनाअन्तर्गत अन्तर्राष्ट्रिय व्यापार प्लेटफर्मबीच दुई लाखदेखि पाँच लाख थान पश्मिना खरिदका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । संघका अध्यक्ष दुर्गाविक्रम थापा र चिनियाँ ओबोर अन्तर्राष्ट्रिय व्यापार परियोजनाका अध्यक्ष सु याबीच समझदारीपत्रमा हस्ताक्षर भएको विज्ञप्तिमा उल्लेख छ ।

के–के भए सम्झौता ?
फलफूल उद्योग स्थापनाको समझदारी
ईपीसीएफ मोडलमा निर्माण समझदारी
कालिगण्डकी गर्ज जलविद्युत् परियोजना समझदारी
पश्मिना खरिदका लागि समझदारीपत्रमा हस्ताक्षर
मस्र्याङ्दी जलविद्युत् आयोजना निर्माणमा सम्झौता
त्रिशूली गल्छी परियोजना निर्माण सम्झौता
हुवासिन सिमेन्ट उद्योग स्थापनाको सम्झौता
सिँचाइ परियोजना प्रतिवेदनसम्बन्धी समझदारी

यसैगरी, फलफूल उद्योग स्थापनाका लागि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र चिनियाँ लगानीकर्ताबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । यो परियोजनामा ४६ मिलियन डलर लगानी गर्ने बताइएको छ ।
अर्को सम्झौतामा ४० दशमलव २७ मेगावाट क्षमताको सिउरी न्यादी जलविद्युत् आयोजना निर्माणका लागि स्वतन्त्र ऊर्जा उत्पादक संस्था इपानका अध्यक्ष शैलेन्द्र गुरागाईं र चाइना नेसनल इलेक्ट्रिक इन्जिनियरिङ कम्पनीका प्रतिनिधिबीच ईपीसीएफ मोडलमा आयोजना निर्माण गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

६०० मेगावाट क्षमताको मस्र्याङ्दी क्यास्केड जलविद्युत् परियोजना निर्माणका लागि फ्रेमवर्क एग्रिमेन्ट भएको छ । यसैगरी, बुटवल पावर कम्पनीका अध्यक्ष पद्म ज्योति र सिचुवान इन्भेस्टमेन्ट ग्रुप, सिङचेङ इन्टरनेसनल इन्भेस्टमेन्ट कम्पनी लिमिटेड र क्यूवाइईसीबीच सम्झौता भयो । यस्तै, ७५ मेगावाट क्षमताको त्रिशूली गल्छी परियोजना निर्माणका लागि सिद्धकाली पावर लिमिटेडका अध्यक्ष गुरुप्रसाद न्यौपाने र दोङ्फाङ इलेक्ट्रिक इन्टरनेसनल कम्पनीबीच सम्झौता भएको छ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: