आध्यात्मिक, भौतिक र सामाजिक प्रगतिको लागि योग अपरिहार्य छ : अध्यक्ष ताैजले

  • म योग कार्यक्रममा यसरी जोडिएको थिएँ ..............

  • ग्रुवेन ताैजले

    ग्रुवेन तौजले भर्खर मात्रै चर्चित योगगुरु रामदेव स्वामीको गुरु आशिर्वादमा नेपालको ३ नम्बर प्रदेशको निम्ति अध्यक्ष (प्रभारी)को जिम्मेवारी प्राप्त गर्नुुभएको छ । रोटरी क्लब, वृद्धाश्रम लगायतका विभिन्न सामाजिक गतिविधिहरुमा समेत संलग्न रहनुभएका ऊहाँ वि.सं २०३१ मा बनेपामा जन्मिनुभएको हो । हाल ऊहाँ काभ्रे उद्योग वाणिज्य संघको कोषाध्यक्ष समेत हुनुहुन्छ । सुगम इन्भेष्टमेन्ट कम्पनी, कपडा व्यवसाय, रिसोर्ट लगायतका क्षेत्रमा लगानी विस्तार गर्नुभएका तौजले स्वस्थ समाज निर्माणको निम्ति सबैमा चेतना जागृत हुनुपर्नेमा जोड दिनुहुन्छ ।
    आफू ५ बर्षको उमेरको छँदा नै बुबाको आफ्नै गाडीबाट दुर्घटना भएको कारण मृत्यु भएको कारण तौजले निकै सङ्घर्षको साथ आमाको काखमा हुर्कनुभयो । सानो छँदा बनेपाकै प्राथमिक विद्यालयबाट ५ कक्षा सम्मको अध्ययन गर्नुभयो तौजले ललितपुरको पूर्णचण्डी स्कुलबाट ६ देखि १० सम्मको अध्ययन गर्नुभयो । ऊहाँले २०४५ मा एसएलसी पूरा गरेपश्चात् भारतको पुन्हा क्षेत्रको एक क्रिस्चियन कलेजबाट प्रविणता प्रमाणपत्र तहको अध्ययन गर्नुभयो । माथिल्लो तहको शिक्षाको लागि ऊहाँलाई अमेरिकामा रहनुभएकी दिदीले निकै आग्रह गरेपनि घरमा आमा एक्लै हुनुभएको र आफूले आमालाई साथ दिनुपर्ने मान्यता बमोजिम आमा सँग नै बसेर यहीँ नै जे गर्न सकिन्छ, त्यही गरेर जीवन बिताउने ऊहाँले निधो गर्नुभयो ।
    पारिवारिक व्यवसायको रुपमा परम्परा देखि नै कपडा व्यवसाय चल्दै आएको थियो । यद्यपि बुबाको मृत्यु भएपश्चात् भने त्यो व्यवसाय रोकिएको थियो । पछि ऊहाँ २० बर्षको हुँदा त्यही कपडा व्यवसायलाई नै निरन्तरता दिने सोच बन्यो । समयक्रम अनुसार व्यवसायले राम्रो गति लिँदै गयो । बाल्यकालमा आफूले जुन किसिमको पारिवारिक वातावरण प्राप्त गर्नुपर्ने थियो, परिस्थितिवश ऊहाँले त्यो वातावरण प्राप्त गर्न सक्नुभएन । बाल्यावस्थामा एक किसिमले अभावको महसुस गर्नुपरेपनि भने आफन्त र दिदीबहिनीहरुको सहयोगले ऊहाँलाई अघी बढ्न निकै सहयोग मिल्यो । अहिले ऊहाँ आफू जुन ठाऊँमा हुनुहुन्छ, त्यसलाई ऊहाँले पितृ र आमाको आशिर्वादको रुपमा समेत लिनुहुन्छ ।

    क्रिस्चियन कलेजमा अध्ययन गर्दाको अनुभव ः
    आफूले भारतको क्रिस्चियन कलेजबाट अध्ययन गरेपनि कलेजमा क्रिस्चियन धर्मको बारेमा भ्रम उत्पन्न गरिने किसिमले केही कुरा पनि उठाइएको थिएन । तर आफूले अध्ययन गरेको कलेजमा त्यहाँको संस्कार बमोजिम प्राथना भने गराइन्थ्यो, यसले आफूलाई अध्ययन र जीवनमा सकारात्मक भावना नै प्रवाहित गर्दथ्यो । साथै भगवान कुनै जाति, धर्ममा सीमित नहुने समेत बताउनुहुन्छ तौजले । इश्वर, आत्मा वा भगवान र उनका स्वरुप विष्णु, जिसस, अहम्मद जे भनेपनि ऊहाँ परमात्मा नै हुनुहुन्छ । ऊहाँसँग साक्षात्कार गर्ने माध्यम नै योग, ध्यान, साधना, प्रणायाम लगायत नै हुन् । त्यसकारण योग र साधनाको महत्व कुनै धर्मसँग मात्र सीमित रहँदैन ।

    ताैजलेकाे यसरी शुरू भयाे याेग यात्रा ः
    कमजाेर पारिवारिक अार्थिक अवस्थाकाे कारण निकै कम रकम लगानीबाट व्यवसाय अघी बढाउनुभएकाे ताैजलेकाे व्यावसायिक यात्राले राम्रो गति लिँदै गयो । विस्तारै ऊहाँको आर्थिक अवस्था समेत मजबुत हुँदै गयो । त्यस बेला सम्म समाजमा आर्थिक पक्ष सवल हुनसके प्रतिष्ठित हुन सकिने मान्यता स्थापित भएको थियो । तौजले पनि त्यसै मान्यताका साथीहरुको सम्पर्कमा हुनुहुन्थ्यो । पैसा भए रमाइलो गर्न पाइन्छ, अरु भन्दा आफू बलियो बन्न सकिन्छ भन्ने समाजमा हुर्किएका तौजले रमाइलो तर्फ नै लाग्नुभयो । तर केही समयमा नै त्यसको परिणाम भने नकारात्मक आयो । अर्थात ऊहाँको तौल असामान्य रुपमा बढ्न गयो । केही समय पछि नै ऊहाँ सुगरबाट विरामी हुनुभयो ।

    योग प्रति  आकर्षणकाे मुख्य कारण नै सुगरकाे सङ्क्रमण ः
    त्रिवि शिक्षण अस्पतालमा डा. शशि सर्माले तौजलेको उपचार गर्नुभयो । तर केही पहिले मात्र आफ्नो विवाह भई बालबच्चाहरु साना रहेका तथा घरको समेत चिन्ताले ऊहाँलाई अझ बढी सताउँथ्यो । नियमित औषधी सेवन गर्नुपथ्र्यो । ठीक त्यही परिस्थितिमा नै भारतबाट प्रशारण हुने आस्था च्यानल मार्फत गुरु रामदेवले योगासनको बारेमा ज्ञान बाँडिरहनुभएको थियो । सुगरको लागि समेत उपयुक्त आसनको बारेमा गुरुले च्यानलबाट बताएपछि तौजलेलाई निकै नै खुसी मिल्यो । समस्यासँगै विकल्प पनि हुँदो रहेछ भन्ने जानकारी ऊहाँलाई प्राप्त भयो । त्यसैकारण गुरुले सिकाए बमोजिम संयमित रुपले योगासन गर्न शुरु गर्नुभयो । साथै केही समयको अन्तरालमा सुगर कम हुँदै गएको अनुभुति समेत हुन थाल्यो । त्यसबेला ऊहाँले बनेपाको चण्डेश्वरी जङ्गल क्षेत्रमा गई विहानै पसिना निस्कने गरी ढुङ्गामा बसेर योग गर्नुहुन्थ्यो । केही समयमा अर्को चमत्कार भयो, ऊहाँको शरीरको तौल समेत करिब २० किलो घट्न गयो । केही समय पछि भने बनेपा क्षेत्रमा नै एकजना गुरुबाट योग कार्यक्रम सञ्चालन हुनभयो । त्यससँगै त्यही योग केन्द्रमा जोडिएर ऊहाँले आफूलाई अघी बढाउनुभयो । अब भने योगको बारेमा अलि गहिराइमा पुग्ने र बुझ्ने अवसर पनि मिल्यो । ऊहाँले योगलाई अझ नजिकबाट बुझ्ने अवसर पाउनुभयो । यसै कार्यमा ऊहाँ निरन्तर लागिरहनुभयो । समाज प्रतिको दायित्व बोध हुँदै गयो । व्यावसायिक र सामाजिक गतिविधिहरुमा ऊहाँ एकैसाथ अघी बढ्नुभयो ।

    योग आफूले मात्रै सिकेर हुँदोरहेनछ, अरुको लागि पनि काम गर्नुपर्दोरहेछ भन्ने चेतना समेत खुल्न जागृत हुन थालेसँगै ऊहाँ समाज रुपान्तरण र सकारात्मक सोच विकासको निम्ति अझ गहन तवरले अध्ययन गर्न र आफूले सिकेको सीप समाजका अन्य व्यक्तिलाई बाँड्ने कार्यमा समेत ऊहाँ संलग्न हुनुभयो । समयक्रम अनुसार ऊहाँको गुरु रामदेवसँग समेत भेट भयो । त्यससँगै गुरुले अन्य धेरै कुराहरु समेत सिकाउनुभयो । गुरुबाट सिकेका धेरै कुराहरु मध्ये आफूले अरुबाट लिन नभई जे छ अरुलाई दिन तयार हुनुपर्छ भन्ने कुरा मनमा गडेर घच्घच्याइरहन्थ्यो । गुरुले सिकाएको बाटोमा आफू पनि लाग्ने प्रण ऊहाँले गर्नुभयो । तर अहिले सम्म आइपुग्दा भने अरुलाई दिँदा भगवानले आफूलाई स्वतः प्रदान गर्दा रहेछन् भन्ने कुराको अनुभव गर्नुभएको छ ।

    समय व्यवस्थापन र जिम्मेवारी वहन गर्न सिकौं ः
    जहिले पनि विहान दैनिक २ घण्टा नियमित रुपमा योगको लागि समय छुट्याउने हो भने यसबाट आफ्नो जीवनलाई सार्थक बनाउन सकिन्छ । समाजको लागि समेत केही गर्ने चाहना हुने हो भने थप २ घण्टा समय दिनु जरुरी रहन्छ भन्ने कुरा गुरुबाट सिकेसँगै बल्ल मानवजीवनको औचित्यता बारे चेत खुल्यो ।

    अध्यात्म र भौतिक दुवै सफलतालाई सँगै बढाऔंः

    गुरुले अर्को कुरा पनि सिकाउनुभएको छ । त्यो के भने घरपरिवारबाट नटाढिइकन र पैसा र प्रतिष्ठालाई समेत सँगै राखेर आफ्नो जीवनमा रुपान्तरण ल्याउन सकिन्छ, त्यसैकारण आफू जुन क्षेत्रमा भइन्छ, त्यसै क्षेत्रबाट नै आफ्नो जिम्मेवारी निरन्तर रुपमा पूरा गरिरहनुपर्छ । यो कुरा अहिलेको भौतिक दुनियाँको निम्ति समेत निकै लाभदायक हुन सक्छ ।
    साथै आर्थिक पक्ष बलियो नभई अन्य क्षेत्रमा सफलता समेत प्राप्त गर्न सकिँदैन भन्ने कुरा समेत गुरुले सिकाउनुभएको छ । चाणक्य नीतिमा पनि उल्लेख गरिएको छ, ‘सुखसे मूलं धर्म, धर्म से मूलं अर्थ’ अर्थात सुख, धर्म र अर्थ आपसमा सम्बन्धित हुन्छन्, एकबिना अर्काको अस्तित्व पूर्ण हुँदैन । यसकारण अर्थ समेत निकै महत्वपूर्ण रहने र अर्थोपार्जनमा समेत लाग्नुपर्ने सिकाउनुभएको छ ।
    हाम्रो शरीरलाई भौतिक र अध्यात्मिक दुवै उन्नति आवश्यक छ । यी दुवै आपसमा सम्बन्धित छन् ।

    स्वास्थ्यमा ख्याल गरौं ः
    मानवीय जीवनलाई आध्यात्मिक र भौतिक रुपमा स्वस्थ बनाउन र सामाजिक रुपमा जिम्मेवार बन्न हाम्रो स्वास्थ्य समेत निकै महत्वपूर्ण रहन्छ । यसकारण हामी हाम्रो स्वास्थ्यमा विशेष सजग हुनु जरुरी रहन्छ । लसुन, प्याज, अदुवा लगायतका कतिपय वस्तुहरुको उपयोग सम्बन्धमा फरक–फरक दृष्टिकोण पाइन्छ । वास्तवमा यी वस्तुहरुमा बढी मात्रामा पौष्टिक तत्वहरु उपलब्ध रहने भएको कारण विशेष परिस्थितिमा खाने प्रचलन छ तर हाम्रो संस्कारले यी वस्तुहरु किन वा के कारणले नखाने भन्नु भन्दा पनि खान नहुने मात्रै भनेर भ्रम पैदा गरिएको अवस्था छ । वास्तवमा यस्ता वस्तुहरु मानवीय जीवनको लागि औषधीको रुपमा नै प्रयोगमा आउने वस्तुहरु हुन् । तर अब कारण खुलाएर सबै विषयहरुको स्पष्ट व्याख्या हुनु जरुरी छ ।

    योगको महत्व ः
    राष्ट्र र समुदाय प्रतिको आफ्नो दायित्व निर्वाह गर्न र समाजका विकृतिहरुलाई नियन्त्रण गर्न र मानवीय तनावहरुलाई व्यवस्थापन गर्दै आफ्नो लक्ष्य निर्धारणमा सहयोग पु¥याउने योगको विशेष महत्व रहँदै आएको छ । योग, साधना र भक्ति मार्फत आफू मात्र नभई अरुको लागि पनि उल्लेख्य काम गर्न सकिन्छ र समाजमा नयाँ चेतना फैलाउन सकिन्छ भन्ने नै योगको मुख्य उद्धेश्य हो ।

    गुरुबाट सिक्नुपर्ने कुरा ः
    गुरुबाट सच्चा शिष्यले सिक्नुपर्ने महत्वपूर्ण कुरा भनेकै गुुरु हिँडेको बाटोमा आफूलाई हिँडाउने र आफूले सिकेको ज्ञान अरुलाई बाँड्ने भन्ने हुनुपर्छ । हिँड्ने र गुरुले सिकाएका विधिहरुलाई समाजको भलोको निम्ति प्रयोगमा ल्याउने नै महत्वपूर्ण कुरा हो । यसैकारण अहिलेको समयमा जीवनोपयोगी र व्यावहारिक ज्ञानको निकै नै महत्वपूर्ण भूमीका रहन्छ ।
    ‘कर्म गर’ भन्नु नै योगको मुख्य उद्देश्य हो । भागवत गीतामा पनि ‘योग कर्मसो कौशलं’ भनिएको छ । यसै बमोजिम पतञ्जलि योगका प्रणेता गुरु रामदेवले अहिले भारतमा हरिद्वारमा रहँदै आउनुभएका स्वामी रामदेवले मुर्ति पूजामा नभई आफूले पूरा गर्नुपर्ने जिम्मेवारी पूरा गर्न निरन्तर घच्घच्याइरहनुहुन्छ ।

    नेपालमा कसरी अघी बढिरहेको छ पतञ्जलि योग ?
    अहिले करिब ४० हजार भन्दा बढी योग प्रशिक्षकहरु नेपालमा पतञ्जलि योग कार्यक्रम अन्तरगत प्रशिक्षित भइसकेका छन् । करिब ७० जिल्लामा पतञ्जलि योग विस्तार भइसकेको छ भने नेपालमा यो सञ्जाल अझ वृद्धि हुने क्रममा छ । नेपालको ३ नम्बर प्रदेश अन्तरगत रहेका १३ वटै जिल्लामा योग कार्यक्रम विस्तार भइसकेको छ । अन्य दुगर्म क्षेत्रहरुमा पनि संस्थाका गतिविधिहरु बढिरहेका छन् । यसलाई अझ अघी बढाउनको निम्ति ३ नम्बर प्रदेश अन्तरगतका जिल्ला तथा नगर अध्यक्ष र योग क्षेत्रमा निरन्तर लागिरहनुभएका व्यक्तिहरुको विशेष कार्यशाला गोष्ठी राखेर आगामी योजना तय गर्ने योजना बमोजिम ३ नम्बर प्रदेश अन्तरगत आफूमातहत कार्यक्रम आयोजना गर्न लागेको तौजलेले बताउनुभयो । साथै योग कार्यक्रम विस्तार भएका जिल्लाहरुमा विद्यालय मार्फत योग कार्यक्रम सञ्चालन गर्ने योजनामा पतञ्जलि योग समितिले कार्य गर्दै आएको छ ।

    योग किन गर्ने ?
    कुनै पनि मानिस शारीरिक रुपमा स्वस्थ नभई आर्थिक वा सामाजिक कुनै किसिमको पनि उन्नति गर्न सक्षम हुँदैन । आफूले आफूलाई चिन्ने उपयुक्त माध्यमको रुपमा समेत योगलाई लिन सकिन्छ । यसको अलावा योग एक किसिमको स्वास्थ्य विज्ञान पनि हो । कुनै आकस्मिक विरामीलाई उपचारको निम्ति तत्काल एलोपेथिक विधि नै उपयुक्त हुने भएपनि आयुर्वेदिक विज्ञान र प्राकृतिक चिकित्सालाई समेत सँगै लैजानसके हाम्रो जीवनलाई विशेष बनाउन सकिन्छ । यसकारण अहिले योगको महत्व निकै बढेर गएको छ ।

    नेपालका जडिबुटी प्रशोधनको राम्रो सम्भावना बारे ः
    अहिले हरिद्वारमा पुग्ने जडिबुटी मध्ये नेपालबाट जाने हिस्सा समेत निकै ठूलो छ । नेपालबाट भारत पुर्याई आयुर्वेद प्रशोधन कार्य हुँदै आएकोमा अब नेपालमा नै प्लान्ट स्थापना गरी नेपालमा नै प्रशोधन गर्ने योजनामा आफू रहेको स्वामी बालकृष्ण ज्यूले बताउँदै आउनुभएको छ ।

    योग कार्यक्रम विस्तारका चुनौती ः
    युवा वर्गलाई योगमा आकर्षित गर्न अहिले पनि त्यति सहज छैन । अधिकांश मानिसहरु कुनै रोग लागेपछि मात्र योगमा जोडिएका छन् । विरामी भइसकेपछि डाक्टरले योग र फिजियोथेरापी गर्नुपर्छ भन्ने सल्लाह दिएपश्चात् मात्रै मानिसहरु योग तर्फ आकर्षित हुने अवस्थालाई अन्त्य गर्दै हरेक मानिसहरुमा योगको महत्व दर्शाउनुपर्ने आवश्यकता अहिले छ ।

    सधैं रहौं सचेत ः
    विगतमा ४० बर्ष पुगेपछि मात्रै रोगहरुले आक्रमण शुरु गर्छन् भन्ने प्रचलन भएपनि अहिले भने बाहिर स्वस्थ देखिने २०-२५ बर्षका युवाहरु समेत निकै खतरनाक रोगहरुका शिकार भइरहेका छन् । युवावर्गमा जुन ऊर्जा हुनुपर्ने हो, त्यो ऊर्जा र क्षमता छैन । यस्तो अवस्थामा अहिलेका युवाहरुको निम्ति निर्विकल्प साधनाको रुपमा योग कार्यक्रम अत्यावश्यक छ । यसैकारण सबैले योग गरौं, स्वस्थ रहौं, आफ्नो लागि मात्र नभई अरुको लागि पनि केही योगदान गरौं । यो निकै महत्वपूर्ण विषय हो ।

    Comment

    Related News 

    ताजा अपडेट

    © 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

    %d bloggers like this: