प्रदेश ५ को नीति तथा कार्यक्रम पारित


बुटवल । प्रदेश नं ५ को सरकारले ल्याएको नीति तथा कार्यक्रम विहिबार सर्वसम्मत पारित भएको छ।

प्रदेश नं ५ प्रदेशसभामा सभामुख पूर्णबहादुर घर्तीले नीति कार्यक्रम निर्णयार्थ प्रस्तुत गरेका थिए। त्यस्तै प्रदेश नं ५ प्रदेश वित्त व्यवस्थापन विधेयक, २०७५, प्रदेश कर तथा गैरकर राजश्वसम्बन्धी विधेयक, २०७५ पनि सर्वसम्मतिले पारित भएको छ।

दुवै विधेयक र नीति कार्यक्रम पारित भएपछि प्रदेश सरकारलाई बजेट ल्याउने बाटो खुलेको छ। यसअघि मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजनामन्त्री शङ्कर पोखरेलले दुवै विधेयक र नीति कार्यक्रम प्रदेश सभामा पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।

प्रदेश नं ५ प्रदेश कर तथा गैरकर राजश्वसम्बन्धी विधेयक, २०७५ प्रस्तुत गर्दै पोखरेलले धेरैजसो कर स्थानीय तहले उठाउने व्यवस्था संघीय कानूनले गरेकाले प्रदेश सरकारले स्थानीय तहसँग बलियो सम्बन्ध र सहकार्य गर्नुपर्ने बताए।

मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजनामन्त्री पोखरेलले स्रोतको परनिर्भरता स्थानीय तहसँग भएको जानकारी दिँदै समन्वय र सहकार्यबाट समृद्धि हासिल गर्न सकीने बताए। “विगतका नीति कार्यक्रम र बजेट आवधिक थियो तर यस पटक विस्तृत दृष्टिकोणका साथ हामी अघि बढ्दैछौँ।” पोखरेलले भने।

प्रदेश नं ५ मा आगामी असार १ गते बजेट आउँदैछ। यस्तै नियमावली संशोधन मस्यौदा समितिका अध्यक्ष दामाकुमारी शर्माले प्रदेश सभा नियमावली, २०७४ लाई संशोधन गर्न बनेको नियमावली संशोधन मस्यौदा समितिको प्रतिवेदन सभामा प्रस्तुत गरेकी थिइन। रासस

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: