नेपालको रिटेल मार्केटमा नयाँ योजनाको साथ एक्सप्रेस मार्ट, कस्ताे रह्याे एक बर्ष ?

  • किन सञ्चालनमा आयो त एक्सप्रेस मार्ट ?

  • फणिन्द्र पाण्डे प्रमुख कार्यकारी अधिकृत, एक्सप्रेस मार्ट

    १८ बर्ष दुवई, कतार, साउदी, वहराइन लगायतमा बसेर नेपालको निम्ति काम गर्नुपर्छ भन्ने मान्यताले नेपालमा फर्कनुभएका फणिन्द्र पाण्डे हाल अमेरिकाको भिषा त्यागेर नेपालको विकासको निम्ति काम गर्नुपर्छ भन्ने मान्यताले नेपालमा नै फर्किनुभएको हो ।
    लामो समय विभिन्न गल्फ कन्ट्रीहरुमा रही फ्रेन्चाइज कम्पनीको रुपमा रहेको क्यारिफोर हाइपोमार्केटमा लामो समयको अनुभव समेटनुभएका पाण्डे लगायतका व्यक्तिहरुको सामुहिक लगानीमा विगत १ बर्ष पहिले देखि नेपालमा नै एक्सप्रेस मार्ट सञ्चालनमा आएको छ । नेपालमा नेपालीहरुकै लगानीमा सुपरमार्केट व्यवसायको व्यावसायिकरण गर्नुपर्छ भन्ने मान्यताले एक्सप्रेस मार्ट सञ्चालनमा ल्याइएको हो ।

    हुनतः नेपालमा अहिले पनि भाटभटेनी, सेल्सवेज, विग मार्ट लगायतका सुपरमार्केटहरु सञ्चालनमा रहेका छन् भने नयाँ मार्टहरु समेत सञ्चालनमा आइरहेका छन् । तर जहाँ बढी प्रतिष्पर्धा हुन्छ, त्यहाँ अवसर पनि राम्रो हुन्छ भन्ने कुरालाई विचार गर्दै अब नेपालको बजार भनेको मार्ट बजार नै रहेको कुरालाई विचार गरेर नै आफूहरुले पनि यसै क्षेत्रमा लगानी विस्तार गरेकोे एक्सप्रेस मार्टका प्रमुख कार्यकारी अधिकृत फणिन्द्र पाण्डेले बताउनुभयो ।
    नेपालका युवाहरुलाई नेपालमा नै काम गर्नेतर्फ आकर्षित गर्न र नेपालमा नै नयाँ अवसरहरु सृजना गर्न सकिन्छ भन्ने मान्यताले शुरु भएको यो व्यवसाय तत्कालको निम्ति नभई दीर्घकालिन बजारलाई हेरेर सञ्चालनमा ल्याएको फणिन्द्र पाण्डे बताउनुहुन्छ । २०५४ मा विदेशिएपश्चात् निकै लामो सङ्घर्षको देखेको, भोगेको र अनुभव गरेको आधारमा नेपालको निम्ति नयाँपनको आभास गराउने काममा हाल एक्सप्रेस मार्ट टिम निरन्तर खटिइरहेको छ ।

    विदेशमा समेत उत्कृष्ट ः
    नेपालबाट वैदेशिक रोजगारीमा गएका अधिकांश व्यक्तिहरु तल्लो तहको काममा नै सीमित हुन्छन् । तर फणिन्द्र पाण्डे भने छोटो समयमा नै आफू कार्यरत कम्पनीमा म्यानेजर बन्न सफल हुनुभएको थियो । त्यसबेला सम्म नेपालीहरु विदेशी प्रतिष्ठित कम्पनीमा म्यानेजर तह सम्म पुग्न सकेका थिएनन् । निम्नस्तरीय कामबाट छोटो समयमा नै उच्चस्तर सम्म पुग्न सफल फणिन्द्रको सफलता लोभलाग्दो र उत्प्रेरक हुन सक्छ । तर म्यानेजर पदमा समेत रही काम गर्नुभएका फणिन्द्र विदेशी भूमीमा त्यो भन्दा माथि जान सकिने अवस्था भने थिएन । नेपालीहरु अहिले पनि त्यो भन्दा माथि खासै जान सकेको अवस्था पनि छैन । यस्तो अवस्थामा फणिन्द्र सदैव विदेशमा एउटै तहमा रहेर रहेर काम गर्नुको सट्टा नेपालबाट नै काम गर्ने हो भने त्यसबाट मुलुकको विकास र सामाजिक उत्तरदायित्वको निम्ति केही योगदान दिन सकिन्छ भन्ने मान्यता सहित नेपाल फर्कनुभयो ।

    फणिन्द्र वैदेशिक रोजगारीमा जाने समयमा आफू कार्यरत क्यारिफोर हाइपोमार्केटका शाखाहरु शुरुमा ३ ओटा मात्र स्टोरहरु रहेकोमा ऊहाँ नेपाल फर्कने बेला सम्म पुग्दा २० ओटा स्टारेहरु विस्तार भइसकेका थिए । त्यो प्रगति समेतबाट पाण्डे नेपालमा नै फर्कनको निम्ति थप प्रभावित हुनुभयो । राम्रै तलब सुविधामा काम गरेका उनले नेपालबाट व्यवसाय शुरु गर्दा नै उपयुक्त हुने देखेसँगै नेपाल फर्किनुभएको हो ।

    १ बर्षको अनुभव ः
    नेपाल फर्केर फणिन्द्र नेतृत्वको टीमले शुरुवात गरेको एक्सपे्रस मार्ट हाल १ बर्षमा नै पेप्सिकोला, पुरानो बानेश्वर, भीमसेनगोला गरी ३ ओटा स्टोरहरु सञ्चालन गर्न सफल भएको छ । तत्काल नै शंखमूलमा समेत नयाँ स्टोर खुल्ने क्रममा छ । यस मार्टले हात्तिवनमा सञ्चालनमा ल्याएको स्टोर भने प्राविधिक कारणवश बन्द गर्नुपर्यो । दोहामा समेत व्यवसाय सञ्चालन गर्दै आउनुभएका फणिन्द्र आफूू नेपालमा नै आएर लगानी विस्तार गर्ने योजना बनाएसँगै आफू मातहतका अन्य साथीहरुलाई पनि नेपालमा नै आएर लगानी विस्तार गर्नुभएको हो ।

    नेपालमा १ बर्ष मार्ट सञ्चालन गर्ने क्रममा आफूले रमाइलो अनुभव गरेको पाण्डे बताउनुहुन्छ । यद्यपि नेपालमा अझै पनि काम गर्नको निम्ति राम्रो वातावरण बन्न नसकेको समेत ऊहाँ बताउनुहुन्छ । युएइमा समेत निकै नै व्यवस्थित रुपमा काम गर्न सिकेको र नेपालमा पनि पूर्ण व्यवस्थित र पारदर्शी रुपमा आफू काम गर्न तयार हुने भएको कारण नेपालमा अब काम गर्नको निम्ति सहज वातावरण बन्न सके निकै नै राम्रो तवरले काम गर्न सकिने पाण्डे बताउनुहुन्छ ।

    सक्षम छन् नेपाली भन्ने देखाउनुछ ः
    नेपालीहरु कुनै कुरामा पनि कमी छैनन् । सबै कुरामा नेपालीहरु सक्षम छन् । नेपालमा अहिलेको अवस्था परिवर्तनमुखी समेत छ । बजारको नै कुरा गर्ने हो भने पनि अबका बजारमा मानिसहरु किनबेचको निम्ति एड्भान्स मार्केटमा आकर्षित छन् । यस्तो अवस्थामा आफूहरुले छोटो अवधिमा नै काठमाडौंमा हाल ३ ठाऊँमा सञ्चालनमा रहेको एक्सप्रेस मार्टका स्टोरहरु १ बर्ष भित्र नै थप ५ ओटा विस्तार गरी काम गर्ने जोश र चाहना हुने हो भने नेपालमा नै अवसर रहेछन् भन्ने बारे अरु व्यक्तिहरु समेत आकर्षित हुन सक्ने किसिमले कामलाई निरन्तर गतिशिल रुपमा अघी बढाइरहेको एक्सप्रेस मार्टले मैतिदेवी, जोरपाटी, चावहिल, कपन र भैंसेपाटीमा स्टोरहरु सञ्चालन गर्ने योजना बनाएको छ । हाल ३० जनाको सामुहिक लगानीमा शुरुवात भएको यस मार्टमा अष्टे«लिया, युएइ लगायतमा रहनुभएका नेपालीहरुको लगानी छ भने नेपालमा ७ जना व्यक्तिहरु नियमित रुपमा व्यवस्थापनमा संलग्न हुनुहुन्छ । हाल कृष्ण शरण थापा, वीर वहादुर तामाङ, पशुपति तामाङ, भुपेन्द्र विष्ट, भुवनलाल श्रेष्ठ, सुरेस ज्ञवाली, कमलराज बडाल लगायतका व्यक्तिहरु सक्रिय रुपमा यसको व्यवस्थापनमा खटिइरहनुभएको छ ।

    व्यवस्थित बजार ः
    अहिले पनि नेपालमा बजार पूर्ण व्यवस्थित बन्न सकेको छैन । नेपालमा आफूले सबैमा भ्याटमा नै कारोबार गर्नुपर्ने भएपनि बाहिरबाट आउने सामानहरु सबैमा भ्याट नहुने भएको कारण यस्तो अवस्थामा आफूहरुले कारोबार गर्दा प्रतिष्पर्धी बजारमा अप्ठ्यारो हुने समेत पाण्डेले बताउनुभयो ।

    बजारलाई व्यवस्थित गर्नको निम्ति ः
    नेपालमा अहिले मदिरा लगायत विभिन्न वस्तुहरु वास्तविक बजार मूल्य भन्दा सस्तोमा बजारमा उपलब्ध भइरहेका छन् । पसलबाट यी वस्तुहरु विक्री गर्ने क्रममा ती पसलहरुले भ्याट तिर्नुनपर्ने तथा अन्य केही कारणहरुले गर्दा कम मूल्यमा नै सामानहरु विक्री गरिरहेको अवस्था छ । यद्यपि व्यवस्थित रुपमा सञ्चालनमा रहेका स्टोरहरुमा भने निश्चित् मूल्यमा नै ती सामानहरु विक्री भइरहेका हुन्छन् । नेपालमा बाहिरबाट आयात हुने महँगा मदिरामा समेत यो समस्या अझ बढी नै देखिएको छ । आयातित सामानहरुमा रहेको यस किसिमको समस्यालाई भन्सारबाट नै रोक्नुपर्ने आवश्यकता छ । यसैगरी कतिपय वस्तुहरुमा १२ सय रुपियाँ तिरेर खरिद गरेको वस्तुमा ६ सयको मात्रै भ्याट बिल आएको हुन्छ । यस्तो अवस्थामा कसरी हिसाब चुस्तदुरुस्त राख्ने भन्ने कुरा पनि निकै गाह्रो हुन्छ । यसलाई पनि व्यवस्थित गर्नुपर्ने आवश्यकता छ । न्यूनतम भन्सार मूल्याङ्कनको कारण आउन सक्ने यस्तो समस्या निराकरणको निम्ति पनि विशेष पहल गर्नु जरुरी छ । खाद्यान्न लगायतमा समेत यो समस्या छ । ग्राहकको उच्च माग रहेका सामानहरुमा समेत यो समस्या छ ।

    Comment

    Related News 

    © 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

    %d bloggers like this: