पाेखरा क्षेत्रमा पर्यटन क्षेत्र फस्टाउने सम्भावना राम्राे, अाकर्षित हुँदै व्यवसायीहरू


तेजेन्द्र प्रसाईं, प्रबन्ध निर्देशक, द लेकसाइड रिट्रिट प्रा.लि. (पोखरा)

नेपालमा पर्यटनको बढ्दो सम्भावना :
नेपालमा अहिले पर्यटन क्षेत्रको सम्भावना निकै राम्रो छ । आन्तरिक पर्यटन समेत नेपालमा फस्टाइरहेको छ । यद्यपि बाह्य पर्यटकहरु भने नेपालमा जुन रुपमा भित्रनुपर्ने हो, त्यस बमोजिम नेपालमा भित्र्याउन सकिएको छैन । अहिले नेपालमा पर्यटन क्षेत्रमा लगानी विस्तार भइरहेको कुरा काठमाडौं, पोखरा, भैरहवा, नेपालगञ्ज लगायत सबै क्षेत्रमा पाँचतारे स्तरीय होटलहरु निर्माण भइरहेको अवस्थाबाट समेत जानकारी पाउन सकिन्छ ।

दीगो प्रतिफलको व्यवसाय पर्यटन :
पर्यटनको क्षेत्रमा लगानी गरेका व्यवसायीहरु अहिले तत्कालको लागि भन्दा पनि अहिलेको लगानीबाट भविष्यमा राम्रो प्रतिफल लिन सकिन्छ भन्ने मान्यताको साथ पर्यटन क्षेत्रमा लगानी गरिरहेका छन् । नेपालमा अहिलेको अवस्थामा होटल तथा अन्य पूर्वाधारहरुमा पर्यटन व्यवसायीहरुले लगानी गरिरहेका भएपनि अहिले नेपालमा बाहिरबाट आउने पर्यटकहरुको आगमन नै कमी रहेको कारण जुन रुपमा पर्यटन क्षेत्रमा कारोबार हुनुपर्ने थियो, त्यो हुन सकेको छैन ।

पर्यटकहरुलाई आकर्षणको लागि गर्नुपर्ने काम :
नेपालमा पर्यटनको विकासको निम्ति प्रयाप्त मात्रामा हवाई फ्लाइटहरु बढाउनुपर्ने आवश्यकता छ । एयरपोर्टको क्षमता समेत अहिले आवश्यकता बमोजिम छैन । नेपालमा डोमेस्टिक एयर सेवा लिनको निम्ति पनि लामो समय लाइन लाग्नुपर्ने अवस्था अन्त्य हुने किसिमले हवाई सेवा विस्तार गर्नुपर्ने आवश्यकता छ । साथै सडक सेवालाई समेत विशेष रुपले व्यवस्थित गर्नुपर्ने आवश्यकता छ ।

पोखरामा पर्यटन :
नेपालमा अहिलेको अवस्थामा पोखरा क्षेत्रमा करिब ८ हजार सङ्ख्यामा होटलका कोठाहरु उपलब्ध भइसकेको एउटा सर्वेक्षणमा देखिएको छ । तर अहिले पोखरामा पर्यटकहरु भने सिजनमा २५ सय देखि ३ हजारको हाराहारीमा मात्र जाने गरेका छन् । यसबाट हेर्दा अहिले पोखराका होटलका कोठाहरु अधिकांश तत्कालको लागि आधा पनि प्रयोगमा आउन सकेको अवस्था छैन । कतिपय होटलहरुको अवस्था अहिले पनि पोखरा क्षेत्रमा राम्रो नै छ तर अधिकांश होटलहरुको अवस्था भने त्यति राम्रो छैन । सामान्य अभ्यासमा करिब ६० प्रतिशत होटलका कोठाहरु पूरा भरिनुलाई सकारात्मक रहेको पाइन्छ । यद्यपि अहिले पनि नेपालको पर्यटन व्यवसाय चल्नै नसक्ने अवस्थामा भने छैन । अहिले नेपालका विभिन्न क्षेत्रमा एयरपोर्टहरु बन्ने क्रममा रहेको अहिलेको अवस्थामा अबको केही समय पछि भने पर्यटन क्षेत्रले अझ राम्रो गति लिन सक्नेछ ।

पर्यटकहरुको अनुपात :
हाम्रो अनुभवमा पोखरा क्षेत्रका होटलहरुमा आउने पर्यटकहरु मध्ये २०-२५ प्रतिशत पर्यटकहरु स्वदेशी नै छन् । बाह्य मुलुकबाट नेपालमा आउने पर्यटकहरुको सङ्ख्यामा समेत सिजन अनुसार घटबढ हुने गर्छ ।

नेपालमा पर्यटकहरु आउनुका कारण :
नेपालमा आउने अधिकांश विदेशी पर्यटकहरु नेपालको प्राकृतिक सुन्दरता हेर्न र प्रकृतिसँग रमाउनकै निम्ति आउने गर्छन् । नेपालमा आउने पर्यटककको सङ्ख्या सिजन बमोजिम पनि प्रभावित हुने गर्छ । जुन-जुलाईको समयमा आउने पर्यटकहरु अधिकांश भारतीय हुने गर्छन् । यसको साथै एसिया क्षेत्रबाट आउने पर्यटकहरुले नेपाल घुमफिरको लागि बिना भिषा तत्कालै योजना बनाएर भ्रमण गर्न सकिने भएको कारण नेपाललाई आफ्नो रोजाईमा पार्ने गरेका छन् ।

मोदी भ्रमणले पर्यटनमा सकारात्मक सन्देश प्रवाह
अहिले भर्खर मात्रै भारतीय महामहिम प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण सम्पन्न भएको छ । मुक्तिनाथमा समेत ऊहाँ पुग्नुले नेपालमा आउन चाहने भारतीय पर्यटकहरुलाई नेपाल भ्रमणको निम्ति नयाँ सन्देश प्रवाह भएको छ । यसबाट पनि हामी नेपालमा पर्यटन क्षेत्र फस्टाउने सम्बन्धमा हामी व्यवसायीहरु आशावादी रहेका छौं ।

पर्यटन क्षेत्रको निम्ति जनशक्तिः मुख्य समस्या
नेपालमा पर्यटन तथा होटल क्षेत्रमा दक्ष जनशक्तिको उपलब्धता मुख्य समस्याको रुपमा रहेको छ । दक्ष जनशक्ति प्राप्त गर्न नसकिनुमा नेपालमा राम्रो तलब सुविधा उपलब्ध गराउन नसक्नु पनि अर्को चुनौतीमा रहेको छ । नेपालमा दक्ष जनशक्ति प्राप्त हुने अवस्थामा पनि उक्त व्यक्तिलाई राम्रो तलब सुविधा सहित नेपालमा काममा लगाउन सकिने अवस्था नभएको कारण भर्खर अध्ययन सकेर क्यारियर खोजिरहेका मानिसहरुलाई हामीले पर्यटनको क्षेत्रमा खोजिरहेका हुन्छौं । तर नेपालमा तलब सुविधा राम्रो प्राप्त गर्न नसकिने कारणले गर्दा नेपाली युवाहरु रोजगारीका निम्ति विदेशिन बाध्य छन् । लामो समय उनीहरु नेपालमा टिक्न सक्ने अवस्था छैन ।
नेपालमा अहिले स्वदेशी तथा विदेशी विभिन्न संस्थाहरुले हस्पिटालिटी क्षेत्रमा दक्ष जनशक्ति तयार गर्नको निम्ति तालिम प्रदायक संस्थाहरु निकै धेरै सङ्ख्यामा खुलेका छन् तर नेपालको पर्यटन तथा होटलको निम्ति आवश्यक जनशक्ति नेपालमा रोक्न सक्ने अवस्था भने बनेको छैन ।

नेपाल सरकार दक्षता र सीप विकासमा केन्द्रित हुनुपर्छ :
नेपाल अब संघीय ढाँचा बमोजिम अघी बढिरहेको अहिलेको परिप्रेक्ष्यमा दक्ष जनशक्ति उत्पादनको निम्ति नेपाल सरकारले नै त्यसको अग्रता लिनुपर्छ । सीपमूलक कार्यक्रम सञ्चालन गर्ने र उनीहरुलाई व्यावहारिक अभ्यासको निम्ति नेपालका सम्बन्धित क्षेत्रका होटलहरुमा इन्टर्नशिपको समेत व्यवस्था गर्ने हो भने यसबाट नेपाली युवाहरु विशेष लाभान्वित हुन सक्ने अबस्था रहन्छ ।

नेपालमा अहिले निजी क्षेत्रबाट पर्यटन प्रवद्र्धनको योजना सहित विभिन्न संस्थाहरु खुलिरहेका छन् । नेपालमा यस्ता संस्थाहरुले आफ्ना गतिविधिहरु सञ्चालन गरिरहेका भएपनि होटल तथा पर्यटन क्षेत्रको दिगो विकास र योजनालाई कसरी अघी बढाउने ? निजी क्षेत्रबाट सञ्चालित कम्पनीहरुले राम्रो तवरले काम गरेका छन् वा छैनन् ? भन्ने सम्बन्धमा नेपाल सरकारको नै मुख्य भूमीका रहने हुनाले सोही बमोजिम गतिविधिहरु सञ्चालन गर्नुपर्ने आवश्यकता छ । अनि मात्र हामीकँहा भने अनुसारले पर्यटन व्यवसायले गति लिन सक्छ ।

आशा गर्ने ठाउँ छ :
अबका दिनमा नेपालमा विकासले राम्रो गति लिनेमा आशावादी हुने प्रयाप्त ठाउँ छ । यस्तो अवस्थामा नेपालमा पर्यटन क्षेत्रको भविष्य निकै नै उज्ज्वल रहेको छ । आगामी दिनमा पर्यटन क्षेत्रलाई कुन हिसाबले अघी बढाउन सकिन्छ भन्ने कुरा नेपाल सरकार, पर्यटन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड र पर्यटन सम्बन्धित सबै संघसंस्थाहरुले नयाँ– नयाँ खालको पर्यटन गतिविधि सम्बन्धित विभिन्न खालका ठाउँहरुको खोजि गर्दै के–कसरी नेपाललाई पर्यटकीय नगरीको रुपमा चिनाउन सकिन्छ । यसतर्फ हामीहरु सबै एकजुट हुन आवश्यक छ ।

 

लामो समय लण्डनमा बसेर नेपाल फर्कनुभएका तेजेन्द्र प्रसाईले हाल पोखरा स्थित द लेकसाईड रिट्रिट नामक होटल सञ्चालन गर्दै आउनुभएको छ । झापामा जन्मनुभएका प्रसाईं नेपालमा पहिले देखि नै पर्यटनमा चासो राख्ने व्यक्ति समेत हुनुहुन्छ । शुरुमा नेपालबाट नै अध्ययन गर्नुभएका प्रसाई पछि भने बेलायतमा रहेर लामो समय बिताउनुभयो । पर्यटन क्षेत्रमा पहिले देखि नै चासो राख्नुहुने प्रसाईंले नेपालमा व्यवसाय विस्तार गर्ने क्रममा विगत ५ बर्ष पहिले देखि पोखराबाट यो व्यवसाय शुरु गर्नुभएको हो । हाल ललितपुरको कुपण्डोलमा समेत होटलको शाखा कार्यालय सञ्चालन गर्नुभएका प्रर्साइले नेपालमा के– कसरी विदेशी पर्यटकहरुलाई ठूलो संख्यामा नेपालमा ल्याउन सकिन्छ भन्ने खालका विभिन्न खालका अध्ययन–अनुसन्धान गर्दै आउनु भएको छ ।
५ बर्ष पहिले करिब ११ करोड रुपैयाँ लगानीमा सञ्चालन गरिएको यो होटलले पोखरामा स्तरीय सेवा प्रदान गर्दै उक्त होटलमा आउने पर्यटकहरुलाई खुशी पार्दै आएको छ । स्पा तथा स्विमिङ पुल फेसिलिटी समेत उपलब्ध रहेको यस होटलले पर्यटक स्तरीय होटलको रुपमा नेपाल पर्यटन वोर्डबाट मान्यता पाएको छ भने तारे स्तरको होटलको रुपमा प्रमाणित गर्न माग गर्दै आफूले पर्यटन वोर्डमा निवेदन दिएको समेत प्रसाईंले जानकारी दिनु भएको छ ।

 

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: