पूर्णको भलिबल ‘प्यासन’


इच्छाशक्ति र निरन्तर मेहनत गरे सफलता निश्चित छ । भलिबल खेलका पारखी पूर्ण चौलागाईको जीवन भोगाईपछिको प्राप्त सफलताले यही भन्छ । कुरा विसं २०५७ सालतिरको हो, जुम्लाबाट उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आएका पूर्णलाई चिडियाखाना हेर्ने रहर जाग्यो र उनी चिडियाखाना हेर्न ललितपुरको जावलाखेल पुगे । चिडियाखाना हेर्न गएका उनले जावलाखेलमै भलिवल खेलिरहेको देखे । करिब एक घण्टा उभिएरै उनले सो भलिबल खेल हेरे । भलिबल खेल मैदानको छेउछाउमा झुन्ड्याएको होडिङबोर्डहरु सबै पढे । हेर्दै गर्दा एउटा बोर्डमा उनको नजर पुग्यो जहाँ लेखिएको थियो यहाँ भलिबल खेल प्रशिक्षण गराइन्छ ।

त्यसपछि उनी भलिबल खेल प्रशिक्षणका लागि त्यही ज्वाइन गर्ने निर्णयमा पुगे । जावलाखेल भलिबल प्रशिक्षण क्लवमा प्रशिक्षणका लागि ज्वाइन भएपछिको केही दिन त उनी अन्डरह्यान्ड र ओभर ह्यान्ड पासमै सिमित भए । भलिवलका थुप्रै नियमहरु पालना गर्नुपर्ने कारण उनलाई दिकदारी पनि नलागेको होइन । तर हरेस खाएनन ५ वर्ष त्यहाँ प्रशिक्षण लिए । त्यसैको कारण उनी अहिले भलिबल खेलको एसियन अर्थात अन्तर्राष्ट्रिय रेफ्रि बन्न सफल भएका छन् ।

बुबा उमाकान्त चौलागाई र आमा पूर्णवती चौलागाईको कान्छा सन्तानको रुपमा जुम्लामा जन्मनु भएका पूर्णलाई अलिकति बुझ्नै भएदेखि नै भलिबल खेलप्रतिको मोहले छाडेन । स्कुल पढ्दै देखि भलिबल खेलप्रति निकै रुची राख्ने उनी गृह जिल्ला जुम्ला र अन्य विभिन्न ठाउँको क्लवको क्याप्टेन भएर कैयौ पटक भलिबल प्रतियोगिता खेलेका छन् र थुप्रै पटक ट्रफी समेत उचालेका छन् ।

भलिबल खेलमा माहिर भनेर जिल्लामा राम्रो परिचय बनाइसक्नु भएका पूर्णले ५ वर्ष जावलखेल भलिबल प्रशिक्षण क्लवमा प्रशिक्षण लिए पछि खेलमा थप निखारता मात्रै आएन । त्यसपछि जीवनमा कहिल्यै पछाडि फर्केर हेर्नु परेन ।

५ वर्षे प्रशिक्षण पश्चात उनले सोही क्लवको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागि हुने मौका पाए । यसका अलवा मध्यपश्चिमाञ्चल विकास क्षेत्रको प्रतिनिधित्व गर्दै थुप्रै पटक राष्ट्रिय प्रतियोगिता खेल्ने मौका पाए । खेलाडी जीवनमा उनले थुप्रै दुख र कष्ट भोग्न बाध्य भए तर कहिल्यै हरेस खाएनन । त्यसैकारण त उनलाई नयाँ–नयाँ अवसरहरुले फछ्याइ रहे ।
राष्ट्रिय खेलकुद परिषद्बाट एनआईएस भलिबल प्रशिक्षक  लिएका पूर्णले विसं २०६७ सालमा सम्पन्न छैटौं राष्ट्रिय खेलकुदमा सल्यान जिल्ला खेलकुद विकास समितिको मुख्य प्रशिक्षकको रुपमा सफल भूमिका निर्वाह गरे । त्यस्तै विसं २०६९ मा इन्टरनेशनल लेबल वान भलिबल प्रशिक्षण कोर्ष, २०६६ सालमा क्षेत्रीय रेफ्री कोर्ष र २०७० सालमा राष्ट्रिय रेफ्री कोर्ष सम्पन्न गरेका छन् ।
विसं २०७२ सालमा नेपाल भलिबल संघको सिफारिसमा थाइल्याण्डको बैंङककमा सिनियर रेफ्री कोर्ष लिएका उनले २०७३ सालमा सातौ राष्ट्रिय खेलकुदमा मध्यपश्चिमाञ्चल क्षेत्रकै राष्ट्रिय भलिबल रेफ्रीको संयोजकको भूमिका निर्वाह गर्ने मौका पाए । त्यस खेलमा मिलेको सफलताले पनि उनले थप वाहवाही कमाए ।

त्यसपछि विसं २०७४ सालको जेठ महिनामा उनले थाइल्याण्ड स्थित रामखेङहाङ युनिभर्सिटिमा एसियन भलिबल फेडेरेसनले आयोजना गरेको एसियन रेफ्री कोर्षमा नेपालको प्रतिनिधित्व गर्दै सहभगिता जनाउने सुनौलो मौका पाए । याे सम्पन्न गरेसँगै पूर्ण अव अन्तर्राष्ट्रिय स्तरकै भलिबल खेल खेलाउन सक्षम भएका छन् । यानिकी उनी अन्तर्राष्ट्रिय भलिबल रेफ्री बनेका छन् ।
जावलाखेल क्लवमै प्रशिक्षण लिदा गुरुहरुले उनी भित्र केही क्षमता देखि सकेका थिए त्यही कारण होला उनलाई रेफ्री लाग्न गुरुहरुले नै प्रोत्साहन गर्थे । त्यसकै परिणमा आज पूर्ण यो स्थानमा पुगेको छु पूर्ण भन्छन् ति सम्पूर्ण गुरुहरुलार्ई मेरो सलाम छ ।

कलिलै उमेरमा गाउमा एउटा खेलमा सहभागि हुदा रेफ्रीले गरेको पक्षपाति निर्णय मन नपरेर ठुलो भएपछि रेफ्री बन्छु भन्ने सपना बोकेका पूर्णको सपना छिटै साकार भएको छ । उनी भन्छन् तर जिन्दगीमा त्यस्तो पक्षपाति बन्दिन हजारौ खेलाडी र दशर्कको मन जित्ने र यस क्षेत्रलाई थप व्यवस्थित बनाउने तिर लाग्ने छु । केही समय अघि मात्र सरकारले भलिबल खेललाई नेपाल राष्ट्रिय खेलमा समावेश गरेको छ । जसको कारण पनि आगामी दिनमा आफ्नो जिम्मेवारी थप बढेको महसुस पूर्णले गरेका छन् ।

आफ्नै अनुशासनमा चल्न रुचाउने पूर्णको परिचय यतिमा मात्रै सिमित छैन । पत्रकारिता एवं आमसंचार विषय अध्ययनका लागि कहलिएको काठमाडौंको रत्नराज्य लक्ष्मी क्याप्सबाट पत्रकारिता एवं आमसंचार विषयमा स्नातकोत्तर तहमा अध्ययनरत पूण पत्रकारिता क्षेत्रमा पनि उतिकै परिचित छन् । चार वर्ष न्यूज २४ टेलिभिजनमा पत्रकारिता गरेको अनुभव संगालेका उनी नेपाली पोष्ट राष्ट्रिय साप्ताहिकका प्रकाशक-सम्पादक पनि हुन । उनले यसविचमा सूचना विभागबाट प्रदान गर्ने फोटोग्राफी र भिडियोग्राफीको प्रशिक्षण समेत लिएका छन् । यसअर्थमा उनी एक राम्रा र अनुभवी पत्रकार सममेत हुन् ।

साथ–साथै राजनीतिक रुपमा पूर्ण उत्तिकै सक्रिय छन् । २०६३ देखि नै राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध भएर राजनीति गरिरहेका छन् । हाल उनी राप्रपाको विद्यार्थी संगठनमा केन्द्रको बरिष्ठ उपाध्यक्षको जिम्मेवारी लिएर काम गरिरहेका छन् । खेलाडीको रुपमा देश विदेशमा आफ्नो एउटा महत्वपूर्ण छवि निर्माण गरिसकेका उनी भविष्यमा खेलसँगसँगै राजनीतिलाई पनि अघि बढाउने योजनामा छन् । भन्छन्, समाज र देश परिवर्तनको मियो नै राजनीतिक हो । त्यसकारण भविष्यमा कुसल राजनेता बनेर समाजसेवा गर्ने रेसमा पनि छन् पूर्ण ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: