नेपालमा मलखाद प्रयोगको वर्तमान अवस्था


शरण पन्थी, कृषि तथा पशु विज्ञान अध्ययन संस्थान (त्रि.वि.)

नेपालमा सन् १९५० को दशक देखि बाली उत्पादनमा रासायनिक मलखादको प्रयोग सुरु भएको पाइन्छ । सुरुको अवस्थामा केहि निजी व्यापारीहरुले मुख्यतः भारत र तत्कालिन सोभियत संघबाट रासायनिक मलखाद भित्र्याएका थिए । वि.सं. २०२२ मा सरकारले कृषि सप्लाई संस्थानको स्थापना गरी अन्य मुलुकबाट मलखाद खरिद गरी किसानहरुलाई सहज रुपमा उपलब्ध गराउने जिम्मेवारी सुम्पियो र सरकारी तवरबाट मलखाद आयात गरी किसानहरुलाई उपलब्ध गराउने कार्यको सुरुवात भयो । अन्तर्राष्ट्रिय स्तरमा मलखादको मूल्य बढ्दै गरेको अवस्थामा सरकारले किसानहरुलाई सुलभ मूल्यमा मलखाद उपलब्ध गराउने उद्धेश्य लिई वि.सं. २०३० र ३१ देखि मलमा अनुदान दिने नीति लियो ।

मलखादको मुल्यमा भएको निरन्तर बृद्धि, बढ्दो आन्तरिक खपत र मागको कारण ठूलो रकम अनुदानमा खर्चिनुपर्ने भयो । साथै किसानको माग अनुसार उपलब्धता पूरा हुन समेत सकेन । तसर्थ सरकारले वि.सं. २०५४ र ५५ देखि चरणबद्ध रुपमा अनुदानको व्यवस्था हटाउन शुरु गरी वि.सं. २०५६ र ५७ देखि पुरै हटायो र निजी क्षेत्रलाई समेत मलखाद भित्र्याएर विक्री वितरण गर्ने अनुमति दियो ।

निजी क्षेत्रको आगमन पछि मलको उपलब्धता सहज हुने अनुमान गरिएतापनि सोचेजस्तो प्रगति हुन सकेन । किसानहरुद्वारा बढी मूल्य तिरेर पनि गुणस्तरीय मल नपाएको गुनासो व्यापक रुपमा आउन थाल्यो । भारत लगायत छिमेकी देशहरुमा मलखाद लगायत कृषि समाग्रीहरुमा ठुलो अनुदान रहेको स्थितिमा नेपालमा अनुदान नदिँदा उत्पादन लागत बढ्ने र कृषि उत्पादन अन्य देशहरुसँग प्रतिष्पर्धात्मक नबन्ने ठानिएपछि पुनः २०६५÷१२÷१२ मा मलमा अनुदान दिने निर्णय भयो र कृषि समाग्री कम्पनी लि. र साल्ट ट्रेडिङ कर्पोरेसन लि.ले हालसम्म मलखाद उपलब्ध गराउँदै आइरहेका छन । हालसम्म पनि सरकारले मलखादमा अनुदानको लागि प्रत्येक वर्ष रकम छुट्याउँदै आइरहेको छ । हालसम्म पनि नेपालमा रासायनिक मलखाद उत्पादन गर्ने कम्पनि निर्माण हुन नसकेका कारण नेपालमा प्रयोग हुने सबै रासायनिक मल विदेशबाट आयात गर्नुपर्ने अवस्था छ ।

नेपालमा मलखाद आयातको अवस्था (वि.सं. ०६१-६२ देखि २०७२-७३ सम्म)

आ. व. मल (मेट्रिक टन) आ. व. मल (मेट्रिक टन)
२०६१-६२ १२२,७०६ २०६७-७८ ११०,०१३
२०६२-६३ ९१,५५३ २०६८-६९ १४४,८१३
२०६३-६४ ९०,८४८ २०६९-७० १७६,९६३
२०६४-६५ ५३,७५३ २०७०-७१ २३२,१८९
२०६५-६६ १२,८१० २०७१-७२ २९८,६७७
२०६६-६७ १०,३२९ २०७२-७३ २५९,०६१

माथि उल्लेखित मलखादको परिमाणले नेपालमा वैधानिक तरिकाले भित्रिएको मलखादलाइ मात्र देखाउँछ र यो परिमाण किसानहरुको मलखादको माग भन्दा निकै कम रहेको छ । जसको कारण कालोबजारी फस्टाईरहेको र किसानहरुले बढी मूल्य तिर्नु परिरहेको छ । साथै मलको गुणस्तरमा पनि शंका गर्ने प्रशस्त ठाउँ छ । व्यापारीहरुका साथै सीमा नजिकका किसानहरुले पनि नेपाल भारतको खुल्ला सिमाना प्रयोग गरी मल भित्राइरहेका छन् । २०१३ को अध्ययन अनुसार नेपालमा औपचारिक रुपमा भित्रिएको मलखाद २५ प्रतिशत भन्दा कम रहेको र ७५ प्रतिशत भन्दा बढी मल नेपाल भारतको खुल्ला सिमानाबाट निजी व्यापारीहरुले भित्राईरहेको देखिएको छ ।

२०७२-७३ मा नेपालमा औपचारिक रुपमा आयात मलको किसिम

मलको  परिमाण
युरिया १६४,९५२
डिएपी ८७,५३२
पोटास ६,५७७
जम्मा २५९,०६१

माथि उल्लेखित तथ्याङ्कले अन्य मलको तुलनामा नेपालमा युरिया मल निकै बढी खपत भएको देखाउँछ । बोटविरुवालाइ नाइट्रोजनको कमीको लक्षण बढी देखिने भएता पनि असन्तुलित मलखादको निरन्तर प्रयोगले अन्य खाद्य तत्वहरुको पनि माटोमा अभाव देखिएको छ । सुक्ष्म खाद्य तत्वहरुलाई ख्याल नगर्दा नेपालमा जिंक, बोरोन र मोलिब्डेनम सुक्ष्म खाद्य तत्वहरुको अभाव व्यापक रुपमा देखिन थालेको छ । लिविगको न्यूनताको सिद्दान्त अनुसार बोटविरुवाले खाध्य तत्वहरु कुनै कम र कुनै बढी मात्रामा माटोबाट लिएता पनि प्रत्येक खाद्य तत्वहरु उत्पादन वृद्धिको लागि उत्तिकै महत्वपूर्ण छन् र कुनै एक खाद्य तत्वको अभावले उत्पादनमा पुरै गिरावट ल्याउन सक्छ । तसर्थ आजको टड्कारो आवश्यकता भनेको माटोको नियमित चेकजाँच गरी आवश्यकता अनुसार सन्तुलित मलखादको प्रयोग गरी बाली उत्पादन वृद्धि गर्नु रहेको छ ।

विकास क्षेत्र अनुसार मल खपत स्थिति :
आ.व. २०७२-७३ मा औपचारिक रुपमा आयात मलखादको देशमा वितरण हेर्दा मध्यमाञ्चल विकास क्षेत्रमा सबैभन्दा बढी मल खपत भएको छ भने सबैभन्दा कम सुदुर पश्चिमान्चल विकास क्षेत्रमा रहेको छ । उक्त आ.व.(२०७२÷७३) मा सबैभन्दा बढी मल खपत हुने जिल्लाहरुमा क्रमश रुपन्देही (१९,३७० मे.ट.), मोरङ (१७,७८५ मे.ट.), कैलाली (१३,१५२ मे.ट.) र काभ्रे(१३,११३ मे.ट.) रहेका छन् ।

विकास क्षेत्र मल खपत (मेट्रिक टन)
पुर्वान्चल ५७,७३१
मध्यमान्चल १०६,६९८
पश्चिमान्चल ४४,३८७
मध्य पश्चिमान्चल २९,५००
सुदुर पश्चिमान्चल २०,७४५
जम्मा २५९,०६१

छिमेकी देशहरुसँगको तुलना :
संयुक्त राष्ट्र संघीय कृषि तथा खाद्य संगठन, २०१५ को तथ्यांक अनुसार नेपालमा मलखाद प्रयोगको अवस्था छिमेकि देशहरुको तुलनामा न्यून रहेको देखिन्छ । उक्त तथ्यांक अनुसार नेपालमा औसतमा ७३.८ केजी प्रतिहेक्टरका दरले रासायनिक मलखादको प्रयोग भइरहेको छ, जुन छिमेकी देश भारतको तुलनामा २.३ गुणा कम छ भने चीनको तुलनामा ६.८ गुणा कम रहेको छ । छिमेकि देशहरु चीन र भारत धान, गहुँ, फलफुल र तरकारी उत्पादनमा विश्वमै क्रमशः पहिलो र दोस्रो स्थानमा आउँछन र कृषि क्षेत्रमा नेपालको तुलनामा धेरै ठुलो उपलब्धि हासिल गरिसकेका पनि छन् । तल उल्लेखित छिमेकि देशहरु मध्ये अफगानिस्तान र भुटानमा नेपालमा भन्दा कम रासायनिक मलखाद प्रयोग भइरहेको देखिन्छ । भुटानमा भने सरकारले सन् २०२० सम्म देशको पुरै कृषिलाइ जैविक खेति तर्फ रुपान्तरण गर्ने लक्ष्य लिएका कारण मलखाद प्रयोग कम रहेको छ ।

देशको नाम मलखाद (किलो प्रति हेक्टर ) देशको नाम मलखाद (किलो प्रति हेक्टर )
नेपाल ७३.८ थाइल्यान्ड १५७.०
भारत १७१.०० माल्दिब्स १९७.४
बंगलादेश २९७.७ श्रीलंका ३०२.२
चीन ५०६.१ पाकिस्तान १३७.३
अफगानस्तान १२.१ भुटान १५.१

(स्रोत ः एफ.ए.ओ., २०१५)

नेपालको माटोमा खाद्य तत्व उपलब्धताको स्थिति :
नेपालको सन्दर्भमा खेतीयोग्य जमिनको उर्वराशक्ति घट्दै गइरहेको कारणले बालीहरुमा खाद्य तत्वहरुको कमीका लक्षणहरु जहाँतहीँ देख्न सकिन्छ । बालीविरुवालाई अत्यावश्यक बढी मात्रामा चाहिने पहिलो श्रेणीका खाद्य तत्वहरु नाइट्रोजन, फस्फोरस र पोटासियम सबैजसो माटोमा कमी नै रहेको छ । माटो परिक्षण रिपोर्ट हेर्दा सुक्ष्म तत्वहरु जिंक, बोरोन लगायतका तत्वको कमी देश भरि नै देखिएको छ भने मोलिब्ड़ेनमको कमी पनि धेरै ठाउँहरुमा देखिन थालेको छ । नेपालको माटोमा प्रांगारिक पदार्थ पनि न्यून रहेको छ । प्रांगारिक पदार्थको कमी हँुदा विशेष गरि नाइट्रोजन, फस्फोरस, सल्फर र सुक्ष्म तत्वहरु अभाव हुने गर्दछ । किसानहरुले युरिया प्रयोगमा मात्रै ध्यान दिएका कारण पनि नेपालको कृषि उत्पादकत्व अन्य देशको तुलनामा कम रहेको छ । सुक्ष्म खाद्य तत्वहरु मध्ये जिंक र बोरोन कमिका लक्षणहरु नेपालमा सर्बत्र देख्न सकिन्छ । उदाहरणको लागि धान खेतमा खैरा रोग (जिंक कमीको लक्षण) र काउलीमा खोक्रो काण्ड (बोरोन कमिको लक्षण) लाई नै लिन सकिन्छ ।

नेपालमा भूक्षयको अवस्था :
इरिक इकहोल्मले सन् १९७६ मा ‘गुम्दै जमिन स् वातावरणीय प्रभाव र विश्व खाद्य भविष्य’ नामक पुस्तक निकाल,े जुन विश्व समुदायमा निकै चर्चित हुन पुग्यो । उनले विश्वको विशेष गरि अविकसित राष्ट्रहरुको उच्च पहाडी भूभागमा बिगँ्रदो वातावारणको अध्ययनको लागि नेपाललाइ नमुनाको रुपमा लिएका छन् । नेपालको पहाडी र हिमाली भेगको संरचना नियाल्दै नेपालले विश्वकै सबैभन्दा द्रुत गतिको भूक्षयको सामना गरिरहेको कुरा उनले पुस्तकमा उल्लेख गरेका छन् ।
बढ्दो जनसंख्याको चाप, गरीबी चक्र, कमजोर माटो व्यवस्थापन र भूक्षय बीचको अन्तरसम्बन्ध प्रष्ट्याउँदै उनले ध्यान आकर्षित गरेका छन् । उनले भूगर्भीय हिसाबले एकदमै अपरिपक्व र संवेदनशिल भूसंरचना, भिरालो र पहिरोग्रस्त जमीनमा गरिएको खेती र अत्यन्त कमजोर माटो व्यवस्थापनको चर्चा गर्दै दिगोपना माथि ठुलो प्रश्न चिन्ह खडा गरेका छन् । पानीसँगै बगेर भारत र बंगलादेश पुग्ने सतहको मलिलो माटो नै नेपालको सबैभन्दा उच्च मुल्यको र महँगो निर्यात रहेको कुरा पुस्तकमा उल्लेख छ । अध्ययन अनुसार नेपालबाट वार्षिक करिब २४ करोड घनमिटर माटो बग्ने गरेको बताइन्छ । तर उक्त मुल्यवान माटोको निर्यातबाट न त देशलाई कुनै रकम आएको छ न त हामी हाम्रो मुल्यवान माटोको संरक्षणमा जुट्न नै सकेका छौँ ।

निस्कर्ष :
विश्वका अधिकांश देशहरु जीआइएस., रिमोट सेन्सिङ, जीपीयस, ड्रोन जस्ता नविनतम प्रविधि प्रयोग गरी प्रिसिजन खेती (एउटै खेतबारीमा पनि ठाउँ अनुसार उपयुक्त मात्रामा माग र आवश्यकता अनुसार मलखाद र सिंचाई प्रयोग गर्ने प्रविधि) जस्तो अत्याधुनिक खेति तर्फ अघि बढिरहेको अवस्थामा हाम्रो देशमा समयमा मलखाद उपलब्ध नभएर किसानहरु समस्यामा पर्नु आश्चर्यजनक छ । तसर्थ कृषि उत्पादन वृद्धिको मुख्य जगको रुपमा रहेको मलखादको उपलब्धतालाई सहज र सुलभ बनाउन सरकारले गम्भीर भएर कदम चाल्नु पर्ने देखिन्छ । विगतमा जस्तो समय समयमा अनुदान दिने र बन्द गर्ने गर्दा झन् समस्या निम्तिने हँुदा यसको समाधानको बाटोमा अगाडि बढ्नुपर्ने आवश्यकता छ । दिगो सोचले मात्रै दीर्घकालिन समस्याहरुको समाधान हुने हुँदा सधै आयात गरी विक्री वितरण गर्ने भन्दा देशमै मलखाद कम्पनी निर्माणमा समेत छिटो अघि बढ्नु पर्ने आवश्यकता देखिन्छ ।

अहिले पनि आम किसानमाझ मल भन्नु नै युरिया मात्रै हो भन्ने धारणा व्याप्त छ । तसर्थ आजको आवश्यकता भनेको बोटविरुवाको पोषण सम्बन्धमा किसानलाई दक्ष बनाउनु रहेको छ । यसो गर्न सकिएमा मात्र किसानहरु सन्तुलित खाद्य तत्वको प्रयोगमा आफैं अग्रसर हुने भएको कारण उत्पादन वृद्धिमा सघाउ पुग्नेछ ।

नेपालमा भूगर्भीय हिसाबले अपरिपक्व र संवेदनशिल माटो भएकाले भूक्षयको उच्च जोखिम रहेको साथै यहाँको कमजोर माटो व्यवस्थापनको कारण ठुलो मात्रामा सतहको मलिलो माटो बग्ने गरेका कारण माटोको उर्भराशक्तिमा निरन्तर ह्रास आइरहेको छ । तसर्थ मलखाद प्रयोगको मात्रा बढाउँदैमा मात्रै दिगो रुपमा समस्या समाधान पक्कै हुनेछैन । यसैकारण माटो संरक्षणमा पनि उत्तिकै ध्यान दिनु आज टड्कारो आवश्यकता छ । माटो संरक्षण गर्ने प्रविधिहरुको प्रयोग गरी भूक्षय रोक्न सके मात्रै दिगो कृषि विकासको मार्गमा अघि बढ्न सकिन्छ ।

(प्रतिक्रियाको लागि [email protected])

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: