त्रिभुवन विमानस्थलका महाप्रबन्धक भन्छन्, ‘अझै विमान भेटिएको छैन’


काठमाडौं । सुर्खेतबाट उडेर बेपत्ता भएको मकालु एयरको जहाज बाजुरामा भेटिएको भन्ने खबर त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले खण्डन गरेका छन् । 

रातोपाटीसँग कुरा गर्दै क्षत्रीले भने, ‘विमान भेटिएको अपुष्ट खबर मात्र आएको हो । विमान अझै पनि राडारको सम्पर्कमा आएको छैन ।’

यसअघि जहाजले बाजुराको एक बगरमा आपतकालीन ल्यान्ड गरेको खबर बाहिर आएको थियो । कार्गो सामान लिएर जहाज सुर्खेतबाट ६ बजेर १२ मिनेटमा सिमिकोटका लागि उडेको थियो । ९ एन एजेयु कल साइनको जहाजमा चालक दलका दुई सदस्य मात्रै थिए । यता, बाजुराका डिएस्पी कविन्द्र सिंह बोहोराले पनि एक स्थानीय पत्रकारले विमान बाजुराको बगरमा भेटिएको जानकारी दिएपछि खोजीका लागि प्रहरी परिचालन गरिएको रातोपाटीलाई जानकारी दिए ।

‘विमानले आकस्मिक अवतरण गरेको भन्ने खबर पाएका छौँ । तर, हामीले अहिलेसम्म आँखाले विमान देखेका छैनौँ,’ बोहोराले भने ।

उनका अनुसार बाजुरमा दुईवटा बगर रहेको छ, एउटा कर्णालीको बगर र बाजुराको बगर ।  बाजुराको वगर विक्षा चौकीबाट २ घण्टा टाढा रहेको र त्यहाँबाट प्रहरी हिनिसकेको उनले जानकारी दिए । कर्णालीको बगरका लागि प्रहरी पठाइसकेको उनले जानकारी दिए ।

यसअघि, सन् २०१६ मा पनि मकालु एयरको विमान हुम्लाको सिमिकोट विमानस्थलमा दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा दुई जना घाइते भएका थिए ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: