जनअान्दाेलनमा निःशुल्क पानी बाँडेर चर्चामा आएकी रच्चु, के भन्छिन् के गर्दैछिन् अहिले


जनआन्दोलन २०६२-०६३ मा आन्दोलन चलिरहेको बेला सानै उमेरमा प्रजातन्त्र प्राप्तिकाे अान्दाेलनमा हाेमिएका नेपाली जनता, सुरक्षाकर्मी, मानव अधिकारकर्मी, सञ्चारकर्मी लगायतसँग समन्वय गरी गोंगबु चोकमा आन्दोलन चलुन्जेल दुवै पक्षको बीच भागमा बसेर निःशुल्क पानी वितरण गरेकी रचु त्यसबेला ७ कक्षामा पढ्दै थिइन् ।
हाल फुड टेक्नोलोजी अध्ययन गरिरहेकी उनी अब भने नेपालमा खाद्य स्वच्छताको क्षेत्रमा काम गर्ने आफ्नो रुचि रहेको सेतोघरसँगको कुराकानीमा बताइन् । साथै उनले नेपालमा अहिले सम्म खाद्य विज्ञ र प्रयाेगशालाकाे अभाव रहेकाे भन्दै प्रत्येक जिल्लामा कम्तीमा एक जना खाद्य विज्ञ र एउटा प्रयाेगशाला अनिवार्य हुनुपर्ने समेत बताइन् ।

जनआन्दोलनको समयमा निडर रुपमा युद्धभूमीमा बसेर पानी वितरण गरे बापत उनी स्वदेशी तथा विदेशी सञ्चार माध्यमहरुमा पनि छ्यापछ्याप्ती छाएकी थिइन् । साथै विभिन्न संघसंस्था तथा राजनीतिक क्षेत्रका उच्च पदस्थ व्यक्तिहरुले उनलाई अघी बढ्नको निम्ति हौसला तथा प्रशंशा गरे । राजनीतिका उच्च पदस्थ व्यक्तिहरुले हौसला स्वरुप डायरीमा अटो समेत लेखिदिए ।

देशप्रेम र जागरुक स्वभावकी रचु सिताेरियाे कराँतेकि खेलाडी पनि हुन् । स्कुल तथा कलेज तहमा उनी थुप्रै व्यक्तित्व तथा नेतृत्वदायी तालिमहरु लिइसकेकी छिन् । समाजलाई सही दिशामा अघी बढाउन सबैभन्दा पहिले आफूमा सकारात्मक सोचको विकास हुनुपर्छ भन्ने सन्देश आफूसँग निकटतम सम्बन्ध रहेका व्यक्तिहरुलाई उनले दिँदै पनि आएकी छिन् । सानै उमेरमा रचुमा विकास भएकोे यस्तो बानीव्यवहारबाट उनी भन्दा माथिल्लो तहका व्यक्तिहरु समेत चकित पर्ने गरेका छन् ।


राजनीतिमा कत्तिको चासो छ भन्ने प्रश्नमा उनले अहिले आफूले अध्ययन गरिरहेको बताउँदै कम्तिमा स्नातकोत्तर सम्म अध्ययन नै गर्ने र अाफू अध्ययनरत क्षेत्रमा विषयविज्ञता हासिल गरेपश्चात मात्रै आफू कुन क्षेत्रमा जाने भन्ने बारे निधो गर्ने समेत उनले बताइन् । हाल स्नातक तह तेस्रो बर्षमा अध्ययनरत उनी फुर्सदको समयमा विभिन्न सामाजिक कार्यहरुमा समेत सहभागि हुँदै आएकी छिन् ।

आफूले अध्ययन गरिरहेको विषय सम्बन्धीको कुराकानीमा उनले मानवीय जीवनमा सबैभन्दा महत्वपूर्ण पाटो भनेको स्वच्छ खानपान नै रहेको बताउँदै स्वस्थ बन्नको लागि गुणस्तरीय खाद्य पदार्थहरु उत्पादन हुनुपर्ने र यसको लागि प्रत्येक स्थानीय तहमा उत्पादन र प्रयोग हुने खाद्य सामाग्रीहरुको गुणस्तर सुरक्षित गर्दै स्वस्थकर खाद्य उत्पादनको निम्ति खाद्य विज्ञ अनिवार्य हुनुपर्ने समेत बताइन् । यस विषयमा सरकार पक्षको ध्यनाकर्षण गराउनु गर्नुपर्ने समेत बताइन् । उनले थपिन्, ‘स्वच्छ खानेकुरा खाएनौं भने स्वस्थ रहन सकिँदैन र स्वस्थ रहन सकिएन भने उच्च सोच विचार पनि आउँदैन ।’

जनआन्दोलनमा युद्धभूमीमा पानी वितरण गर्ने प्रेरणा कसरी आयो भन्ने प्रश्नमा रचुको जवाफ छ,
‘त्यो बेला नेपालमा प्रजातन्त्र प्राप्तिको लागि आन्दोलन भइरहेको थियो । म पनि यो देशकै एक नागरिक भएको हैसियतले राष्ट्र प्रति केही भूमीका हुनुपर्छ भन्ने सोच आयो । टेलिभिजन हेर्दा सङ्घर्षको भूमीमा लडिरहेका आन्दोलनरत नेपालीहरु ज्यानको प्रवाह नगरी आन्दोलनमा होमिएका थिए । उनीहरु पानी समेत पिउन नपाई आकुलव्याकुल भएका थिए, यस्तो अवस्थामा कम्तीमा उनीहरुलाई पानीको व्यवस्था गर्नुपर्छ भन्ने मान्यताले युद्धस्थलका सबै पक्षसँग समन्वय गरी पानी वितरण गरेकी हुँ । यस कार्य बापत मलाई विभिन्न क्षेत्रबाट प्रशंशा र सम्मान मार्फत थप हौसला समेत प्रदान गरियो ।’

स्मरण रहाेस् रचुका बुबा पनि सक्रियतापूर्वक सामाजिक तथा राजनीतिक गतिविधिहरूमा संलग्न रहँदै अाउनुभएकाे थियाे । यसबाट पनि अनुमान गर्न सकिन्छ कि अाफ्नाे परिवारबाट नै रचुलार्इ अघी बढ्न र सामाजिक गतिविधिहरूमा सक्रिय बन्नकाे निम्ति प्रेरणाकाे स्राेत बनेकाे हुनुपर्छ ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: