नेपालमा रहेकाे दक्षिण एसियाकै अग्लाे ह्यात्रुङ झरना सङ्कटमा


तेह्रथुम । दक्षिण एशियाकै आकर्षक र अग्लो ह्यात्रुङ झरनामा वर्षेनी हिउँद लागे सँगै पानी सुकेर संकटमा पर्दै गैरहेको छ ।तेह्रथुम जिल्ला फेदाप गाउँपालिका वडा नं ४ र ५ को सिमानामा रहेको ह्यात्रुङ झरना नेपालकै अग्लो झरना हो । सो झरनामा अहिले पानी सुकेको छ । झरनामा खसिरहेको पानी आसपासका वनमा रहेका अलैँची बगानमा सिँचाइका लागि लगिएपछि झरना पानीविहीन बनेको छ । झरना हेर्न र रमाउनका लागि पुगेकाहरु अहिले निराश भएर फर्कने गरेका छन् ।

ह्यात्रुङ पनि भनिने तीनसय ६५ मिटर अग्लो उक्त झरनाको अस्तित्व खतरामा परेको विषयमा विभिन्न समयमा चर्चा हुने गरेपनि झरनाको संरक्षणमा सम्बन्धित निकायको ध्यान पुगेको छैन । हिउँद लागे सँगै झरनाको अस्तित्व नै वर्षेनी पानी सुकेर संकटमा पर्दै गएको छ ।

झरना आसपासमा रहेको अलैँची बगानमा सिँचाइका लागि स्थानीयवासीले पानी लगेपछि झरना पानीविहीन बनेको हो । अहिले झरनामा पानी ल्याएर लगाउने विषयमा स्थानीयवासीको छलफल भइरहेको वडाध्यक्ष चोङ्वाङले बताउनुभयो । “झरना पूर्णरुपमा सुकिहाल्ने अवस्था त हैन, तर आसपासमा सिँचाइका लागि पानी लगिएपछि अहिले झरनामा पानी खसेको छैन”, उहाँले भन्नुभयोे । दक्षिण एशियाकै आकर्षक र अग्लो यो झरनामा आवश्यक पूर्वाधार विकास र प्रचारप्रसारमा लगानी गर्न राज्यले उदासीनता देखाउँदा अस्तित्व नै मेटिने खतरा बढेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

झरनाको संरक्षण गरेर प्रचारप्रसार गर्न सके यहाँसम्म पर्यटकको ओहोरदोहोर बढ्न सक्ने सम्भावना उच्च छ । तर त्यसतर्फ कसैले पनि ध्यान नदिएको स्थानीयवासी गुनासो गर्छन् । “अहिलेलाई झरनाबाट आम्दानी केही छैन, त्यसले पनि स्थानीयवासीले झरनाको संरचनामा चासो देखाएका छैनन्”, वडाध्यक्ष चोङ्वाङले भन्नुभयो । उहाँले झरना संरक्षणका लागि स्थानीयवासीमा चेतनाको अभाव रहेको बताउनुभयो ।

झरना आसपास रहेको बस्तीमा होमस्टे सञ्चालनको सम्भावना उच्च छ । त्यसका लागि आवश्यक तालीम, छलफल र होमस्टे सञ्चालनका लागि आवश्यक पूर्व तयारीमा लाग्न छलफल शुरु भएको छ । तर झरनाको संरक्षण हुन नसक्दा हिउँद लागेसँगै क्रमशः झरनामा पानीको मात्रा पूर्णरुपमा सुकेको वडाध्यक्ष चोङ्वाङले बताउनुभयो । अधिकार सम्पन्न भनिएको स्थानीय सरकार गठन भएको यतिका महिना बिते पनि फेदाप गाउँपालिकाले झरनाको संरक्षणका लागि ठोस कदम चाल्न सकेको छैन । झरनाको विकासका लागि चालू आर्थिक वर्षमा गाउँपालिकाले ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष हरि चोङ्वाङले बताउनुभयो ।

गाउँपालिकाले झरनाको विकासका लागि छुट्याएको बजेट खर्च भएको छैन । तर झरना भने पानीविहीन भएको छ । उपभोक्ता समिति गठन गरेर काम गर्ने तयारी रहेको गाउँपालिकाले जनाएको छ ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: