समय के हो ?


महेश्वर बनेपाली

समय आउँछ पर्खंदैन, बगेको खोलो फर्कंदैन :
समय जसले न धनी भन्छ न गरीब नै । समयले धनाड्य, शक्तिवान, रुपवान, रोगी, निरोगी कसैलाई पनि छोड्दैन । समयको आफ्नै सीमा हुन्छ, आफ्नै गति हुन्छ । निःस्वार्थ र निश्चल हुन्छ समय । यसलाई न धनी न गरीब, शक्तिवान्, रुपवान्, रोगी, निरोगी कसैको मतलब हुँदैन । न समयले धनी भनी धनको लोभ गर्छ, न शक्तिवान् भनी शक्तिसँग डराउँछ, न निःसहाय गरीब वा रोगी भनी माया गर्छ, न रुपवान् भनी रुप सँग मोहित हुन्छ, उसको लागि सबै समान नै हुन्छन् । न भगवान्, न दानव, न मानव, संसार जे सुकै होस् । आज होस् या हिजो अथवा भोलि नै किन नहोस्, कोही कसैलाई पर्खेर बस्दैन समय । आइतबार, सोमबार, दिन या रात, चाडपर्व आदि इत्यादि भन्दा भन्दै समयको गति घुमिरहेको हुन्छ । समयले कसैलाई पर्खेर बस्दैन ।
समय नै हो फूल र समय नै हो काँडा । भनिन्छ, पुरुषको भाग्य र स्त्रीको चरित्रले कुन बेला कुन रुप लिने हो, देवताले पनि भन्न सक्दैनन् । समय किन्न सकिन्न तर गुमाउन सजिलो छ । समय रोक्न सकिन्न तर चाह्यौं भने उचित प्रयोगमा ल्याउन सकिन्छ । त्यस्तै यसरी नै सूर्यको पनि आफ्नै अस्तित्व छ । न त कहिल्यै यसको अस्त हुन्छ न त यसको उदय नै हुन्छ । बल्की पृथ्वी मात्र घुमेको हुन्छ । जब पृथ्वी घुम्दाखेरी सूर्यको किरण या तेज जहाँ जुन ठाऊँमा पर्छ, त्यहाँ त्यस बेला बिहान हुँदै दिउँसो हुँदै पृथ्वी घुम्दै जाने क्रममा सूर्यको तेज तब पृथ्वीको एक क्षेत्रबाट टाढिने क्रममा भनेसूर्य अस्त भएको जस्तो गरी रात या अन्धकार हुन्छ । वास्तवमा सूर्य त स्थिर नै रहेको हुन्छ । पृथ्वी नै तलमाथि भएको हुन्छ । जब सूर्य पृथ्वीबाट टाढा जान्छ, सूर्यको तेज पृथ्वीमा घट्दै जान्छ, पृथ्वीमा जाडो शुरु हुन्छ । त्यस्तै सूर्य नजिक आउँदा तेज शक्ति बढ्दै गई पृथ्वीमा गर्मी मौसम हुन्छ । यो सबै समयको चक्र नै हो ।
समय कहिल्यै स्थिर रहँदैन । पृथ्वी जस्तै घुमिरहेको हुन्छ समय । त्यस्तै दिन पनि सधैं एकनाश रहँदैन । दिन पनि घुमिरहेको हुन्छ । जब पृथ्वी या दिन घुम्छ, त्यस्तै ग्रह राशि पनि सँगसँगै घुमिरहेका हुन्छन् । त्यसै अन्तरगत हामी प्राणी जातिको दिनदशा पनि घुमिरहन्छ । त्यसै क्रममा कहिले सुख हुन्छ त कहिले दुख । हरेक प्राणीको शरीर तिन वटा वस्तुबाट निर्माण भएको हुन्छ । पानी, वायु र अग्नि । यी तिनै वस्तुको सन्तुलित प्रभाव जब हाम्रो शरीरमा पर्छ, त्यस बेला हामी निरोगी हुन्छौं । त्यसमा केही तलमाथि पर्नासाथ व्यक्तिमा रोगले बास बसाइहाल्छ । त्यसकारण समयको अस्थिरताले गर्दा नै प्रत्येक प्राणीको शरीर दिनप्रतिदिन कमजोर र निर्वल बन्दै जान्छ । प्रत्येक समय अनुसार प्रत्येक मानवको सोचाई या विचार पनि परिवर्तन भइरहेको हुन्छ । जस्तो कि विहानको सोचाई वा विचार एउटा हुन्छ भने दिउँसाको सोचाई अर्कै बनेको हुन्छ । त्यसरी नै साँझ या रातमा पनि हाम्रो सोचाई बदलिएको हुन्छ । समयको गतिशिलता सँगै हाम्रो शरीरको अवस्था र विचार दुवै बदलिएको हुन्छ । यसमा कुनै दुइमत छैन, जुन धु्रवसत्य कुरा हो ।
भनिन्छ, सुनिन्छ, साथै ठट्टाको विषय पनि हो । कुनै–कुनै मानिस विहान योगगुरु रामदेवको पछिपछि हुन्छन् रे, दिउँसो शुरु भएपछि नेता ज्यूको पछिपछि लाग्छन् रे । साँझ भएपछि दिनभरको थकाई मेट्न झ्यामदेवको पछिपछि हुन्छन् रे, रात परेपछि भने कामदेवको पछिपछि रे । यो त एकदिनको कुरा भयो । मानिसको जीवनकालमा थुप्रै चरणहरु मानिसले पार गरेको हुन्छ ।

समयकै कारण हर मानिस शुरुमा बालक बन्छ, त्यसपछि युवा हुन्छ । मष्तिष्कले काम गर्न छोडेपछि पुःन बालक जस्तै चेतनास्तर कमजोर हुँदै जान्छ । त्यसैकारण भनिन्छ, समय आउँछ पर्खंदैन, बगेको खोला फर्कंदैन । प्रत्येक मानिस जीवनकालमा एकपटक मात्र युवा अर्थात जवान हुन्छ । त्यो समय उसको निम्ति निकै नै महत्वपूर्ण रहन्छ । आफ्नो यौवन अवस्थालाई सही तवरले प्रयोगमा ल्याउन सकेमात्र व्यक्तिले जीवनमा सफलता हासिल गर्छ । त्यसैकारण भनिन्छ, समय नै हो फूल र समय नै हो काँडा ।

समयको परिस्थिति बमोजिम सही दिशामा जानसके व्यक्तिको जीवन सुन्दर फूल या सफलताको सिँढी चढ्न सक्छ । नत्र उसको जीवन असफल नै रही काँडा सरि बन्छ । यसैकारण हरेक मानिसले आफ्नो जीवनकालमा युवाको समयलाई निकै महत्वको साथ लिई ध्यानपूर्वक प्रयोगमा ल्याउनको निम्ति विशेष सचेत बन्नुपर्छ । समय अनमोल छ, सही समयको ख्याल गरी जीवनलाई बदल्न या सही मार्गमा लैजान निकै नै जरुरी छ । यही नै जीवनकला हो । जीवन एक हिरा हो, सम्मान हो । यसकारण जीवनलाई कौडीसरि नफालौं । प्रत्येक मानव जीवनमा समय अनुसार इच्छा, चाहना वा तृष्णा हुन्छ । यी सबैको कारणले नै मानिसले दुःख पाउँछ । जब उसले दुःख पाउँदैन । त्यस माथि पनि उसले नराम्रो इच्छा चाहना, तृष्णा राख्छ, उसले भविष्यमा झन् नराम्रो भोग्नुपर्छ । उसले भविष्यमा अन्धकारमय जीवन बिताउनुपर्ने हुन सक्छ । त्यसकारण हामी राम्रो सकारात्मक सोच लिएर राम्रो इच्छा र चाहना बमोजिम अघी बढौं । राम्रो सोचले अघी बढे दुःख क्षणिक मात्र हुन्छ ।

भगवान् बुद्ध, महात्मा गान्धी आदि पनि भगवान् बुद्धको जस्तो  फूलको आँखामा फूलै संसार । जसको विचार राम्रो छ, जो महान् उद्धेश्यको लागि मर्छ, त्यसको कहिल्यै पनि हार हुँदैन । जसको सोचाई वा विचार समय अनुसार राम्रो छैन भने उसको नजरमा फूल नै काँडासरह हुन्छ । समयले नै कोल्टे फेरेपछि कहिलेकाहीँ आफ्नै मान्छे पनि पराई हुन सक्छ, वा पराई नै आफ्नो पनि हुन सक्छ । यी सबै समयकै खेल हुन् । समयले कहिलेकाहीँ सोच्दै नसोचेको जस्तो पनि बनाउन सक्छ । एकछिन विचार गरौं त यस्तो बलवान् समयको महत्व या मूल्य कति हुन्छ त आखिर ?
भनिन्छ, एक घण्टाको समय कुनै प्रेमिकाको प्रतिक्षामा बसेको प्रेमीलाई सोधौं । एक सेकेण्डको मूल्य ओलम्पिकमा रजत पदक प्राप्त गर्ने खेलाडीलाई सोधौं । एक दिनको मूल्य प्रतिदिन जागिर गरेर जीवन धान्ने कुनै मजदुरलाई सोधौं । समय नै यस्तो चीज हो, जसले हामीलाई कहाँबाट कहाँ पु¥याउँछ, थाहा नै हुँदैन । कसैलाई महलमा पु¥याउँछ त कसैलाई पार्टीको बास बस्न बाध्य गराउँछ । यि सबै समयकै खेल हुन् । समयले नै हामीलाई कहिले हँसाउँछ त कहिले रुवाउँछ । मानिस मात्रै रुँदै जन्मन्छ, शिकायत गर्दै जिउँछ र निराश हुँदै मर्छ । जो महान् उद्धेश्यका लागि मर्छ, त्यसको कहिल्यै हार हुँदैन । आखिर सबैको हितमा नै हाम्रो भलो लुकेको हुन्छ । भोग र वासनाले भने चिरकाल सम्म दुःख दिन्छ । व्यक्तिको अनुहार भन्दा पनि उसको पवित्र व्यवहार नै सुन्दर हुन्छ ।

तपाईं राम्रो काम गर्नुस् या नराम्रो काम । अर्थात कसैमाथि अन्याय, अत्याचार वा चित्त दुखाउनुस् वा कसैको भलो हुने राम्रो काम गर्नुहुन्छ भने समय अनुसार त्यसको परिणाम पनि ढिलोछिटो प्राप्त हुन्छ । सत्य युगमा अर्को जुनी वा अर्को युगमा अहिलेको कामको प्रतिफल प्राप्त हुन्थ्यो रे । तर कलियुगमा भने यसै जीवनकालमा नै त्यसको प्रतिफल हुन्छ रे । राम्रो गरे राम्रै प्रतिफल नराम्रो नराम्रै प्रतिफल ।

समय अनमोल छ, जीवन छोटो छ, समय बितेको चाल पाउनै गाह्रो छ । चाहे तपाईं हामी राम्रो काम गरौं या नराम्रो काम । समयले हामीलाई कदापि पर्खेर बस्दैन । त्यसकारण हामी सही समयमा सही काम गरौं । जुन कामले कसैलाई हानी नोक्सानी नहोस् र आफू पनि मेरो काम त राम्रो रहेछ, सबैको भलो गर्दो रहेछ भनि हेक्का राख्ने कार्यमा लागोस् । पुण्य कमाउनु नै छ, जीवन सार्थक बनाउनु नै छ भने किन अरुको कुभलो हुने कार्यमा लाग्नु ? ‘तुम भि खुस हम भि खुस’ भन्ने हिन्दी उखान सँग मेल खाने कार्यमा समयमा नै लागौं । जसले जीवनलाई सफल र आफूले गरेको कामबाट खुसी हुने अवसर मिल्नेछ । साथै हामी हाम्रो जीवन र बितेको समयबाट कत्तिको खुसी र सन्तोष छौं त ? यसमा पनि हेक्का राख्न नभुलौं ।

(लेखक बनेपाली भक्तपुरको दत्तात्रयमा बस्नुहुन्छ )

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: