यातायात क्षेत्रका व्यवसायीहरू कम्पनीमा जानुपर्ने बाध्यता अाएपछि……….


काठमाडौं । आन्दोलन घोषणा गरेका यातायात समितिहरु गुपचुप रुपमा कम्पनीमा दर्ता प्रक्रियामा आउन थालेका छन् । सरकार कडा रुपमा प्रस्तुत भए कम्पनीमा जानैपर्ने भएकाले उनीहरु कानुनी परामर्शमा जुटेका छन् । केही समितिले कम्पनी रजिष्ट्रारको कार्यालयमा नाम ‘रिजर्भ’ गरिसकेका छन् । त्यसमध्येको एक हो, अरनिको यातायात सेवा समिति । सरकारले अरनिको राजमार्गमा कायम सिन्डिकेट तोडेपछि समिति कम्पनी रजिष्ट्रारको कार्याल पुगेको हो । अरनिको यातायात सेवा समिति २०२९ सालमा काभ्रेको बनेपामा स्थापना भएको संस्था हो ।

समितिका अध्यक्ष श्याम लामाले घोषित आन्दोलनलाई समर्थन गरेको र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भनेपछि मात्रै कम्पनीमा दर्ता हुने बताए । ‘तत्कालै कम्पनीमा जाने होइन, महासंघले भन्यो भने मात्रै हामी जाने हो,’ उनले भने, ‘पहिले आन्दोलनमा होमिन्छौं । भएन भने विकल्प सोच्नुपर्छ । तर, कम्पनी रजिष्ट्रारको कार्यालय स्रोतकाअनुसार अरनिको यातायातले कम्पनीका लागि नाम ओगटेको छ । यो समितिसँग हाल ६५० भन्दा बढी गाडी आवद्ध छन् ।

अरनिको मात्रै हैन, अन्य समितिका पदाधिकारी पनि पनि नाम रिजर्भ गर्न कार्यालयमा पुग्न थालेका छन् । कम्पनी रजिष्ट्रारको कार्यालयका एक कर्मचारीका अनुसार व्यवसायीहरु दर्ता प्रक्रिया बुझ्न र नाम रिजर्भ गर्न आउन थालेका छन् । सबै समितिलाई कम्पनीमा जानैपर्ने स्थिति आए आफ्नो नाम अरुले खोस्ने डर व्यवसायीलाई छ । नियमअनुसार कुनै नाम ओगटेको ३५ दिनभित्र कम्पनीको प्रवन्धपत्रसहित कागजात रजिष्ट्रारको कार्यालयमा पेश गर्नुपर्छ । यो समय सीमाभित्र विधानसहितका कागजात पेश नभए रिजर्भ भएको नाम अन्यले पनि लिन पाउँछन् ।

 

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: