खस र आर्य एउटै हुन् ?


सानो छँदादेखि नै जातको कुरा गर्न हुँदैन भन्दै हुर्काइएको हुनाले होला, शायद अहिले पनि कसैले जात छुट्याएर कुरा गर्दा असहज लाग्छ । माझकिराँतका नामले परिचित खोटाङ सालम्बुको राईगाउँमा सांस्कृतिक काममा बाहेक यो जात, त्यो जात भनेर छुट्टिएको थाहा छैन । राष्ट्रलाई केन्द्रबिन्दु राखेर काम गर्दै आएका मजस्ता धेरैलाई अहिले यो देशको संविधान र राज्यको नीतिले जातजातिको कुरा गर्न बाध्य बनाइदिएको छ । माझकिराँतको थोरै क्षेत्री परिवारमा जन्मिनुमा म न त गौरव गर्छु न त हीनताबोध नै । कुनै पनि मानिस कहाँ जन्मने भन्ने कुरा आफूले तय गरेर हुने नभएकाले यस्ता कुरामा खुसी या दुःखी हुनुपर्ने कारण पनि देखिएन । जो जहाँ जन्मिएको भए पनि उसको हुर्काइ र पाएको अवसरले मानिसको जिन्दगीमा निश्चय नै फरक पार्छ । गाउँमा छँदा पर्वते भन्ने शब्द सुनिएको थियो । विशेष गरेर भाषाको सवालमा यो शब्द प्रयोग हुन्थ्यो । नेपाली भाषालाई पर्वते भनिन्थ्यो र कतिले हामीलाई पर्वते भाषा त्यति आउँदैन भन्ने सुनिएको हो । तर, खस शब्द त्यति चलनचल्तीमा थिएन । क्षेत्रीलाई खस भनिन्छ भन्ने कुरा धेरैपछि मात्र थाहा पाइएको हो । हिजोआज त राज्यले नै तिमी खस हौ भनिदिएपछि क्षेत्रीहरूले खस क्षेत्री पनि लेख्न थालेका छन् । खससँगै आर्यलाई जोडेर खस आर्य भन्ने गरिएको छ ।

मानिसको नाक र शारीरिक बनावटका आधारमा आर्य जाति र मङ्गोल भनी छुट्याइने गरिएको छ । नाक चुचो भएकाहरू आर्य मानिने हो भने दलितहरू किन आर्य भएनन् ? दलित र क्षेत्री–बाहुनलाई छुट्याउने शारीरिक आधार केही देखिँदैन । यसको अर्थ मानसिक आधारचाहिँ हुन्छ भन्ने पनि होइन, को मान्छे कहाँ जन्मियो, उसले कस्तो शिक्षा, पारिवारिक तथा सामाजिक वातावरण र अवसर पायो भन्ने कुराले सोच र दृष्टिकोणहरूमा फरक पार्छ । आर्य खासमा जाति होइन, नहुनुपर्ने हो । आर्य संस्कृत शब्द हो जसको अर्थ हुन्छ, सर्वश्रेष्ठ, महान्, उच्चतम या सबैभन्दा माथि । गौतम बुद्धले पत्ता लगाएका चार महान् सत्यलाई आर्यसत्य भनिन्छ । मुखले मात्र नभई शारीरिक हाउभाउबाट समेत मौन रहनुलाई आर्यमौन भनिन्छ । यस्तो उच्चतम अर्थ लाग्ने शब्दको प्रयोग हाम्रो राज्यको नीतिले ब्राह्मणका लागि गरेको छ । गणतन्त्रात्मक व्यवस्था र संविधानअघि नै पनि ब्राह्मणलाई पहिलो दर्जामा राखिएकै थियो, शब्द चयन र प्रयोग तलमाथि भएर खासै फरक परेन । तर, खस आर्य भनेर क्षेत्री र ब्राह्मणलाई सँगै किन राखियो भन्ने विषयमा भने प्रश्न गर्नैपर्ने भएको छ ।

क्षेत्रीका सामु ब्राह्मण टाठाबाठा मानिन्छन् । त्यही टाठाबाठा हुनुको परिणाम अहिले राज्यले अपनाएको आरक्षणको नीतिमा सङ्ख्या बढी भएर पनि सबै क्षेत्रमा क्षेत्रीको प्रतिनिधित्व थोरै र ब्राह्मणको बढी छ । जसरी दलितमा विश्वकर्मा, जनजातिमा नेवार र मधेसीमा यादवहरूको वर्चश्व छ, त्यसैगरी खस आर्यमा पनि ब्राह्मणको वर्चश्व छ ।

मुलुक कहाँबाट कहाँ पुगिसक्यो, गणतन्त्र सङ्घीयताले झलमल्ल भएका बेला खस र आर्यको कुरा गर्ने ? भन्ने प्रश्न पनि आउन सक्छ । तर, यो झलमल्लभित्र क्षेत्रीहरूको के हो, हो कि होइन प्रकारको अलमल देखेर केही लेख्नैपर्छ जस्तो लाग्यो । सन् २०११ को जनगणनाअनुसार क्षेत्रीको सङ्ख्या यो मुलुकमा सबैभन्दा बढी १६.६ प्रतिशत छ । त्यसपछि ब्राह्मणको सङ्ख्या छ, १२.२ प्रतिशत । राज्य संरचनामा हेर्ने हो भने नेपाली सेनामा बाहेक अरू सबै ठाउँमा ब्राह्मणहरूकै वर्चश्व छ । सरकारी जागिर, न्यायालय, राजनीति सबैतिर ब्राह्मणहरूको बाहुल्य छ । ब्राह्मणहरू पढ्छन्, दुःख–मिहिनेत गर्छन्, हुन्छन् नि त लेखपढ गर्ने ठाउँमा, क्षेत्रीहरूलाई काजीसाब, बाबुसाब, मैसाब हुनुपर्ने, केही होस् कि नहोस् संसारै आफ्नो होजस्तो गरेर हिँड्नुपर्ने, आइस्योस्, गइस्योस्, सवारी होस्, यो राज्य हाम्रा पुस्ताले चलाएका हुन् भन्दै विगतको फुर्तीमा वर्तमान बाँच्नुपर्ने अनि क्षेत्रीहरूको वर्चश्व राज्य संरचनाका सबै तहतप्कामा खोजेर हुन्छ त भन्न पनि सकिएला । कतिपय अवस्थामा त्यस्तो देखिन्छ पनि । हामी त थापाकाजी, बस्नेतकाजी, खड्का, कार्की, पाण्डे खलक, खै के–के भन्दाभन्दै राज्य संरचनामा क्षेत्रीको वर्चश्व घट्दै गइरहेको छ । राजसंस्था नहुँदा पनि राष्ट्रपति विद्या भण्डारी विवाह गरेर पो बाहुन भएकी पाण्डे क्षेत्रीकी छोरी हुन् नि भनेर गर्व गर्नेहरू पनि छन्, राम्रै हो ।

हाम्रो संविधान र राज्यका नीतिहरूले खस आर्यलाई एकै ठाउँ राखेको छ । नेपालको संविधान २०७२ अनुसार खस आर्य भन्नाले क्षेत्री, ब्राह्मण, ठकुरी, सन्न्यासी (दशनामी) समुदाय सम्झनुपर्छ । तर, अहिले समानुपातिक निर्वाचन प्रणालीबाट खस आर्य कोटामा परेका नामहरू हेर्दा धेरैजसो ब्राह्मण मात्र पर्न सफल भएको देखिन्छ । नेकपा एमालेमा खस आर्यमा परेका एकजना पुरुषमा मुकुन्द पौडेल र दशजना महिलामा सातजना ब्राह्मण छन् । नेपाली काङ्ग्रेसमा चारजना खस आर्य महिला कोटामा मीना पाण्डे, डा. डिला सङ्ग्रौला, पुष्पा भुसाल र सुजाता कोइराला गरी चारजना नै ब्राह्मण छन् । यता एमाओवादीमा पनि खस आर्यमा सबै ब्राह्मण मात्र देखिन्छन् । पिछडिएको क्षेत्रबाट भने क्षेत्री परेका छन् । प्रदेशहरूको तथ्याङ्क पनि करिबकरिब उस्तै छ । क्षेत्रीकै सङ्ख्या कम भएपछि ठकुरी, दशनामीहरूको त झन् कुरै भएन ।

अन्तरिम संविधानमा खस आर्यलाई ‘अन्य’मा राखिएको थियो । संविधानसभा नियमावली मस्यौदा समितिले त्यसैलाई निरन्तरता दिने भएपछि कुमार खड्कालगायतका सांसदहरूले मुलुकको सबैभन्दा ठूलो जनसङ्ख्या रहेको मूल जाति क्षेत्रीहरूलाई अन्यमा राख्न नहुने अडान राखेपछि खस आर्यमा राखियो । उहाँहरूले खस र आर्य छुट्टाछुट्टै राख्नका लागि खस पछि कमा (,) राखेर आर्य लेख्नका लागि लिनुभएको अडानचाहिँ सफल हुन सकेन । वास्तवमा क्षेत्री र ब्राह्मण समुदाय एउटै भए पनि जात एउटै होइन । क्षेत्री र बाहुनबीच कतिपय कुराहरू उस्तै जस्तो लागे पनि फरक छन् । क्षेत्रीका सामु ब्राह्मण टाठाबाठा मानिन्छन् । त्यही टाठाबाठा हुनुको परिणाम अहिले राज्यले अपनाएको आरक्षणको नीतिमा सङ्ख्या बढी भएर पनि सबै क्षेत्रमा क्षेत्रीको प्रतिनिधित्व थोरै र ब्राह्मणको बढी छ । जसरी दलितमा विश्वकर्मा, जनजातिमा नेवार र मधेसीमा यादवहरूको वर्चश्व छ, त्यसैगरी खस आर्यमा पनि ब्राह्मणको वर्चश्व छ । राष्ट्रमा अनेक समस्या भएका बेला जातजातिमा झरेर शब्द खर्चिनुपरेकोमा दुःख छ, तर अधिकार दिइनै सकेपछि त्यो न्यायिक होस् भन्ने लाग्नु स्वाभाविक नै हो । खसआर्यका नाममा स्वदेशदेखि विदेशीसम्मको गाली खाने बेलामा क्षेत्री–बाहुनले सगोलमा खाए पनि अवसरको बाँडफाँड भने त्यसरी भएको छैन ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: