भौतिक विज्ञान र गणितमा ठूलो समस्या देखियो


एक र दुई जोड्दा कति हुन्छ ? भनी कसैले सोधेमा उत्तर आउनेछ – ‘तीन’ । यो उत्तर त साना केटाकेटी र साक्षरदेखि निरक्षरहरुले सहजै अनुमान लगाउन सक्छन् । तर गणित र भौतिक विज्ञानमा भने एक र दुई जोड्दा ‘तीन’ नभएर ‘दुई’ नै हुन्छ भन्ने आधारमा स्थापित नियमहरुको पठनपाठन गराइएको नयाँ तथ्य सार्वजनिक भएको छ ।
यसरी स्थापना भएका ती नियमहरुका आधारमा जाँच गर्दा अझ अचम्म त के पाइन्छ भने एक, दुई र तीनको योगफल ‘छ’ (अर्थात् ६) नभएर ‘साढे चार’ (अर्थात् ४.५) हुने गर्दछ भने शून्यमा एक जोड्दा योगफल ‘एक’ नभएर ‘आधा’ (अर्थात् ०.५) हुने गर्दछ । एक्काइसौँ शताब्दीमा आइसक्दा पनि भौतिक विज्ञान र गणित विषयका विद्यार्थीहरुले थाहै नपाइकन तिनै सूत्रहरु पढिरहेका छन् ।

अवस्य पनि पाठ्यक्रममा रहँदै आएका यस्ता नियमहरु कुनकुन रहेछन् भन्ने लाग्न सक्छ । ती नियमहरुलाई भौतिक विज्ञानमा ‘सुवात’ समीकरणका नामले चिनाइन्छ र पठनपाठन गराइन्छ । ‘सुवात’ नामक शब्द अंग्रजीका एस, यु, भि, ए र टि गरी पाँच वटा वर्णको संयोजनबाट बनेको हो । ती वर्णहरुले क्रमशः पार भएको दुरी, सुरुको गति, अन्तिम गति, प्रवेग र समय भन्ने अर्थ दिन्छन् ।

सुवात समीकरणहरुमध्ये पार भएको दुरी (एस) निकाल्ने सूत्रअनुसार पार भएको दुरीसँग सुरुको गति र समयको गुणनफलमा समयको वर्गफल र प्रवेगको गुणनफलको आधा मात्रा जोड्दा आउने परिणाम बराबर हुन्छ । यसअनुसार माथिझैँ गरी फरकफरक समयान्तरालका गतिहरु राख्दा माथि भनिएझैँ (आधा, दुई, साढे चार जस्ता) रोचक र असत्य परिणामहरु आउँछन् । यिनै सुवात समीकरणहरु र यस्तै अन्य केही परिमाणहरुलाई भौतिक विज्ञानका पाठ्क्रमबाट तत्काल हटाई विद्यार्थीहरुको मूल्यवान् समयलाई सही ज्ञानमा लगाउनुपर्ने माग एक अभियानले अघि सारेको छ ।
झन्डै एक दशकअघिदेखि सक्रिय रहेको भौतिक विज्ञानसम्बन्धी विश्वव्यापी अभियान ‘भौतिक शास्त्र पुनर्निर्माण अभियान’ले एक प्रेस विज्ञप्ति जारी गर्दै भौतिक विज्ञान र गणितसँग सम्बन्धित पाठ्यक्रममा भएका विभिन्न गल्तीहरु तत्काल सच्च्याउन नेपाल सरकारसमक्ष माग गरेको हो ।

विद्यार्थीको भविष्यलाई जोड दिँदै उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘भविष्यका कर्णधारका रुपमा रहेका विद्यार्थीहरुलाई कुनै व्यक्तिविशेषको अहम्जन्य मानसिक समस्याको प्रभाव वा कुनै समूह विशेषको स्वार्थको शिकार हुनबाट बेलैमा बचाउनु राज्य, अभिभावक, शिक्षक, विज्ञवर्ग र सम्बन्धित पक्षहरुको समेत अनिवार्य दायित्व हो ।’
‘कुनै व्यक्ति वा समूहविशेषका स्वार्थका खाँतिर समग्र विद्यार्थीहरुको भविष्यमाथि भइरहेको डरलाग्दो खेलवाडमा जानाजान चुपचाप बस्नु र सहमति जनाउनु कुनै अर्थमा पनि उपयुक्त हुने नदेखिएकाले यो प्रेस–विज्ञप्ति जारी गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’, विज्ञप्ति जारी गर्नुपर्नाको कारणबारे स्पष्ट गर्दै अभियानले लेखेको छ ।

विज्ञाप्तिमा तीनवटा विषयहरुलाई तत्काल हटाउन माग गरिएको छ । माग गरिएका ती तीन विषयहरुमा ऊध्र्वचाप र विस्थापित तरल पदार्थको तौल बराबर हुने मानेर स्थापित नियम, सिद्धान्त र मान्यता, सुवात समीकरणहरु र प्रवेगसँग सम्बन्धित सिद्धान्त, नियम र मान्यताहरु रहेका छन् ।

भौतिक शास्त्र पुनर्निर्माण अभियानका अध्यक्षसमेत रहेका खोजकर्ता भविन्द्र कुँवरले विज्ञप्तिबारे जानकारी गराउने क्रममा भौतिक विज्ञान र गणितमा एकपछि अर्को सत्य स्थापित हुँदै जाने भन्ने हल्ला सधैँभरि सही सिद्ध नहुने धारणा राखेका छन् । उनले भने, ‘भौतिक शास्त्रमा सामाजिक वा अन्य विज्ञानहरुमा जस्तो समयसापेक्ष सत्यहरु परिवर्तन हुने भन्ने हुँदैन । सही कुरा नभेटिँदासम्म मात्र सुधारको सामान्य क्रम जारी रहने भए पनि वास्तविक सत्य पत्ता लागेपछि त्यसको विकल्प खोज्ने सम्भावना पनि स्वतः समाप्त हुन पुग्छ ।’

खोजकर्ता कुँवरले भने, ‘प्राज्ञिक तहका लागि पनि सबैभन्दा ठूलो चुनौती स्वतन्त्र रहनु हुन गयो भने यो दुःखपूर्ण हुन्छ, ।’ प्रयोगशालासँग सम्बन्धित विषयहरुमा अध्ययनअध्यापन गर्ने व्यक्ति वा समूहले प्रयोगशालामा प्रवेश गर्दा सबैभन्दा पहिले आआफ्ना नीजि स्वार्थ, अडान, बाध्यता, पूर्वाग्रह, व्यक्तित्व र व्यक्तिगत योग्यतालाई बाहिरै फुकालेर प्रवेश गर्ने क्षमताको विकास गर्नुपर्ने धारणा अभियानका अध्यक्ष कुँवरको रहेको छ ।

विज्ञप्तिमा उल्लिखित विषयहरुमा देखिएका समस्या र तिनको समाधानसँग सम्बन्धित केही पुस्तक तथा अनुसन्धानपत्रहरुबारे समाचारहरु प्रकाशित गरिएको थियो । ती विषयहरुमा विगत दुई दशकदेखि खोजकर्ता भविन्द्र कुँवरले खोज गर्दै आएका थिए । केही वर्षअघि ती विषयहरु पूर्णतः कपोलकल्पित र तथ्यहीन भएको परीक्षणबाट सिद्ध गरिएको विषयलाई नेपाली सन्चारमाध्यमहरुले उच्च प्रथमिकताका साथ प्रकाशित गरेका थिए । अभियानद्वारा विगत एक दशकदेखि सरकार र प्राज्ञिक क्षेत्रको ध्यानाकर्षणका लागि विभिन्न समयमा परीक्षण र प्रवचनसम्बन्धी विविध कार्यक्रमहरुसमेत हुँदै आएका छन् ।

Background conceptual image with science formulas on chalkboard

भौतिक शास्त्रमा भएका गल्तीहरुबारे अन्य देशमा पनि थाह दिने काम नेपालीहरुको काँधमा आउनु चुनौती र अवसर दुवै भएको धारणा अभियानका महासचिव नवीन भावुकको छ । भुलवश अन्य देशका मानिसहरु गलत बाटोमा हिँडेको थाह पाएर पनि हामीमात्र सही र अर्थपूर्ण बाटोमा किन हिँड्ने? भन्ने सोचाइ पनि आउन सक्छ तर यस्तो प्रश्न आफैमा नमिल्दो देखिन पुग्छ , अभियन्ता भावुकको धारणा छ ।

संसारमा कत्राकत्रा वैज्ञानिक अभ्यासहरु भएका छन्, नेपालीले भनेर कहाँ हुन्छ ? नेपालमा त प्रयोगशालाहरु पनि त्यति छैनन् नि ? जस्ता सतही धारणाहरुका पछि नलागी प्रयोगशालाले सार्वभौमिक रुपमा दिने जुनकुनै परिणामलाई वस्तुगत रुपमा लिनुपर्ने विचार महासचिव भावुकको रहेको छ ।
भौतिक शास्त्र पुनर्निर्माण अभियान, भौतिक शास्त्रमा परीक्षणबाट पुष्टि हुन सक्ने विषयहरुलाई मात्र अग्रसारण गर्दै आएको विश्वव्यापी अभियान हो । हाल यसले स्वदेशमा मात्र नभई विदेशमा पनि यस अभियानले शाखा गठन गरेको छ ।
विगत एक दशकयता उक्त अभियानसँग सम्बन्धित भौतिक विज्ञानसम्बन्धी सचेतनामूलक कार्यक्रमहरु देशका काठमाडौँ, ललितपुर, भक्तपुर, म्याग्दी, बागलुङ, पर्वत, चितवन आदि जिल्लाका शिक्षण संस्था र पुस्तकालयहरुमा समेत सम्पन्न भइसकेका छन् । अभियानले नेपालबाहेक जापानमा आफ्नो शाखा गठन गरेको छ भने अन्य देशमा पनि यो गठनप्रक्रिया अघि बढाउँदै छ ।

वैज्ञानिक आधारको विकास र सुधारको क्रममा विश्वमा विभिन्न प्रकारका रोचक र ऐतिहासिक घटनाहरु भएको पाइन्छ । कतिपय विश्वविद्यालयमा केही दशकअघिसम्म गणितको एक खन्डका रुपमा सीमित रहेको भौतिक विज्ञानले विभिन्न आरोहअवरोहरु पार गर्दै आएको छ ।

ई.पू. ५ औँ शताब्दीमा निरीश्वरवादी र पदार्थकेन्द्री धारणा राखेकोमा एनाक्सागोरसलाई वर्षौँसम्म बन्दी बनाइएको थियो भने सोक्रेट्स र प्लेटोले पनि तात्कालीन राजनीतिक समस्या झेल्नु परेको थियो ।
बाह्रौँ र तेह्रौँ शताब्दीका एभेर्राेएष्ट, रोजर बेकन, थोमस अक्विनस र ब्रावान्ट लगायतले पूर्वमा विकसित आर्यभट, ब्रह्मगुप्ता, अलहाजन, बिरुनी, अभिसिन्ना आदिका वैज्ञानिक कार्य र धारणाहरुलाई अगाडि बढाउन कठिन देखिएपछि विद्यालयहरु नै नयाँ खोलेका थिए, यसै आधारमा नै कोपर्निकस, ग्यालिलियो, केप्लर, न्युटन आदिका वैज्ञानिक खोजहरुले मौलाउने अवसर प्राप्त गरेका थिए ।

गलत सन्देशप्रवाहको अन्त्य र ऐतिहासिक परिवर्तनका क्रममा जस्तासुकै बाधा र बहानाहरु सिर्जना हुन सक्ने यथार्थलाई आफूहरुले स्वीकार गरिसकेको अभियन्ता कुँवरले बताउँदै उनले भने, ‘प्रयोगशालीय परीक्षणका अघि कोहीकसैको पनि केही नलाग्ने यथार्थ स्वयं भौतिक शास्त्रीय इतिहासले देखाएकाले यसलाई सबैले बेलैमा बुझ्नु जरुरी छ ।’
यस क्रममा खोजकर्ता कुँवरले थपे, ‘मानवजातिले सधैँभरि इतिहासकै बाटो मात्र अँगाल्छ नै भन्ने हुँदैन, त्यसो हुँदो हो त यो संसारको इतिहास सधैँभरि वर्तमान भएर बसिरहन्थ्यो ।’ भौतिक शास्त्र पुनर्निर्माण अभियानले सन्चालन गरेको पेजमार्फत् सार्वजनिक गरिएको उक्त विज्ञप्तिमा अभियानका अध्यक्ष भविन्द्र कुँवर र महासचिव नवीन भावुकले हस्ताक्षर गरेका छन् ।

‘२१ औँ शताब्दीमा आएर विश्वको कुनै पनि राज्यले विद्यार्थीहरुको भविष्य निर्माणका लागि भनी गरेको लगानीले उल्टै विद्यार्थीहरुको भविष्य बिगार्न र उनीहरुको मूल्यवान् समय निरर्थक काममा लगाउन भूमिका खेलिरहेको पाइनु आफैमा विरोधाभासपूर्ण र अक्षम्य देखिएकाले सर्वसाधारणको जानकारी र नेपाल सरकारको ध्यानाकर्षणका लागि यो प्रेस–विज्ञप्ति जारी गरिएको हो ।’ विज्ञप्तिमा भनिएको छ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: