टुरिजम तथा होटल म्यानेजमेन्टका विद्यार्थी बेरोजगार बस्नुपर्ने अवस्था छैन : नाथमका कार्यकारी निर्देशकसँगकाे कुराकानी


दुर्गादत्त ढकाल कार्यकारी निर्देशक, नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)

 नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)को बारेमा प्रष्ट पारिदिनुस् न ?
नेपालमा पर्यटन र होटल क्षेत्रमा दक्ष जनशक्ति उत्पादनको आवश्यकता महसुस भएर वि.सं. २०२९ देखि पर्यटन तथा होटल तालिम केन्द्र खोलेको इतिहास छ । त्यो भन्दा अगाडि तालिम तथा शैक्षिक कार्यक्रमहरु भारतको सिक्किम, दार्जेलिङ्ग आदि ठाउँहरुमा गएर हासिल गर्ने नेपालीहरुको चलन थियो ।

तालिम केन्द्र सँगै शैक्षिक कार्यक्रमहरु पनि संचालन गर्नुपर्छ भन्ने महसुस भइसके पछाडि सन् १९९९ देखि त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर यसले ब्याचलर लेभलमा होटल म्यानेजमेन्ट शुरु गर्यो । यो संस्थाको नाम पनि पहिले होटल तथा पर्यटन तालिम केन्द्र थियो, अहिले पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान भएको हो । सन् १९९९ देखि २००३ सम्म आउँदा ब्याचलर इन ट्राभल एण्ड टुर्स म्यानेजमेन्ट कार्यक्रम थपियो ।

यस संस्थाबाट तालिम लिनु र अन्य संस्थाबाट तालिम लिनुमा के फरक छ ?
यहाँबाट तालिम लिइसकेपछि सिधै पर्यटन विभागबाट लाइसेन्स लिन सकिन्छ । ट्रेकिङ्गको तालिम लिइसकेपछि ट्रेकिङ्गको लाइसेन्स पर्यटन विभागले नै उपलब्ध गराउँछ । त्यसैगरी ट्राभलको तालिम लिइसकेपछि ट्राभलको लाइसेन्स पनि पर्यटन विभागबाट लिन सकिन्छ । तर निजी क्षेत्रबाट यस्ता तालिमहरु लिइसकेपछि लाइसन्स लिने अवस्था छैन, अहिलेसम्म । त्यस्तै होटलको क्षेत्रमा पनि अन्य क्षेत्र र यहाँ पढेका विद्यार्थीहरुमा फरक के छ भने शिक्षा धेरै विद्यार्थीलाई संलग्न गराएर उनीहरुलाई कसरी व्यवहारिक शिक्षा दिने, कसरी प्राक्टिकल गराउने भनेर दैनिकजसो गराउँछौं । यसरी व्यवहारिक शिक्षा दिनुपर्छ र यो प्राक्टिकल बेसमा आधारित हुनुपर्छ भनेको हुनाले ब्याचलर स्तरको संख्या प्रतिस्पर्धात्मक छ । यहाँको शिक्षा प्राक्टिकल वेसमा आधारित भएकोले त्यसैले यो एकेडेमी हो, कलेज होइन । यसले थेउरीकल डिग्री मात्र दिँदैन, यसले प्राक्टिकल ज्ञान दिन्छ, त्यस्तै गरी धेरै विद्यार्थीहरुलाई ईन्टर्नसिपको लागि चीन, थाइल्याण्ड, दुबई लगायत विश्वका पाँच÷छ वटा मुलुकहरुमा पठाउँछौं । अहिले दक्ष जनशक्ति उत्पादन नभइकन पर्यटन क्षेत्रमा राम्रो गर्न सकिँदैन भन्ने हाम्रो मान्यता छ ।

 तर बजारमा त दक्ष जनशक्तिको अभाव छ नि ?

हो, अहिले बजारमा दक्ष जनशक्तिलाई टिकाउन सकिराखिएको अवस्था छैन । धेरै यहाँबाट उत्पादन भएका जनशक्तिहरु पनि विदेशमा रोजगारको सिलसिलामा गएको अवस्था छ । त्यसकारण हामीले होटल एशोसिएसनहरु र ट्राभल एण्ड टुरिजम एजेन्सीहरुसँग छलफल गर्दा अब दक्ष जनशक्तिलाई नेपालमै टिकाइराख्नु पर्यो भनेको छौं । हाम्रो नाथमको नारा पनि वर्क फर क्वालिटी सर्भिस हो । कामको लागि राम्रो सेवा चाहिन्छ नै, जसलाई नेपालमा टिकाइराख्नु पर्यो, विदेश पठाउनु भएन भनेर उहाँहरुलाई रणनीति अवलम्बन गर्नुस् भनेका छौं । हाम्रो संस्थाबाट पनि क्वालिटीलाई नै फोकस गरेका छौं । साथै नयाँ संरचना अनुसार आगामी दिनहरुमा सात वटै प्रदेशमा नाथमका शाखाहरु स्थापना गर्ने र त्यसको आधारमा टुरिजम यूनिभर्सिटी बनाउने भविष्यको लक्ष्य रहेको छ ।

 यस क्षेत्रमा तपाईंहरुले के कस्ता समस्याहरु पाउनुभएको छ ?
अहिले खास गरेर हाम्रा त्यति ठूलो समस्याहरु केहि छैनन् । विभिन्न ठाउँहरुमा शाखाहरु विस्तार गर्ने, त्रिभूवन विश्वविद्यालयबाट शाखा विस्तार गर्नको लागि सम्बन्धन प्राप्त गर्ने र पूर्वाधारहरुको विकास गर्ने हाम्रो लक्ष्य रहेको छ । खास गरेर टुरिजम उद्योगमा अहिले पनि धेरै जनशक्तिहरु विदेश गएका हुनाले नेपालमा क्वालिटी शिक्षकहरुको पनि अभाव छ । उहाँहरुलाई कसरी पूर्ति गर्ने साथै टपर विद्यार्थी छ भने उसले यहिँ पढाउन पाउने अवस्था पनि गरिएको छ । तर स्थायी रुपमा काम गर्ने हो भने हाम्रोमा लोकसेवा आयोगकै प्रक्रियाबाट आउनुपर्छ । कक्षा संचालनको लागि तत्काल अस्थायी रुपमा चलाउनको लागि पहिलो प्राथमिकता भनेको यहाँबाट उत्पादित विद्यार्थीहरुले नै पाउँछन् ।

ड्ड यहाँ अहिले विद्यार्थीको संख्या कति छ ?
ब्याचलर लेभलमा होटल म्यानेजमेन्टका ६ सय ४० जना विद्यार्थी छन् । चारसय ८० जना ट्राभल एण्ड टुरिजममा छन् । मास्टर लेभलमा ८० जना छन् । मास्टर लेभलका विद्यार्थी भने बीचमा विदेश वा कतै जानुपरे छोडेर हिँड्ने चलन पनि छ । विद्यार्थीहरु पर्याप्त छन् । थप विद्यार्थी भर्ना गर्न पहल गर्दैछौं । त्यसको लागि हाम्रा कक्षाकोठाहरु निर्माणको क्रममा छन् । नयाँ भवनका संरचना पनि बनिराखेको छ । भोलि भविष्यमा इन्टर्नसिप गराउनको लागि यहिँको होटलबाट नै पहल भइराखेको छ । होटल संचालनमा आइसकेपछि धेरै विद्यार्थीले हाम्रै चारतारे लेभलको होटलमै इन्टर्नसिप गर्न पाउँछन् । शैक्षिक कार्यक्रमकै जनशक्ति पूरै आवश्यक पर्ने अवस्थामा त अलिकति कमै होला तर पनि हामीले अल्पकालिन ३५ दिने, तीन महिने तालिमहरु चलाउँछौं । जस्तोः ट्रेकिङ्ग, ट्रेकिङ्ग पोटर गाइड, टुर गाइड, फुड एण्ड बेवरेस सर्भिस(वेटर), फुड प्रोडक्ट(पकाउने)लगायतका अल्पकालिन तालिमहरु पनि चलाउछौं । यी तालिम लिइसकेपछि यसले जान्दैन कि भन्ने चिन्ता चाहिँ हुँदैन ।

 दक्ष जनशक्तिलाई नेपालमै स्थापित गर्न कस्ता पहल गर्ने सोच बनाउनु भएको छ ?
क्वान्टिटीमा नेपालमा पर्यटन उद्योगहरुको मात्रा बढ्दै गइराखेको अवस्था, पर्यटकहरु पनि आइराखेको अवस्था भएको हुनाले अब उत्पादित जनशक्तिलाई विदेश जाने अवस्था सिर्जना नहोस है भन्ने मान्यता हो । यसको लागि हामीले निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि गइराखेका छौं । यहाँबाट उत्पादन भएका जनशक्तिले यहिबाट रोजगारी पाएर नेपालमा टुरिजम डेस्टिनेशनको रुपमा नेपाल विकास हुन्छ र त्यसमा हामीले अझ बढी संख्यामा अर्थात सातै प्रदेशमा संचालन भइसकेपछि त संख्या त स्वभाविक रुपमा बढ्ने नै भयो, तालिमका मात्राहरु पनि बढ्ने भए । यसरी यसलाई बढाउनको लागि हामीले सम्बन्धित निकायहरुसँग सहकार्य गर्दैछौं र कानुनी बाटोबाट फुकाउनको लागि पनि प्रतिष्ठान ऐन बनाएर प्रक्रिया अगाडि बढाउँदैछौं । यो वर्ष प्रतिष्ठान ऐन पास भइसकेपछि सातवटा प्रदेशमा शाखा खोलेर संचालन गर्ने अवस्था रहन्छ । त्यसपछि प्रादेशिक सरकारसँग समन्वय गरेर कामहरु अगाडि बढाउछौं ।

 अहिले यहाँबाट उत्पादित दक्ष जनशक्ति के–कस्तो ठाउँमा छन् त ?
अहिले हाम्रो यस संस्थाबाट उत्पादित जनशक्तिहरुलाई नेपालमा खुलेका नयाँ होटलहरु र खुल्न लागेका होटलहरु आफै आएर विद्यार्थी छनौट गरेर लगेको अवस्था पनि छ । जस्तो मेरिट होटलले एकैचोटी ३२ जना विद्यार्थी लग्यो । यसरी नै अरु होटलहरुले पनि लाने क्रम जारी छ । हाम्रो अहिलेको अवस्था भनेको यहाँबाट उत्पादन भएको जनशक्ति बेरोजगार बस्नुपर्ने अवस्था छैन ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: