घाइतेको बयानः विमान जलिरहृयो, हामी गुहार माग्दै चिच्याइरहृयौं


काठमाडौं । बंगलादेशकी सरिन अहमद पोखरा घुम्न साथीसँगै ढाकाबाट काठमाडौं उडेकी थिइन् । तर, काठमाडौंमा पाइला टेक्नै नपाउँदै जे भयो, त्यो कहालीलाग्दो छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको यूएस बंगलाको विमान सवार ७१ यात्रुमध्ये उनी पनि एक थिइन् । यति मात्र होइन, दुर्घटनामा परेर पनि जीवित रहेका २१ ‘भाग्यमानी’ मध्ये पनि उनी एक हुन् ।

तर, उनले आफ्नो साथी गुमाएकी छन् ।

सरिनका अनुसार आफूहरु सवार विमान काठमाडौंको आकाशमा आएपछि पाइलटले विमान अवतरण गर्ने तयारीमा रहेको जानकारी गराएका थिए । तर, अवतरण हुन सकेन ।

त्यसपछि घुमेर फेरि अवतरणको प्रयास भयो । विमान देब्रेतिर धेरै ढल्कियो । उनलाई केही असहज लाग्यो ।

तर, पाइलटले अवतरण गर्ने तयारीमा छौं भनेकाले उनीसहित सबै यात्रुहरु ढुक्कजस्तै थिए ।

उनी भन्छिन्, ‘सबथोक अचानक भयो ।’

मसँग एक साथी थिए । तर, उनी त्यहीँ … यति भनेर उनले गहभरि आँशु बनाइन् । शायद उनलाई साथी गुमाएको थाहा भइसकेको थियो ।

२९ वषर्ीया सरिन स्कुलमा काम गर्थिन् ।

साथीसँग पोखरा घुम्न उनी पहिलोपटक नेपाल आएकी हुन् । उनीहरुको शुक्रबार बंगलादेश फर्किने योजना थियो ।

तर, पहिलोचोटि काठमाडौं अवतरण गर्ने क्रममा उनी दुर्घटनामा परिन् । उनको खुट्टामा चोट लागेको छ । साथी गुमेका छन् ।

विमान दुर्घटनापछिको भयावह अस्वस्था सम्झँदै उनी भन्छिन्, ‘सबैले भगवान पुकारिरहेका थिए । म र अर्की एकजनाले सहयोग माग्दै धेरै चिच्यायौं ।’

उनका अनुसार दुर्घटनालगत्तै विमानमा आगो लाग्यो । झण्डै २० मिनेटमा आगो नियन्त्रणमा आयो । त्यसपछि उनले केही राहतको सास फेरिन् तर, त्यतिबेलासम्म धेरैले ज्यान गुमाइसकेका थिए ।

सरिन भने विमानबाट ओर्लेर हिँडेरै एम्बुलेन्ससम्म पुगिन् ।

अस्पतालमा भेट्ने धेरैले उनलाई तपाई त भाग्यमानी हुँनुहुँदोरहेछ भनिरहेका थिए । तर, उनी भने गहभरि आँसु पार्दै भन्दै थिइन, मैले मेरो साथी गुमाएँ ।’

onlinekhabar.com

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: