महिला अधिकारका लागि हाम्रो आन्दोलन


तिला सर्मा

’’आर्थिक सशक्तिकरण सहितको सामाजिक जागरण, ग्रामीण तथा शहरी महिलाको जीवनस्तर रूपान्तरण’’ भन्ने अन्तराष्ट्रीय नाराका साथ आज विश्वभर १०८ औ अन्तराष्ट्रीय श्रमिक महिला दिवस मनाइँदै छ ।

आजको दिनलाई महिलाहरुको मुक्ति र स्वतन्त्रता अनि अधिकार प्राप्तिको दिनको रुपमा पनि लिइन्छ । यस दिवसको सन्दर्भ पारेर विश्वभरका महिलाहरुले आ–आफ्नो ठाउँबाट विभिन्न कार्यक्रम गरी यो दिवसलाई सम्झने र चाडको रुपमा लिने गरेको पनि पाइन्छ ।

सन् १८८९ मार्च ८देखि ८ मार्चलाई महिला अधिकार र महिला मुक्तिकालागि गरिएको संघर्षको रुपमा सम्झिइन्छ । त्यही आन्दोलनसँग जोडिएकी महिला नेता हुन् क्लारा जेट्किन् । आज उनले यो आन्दोलनको नेतृत्व नगरेकी भए सायद महिला अधिकारका मुद्दाहरू अझ पछाडी नै रहन्थे होलान् । आजको दिन यिनै महान् व्यक्तिलाई यो लेख मार्फत स्मरण गर्दै सम्मान गर्न चाहन्छु ।

जर्मनी नागरिक क्लारा जेटिकन् नै यस अन्तराष्ट्रीय श्रमिक महिला दिवसकी संस्थापक हुन् । महिला मुक्ति आन्दोलनकी प्रणेता जेटिकनको जन्म सन् १८५७ जुलाई ५ मा जर्मनीको लिपगिजमा सामान्य परिवारमा भएको थियो । बाल्यकालमा अभाव र गरिबी झेल्नुपरेपछि सामान्य शिक्षा पछि नै उनले शिक्षण पेसामा लाग्नु पर्यो। उनका बुबा आमा पनि शिक्षण पेसामा संलग्न थिए । आफ्नो पढाइ खर्च आफैं जुटाउँदै आफ्नो अध्ययनलाई पनि अगाडि बढाउदै लगेकी जेटिकन् विद्रोही र निडर स्वभावकी थिइन् । त्यसबेला विश्वमै नाजुक स्थितिमा रहेका महिलाहरु शोषण, पीडा र उत्पीडन सहेर बस्न बाध्य थिए ।

कसैले पनि अधिकारका लागि खुलेर बोल्न सक्ने अवस्था थिएन । हजारौ बर्षसम्म उत्पीडन सहेर बस्न बाध्य पारिएका महिलाहरु मध्ये केही महिलाहरुमा चेतनाको विकास हुँदै गए पनि बोल्न र आवाज उठाउन सक्ने अवस्थामा भने थिएनन् । सदियौदेखि उत्पीडन सहँदै आएका महिलाहरु मध्ये केही अग्र महिलाहरुले उत्पीडन र सामन्तवादी परम्परा विरुद्ध जर्मनमा आन्दोलन सुरु गरे । त्यो कुरा थाहा पाएर क्लारा जेटिकन् महिला मुक्ति आन्दोलनको नेतृत्व गरिरहेकी अगस्त शिष्टलाई भेट्न गइन् ।

त्यसपछि उनी पनि त्यही आन्दोलनमा होमिन् । जर्मनका निरंकुश शासक विश्मार्कले असाधारण कानुन लागु गरि समाजवादीहरुलाई दमन गर्न थाले । तैपनि त्यसका विरुद्धमा खुलेर कसैले पनि विरोध गर्न नसकिरहेको अवस्था थियो । त्यस्तो अवस्थामा पनि विश्वभर यस्ता निरंकुश शासनको दमन र उत्पीडनमा पिल्सिएका आम महिलाको मुक्तिकालागि एक भएर लड्न आह्वान गर्दै जेटिकनले विश्मार्कको निरंकुश शासनको खुलेरै विरोध गरिन् ।

सोही क्रममा रुसका क्रान्तिकारी युवा ओसियासँग उनको भेट भयो । दुवै जना एउटै विचारका भएकाले विश्मार्कको निरंकुश शासन विरुद्ध लागे । सोही कारण सन १९८० मा जर्मन सरकारले उनीहरू दुवैजनालाई पक्राउ गर्यो । दुइबर्ष पछि रिहाइ हुँदा उनीहरूको सम्बन्ध प्रेममा परिणत भैसकेकाले सन् १८८२ मा फ्रान्समा गएर बैवाहिक जीवन बिताउन थाले ।

सन् १८८८मा टिभी रोगका कारण ओसियाको मृत्यु भयो । उनीहरूका दुई छोराहरू भैसकेका थिए । दुई छोराका साथ जेट्किन् जर्मन फर्किइन् । जर्मनमा आफु सम्पादक बनेर महिला सम्बन्धी पत्रिका निकाल्न थालिन् । पत्रिका निकाल्नुको मुख्य उद्देश्य महिलाका विषयहरूलाई सशक्तरुपमा उठाउनु थियो । १८८९ मार्च ८का दिन पेरिसमा श्रमिक महिलाहरूको अन्तराष्ट्रीय सम्मेलन भयो । उक्त सम्मेलनमा विश्वभरका महिलाहरुको सहभागिता रहेको थियो । जेटिकनले महिलाहरुको समान अधिकारको माग गरिन् । महिला अधिकारका लागि आवाज उठाइएको पहिलो अन्तराष्ट्रिय घटना त्यही नै थियो ।

सन् १९०६ मा जर्मनमा भएको समाजवादी महिलाहरुले अन्तर्रा्ष्ट्रिय सम्मेलनमा क्लारा जेट्किन् महासचिव बनिन् । सन् १९१०मा दोश्रो सम्मेलन हुँदा ८ मार्चलाई अन्तराष्ट्रीय श्रमिक महिला दिवसका रुपमा मनाउने प्रस्ताव राखिन् ।

उक्त प्रस्ताव सर्वसम्मत रुपमा पारित पनि भयो । त्यसपछि सन् १९११ मार्च ८ देखि विश्वभर श्रमिक महिला दिवस मनाउन थालियो । प्रथम विश्वयुद्ध हुँदा उनी शान्तिको पक्षमा उभिएर आवाज उठाइन् ।
यस युद्धको बिरुद्ध सन् १९१५ मा जर्मनको बोनमा महिलाहरुले सम्मेलन गरे । सम्मेलनमा शान्ति प्रस्ताव पारित भयो । जसले विश्वमै तहल्का मच्चायो। त्यही कारण जेट्किनलाई गिरफ्तार गरियो । तर गिरफ्तारीको विरुद्ध व्यापक जनआन्दोलन भएपछि उनलाई छोडियो।

मार्कस र एङगेल्सका विचारबाट प्रभावित भइ समाजवादी पार्टीमा रहेकी जेट्किनलाई पार्टी्भित्रको मतभेदका कारण सन् १९१७ मा केन्द्रीय समितिबाट हटाइयो । तैपनि कति पनि विचलित नभै हिम्मतका साथ अविचलितरुपमा अगाडि बढिरहिन् । बरु लेनिनको बिचारलाई समर्थन गर्दै सन् १९१८ मा जर्मन कम्युनिष्ट पार्टीको स्थापना गर्न सफल भइन्। उनको पाइला अगाडि बढ्दै सन् १९२० मा तेश्रो अन्तर्रा्ष्ट्रिय नारी समितिमा सचिवको जिम्मेवारी वहन गर्न पुगिन् ।

‘’समान कामको समान ज्याला,सामान रोजगार र अवसर ’ को नारा धन्काउँदै नारी समानताको आवाज उठाउने जेट्किन् महिला मुक्ति आन्दोलनकी प्रणेता हुन् । “नारी समानता र मुक्तिको प्रश्न उनीहरुको सामाजिक स्वतन्त्रता र दासतासँग जोडिएको छ । जबसम्म आर्थिक समानता र स्वतन्त्रताको हक प्रत्याभूत गरिंदैन तबसम्म नारी उत्पीडन को अन्त्य हुँदैन भन्दै महिला अधिकारका लागि लड्ने विश्वकै पहिलो महिला नेता क्लारा जेट्किनले सन् १९१० मा प्राण त्याग गरिन् ।

महान् क्रान्तिकारी आन्दोलनकी महान् व्यक्तित्व हुन् जेटिकन् । व्यक्तिगत रूपमा सानै उमेरदेखि नै कठिन र खतराको सामना गर्दै पटक पटक आफ्नो जीवन नैसंघर्ष, खतरा र अप्ठ्यारोमा पारेर भए पनि अविचलितरुपमा अगाडि बढ्दै विश्वभरका सम्पूर्ण महिलाहरुलाई अधिकार र मुक्ति अनि स्वतन्त्रताको लागि लड्न सिकाइन्। आफ्नो जीवनको सबै सबै कुरालाई गुमाएर, अनि आफु जलेर विश्वभरका महिलालाई उज्यालो दिन सफल अग्रज व्यक्तित्व सम्पूर्ण जनताको हृदयमा उच्च सम्मानका साथ रहेकी छन् ।

महान् नेता क्लारा जेटिकनले अगाडी सारेको आन्दोलन विश्वका विभिन्न देशले आत्मसाथ गर्दै मनाउने क्रममा नेपालले पनि सन् १९८० देखि मनाउँदै आएको तथ्यहरुबाट थाहा पाइन्छ ।

तत्कालिन पञ्चहरुले औपचारिकता पूरा गर्न भोजभतेर र मोजमस्तीकासाथ रमाइलो गरेर मनाउँथे । तर यसको महत्व र गरिमालाई भने बुझ्ने कोशिस गरिदैंनथ्यो । जनताका आधारभूत मानव अधिकारहरु माथी प्रतिबन्ध लगाइएकाले जनताले ८ मार्चको गौरव र प्रेरणाको रुपमा चिन्न, बुझ्न र मनाउन पाएनन् ।
वि.सं.२०३६ सालदेखि श्रमजीवी महिलाहरुले कोठामा लुकेर मनाउँदा पनि शान्तिपूर्ण तरिकाले मनाउन पाएनन् ।

पञ्चहरुले व्यापकरुपमा धरपकड, गिरफ्तार, कुटपिट र यातना जस्ता घृणित व्यवहार गर्दै जनतालाई दुःख दिन्थे । जब नेपालमा बहुदलीय व्यवस्थाको आगमन भयो त्यसबेलादेखि कार्यक्रम गर्न रोकटोक छैन । सरकारी स्तरबाट पनि कार्यक्रम गर्ने प्रयासहरु हुन थालेका छन् । यद्यपि यस दिनको गरिमा र महत्वलाई जनस्तरसम्म पुर्याउन सरकारका तर्फबाट ठोस कदम चालेको भने पाइँदैन । तैपनि सरकारी र गैरसरकारी संघसंस्थाहरूको संयुक्त प्रयासमा र राजनितिक पार्टीका केही महिला संगठनहरुले दिवसलाई विभिन्न कार्यक्रमका साथ यो दिवसलाई मनाउँदै आएका छन् ।

आजको कार्यक्रममा भाग लिन आउने क्रममा कति महिलाहरु हिंसा र पीडामा परेका हुन सक्छन् । कतिपय कार्यक्रमबाट घर पुगेपछि पनि हिंसामा पर्न सक्छन् । यसो भयो भने दिनभर कार्यक्रममा बसेर नेताको भाषण सुनेर ताली बजाउनुको औचित्य रहला ? अर्को कुरा यस्ता दिवसमा कहिकतै सम्मान गर्ने चलन पनि बसेको छ । सम्मान गर्नु त राम्रो कुरा हो तर सम्मानित हुनेहरु सबै सम्मान योग्य छन् त ? यहाँ प्रश्न उठ्छ । त्यसैले प्रश्न उठ्ने खालको व्यवहार कसैबाट पनि नभैदिए सम्मानको अपमान हुने थिएन कि भन्ने सिकाइलाई यहाँ उल्लेख गर्न चाहेकी हुँ । अझै पनि पुरुष सरह महिलाले समान कामको समान ज्याला पाउन नसकेको तितो सत्यलाई नकार्न सकिन्न ।

गृहिणी हुन् या कलकारखानामा काम गर्ने हुन् या त सरकारी कार्यालयमा काम गर्ने महिला हुन् या त गैर सरकारी संघ संस्थामा नै कामगर्ने किन नहुन्।महिला र पुरुषमा विभिन्न वहानामा विभेद छ । कामको जिम्मेवारी महिलालाई बढी छ भने पारिश्रमिक तथा ज्याला महिलालाई कम भएको अवस्था पनि नभएको होइन। जेट्किनले अगाडी सार्नुभएको ‘समान कामको समान ज्याला,समान रोजगार र अवसर’’ को नारा लागु हुन पाएको छ त ? एकै ठाउँमा(क्षेत्रमा) काम गर्ने काम गर्ने महिला र पुरुषको ज्याला समान छ त ?

उचित तथा पूरा पारिश्रमिक पाएका छन् त ? महिला भएकै कारण हिंसा र विभेदको शिकार बन्नु परेको छैन ? आफूमाथि भएको हिंसा र विभेदका विरुद्धमा बोल्न सक्ने अवस्था छ? कतै यो दिवस मनाइरहँदा आयोजक, अतिथि अनि सम्मान थाप्ने व्यक्तिहरु नै पीडक त छैनन्? अधिकारको वकालत गर्नेहरुबाटै अधिकार हनन् भएको त छैन? यस्ता अनेकन प्रश्नहरु उब्जीरहन्छन् ।

प्रश्नहरूले न त उत्तर पाउन सकेका छन् न त सवालहरुले जवाफ नै । आज १०८ वर्षदेखि यो दिवस मनाउँदै र महान् नेता क्लारा जेटिकनलाई सम्झिरहँदा यस्ता अनेकन प्रश्नहरूले गिज्याइरहेका छन् । जबसम्म यस्ता प्रश्न निर्मूल पारेर प्रश्न उब्जने ठाउँ नै बन्द गर्न सकिँदैन तबसम्म यो दिवस दिवसको रुपमा मात्र सिमित रहन्न भन्न सकिन्न । अहिलेसम्म आफु माथि भएका हिंसा, अन्याय र अत्याचार तथा विभेदका विरुद्धमा न त बोल्न सक्ने अवस्था छ न त लेख्न नै सक्ने । बरु बोल्यो वा लेख्यो भने त्यसको मूल्य चुकाउन तयार भएर बस्नुपर्ने अवस्था छ अझसम्म पनि। यस्तो अवस्था अझै कहिलेसम्म ?

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: