​वाम गठबन्धनबाट राष्ट्रपतिमा विद्यादेवी भण्डारीको उम्मेदवारी दर्ता



काठमाडौं । वाम गठबन्धनबाट राष्ट्रपतिमा विद्यादेवी भण्डारीले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

बानेश्वरस्थित संघीय संसद भवन परिसरभित्र स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालय पुगेर भण्डारीले उम्मेदवारी दर्ता गर्नुभएको हो । भण्डारीको प्रस्तावकमा नेता माधव नेपाल, भिम रावल, इश्वर पोख्रेल, सुवास नेम्वाङ र ओनसरी घर्ती हुनुहुन्छ । त्यस्तै उहाँको समर्थकमा नेता रामबाबु थापा, विष्णु पौडेल, गोकर्ण विष्ट, भानुभक्त ढकाल र रविन्द्र अधिकारी रहनुभएको छ ।

भण्डारीले राष्ट्रपतिको उम्मेदवारी दर्ता गराउँदै आफ्नो उम्मेदवारी स्वभाविक भएको बताउनुभएको छ । उहाँले आफ्नो कार्यकालमा पदीय भूमिकामा प्रश्न उठ्ने कुनै काम नगरेको जिकीर गर्नुभयो । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै भण्डारीले पार्टीको निर्णयबाट नै आफूले उम्मेदवारी दिएको बताउनुभयो ।

एमाले नेता सुवास नेम्वाङले भण्डारीको उम्मेदवारी स्वभाविक भएको बताउनुभयो । भण्डारीको उम्मेदवारका प्रस्तावक समेत रहेका नेम्वाङले संविधानमा दुई कार्यकाल राष्ट्रपति हुन पाउने व्यवस्था भएकाले भण्डारीको उम्मेदवारी स्वभाविक भएको बताउनुभयो ।

राष्ट्रपति भण्डारीले उम्मेदवार दिनुअघि राजीनामा गर्नुपर्ने कि नपर्ने भन्ने प्रश्न उठेको छ । तर, ‘हेड अफ द स्टेट कहिल्यै पनि खाली नहुने भएकाले उम्मेदवारी दिँदा राजीनामा दिनुनपर्ने भएको शीतल निवास स्रोतले बताएको छ । आगमी २९ गते राष्ट्रपतिको चुनाव हुनेछ ।

तस्बिर : रासस

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: