के हो कार्डिएक अरेस्ट ? जसले चर्चित अभिनेत्री श्रीदेवीलाई लग्यो



मुम्बई । शनिबार अबेर राति भारत गहिरो निन्द्रामा रहेका बेला दुबईबाट आएको एक अपत्यारिलो र नराम्रो खबरले सबैलाई आश्चर्यमा पारिदियो । धेरै समयसम्म अधिकांश मानिसहरुले खबरमा विश्वास गरेनन् । र, खबर झुटो भएको भन्दै उक्त खबर झुटो नै रहोस् भनेर प्रार्थनासमेत गर्न थाले ।

तर, केही समयमै उक्त आश्चर्यजनक खबर सत्य भएको पुष्टि भयो । बलिउडकी कुनै समयकी चर्चित अभिनेत्री ५४ वर्षिया श्रीदेवीले संसार छाडेर गइन् । प्राप्त जानकारीअनुसार आफन्तको वैवाहिक समारोहमा सहभागी हुन दुबई गएकी श्रीदेवीलाई ‘कार्डिएक अरेस्ट’ भएको थियो ।

दुब्ली–पातली, फिटनेसका लागि सजग रहँदै आएकी सेलिब्रेटी अचानक संसारबाट बिदा होलिन् भन्ने कसैले सपनामा पनि सोचेका थिएनन् ।

के हो कार्डिएक अरेस्ट ?

हार्टडटओआरजीका अनुसार ‘कार्डिएक अरेस्ट’ अचानक हुन्छ र शरीरले यो हुँदा कुनै अग्रिम चेतावनी दिँदैन । यसको कारण सामान्यतया मुटुमा हुने इलेक्ट्रिकल गडबडी हो, जसले मुटुको धड्कनको तालमेल बिगारिदिन्छ ।

यसबाट मुटुको पम्प गर्ने क्षमतामा असर पर्ने भएकाले दिमाग, मुटु र शरीरका अन्य भागमा रक्तसञ्चालन गर्न असमर्थ हुन्छ । ‘कार्डिएक अरेस्ट’ ले क्षणभरमै मानिस अचेत हुन्छ र नाडी चल्न बन्द गरिदिन्छ । तत्काल उपचार नपाए कार्डिएक अरेस्टको केही सेकेण्ड अथवा मिनेटमै मानिसको मृत्यु हुन सक्छ ।

कार्डिएक अरेस्टमा मृत्यु निश्चित छ ?
अमेरिकामा अध्ययनरत सिनियर डाक्टर सौरभ बंशलले बीबीसी हिन्दीलाई भने, “कार्डिएक अरेस्ट हरेकलाई मृत्युको अन्तिम बिन्दु भन्न सकिन्छ । यसको मतलब हो, मुटुको धड्कन बन्द हुनु र यही मृत्युको कारण पनि हो ।’’

डाक्टर बंशलले ‘कार्डिएक अरेस्ट’ हुनुका पछाडि अनेक कारण हुन सक्ने भन्दै सामान्यतया यसको कारण मुटुको धड्कन अप्रत्यासित ढंगले बढ्नु नै भएको बताएका छन् । “यद्यपि ५४ वर्षको उमेरमा सामान्यतया मृत्यु नै हुने गरी मुटुको धड्कन एकाएक बढ्ने खतरा भने अत्यन्तै कम हुन्छ,’’ उनले भने, “श्रीदेवीलाई अन्य स्वास्थ्य समस्या पहिलेबाटै हुन सक्छ, तर सबैलाई थाहा नै छ यसका बारेमा हामी कसैलाई पनि केही थाहा थिएन ।’’

ब्रिटिश हर्ट फाउन्डेशनका अनुसार मुटुमा इलेक्ट्रिकल सिग्नलको समस्याले शरीरमा रक्तसञ्चार नहुँदा कार्डिएक अरेस्टको रुप लिन्छ । मानिसको शरीरमा रक्तसञ्चार बन्द भए मस्तिष्कमा अक्सिजनको कमी हुन जान्छ । यस्तो हुँदा मानिस बेहोश हुने र श्वासप्रश्वास बन्द हुन थाल्छ ।

के कुनै लक्षण देखिन्छन् ?

कार्डिएक अरेस्ट हुनु अगाडि शरीरमा कुनै लक्षणहरु देखिँदैनन् । यही कारण कार्डिएक अरेस्ट हुँदा मानिसको मृत्यु हुने खतरा कैयौं गुण बढी रहन्छ । सामान्यतया असाधारण मुटुको धड्कनका कारण कार्डिएक अरेस्ट हुने गरेको बताइन्छ, जसलाई विज्ञानको भाषामा ‘भेन्ट्रिकुलर फिब्रिलेशन’ भनिन्छ ।

कार्डिएक अरेस्टका कैयौं कारण हुन सक्ने भए पनि मुटुसँग जोडिएका केही बिरामीहरुका कारण यसको सम्भावना बढी रहन्छ ।

के कार्डिएक अरेस्टबाट बिरामीलाई बचाउन सकिन्छ ?

कैयौं पटक छातीका माध्यमबाट ‘इलेक्ट्रिक शक’ दिएर यसबाट बिरामीलाई ‘रिकभर’ गर्न सकिन्छ । यसका लागि ‘डिफिब्रिलेटर’ नामक यन्त्र प्रयोग गरिन्छ । सामान्यतया यो सुविधा ठूला अस्पतालमा पाउन सकिन्छ । यसमा मुख्य मेशीन र शक दिने ‘बेस’ हुन्छ, जसलाई छातीमा लगाएर कार्डिएक अरेस्टबाट बचाउने प्रयास गरिन्छ ।

तर, कार्डिएक अरेस्ट भएका बेला ‘डिफिब्रिलेटर’ को सुविधा नहुँदा दुवै हात सीधा राखेर बिरामीको छातीमा बल लगाएर दबाब दिइन्छ । यसमा मुखका माध्यमबाट हावा (अक्सिजन) पुर्याइन्छ ।

कार्डिएक अरेस्ट हार्ट अट्याकभन्दा कसरी अलग छ ?
अधिकांश मानिसहरु कार्डिएक अरेस्ट र हार्ट अट्याकलाई एकै प्रकृतिको बिरामीका रुपमा लिन्छन् । तर, दुवैमा धेरै फरक छ । मानिसको शरीरमा रहेको कोरोनरी आर्टिरीमा कोलस्ट्रोल जमेर मुटुको मांसपेशीसम्म रगत जाने बाटोमा अवरोध उत्पन्न हुँदा हर्ट अट्याक हुने गर्दछ ।

हर्ट अट्याक हुँदा छातीमा असह्य पीडा हुने गर्दछ । हर्ट अट्याक हुँदा मुटु शरीरका अन्य भागमा रक्तसञ्चार गरिरहने भएकाले बिरामी होशमै रहन सक्छ । तर हार्ट अट्याक आउने बिरामीमा कार्डिएक अरेस्टको खतरा बढी रहन्छ ।

कार्डिएक अरेस्टमा मुटुले शरीरमा गर्ने रक्तसञ्चार प्रत्रृmयालाई अवरुद्ध गरिदिन्छ । यसै कारण कार्डिएक अरेस्टको शिकार हुँदा मानिस अचानक बेहोश हुन्छ र श्वास पनि बन्द भइदिन्छ ।

(बीबीसी हिन्दीबाट)

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: