पाँच वर्षमा विकासमा छलाङ मार्ने सरकारको योजना


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले पाँच वर्षमा विकासमा छलाङ मार्नेगरी महत्वाकांक्षी योजना तयार पारेको छ ।

नेकपा एमाले र माओवादी केन्द्रको बैठकले नयाँ सरकारका लागि सुशासन र आर्थिक विकासका बारेमा सुझाव दिन कार्यदल बनाएको थियो । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमको नेतृत्वमा बनाइएको कार्यदलले विकासमा छलाङ मार्नेगरी योजनासहितको प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ ।

६१ पृष्ठको ७२ बुँदे प्रतिवेदन चुनावी घोषणापत्रलाई आधार मान्दै तयार पारिएको थियो । कार्यदलले आर्थिक समृद्धिका लागि गर्नुपर्ने कामबारे सबै विवरण सुझाएको कार्यदलका संयोजक गौतमले जानकारी दिए ।

माघ ७ गते गठित कार्यदलले फागुन ७ गते प्रधानमन्त्री ओलीलाई सो प्रतिवेदन बुझाएको थियो । “भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्दै आर्थिक समृद्धिको वाटो तय गर्न सकिन्छ भन्ने सुझाव दिएका छौं,” गौतमले भने, “जनताको आधारभूत समस्या समाधान गर्दै समाजवादको बाटो तय गर्ने सुझाव प्रतिवदेनमा छ ।”

शेरबहादुर देउवा नेतृत्वको सरकारले देशको ढुकुटीको दोहन गरेको आरोप लगाउँदै त्यसका बारेमा जनतालाई पहिले जानकारी गराएर मात्रै अघि बढ्न पनि सुझाव दिइएको छ । कार्यदलले कृषिको व्यवसायीकरणमा बढी जोड दिएको छ ।

“अहिले देशको राष्ट्रिय ढुकुटीको अवस्थाबारे जनतालाई जानकारी दिन श्वेतपत्र जारी गर्न भनेका छौं,” गौतमले बाह्रखरीसँग कुरा गर्दै भने, “कृषिलाई व्यावसायिक र औद्योगिकरण गर्दै दुई वर्षभित्र मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने सुझाव दिएका छौं । सुन्दा चुनौतिपूर्ण देखिए पनि असम्भव छैन । प्रतिवर्ष विदेशबाट औद्योगिक सामान खरिदका लागि आठ खर्ब रुपैयाँ खर्च भइरहेको छ ।  खाद्यान्नका लागि डेढदेखि दुई खर्वको सामान ल्याउँछौं । यसलाई बचाउन सक्ने हो भने दुई वर्षमा नसोचेको काम गर्न सकिन्छ ।”

संयोजक गौतमले थपे, “पाँच वर्षभित्र सबै आर्थिक कारोबार ‘क्यासलेस इकोनोमी’ मा र दुई वर्षभित्र अनलाइन प्रणालीमा लगेर सुशासन कायम गर्न सक्छौं ।” कर प्रणालीलाई संस्कृतिकै रुपमा विकास गर्नुपर्ने सुझाव पनि समितिले दिएको छ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: