विजय सापकोटाकाे चितवनदेखि अष्ट्रेलिया सम्मको लोभलाग्दो सफलता


सिड्नी । व्यक्तिगत भविष्यको सोचले ५ वर्षअघि अष्ट्रेलिया छिरेका चितवनका विजय सापकोटाले अब देशको भविष्य सोच्न थालेका छन् । नेपाल फर्किने सोच बनाएका उनी जुन, २०१३ मा उच्च अध्ययनका लागि अष्ट्रेलिया आएका थिए । उनको परिचय सामान्य घेराभन्दा माथि उठिसकेको छ । विजयले अध्ययनमा मात्र सफलता हात पारेका छैनन्, अष्ट्रेलियाली सरकारले तय गरेको समिति, अन्तर्राष्ट्रिय शिक्षाका विभिन्न निकायका उपस्थितिलाई बलियो बनाएका छन् । उनको सफलताको लोभलाग्दो यात्रा देखेर अष्ट्रेलियामा अध्ययनका लागि पुगेका विश्वका विद्यार्थीमात्र होइन, आमसाधारण पनि पुलकित हुन्छन् । ‘म जुन जिम्मेबारीमा छु, त्यो मैले सोचेको सफलता होइन । समय र मिहेनतसँगै भाग्यले डोर्याएको बाटो हो । अब मैले यहि बाटोबाट नेपालको भविष्यको मार्गचित्र पनि तयार पार्नुपर्छ भन्ने सपना बुनेको छु’, उनी भन्छन् ।विजय सापकाेटा

शैक्षिक र आर्थिक उपलब्धिसँगै अन्तर्राष्ट्रिय सामाजिक उचाई कायम गरेका विजय करोडौं युवाका आदर्श पात्र हुन् । ‘प्लस टु’ सकेर चितवनबाट काठमाडौं हुँदै ईन्जिनियरिङमा स्नातक तहको अध्ययनका लागि अष्ट्रेलिया आएका विजयको परिचय साँघुरो घेरामा रहेन । परिचयको दायरा विश्वभरीका विद्यार्थी माझ फैलियो । अष्ट्रेलियामा रहेका नेपाली समुदायका लागि मात्र होइन, सो समुदायकै परिचयको घेरा विस्तारमा विजयको सफलताले काम गरेको छ । त्यतिमात्र होइन उनको नामले नेपालकै प्रतिनिधित्व अष्ट्रेलियाली सरकारी निकायसम्म पुगेको छ । २२ वर्षको छँदा उनी यहाँ आएका थिए ।

२०१३ मा युटियस इनसर्च एक्टिभिटिज क्लबबाट मेडिटेशन सिकाउने र टेबलटेनिश खेलाउनेलगायतका सामाजिक काममा सक्रियता देखाएपछि विजय विश्वविद्यालयमा मन्द गतिमा चर्चामा छाए । ‘अध्ययनसँगै आफु भएको ठाउँमा सामाजिक काम गर्नुपर्छ भन्ने मान्यताकै हिसावमा युनिभर्सिटीमा खेल, मेडिटेशनमा ध्यान दिएको थिएँ । अहिले पनि दिइरहन्छु ।’, विजय भन्छन् ।

उनको यहि सामाजिक सहजीकरणका कामले विस्तारै विश्वविद्यालयको विद्यार्थीमात्रको घेराबाट माथितिर धकेलिरहेको थियो । फलतः २०१४ मा उनी युटियस इनसर्च स्टुडेन्ट काउन्सिलको पहिलो नेपाली अध्यक्ष चुनिए । यसबाट विजयको संघ, संस्था र संगठनको यात्रा मात्र सुरू भएन, सामाजिक प्रतिष्ठासहित जिम्मेवारीको मार्ग पनि खुल्यो । विजयको जिम्मेवारी बढ्दैगर्दा सन् २०१५ मा नेपालमा विनाशकारी भुकम्प गयो । नेपालको सहयोगका लागि उनीलगायतका युवाहरूको नेतृत्वमा हेल्प नेपाल अष्ट्रेलियामार्फत ४० हजार डलर जुटाएर नेपाल पठाइएको थियो ।
‘सारा नेपालीको दुखमा हामी साथीहरू यहाँ मिलेर रकम संकलन गरी पठाउने काम भयो । धेरैले मलाई सहयोग गर्नुभयो । यहि बेला यता विभिन्न शैक्षिक गतिविधिमा पनि म सक्रिय नै थिएँ’, विजय थप्छन् । शिक्षाका विविध निकाय र क्षेत्रमा विजयको संलग्नता बढ्नेक्रमको लयमा रोकावट थिएन । २०१५ मा फ्याकल्टी बोर्ड अफ इन्जिनयरिङ्ग र आइटीको सदस्य लिने पहिलो नेपाली विद्यार्थी पनि उनै भए ।

उनी भन्छन्,‘नेपाल एउटा बहु सांस्कृतिक देश हो र बहुसाँस्कृतिक समाजमा घुलमिल हुनुपर्छ भन्ने मान्यता राख्नैपर्छ । यो सामान्य हो ।’ उनकै पहलमा सन् २०१६ को अप्रिलमा विश्वविद्यालयमा श्रीलंकन–नेपाली नयाँ वर्ष कार्यक्रम आयोजना भयो, जहाँ विश्वभरका लगभग ३ सय जना प्रत्यक्ष सहभागी भए । कार्यक्रमले अष्ट्रेलियामा रहेका नेपाली र श्रीलंकनबीच भावनात्मक सम्बन्ध जोड्ने काम मात्र गरेन, नेपाल र श्रीलंकाको सम्बन्धमा पनि प्रत्यक्ष र सकारात्मक आयाम थप्यो । अष्ट्रेलियाको सिड्नीमा रहेको युनिभसिर्टी अफ टेक्नोलोजीमा अध्ययनरत विजय सन् २०१६ मा न्यु साउथ वेल्स ९एनएसडब्लु० इन्टरनेशनल स्टुडेन्ट अफ द इयर अवार्डबाट सम्मानित हुने पहिलो नेपाली विद्यार्थी भए । यो अवार्ड विश्वभरका २०० भन्दा बढि देशका अन्तर्राष्ट्रिय विद्यार्थीहरूबीच उनलाई छान्दै न्यु साउथ वेल्स राज्यले प्रदान गरेको थियो ।

सापकोटा २०१६ मा नै युटियसको सिनेट मेम्बरमा छानिए । विश्वको ८औं उत्कृष्ट कान्छो विश्वविद्यालयको सिनेट सदस्य लिने पहिलो नेपाली पनि उनै हुन् ।
विजय केही समयका लागि नेपाल आएका बेला पूर्वराष्ट्रपति डा। रामवरण यादवले युवाहरूको प्रेरणा पात्रका रूपमा उनको सम्मान पनि गरेका थिए । उनी ‘युथ इन्स्पीरेशन अवार्ड २०१७’बाट सम्मानित भए । ‘यो सम्मानले अझ मलाई युवाका लागि काम गर्ने जिम्मेबारी थप्यो । यो सम्मानमात्र थिएन उत्तरादायीत्वको भारी पनि मैले बोकेको थिएँ । उत्साह र प्रेरणाको उपहार पनि थियो ।’, विजय भन्छन् ।

जसरी उनमा उत्साह थपियो त्यसरी नै जिम्मेबारी पनि थपिँदै गए । २०१७ मै काउन्सिल अफ इन्टरनेशनल स्टुडेन्ट एशोसीएशन ९सीसा०को अध्यक्षको जिम्मेवारीमा विजय पुगे । यो जिम्मेबारी पाउने पनि उनी पहिलो नेपाली हुन् । विश्वका ६ लाख ४० हजार भन्दा धेरै विद्यार्थीहरूको आवद्धता रहेको सीसा ठूलो संगठनका रूपमा परिचित छ । अध्यक्ष भएपछि विजयले सीसाको इतिहाँसमा नयाँ काम गरे । उनको कार्यकालमा पहिलो पटक सीसामा महिला अधिकृत नियुक्त गरियो । जसले महिला अधिकारको प्रतिनिधित्व र सुनिश्चितता हुने उनले ठानेका छन् ।
अष्ट्रेलियाको राजधानी क्यानबेरामा भएको एउटा सम्मेलनले उनलाई अझ जिम्मेबारी थप्यो । अष्ट्रेलियाको शिक्षा सम्बन्धि उच्चस्तरीय संयन्त्र काउन्सिल फर इन्टरनेशनल एजुकेशनमा उनको प्रतिनिधित्व अनिवार्य रह्यो । यो श्रेय पाउने पनि उनी पहिलो नेपाली नै हुन् । अष्ट्रेलियाका प्रधानमन्त्रीको मातहतमा रहने यस संयन्त्रमा उनी सीसाको अध्यक्ष भएका कारणले पदेन सदस्य हुन् ।

यो समितिमा शिक्षामन्त्री अध्यक्ष, परराष्ट्रमन्त्री लगायतका मन्त्रीहरू सदस्य हुन्छन् । यसले अष्ट्रेलियाको शिक्षा क्षेत्रमा नीतिनियम र लगानीका विषयमा निर्णय लिने गरेको छ ।
यस समितिले अष्ट्रेलिया शिक्षा प्रदायक संस्था, शैक्षिक संस्थाहरू र राष्ट्रिय तथा राज्यस्तरका सरकारहरूसँग मिलेर शिक्षा क्षेत्रको विकास लागि काम गर्दछ । अष्ट्रेलियाको नरम कुटनीतिमा पनि यो समितिको भूमिका हुन्छ । अष्ट्रेलियाको भावि अर्थतन्त्रको विकास, अन्तर्राष्ट्रिय संलग्नता र आविष्कार लगायतका क्षेत्रमा पनि यस संयन्त्रको प्रभावकारीता हुन्छ जहाँ विजय पनि निर्णायक भुमिकामा पुग्ने पहिलो नेपाली हुन् ।

विजयको यात्रा निरन्तर चलिरहेको छ । एउटा उचाईमा पुग्दैगर्दा उनले आफ्ना संलग्नता र सहभागीताको प्रभावकारितामा कतिपय क्रमभङ्गता पनि गरे । यो क्रमभङ्ताले अष्ट्रेलियामा उनको मिठो प्रभाव छाडेको छ । उनको कार्यकालमा स्थानीय विद्यार्थी संगठनहरू नेशनल युनियन अफ स्टुडेन्ट, काउन्सिल अफ अष्ट्रेलियन पोष्ट ग्राजुएट एशोसीएशन, नेशनल अबोरिजिनल एन्ड टोरेस स्ट्रेस आयरल्यान्डरर्स पोष्ट ग्राजुएट एशोसीएशनका अध्यक्षबीच ऐतिहासिक सम्झौता गराए । विद्यार्थीको अधिकार, नीति नियम र लगानीका विषयमा सवैलाई एक ठाउँमा उभ्याउन उनी सफल भए ।
नेपालीहरूमा सफलताका एउटा नौलो कडी बनेका विजयले अष्ट्रेलियामा सफलताको खुड्कीलो अविराम राखेपनि नेपालको बारेमा चिन्तन गर्दै आएका छन् । राजनीतिमा नीतिदेखि लगानीका विषयमा बुझेका मानिसहरूको प्रतिनिधित्व उपल्लो ठाउँमा भए विकासका लागि लामो समय नलाग्ने उनी ठान्छन् । ‘हामी नेपाली हरेक हिसावले संसारसँग जोडिएका छौं । प्रविधिले अझ साँघुरो बनाएर जोडेको छ । तर, नीति बनेका छैनन् । अन्तर्राष्ट्रियस्तरमा स्पर्धा गर्ने नेतृत्व आवश्यक देखिएको छ ।’, विजय भन्छन्,‘८ देखि १० वर्षमा आर्थिक उपार्जन गरी मुलुक समृद्ध बनाउन सक्ने आधार विश्वबजारमा छन् । कम्तिमा २८ देखि ३० खर्ब रकम शिक्षामा मात्र लगानी गर्ने अष्ट्रेलियाको उदाहरण काफी छ । नेपालमा लगानीकर्ता भित्राउन नीतिगत तहदेखि नै विज्ञको आवश्यक देखेको छु ।’

 

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: