बजार अनुगमन संयन्त्र प्रभावकारी बन्नु जरुरी


 

माधव तिमिल्सिना, अध्यक्ष, उपभोक्ता अधिकार अनुसन्धान मंच

बजारमा सिण्डिकेट र कार्टेलिङ ठूलो समस्याको रुपमा रहेको छ । जसको कारण बजार स्वस्थ बन्न सकेको छैन । हरेक दिन बजारबाट घर फर्कँदा उपभोक्ता आफु लुटिएको महसुस गर्नुपरेको छ । बजारका वस्तु तथा सेवा क्षेत्र दुवैमा यो समस्या निकै नै बढेको छ । तर बजार अनुगमन संयन्त्र भने प्रभावकारी हुन सकेको छैन । यसलाई प्रभावकारी बनाउनु जरुरी छ । बजार संयन्त्र प्रभावकारी हुन नसक्नुमा नेपालका उपभोक्ताहरु समेत जागरुक हुन नसकेको अवस्था समेत छ । यस्तो अवस्थाको कारण समस्या झन् विकराल बन्दै गएको छ ।

बजारको अवस्था कस्तो छ भन्ने विषय उठान गर्नु पनि आवश्यक देखिन्छ । हामीले दखेका र बुझेका छौं कि होटल तथा रेष्टुरेन्टका खानाहरु, वेकरीजन्य वस्तुहरु, दूध, पानी, तेल लगायतका अधिकांश खाद्य वस्तुहरुमा मानवीय स्वास्थ्य प्रतिकुलका विभिन्न तत्वहरु प्रयोग गरिएको छ । कुन वस्तुमा कस्ता तत्वहरु प्रयोग गरिएको छ भन्ने सम्बन्धमा नेपालको केन्द्रीय खाद्य प्रयोगशालाले समेत समयमा रिपोर्ट दिन सक्ने अवस्था छैन । जसले गर्दा बजारलाई गुणस्तरीयतामा ध्यान नदिई जस्तोसुकै वस्तु प्रयोग गरेर भएपनि आर्थिक उपार्जन गर्न चाहनेहरुलाई थप प्रोत्साहन मिलेको छ । यसलाई प्रभावकारी अनुगमन मार्फत तत्काल निरन्त्रण गर्नु जरुरी छ । यसो हुन नसके आगामी दिनमा यसको प्रभाव निकै नै खतरनाक बन्ने अवस्था छ ।

बासी खानेकुरा विक्री गर्ने, तेलमा मानवीय स्वास्थ्य प्रतिकुलका वस्तुहरु प्रयोग गरिने, उपभोक्तालाई झुक्याएर आफ्नो सामान विक्री गरिने लगायतका क्रियाकलापहरु बढ्दै जाँदा पनि सुनुवाई हुन नसकेको कारण यस्ता क्रियाकलापहरुले प्रोत्साहन पाइरहेका छन् भने बजारमा अनियमितताको कारण उपभोक्ताहरु अत्यन्तै मर्कामा परेका छन् ।
नेपालको संविधान २०७४ ले नेपालमा उपभोक्ता हित सम्बन्धी विशेष व्यवस्थाको परिकल्पना गरेको छ । यसको प्रभावकारी कार्यान्वयन हुन सके उपभोक्ताहरु ठगिनु पर्दैन । व्यापारीहरुले पनि यसरी बजारमा आफ्नो एकछत्र राज गर्न पाउने छैनन् ।

पछिल्लो समय दाङ लगायतका पश्चिमी जिल्लाहरुमा घुमेर फर्कने क्रममा समेत देखिएको छ कि अहिले पनि नेपालीहरुको सोच र चेतनास्तर निकै कमजोर छ । अधिकांश नेपालीहरु दैनिक अनिवार्य आवश्यकताकोे रुपमा रहने खाद्यान्नमा अखाद्य वस्तु प्रयोग भएको छ भन्ने कुराको जानकारी नै जानकारी पाउन सकेका छैनन् । साथै अखाद्य वस्तु प्रयोग भएका खाद्यान्नले हामीले पार्ने प्रभाव के हुन्छ ? भन्ने कुरा समेत उनीहरुलाई जानकारी हुन सकेको छैन । यस्तो अवस्थामा सबैभन्दा पहिले नेपालका उपभोक्ताहरुलाई लक्षित गरी जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने आवश्यकता समेत छ ।

व्यवसायीहरुबाट यसरी ठगिएका छन् उपभोक्ता :
अहिले नेपालका व्यवसायीहरु आफूले पूरा गर्नुपर्ने न्यूनतम जिम्मेवारीबाट पन्छिएका छन् । यसको सिधा असर उपभोक्तलाई नै परेको छ । आफूले विक्री गर्नुपर्ने सबै सामानहरुको मूल्यसूची टाँस गनुपर्ने व्यवस्था गरिएको छ तर त्यसो हुन सकेको छैन । म्याद सकिएका वस्तुहरु विक्री गर्न राखिएको छ । कुहिएका र मिति गुज्रिएका खाद्य वस्तुहरु नष्ट गरिनुपर्नेमा शहरबाट ग्रामीण क्षेत्रमा पठाउने गरेको समेत देखिएको छ ।

के–के छन् बजारमा समस्या ?
अहिले बजारमा निकै धेरै समस्याहरु देखिएका छन् । जिरामा काठको धुलो मिसाइने, मरिचमा पाकेको मेवाको दाना मिसाइने, बाख्रीको मासुलाई खसीको मासु भनेर विक्री गरिने, होटलहरुले बासी खानेकुरा विक्री गर्ने, खानेकुरा बाटोको छेउमै पनि नछोपी राख्ने, उपभोक्ताको स्वास्थ्य प्रति न्यूनतम सचेतना समेत नअपनाइने, होटल तथा रेष्टुरेन्टहरु बिना दर्ता नै सञ्चालन गरिने, खाद्य वस्तुको लागि अनिवार्य रुपमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट लिनुपर्ने अनुज्ञापत्र लिनुपर्ने व्यवस्था रहेकोमा त्यसो नगरिने, खाद्य र अखाद्य वस्तुहरुलाई फरक रुपमा वर्गिकरण गरी विक्री गर्नुपर्नेमा त्यसो हुन नसकेको, लेभलिङ नभएको, खाद्य वस्तुहरुमा उत्पादन मिति, उपभोग्य मिति, मूल्य, ब्याच नम्बर अनिवार्य रुपमा राखिनुपर्नेमा त्यसो हुन नसकेको र यसबाट मानिसलाई कुनै समस्या पर्न गएको खण्डमा पनि उक्त उत्पादन बजारमा ल्याउने सम्बन्धित व्यक्ति वा कम्पनीलाई पुःन सम्पर्कमा ल्याउन सकिने अवस्था नरहेको लगायतका थुप्रै समस्याहरु अहिले बजारमा देखिएका छन् ।

पछिल्लो व्यवस्था अनुरुप बजार अनुगमनलाई प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बजार अनुगमन समिति निर्माण गर्ने व्यवस्था गरेको छ । जसले गर्दा बजार केही व्यवस्थित बनाउन सकिएको छ । अस्पतालहरु पनि केही हद सम्म व्यवस्थित बनेका छन्, तर प्रयाप्त छैन । अहिले नेपालमा स्थानीय सरकार निर्देशिका २०७४ ले पनि गाउँपालिका र नगरपालिकाका उपप्रमुखलाई खाद्य, कृषिलाई विशेष अनुगमन गर्ने समितिको संयोजकको रुपमा व्यवस्था गरिएको छ । यसलाई व्यवस्थित तवरले अघी बढाउने हो भने बजार केही व्यवस्थित बन्ने अनुमान गर्न सकिन्छ ।

आयातित खाद्यान्न र पछिल्लो व्यवस्था :
खाद्य व्यवस्था विभागले पछिल्लो समय नेपालमा बाहिरबाट आयात हुने वस्तुहरुको निम्ति समेत अनिवार्य रुपमा अनुज्ञापत्र लिनुपर्ने व्यवस्था गरेको छ । तर त्यसो हुन सकेको पाईंदैन । साथै नेपालमा उत्पादन नहुने आयातित वस्तुहरुमा राम्रो तवरले प्याकेजिङ हुनुपर्ने आवश्यकता छ ।

स्वदेशी उत्पादन स्वस्थकर बन्नु आवश्यक :
तरकारी तथा माछामासुमा प्रयोग हुने विषादीको न्यूनीकरण गर्ने लगायतका कुराहरुमा अब हामीले विशेष व्यवस्था गर्नु जरुरी छ । पछिल्लो समय नेपालमा हर्मनको नाममा बढी मात्रामा अखाद्य वस्तुहरु समेत प्रयोग गरिएको छ ।
किसानहरुले घरमा खाद्यवस्तु उत्पादन गर्ने क्रममा पनि बुझ्नु जरुरी छ कि विषादी भनेका विष हुन् औषधी होइनन् । यसको साथै नेपालमा खाद्य ऐन २०२३ अहिले धेरै पुरानो भएको छ । यसलाई परिमार्जन गर्नु जरुरी छ ।
हरेक घरमा अनिवार्य बनेको ग्यास सिलिण्डर समेत निकै जोखिमपूर्ण छ । ग्यास सिलिण्डर सुरक्षित छ भन्ने प्रत्याभुति हुन नसक्दा कहिले आफ्नो ज्यान लिने हो भन्ने सोच्दै दिन कटाउनुपरेको छ । यसबाट कसरी तुलनात्मक रुपमा बढी सुरक्षित रहन सकिन्छ भन्ने किसिमको न्यूनतम सुरक्षाको समेत व्यवस्था हुन सकेको छैन । यस्तो अवस्थामा अबका दिनमा उपभोक्ता सचेतना सम्बन्धी विशेष व्यवस्था गरिनु जरुरी छ । यसको लागि स्थानीय तह, प्रदेश र केन्द्रीय सरकारले विशेष व्यवस्था सहित उपभोक्ता सचेतना कार्यक्रम सञ्चालन गरी त्यसको लागि उद्योगी, व्यवसायी, आयातकर्ता तथा सेवा प्रदायकहरुको निम्ति विशेष व्यवस्था गर्नुपर्ने जरुरी देखिएको छ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: