वितरकहरु भन्छन्, व्यावसायिक सुनिश्चितताको लागि वितरक नीति आवश्यक छ


नेपाल वितरक महासंघको छैठौं साधारणसभा पर्यटकीय नगरी इटहरीमा सम्पन्न भएको छ । ३ ओटै तहका प्रतिनिधिहरुको संलग्नतामा सम्पन्न भएको साधारणसभाले व्यावसायिक हक, हित र अधिकारको लागि दिगो उपलब्धि हासिल हुने गरी वितरक नीति आवश्यक रहेको प्रति राज्य पक्षलाई ध्यानाकर्षण गराएका छन् ।

नेपालमा वितरकहरुले कर तथा राजस्व असुली, रोजगारी सृजनाको अलावा सामाजिक उत्तरदायित्व लगायतका विभिन्न माध्यमबाट राज्य पक्षलाई निकै महत्वपूर्ण सहयोग गर्दै आएका भएपनि वितरक व्यवसायीहरु प्रति राज्यको दृष्टिकोण सकारात्मक हुन नसकेको भन्दै तिवरक व्यवसायीहरुलाई हेर्ने राज्यको दृष्टिकोण समेत परिवर्तन हुनुपर्ने कुरामा जोड दिएका छन् ।

विजय कुमार गच्छेदारको प्रमुख आतिथ्यतामा भएको आजको कार्यक्रम निकै सौहाद्रपूर्ण रुपमा सम्पन्न भयो ।
वितरक महासंघको कार्यक्रममा प्रदेशको राजधानी इटहरी हुनुपर्ने सम्बन्धमा वक्ताहरुले धारणा राख्दा निकै नै उल्लासपूर्ण रुपमा सम्पन्न भएको थियो ।

वितरक व्यवसायमा संलग्न व्यक्तिहरुको संलग्नतामा सम्पन्न भएको साधारणसभा कार्यक्रममा नेपालमा वितरक व्यवसायीहरुले भोग्दै आएका समस्याहरुको बारेमा विस्तृत छलफल गरिएको छ ।
व्यवसायलाई थप व्यवस्थित बनाउँदै व्यवसायीहरुको आर्थिक अवस्थालाई मजबुत बनाउने, कम्पनी र वितरकहरु बीच आपसी समन्वयन कायम गर्ने र वितरक, उद्योगी तथा आयातकर्ताबीचको सम्बन्धलाई सुमधुर बनाउँदै आपसी हक हितको संरक्षण गर्ने कार्यमा महासंघलाई गतिशिल बनाउने विषयलाई समेत महासंघको विशेष प्राथमिकतामा राखिएको छ ।
पछिल्ला बर्षहरुमा व्यवसायिक सञ्जाल विस्तारमा केन्द्रित रहेको वितरक महासंघलाई सामाजिक उत्तरदायित्वको क्षेत्रमा सक्रिय बनाउने विषयलाई समेत महासंघले प्राथमिकतामा राख्ने भएको छ । छैठौं साधारणसभा सम्म आइपुग्दा वितरक महासंघले व्यावसायिक हक हित र अधिकारको लागि गरेका प्रयास र उपलब्धिमा समेत समिक्षा गर्दै आगामी दिनमा महासंघको कार्यदिशा के हुने भन्ने सम्बन्धमा पनि वितरक व्यवसायीहरु बीच विस्तृत छलफल भएको छ ।

व्यवसायमैत्री वातावरण बन्नेमा आशावादी ः
नेपाल लामो समय देखि राजनीतिक अस्थिरताको कारण नेपालमा उद्योग, व्यापार र वाणिज्य क्षेत्र निकै नै प्रभावित भएको बारे निजी क्षेत्रका प्रतिनिधिहरुले अबका दिनमा अवस्था सुध्रदैँ जानेमा आशावादी देखिन्छन् । यसबाट वितरक व्यवसायीहरु समेत काम गर्न सहज वातावरण बन्नेमा आशावादी छन् ।

डम्बर थापा, अध्यक्ष

गरिखान पाउनुपर्नेमा अध्यक्षको जोड ः
नेपाल वितरक महासंघका अध्यक्ष डम्बर थापा नेपालमा बन्द हड्ताल, चन्दा आतंक र संगठित गुण्डागर्दी समेत आफूहरुको क्षेत्रमा रहँदै आएको बताउँदै राज्यले प्रदान गरेको गरिखान पाउने वितरकहरुको अधिकार समेत कुण्ठित नगर्न आग्रह गर्नुभएको छ । ऊहाँले नेपालमा अहिले वितरक व्यवसायीहरु निकै नै समस्यामा रहेको बताउँदै यी सबै समस्याहरुको समाधानको निम्ति नेपालमा वितरक ऐन नै आवश्यक रहेको कुरामा ऊहाँले विशेष जोड दिनुभएको छ ।
अहिले पनि नेपालमा आयातमा निर्भर हुँदै गएको र सँगसँगै व्यापार घाटा समेत बढ्दै गएको अहिलेको परिस्थितिमा मुलुकको दिगो आर्थिक विकासको निम्ति नेपालमा भएका प्राकृतिक स्रोतको अधिकतम उपयोग आवश्यक रहेको तर उक्त कार्य तत्काल सम्भव हुने अवस्था नरहेको कारण रोजगारी सृजना, कर तथा राजस्व संकलनको माध्यमबाट व्यावसायिक क्षेत्रले निकै ठूलो सहयोग हुन गई राज्य सञ्चालनमा सहज भएको कुरालाई नर्बिसिन आग्रह गर्दै नेपालमा निजी क्षेत्रलाई नाफामूलक क्षेत्रको रुपमा मात्र नबुझि राज्यप्रतिको जिम्मेवारी वहन गरेको क्षेत्रको रुपमा समेत बुझिदिन आग्रह गर्नुभएको छ

नेपालमा राज्यले आफूहरुलाई स्पष्ट पहिचान खुल्ने गरी सम्बोधन गर्न नसकेको कारण अहिले पनि आफूहरुले व्यावसायिक गतिविधिमा संलग्न रहँदा प्रतिष्ठाको अनुभुति गर्न नपाएको कुरामा राज्य पक्षलाई ध्यानाकर्षित गराउनुभएको छ ।

मुलुकको राष्ट्रिय हितमा आफ्नो योगदानलाई कम आँक्न नहुने कुरामा जोड दिनुपर्ने बताउँदै आफूहरुले निकै जोखिममा काम गर्नुपरेको हुँदा यस क्षेत्रलाई छुट्टै क्षेत्रको रुपमा परिभाषित गर्नुपर्ने सम्बन्धमा आफ्नो धारणा राख्नुभयो ।
कुनै व्यवसायलाई लामो समय टिकाउनको निम्ति व्यवस्थित, आत्मनिर्भर र प्रतिष्पर्धी बनाउनुपर्ने कुरामा समेत ऊहाँले जोड दिनुभएको छ । तत्काल वितरक ऐन तय गर्नको निम्ति प्रमुख अतिथि विजयकुमार गच्छेदार सामु ऊहाँले आग्रह गर्नुभएको छ । मुलुक अब शान्ति, स्थिरता र समृद्धिको दिशामा अघी बढ्नेमा आफूहरु ढुक्क रहेको समेत ऊहाँले बताउनुभएको छ ।


कार्यक्रममा को को थिए उपस्थित ?
महासंघको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा विजय कुमार गच्छेदारको उपस्थिति रहेको थियो । नेपाल वितरक महासंघका अध्यक्ष डम्बर बहादुर थापाको सभापतित्वमा सम्पन्न भएको महासंघको छैठौं साधारणसभा कार्यक्रममा विशिष्ट अतिथिको रुपमा महासंघका सल्लाहकार गोविन्द कर्माचार्यको उपस्थिति रहेको थियो । वितरक महासंघका सल्लाहकार राजेन्द्र थापा, उद्यमी पवन कुमार पिया लगायतका व्यक्तिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा ३ ओटै तहका प्रतिनिधिहरु, लायन्स क्लब तथा विभिन्न वस्तुगत संघहरुको अलावा अन्य स्थानीय संघसंस्थाका प्रतिनिधिहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: