साहित्यकारहरु भन्छन्, वास्तविक सहिदको अपमान भयो 


शशि पन्थी, भैरहवा । आज ७७ औँ सहिद दिवसको एक कायक्रमका वक्ता तथा  साहित्यकारहरुले जस्तोसुकै व्यक्तिलाई पनि राज्यले सहिद घोषणा गरेर वास्तविक सहिदको अपमान गरेको बताएका छन् ।
भैरहवाको सिर्जनशील साहित्यिक समाज (सिसास)ले आयोजना गरेको ७७ औँ सहिद दिवस तथा १४ औँ वार्षिकोत्सवका अवसरमा प्रमुख अतिथिको रुपमा बोल्दै वरिष्ठ संस्कृतिविद प्रा.डा. गितु गिरीले राष्ट्रको लागि र समाजको लागि ज्यान आहुति दिने व्यक्ति र देशको रक्षाका लागि लड्ने व्यक्ति नै वास्तविक सहिद भएको बताए ।
उनले भने, ‘देश बचाउनका लागी लाग्ने व्यक्ति मात्रै सहिद हो तर यदि कसैको नेपाली सेनामा जागिर खाँदा मृत्यु भयो भने त्यो व्यक्ति सहिद हुन सक्दैन ।’
कार्यक्रममा विशिष्ट अतिथिका रुपमा गजलका धरोहर प्राज्ञ बूँद राना थिए । उनले नेपाल सरकारले सहिदको नामलाई अपमान गरी जो कोही व्यक्तीलाई सहिद घोषणा गर्दा वास्तवीक सहिदको अपमान भएको बताएका थिए ।  कार्यक्रमका विशिष्ट अतिथि प्रा.डा. कपिलदेव लामिछानेले कच्चा सहिद र लाठे सहिदको अन्त्य हुनुपर्ने बताएका थिए ।
कार्यक्रमका विशिष्ट अतिथि तथा वरिष्ठ कवि रामचन्द्र भट्टराईले पूर्व राजा त्रिभुवनको सालिक नहटाएसम्म सहिदहरुको सम्मान हुन नसक्ने बताएका थिए । कार्यक्रममा सिसासले ६ जना साहित्यकारहरुलाई सम्मान तथा पुरस्कार अर्पण गरेको छ ।
 विविध पुरस्कार तथा साहित्यिक सम्मानबाट लुम्बिनी अञ्चलमा क्रियाशिल साहित्यकारहरुलाई प्रत्येक वर्ष सहिद दिवसका दिन सिसासले आफ्नो वार्षिकोत्सव समेत मनाउँदै सम्मान तथा पुरस्कार प्रदान गर्दै आइरहेको छ ।
सिर्जनशील श्री फाइनान्स साहित्यिक पुरस्कार २०७४ बाट सिनपा निवासी साहित्यकार गङ्गा लिगल, सिर्जनशील छविलाल साहित्यिक पुरस्कारबाट तिलोत्तमा नगरपालिका निवासी छन्दका अभियन्ता कविराज पौडेललाई अर्पण गरेको छ । त्यस्तै सिर्जनशील गङ्गा साहित्यिक पुरस्कार यस क्षेत्रमा क्रियाशिल नारी स्रष्टा सिनपा वडा नं ८ निवासि सीता काफ्लेलाई प्रदान गरेको छ ।
त्यसैगरी सिर्जनशील स्रष्टा सम्मान २०७४ बाट युवा कवि तथा सिसासका पूर्व अध्यक्ष नारायण प्रसाद भण्डारीलाई प्रदान गरेको सिर्जनशील साहित्यिक समाज सिसासका अध्यक्ष अध्यक्ष सुवास रिजालले जानकारी गराएका छन्  ।

यस वर्ष देखि साहित्य, कला र संगीत विधामा लुम्बिनी अञ्चलमा क्रियाशील स्रष्टाहरुलाई सम्मानित गर्ने लक्ष्यका साथ सिर्जनशील युवा प्रतिभा सम्मान २०७४ बाट दुई जना स्रष्टा गजल सागर नेपालका अध्यक्ष मिनबहादुर राना र नेपाली राष्ट्रिय भोजपुरी प्रतिष्ठान रुपन्देहीका अध्यक्ष शिवनन्दन जैशवाललाई संस्थाले सम्मान गरेको कार्यक्रमका संयोजक तथा सहसचिव धन बहादुर गहतराजले बताए ।

सिसासका अध्यक्ष सुवास रिजालको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकारहरु विजय सागर, वनमाली निराकार, रुद्र ज्ञवाली, साहित्यकारहरु कृष्ण प्रसाद कोइराला, रमेश समर्थन, अनेसास लुम्बिनीका अध्यक्ष लक्ष्मी शर्मा, सहिद स्मृती पुस्तकालयका अध्यक्ष घनश्याम गौतम, स्रष्टा रमेश समर्थन, ब्रम्हाकुमारीज इश्वरीय विश्वविद्यालयकी ब्रम्हाकुमारी सुमित्रा, सिद्धार्थ साहित्य परिषदका अध्यक्ष डिल्लिराज भट्राई, सैनामैना साहित्य समाजका अध्यक्ष सागर केसी लगायतका स्रष्टाहरुले आफ्नो मन्तव्य राखेका थिए ।

 

 कार्यक्रममा लामो समय देखी प्राध्यापन क्षेत्रमा क्रियाशील गीतकार केशव बेल्वासेको गीति एल्वम् तिमी हिँड्ने बाटो बिमोचन गरीएको छ । साथै उक्त कार्यक्रममा सिसासको १७० औँ मासिक साहित्यिक संगम समेत सम्पन्न गरिएको संस्थाकी उपाध्यक्ष  गंगा अभिलाषीले जानकारी गराएकी थिइन्  ।
उपाध्यक्ष गंगा अभिलाषीको स्वागत मन्तव्य र सचिव शशि पन्थीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Comment

Related News 

© 2016 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: