राष्ट्रिय सभा चुनावका लागि आज मनोनयन



काठमाडौं । राष्ट्रिय सभा चुनावका लागि तीन ठूला दलमध्ये वाम गठबन्धनबाट एमाले र माओवादीले आफ्ना उम्मेदवार टुङ्गो लगाएका छन् भने काँग्रेसले केही प्रदेशबाहेक अधिकांश स्थानमा उम्मेदवार निश्चित गरेको छ । प्रदेश २ मा राष्ट्रिय जनशक्ति पार्टी (राजपा) र सङ्घीय समाजवादी फोरमको गठबन्धनले पनि उम्मेदवार टुङ्गो लगाउन सकेका छैनन् ।

राष्ट्रिय सभाका लागि एउटा प्रदेशबाट आठ जना निर्वाचित हुने व्यवस्था छ । अध्यादेशअनुसार राष्ट्रिय सभामा यी आठ जना चार वटा समूहबाट निर्वाचित हुनेछन् । खुलाबाट तीन जना, महिलाबाट तीन जना, दलितबाट एक जना र अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यकबाट एक जना निर्वाचित हुने व्यवस्था छ ।
प्रतिनिधिसभा र प्रदेशसभाका लागि बाम गठबन्धन बनाएका एमाले र माओवादीले राष्ट्रिय सभा चुनावमा पनि तालमेल गरेका छन् । ५६ सिटमध्ये ४३ सिटमा दुई दलले उम्मेदवारी दिने तयारी छ । सहमतिअनुसार एमालेले २९ र माओवादीले १४ सिटमा उम्मेदवारी दिनेछन् । अध्यक्ष केपी ओलीको अध्यक्षतामा माघ ८ गतेबाट शुरु भएको नेकपा (एमाले) स्थायी कमिटीको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको टुङ्गो मङ्गलवार साँझ लगाएको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

माओवादीले आफ्नो भागमा परेको १४ जनामध्ये १३ जना उम्मेदवारको नाम टुङ्गो लगाएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’बीचको बैठकले मङ्गलबार नाम टुङ्गो लगाएको पार्टीका प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो । बादल आफँै प्रदेश ३ बाट खुलातर्फ उम्मेदवार बन्नु भएको छ ।

माओवादी केन्द्रले प्रदेश दुईमा पाएका दुईमध्ये एउटा मात्र सिटको टुङ्गो लगाएको छ । अर्को एउटा अल्पसङ्ख्यक तथा दलित कोटाको बाँकी सिट मधेशवादी दलसँग तालमेलका लागि राखिएको छ । तर मधेशवादी दलले भने काँग्रेससँग गठबन्धन गरेर चुनाव लड्ने सहमति गरेका छन् ।
काँग्रेसले पनि उम्मेदवार टुङ्गो लगाउन तीन दिनदेखि प्रधानमन्त्री निवास बालुवाटरमा बैठक बस्दै आएको छ । मङ्गलबार रातिसम्म काँग्रेसले प्रदेश ४, ५, ६ र ७ का लागि उम्मेदवारको टुङ्गो लगाएको छ । प्रदेश २ मा काँग्रेस, राजपा र सङ्घीय समाजवादीले दुई÷दुई सिट बाँडफाँट गरेर लिने सहमति गरेका छन् । काँग्रेसले प्रदेश १ मा अल्पसङ्ख्यक र प्रदेश ३ मा खुला र महिला सिटमा उम्मेदवार छनोट गर्न बाँकी छ ।

दर्ताका लागि तयारी पूरा
निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ताको सबै तयारी पूरा भएको जानकारी दिएको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले माघ २४ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि माघ १० गते उम्मेदवारी मनोनयन दर्ताका लागि दलहरूलाई आह्वान गर्नुभयो ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा निर्वाचनमा प्रतिश्पर्धा गर्न लागेका दलका लागि आयोगमा आयोजित कार्यक्रममा प्रमुख आयुक्त यादवले सातवटा प्रदेशको उच्च अदालत रहेका स्थानमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ता हुने बताउनुभयो । उहाँले निर्वाचनका ठूला नदी पार गरेको जानकारी दिँदै अब अन्तिम चरणमा पुगेको बताउनुभो । उहाँले यो चुनावलाई उच्चस्तरको तयारीबाट प्रतिस्पर्धा गर्नसमेत आग्रह गर्नुभयो ।

प्रमुख आयुक्त डा. यादवले स्वतन्त्ररूपमा मतदान गर्ने वातावरण बनाउन अनुरोध गर्नुहुँदै भन्नुभयो, ‘मतदातालाई स्वतन्त्ररूपमा मतदान गर्ने वातावरण बनोस्, कसैको दबाब, डर, त्रास वा धम्कीमा मतदान गर्नुपर्ने अवस्था नरहोस् । ’ कार्यक्रममा २१ दलका ५१ जना नेता सहभागी हुनुहुन्थ्यो । उहाँले माघ २१ गते राति १२ बजेबाट मौन अवधि शुरु हुने भएकाले मौन अवधिमा मतदाता प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न नमिल्ने जानकारी दिनुभयो ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: