विश्वको कुरुप मुहारलाई सुन्दरतामा परिवर्तन गर्न मानवतावाद


बासुदेव दल्लाकोटी, धादिङ

हामी यस संसारमा मानव भनी दावी गर्ने मनुष्य जातीहरु व्यवहारमा धुर्त, कपटी, मुर्ख, घमण्डी चरित्रलाई सदैव साथ लिएर बोलीमा मानवताको तक्मा आफैंले आफैंलाई दिलाउँदै संसारकै सर्वश्रेष्ठ प्राणी हौं भनेर निर्लज्ज र निडर भइ घोषणा गर्दै आएका छौ । यसैमा गौरव गर्दै तीन वित्ता माथि उफ्री अन्य प्राणीहरुलाई अन्याय, अत्याचार, अपमान तथा अनैतिक व्यवहारबाट अरु माथि हैकम चलाउँदै आफू भने सबैका सामु भाले वा साँढे बनेर भौँजाहा चालमा हिँड्दै आएका छौं हामी मानवजाती । हामी गफगाफ, बोलीचाली वा रवाफमा विभिन्न तर्कवितर्क गर्दै मानवताको खोल ओढेर इज्जतदार पल्टिन्छौं । तर व्यवहारमा भने अलिकति पनि मानवताको अर्थ र महत्व नै नबुझेका जस्तो देखिन्छौं ।
तर हामीले प्रयाश गर्यौं भने व्यावहारिक रुपमा नै मानव बन्न पनि नसकिने होइन, सक्छौं । यदि हामीलाई प्रकृतिले नै वरदान स्वरुप दिएका विविध उपहारहरुलाई सकारात्मक ढंगले सदुपयोग गर्न सक्यौं भने त्यो सम्भव छ । तर यसको लागि हामीले आ–आफ्नै व्यवहारमा सुधार गर्नुपर्ने हुन्छ । यसको लागि सर्वहितकारी, सकारात्मक उत्कृष्ट नीति, कानुन, सिद्धान्तको अलावा आत्मीय तथा व्यावहारिक रुपमा परिवर्तन ल्याउनु पनि जरुरी रहन्छ ।

आफूभित्र भएका नकारात्मक र हानिकारक विचार, चरित्र र धारणाहरु प्रति आफ्नो कमजोरी स्वीकार गरी व्यावहारिक रुपमा व्यापक सुधार तथा आत्मीय अठोट हुनु पनि जरुरी रहन्छ । सम्पूर्ण नकारात्मक, फोहोर कसिङ्गरहरुलाई तिलाञ्जिलि दिनुपर्ने हुन्छ ।
हामी सबैले यी सम्पूर्ण कुराहरुमा सुधार, विकास, प्रगति तथा नवचेतना विकास गरी एक आपसको एकतामा जोड दिएर, मनुष्य जाती लगायत सम्पूर्ण प्राणी जगतमा वास्तविक रुपमा नै मानवीय प्रेम, सद्भाव, सम्मान, सहकार्य, हौसला, प्रेरणा हुनु आवश्यक छ ।

यसको लागि सबैलाई आवश्यक सेवा, सुविधा, स्रोत, साधन आदिको उपलब्धता वा सृजना गराउने मानसिकतामाका साथ अगाडि बढेर सबैका निम्ति उपयुक्त हुने शान्त, सुन्दर, स्वच्छ र सौहार्दपूर्ण वातावरणको सृजना गर्ने उद्धेश्य तथा अठोट र शाहसको साथ सर्वहितकारी हर क्षेत्रमा व्यवस्थित मानव समाज वा मानव शासनको गठन होस् । जुन हिंसा, भेदभाव, विरोध, अशान्ति वा अराजकता रहित होस् ।

जसप्रति सम्पूर्ण वर्ग, जाती, लिङ्ग, रङ, धर्मको आधारमा प्राणी जगत सबैलाई हृदय देखि नै चित्त बुझ्ने किसिमले कार्य अघी बढाइनु जरुरी छ । यसको निम्ति आफूलाई मानव हुँ भनी दावी गर्नेहरुले पनि सही र चेतनशिल ढंगले सच्चिनु जरुरी छ । तसर्थ सबैलाई हेक्का रहोस् कि सालिन्दा वा युग पिच्छे एउटै समाजमा सत्ता वा शासन परिवर्तनको लागि कठोर संघर्षपूर्ण आवाज उठाउन नपरोस् ।

मानवजाती शासनको स्थापना (उदय) ः
सबैका सकारात्मक सल्लाह, सुझाव, भावना वा योजना लगायतका यस ब्रह्माण्डमा नै उत्पत्ति भएका वा जन्मिएका महत्वपूर्ण, अत्यावश्यक विशिष्ट विचार भावना, योजना वा सिद्धान्त आदिमा समायोजन गरी (जस्तै ः गौतमबुद्ध, अब्राहम लिङ्कन, महात्मा गान्धि, लक्ष्मी प्रसाद देवकोटा, नेलसन मण्डेला, माक्र्स, लेनिन, माओ, मदन भण्डारी, विश्वेश्वर प्रसाद कोइराला लगायत संसारकै मानव समाजको विकास र प्रगतिको लागि योगदान दिएका शहिद र अन्य मानव व्यक्तित्वहरुका अमूल्य विचार तथा योजनाहरु सहित अरु नयाँ जन्मिएका उत्कृष्ट विचारका व्यक्तिहरुबाट उत्पन्न भएका महान विचार सिद्धान्तको अनुशरण गरिनुपर्छ । यसबाट मानवीयता अनुशासित र प्रभावकारी ढङ्गले अघी बढ्न सक्छ ।

यसैकारण सबैले व्यवहारबाट नै पाठ सिक्दै वा अध्ययन अनुसन्धानबाट मूल्याङ्कन गरी छानिएका वा सङ्कलित कुराको आधारमा सबैलाई समाविष्ट गरी सबैको भलाई र कल्याण हुने गरी नयाँ उच्च स्तरको नियम कानुनको निर्माण हनु पनि जरुरी छ ।
यस प्रकारको उत्कृष्ट शासन स्थापित हुनुको जस कुनै एउटा मात्र वा केही सीमित व्यक्ति संगठन आदिलाई मात्र नभइ सम्पूर्ण मानव जातिलाई नै जाओस् । जसको कारणले सम्पूर्ण व्यक्तित्व वा प्राणी जगतले नै हौसला, प्रेरणा, उमङ्ग र जोश सहित सम्मान, खुसीको साथै उपयुक्त वातावरणमा मिलन, सद्भाव, सम्मान, सहकार्य वा एकताको उमङ्गका साथ निरन्तर रुपमा हरेक क्षेत्र वा पक्षबाट अगाडि बढ्ने अवसर पाउन् । सबैले यसलाई स्वीकार, सत्कार, स्वागत र व्यावहारिक रुपमा मनन गर्न सकुन् ।

यहाँ मानव भनेर कुनै एउटा मनुष्य जातीलाई मात्र भन्न खोजिएको होइन । नैतिकता वा अनुशासनमा कटिवद्ध रही सकारात्मक वा सर्वहितकारी, सबैको भलाई, कल्याण, उन्नती र प्रगतिको कामनाका साथ सामाजिक प्रभाव पार्न वा अमूल्य पाठ सिकाउने खालको व्यवहार प्रदर्शन गर्ने जुनसुकै प्राणीलाई पनि मानवको स्थानमा राखिनुपर्छ । अन्य नकारात्मक नियत र व्यवहार बोकेका विशेष गरी जानी–जानी बुझ पचाएर आफुखुसी अन्य वर्गलाई अमानवीय व्यवहार गर्ने जति सबैलाई दानवको कित्तामा राखेर कठोर सजाय दिनुपर्छ ।


तसर्थ यस मानवतावादी शासनमा वास्तविक रुपमा मानवहितका निम्ति आवश्यक पर्ने कुराहरु प्रति कसैले विरोध जनाउन नपाओस् । मानवहित विपरितका कुराहरुलाई तुरुन्तै विरोध गरी वा अन्य प्रक्रिया अपनाएर सकेसम्म चाँडो खारेज गरियोस् । कोही पनि अनुशासित, सोझा, निर्दोष, मानवीय भावना र व्यवहार भएकाहरु दानवरुपी हृदय र चरित्र भएका व्यक्तिहरुबाट शोषित हुनु नपरोस् । अपराधीहरुले चोखिने र उम्किने अवसर नपाउन् । सबै कुरालाई समेट्न वा सम्बोधन गर्न सकियोस् । एउटाको स्वतन्त्रता र खुसीमा गलत भावले अर्कोले चलखेल गर्न नपाओस् । पारिस्थितिक प्रणालीको नियम वा जीवनचक्र अनुसार नै सबै कुरा सन्तुलित रुपमा नै चलिरहोस् ।

Comment

Related News 

© 2016 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: