स्कूल छुट्टी ! अब के गर्ने


बालबालिकालाई रमाइलो ठाउँ मनपर्छ । स्वतन्त्र भएर खेल्न, दगुर्न, बोल्न र काम गर्न पाइने ठाउँ नै रमाइलो ठाउँ हो । त्यो ठाउँमा साथीहरु पनि हुनुपर्छ, मिल्ने र सँगसँगै रमाउने । त्यस्तो रमाइलो ठाउँ कहिले घर हुन्छ त कहिले स्कूल, कहिले घर र स्कूल दुबै हुन्छन् त कहिले दुबै ठाउँ हुँदैनन् । जो कोहीलाई पनि जहाँ रमाइलो लाग्छ त्यही ठाउँमा जान पाउनु वा रमाइलो नलाग्ने ठाउँमा जान नपर्नु नै आनन्दको कुरा हो । केही बालबालिकालाई स्कूल जाने दिन रमाइलो लाग्छ, केहीलाई स्कूल बन्द भएको दिन । स्कूलहरुले जाडो र गर्मी समयमा लामो अवधि बिदा दिने गर्दछन् । कुनै स्कूलले त एक महिनासम्म पनि बिदा दिन्छन् । यहाँ उल्लेख गरिएका दुवै खाले विद्यार्थीका लागि यो बिदाको समय सुखद् कसरी बन्छ ? यही विषयमा केन्द्रित भएर यहाँ कुराकानी गर्ने जमर्को गरिएको हो ।

स्कूलहरुले दिने होमवर्कले घरघरमा एक किसिमको तनावको सिर्जना गर्ने गरेको अनुभव हामी धेरैसँग छ नै । एक त बालबालिकाले नसिकेको विषयमा दिइएको कामले अप्ठ्यारो पार्छ, अर्को फरक खालको काम दिने भनेर अभिभावकको सहयोगमा पनि गर्न नसकिने र अस्पष्ट खालको काम दिनाले समस्या निम्तिन्छ । लामो समयको बिदामा पनि यही अनुभवको पुनरावृत्ति नहुने कुरामा संशय छैन । यसर्थ लामो समय अवधिको बिदालाई कसरी आनन्ददायक बनाउने भन्ने विषयमै प्रवेश गरौं ।

बिदा शुरु हुने दुइ दिन अघिसम्म बालबालिकाहरु बिदाप्रति सकारात्मक हुन्छन् । जब बिदा शुरु हुने अघिल्लो दिन आइपुग्छ, एकाएक उनीहरुको कान्ति क्षय हुन्छ । सबै शिक्षकहरु मिलेर यति धेरै होमवर्क दिइन्छ कि साविक दिनमा भन्दा धेरै गुणा बढी । अनि दिइने काम पनि निरसिलो र उही नोट बनाउने, ह्याण्डराइटिङ्, कोर्सबुकको अभ्यास फेरि गर्ने, रिपोर्ट दोहो¥याएर गर्ने यस्तै । बालबालिकालाई बोझ लाग्ने र नाक खुम्च्याउने खालका काम दिएर के हासिल होला ? आनन्दकासाथ सिकाई हुने वातावरण बनाउन हामी लागिपर्ने कहिले ?

स्कूल बिदा भएपछि के गर्ने भन्ने आआफ्नै योजना हुन्छन् । बालबालिकाको पनि व्यक्तिगत योजना हुन्छन् । सिर्जनात्मक योजनाहरु भएरै पनि सुनाउन सकिरहेका नहुन सक्छन् । यसर्थ सुनौं उनीहरुका योजना पनि । सोही योजनालाई नै बिदाको होमवर्क सदर गर्न नसकिने कुनै बाधाव्यवधान हुँदैन । नभए, योजना बनाउन लगाउन पनि सकिन्छ । रुचि र क्षमताका आधारमा तय गरिएका योजना अनुसार बिदा मनाउँन दिन किन कञ्जुस्याइँ ? बरु, काम आफैं तय गर्ने, योजना बनाउने र आफूले दख्खल राख्ने विषयमा एकचित्त भएर काम गर्ने सोच र बानी विकास हुनमा सघाउ पुग्छ ।

सामान्यतया परीक्षाको तनावबाट भर्खरै छुटेको बालकलाई दिक्दारिलो काममा नलगाउनु नै सुन्दर हुन्छ । लाखौं विद्यार्थी स्वयम्लाई प्रश्न गर्छन्, यति लामो अवधिको बिदामा के गर्ने ? यस प्रश्नको उत्तर रोचक होस्, सुरुचिपूर्ण होस्, कपी एण्ड पेष्ट गर्ने काम नहोस्, मनमस्तिष्क र हात एकसाथ चल्ने ‘कार्य’ होस् ।

नरेन्द्रकुमार नगरकोटी

यसै सन्दर्भमा लामो अवधिको बिदामा स्कूल तह अध्ययन गर्ने बालबालिकालाई कस्तो काममा संलग्न गराउने भनेर प्रश्न सोधियो, शिक्षक, विद्यार्थी, अभिभावक, शैक्षिक नेता, लेखक, पत्रकार, कलाकार, शिक्षविद्, राजनीतिक व्यक्ति, किसानहरुसँग । स्वदेश र विदेश, गाउँ र शहरमा बस्नेहरुसँग । केहीले जवाफ दिनुभएन । केहीले मलाई नै प्रतिप्रश्न गर्नुभयो के गर्ने होला त भनेर ।

केहीे यस प्रकारका उत्तर आएः
 कृषकका छोराछोरीलाई खेतबारीमा पठाइदिउँ कि बा–आमाले के गर्छन्, हेरुन् र जानून् । व्यापारीका लागि त्यतै पठाइदिउँ । अनि शनिबारीय शिविर बनाऔं, एक अर्काका कुरा सेयर गराउँ । फेरि साटफेर गरौं, व्यापारीका छोराछोरी खेतमा, कृषकका छोराछोरी पसलमा । अनि फेरि सेयर गराउँ । सानालाई साना कुरा, ठूलालाइ ठूला कुरा, वर्षे बिदामा घुम्न नपठाउँ । जोखिम हुन्छ । हिउँदमा घुमाइदिउँ । तालिका बनाउँ, वर्षे हिउँदे किन कुर्नु । २, ३ दिनका बिदा पनि उपयोगी हुन्छन् । सामाजिक र विज्ञान अनि भाषाका परियोजना कार्य दिउँ ।
 पढ्ने काममा होमवर्क कम दिने । बालबालिकाहरूको इच्छा र चाहना बुझेर सोहीअनुसार गर्दा उत्तम होला ।
 किताबी ज्ञानभन्दा परतिर भ्रमण, भेटघाट, मनोरञ्जन र खेलकुदमा सहभागी गराई सिर्जनशीलता अभिवृद्धिमा जोड गर्ने ।
 विद्यार्थीले बोझ अनुभूति नगर्ने खालका सीप र रुचि अनुसारका काम, जस्तो काष्ठकला, ओरिगामी आदि ।
 स्कूलले दिने होमवर्कको पहाड नभए हुने, सिकाइ शिविरहरु चलाउने ।
 नाटक, नृत्य, कला, खेलकुद, कलिग्राफी, योगामा सहभागी गराउने ।
 स्वतन्त्रता दिने इच्छाबमोजिमका काममा तर कार्टून र कमिक्समा असीमित समय दिने क्रम रोक्ने ।
 सामुदायिक कार्यमा संलग्न गराउने र समाजसँग निकट हुन मद्दत गर्ने ।
 मौसम अध्ययन र विश्लेषण गर्ने गराउने ।
 नेतृत्व विकास कार्यशाला, लेखन कार्यशाला गराउने ।
 सामाजिक कार्य गर्ने जस्तो कि स्वास्थ्य शिविर, जन्मदर्ता अभियान आदि ।
 सुशुप्त क्षमता विकास गराउने र व्यवसायिक खालका तालिम, कार्यशाला र कार्यक्रम गर्ने ।
 कोर्सभन्दा बाहिरको पुस्तक पढ्न भन्ने । बिदापछि कुनकुन पुस्तक पढे भनेर कुरा गर्ने जसले गर्दा कुन विद्यार्थीको रुचि केमा छ नि थाहा हुन्छ ।
 ६० वर्ष नाघेका ज्येष्ठ नागरिकसँग इतिहास, संस्कृति र जीवनशैली बारे अन्तरवार्ता लिने ।
 वृक्षारोपण अभियानमा सहभागी गराउने ।
 कम्तीमा ‘वन नाइट स्टे’ सहितको हाइकिङ्मा जाने ।
 उमेरका आधारमा व्यवसायिक सीप विकास तालिममा सहभागी गराउने र भविष्यका लागि तयारी गर्न सघाउने ।
 पढेका सैद्धान्तिक कुराहरुलाई घरमा, समाजमा व्यवहारिक रुपमा उतार्न लगाउने ।
 स्कुलमा सिकाइएका कुराहरु, पुस्तकका विषयवस्तुहरु बिदा अवधिको जीवनमा कहाँकहाँ कसरी प्रयोग भए सो विषयमा कुनै रचना, प्रतिवेदन वा छलफलका लागि सामग्रीहरु तयार गर्न प्रोत्साहन गर्ने ।
 आविस्कार गर्ने कार्यमा प्रोत्साहन गर्ने ।
 समाजका विविध विषयमा सर्वेक्षण गर्ने काम दिने, अध्ययन, अनुसन्धान गर्ने खालका काम दिने ।
 प्रकृतिमा रमाउन, फोटो खिच्न, चित्र कोर्न, गाउँन नाँच्न, सिर्जना गर्न दिने । प्रकृतिको खुल्ला किताबमा आनन्द लिन दिने ।
 दैनिक जीवनमा प्रयोग हुने सामाग्रीहरु बनाउन लगाउने ।
 उमेर समूह अनुसार उनीहरुको इच्छा र चाहनालाई समेट्दै रचनात्मक क्रियाकलापमा समावेश गर्ने ।
 घुम्न छोड्दिउँ । देख्छन् ,भोग्छन् अनि आफ्नै अनुभूति लेख्छन् । सिकाइ आफ्नै ढंगले गरेको ज्ञान हो ।

कसैले पनि जे भइआएको छ त्यही ठीक छ भन्नुभएन । बेग्लै किसिमले सिक्ने वातावरण तयार गर्नेतर्फ नै सबैको औंला तेर्सिएका छन् । यसको आशय के हो भने अब परम्परागत सिकाइ संस्कार तोड्नु जरुरी भइसक्यो ।
केहीले भने यसो भन्नुभयोः
 हाम्रो त लामो बिदा नै हुन्न गाउँ लानै⁄जानैै नपाइने ।
 म त जान्दिनँ, हामीले कहिल्यै त्यस्तो अनुभव गर्न पाएको भए पो । लेख्दैमा जिन्दगी गयो । कत्ति धेरै होमवर्क हुन्थ्यो भ्याकेसनको, लेख्नुपर्नी ।
 हाम्रोमा स्रोत र सुबिधाको अभाव छ, अभिभावको आयस्तर आदिका कारण कठिनाइ छ ।
 बालबालिकालाई स्वतन्त्र छाडिदिऔं र हेरौं एकपटक । के हुने रहेछ, के गर्ने रहेछन् । किनकि लेख्न दिइने होमवर्कलाई बोझ मान्न थालिएको छ ।

तल केही कामहरु सूचीकृत छन् ।

यी कामहरु स्वतन्त्र रुपमा आफैं गर्न सकिने काम हुन् भने विद्यालय वा अभिभावकले गर्नगराउन सकिने कामहरु पनि हुन् ।

 खेल खेल्नु बालबालिकाको पहिलो र उत्कृष्ट रोजाइ हो । भरपूर खेल्न दिने ।
 संसारका विभिन्न उत्कृष्ट फिल्म हेर्ने । फिल्म हेर्ने भन्नेवित्तिकै नाक खुम्च्याउनु पर्दैन । निश्चित फिल्म हेर्ने र समीक्षा लेख्ने पनि काम दिन सकिन्छ ।
 सिकाइमूलक यूट्युब भिडियो हेर्ने र हेर्न दिने ।
 साथी समूहसँग धेरै, छिट्टै र आनन्दसाथ सिक्न सकिन्छ । हामी प्रौढलाई पनि रमाइलो लाग्छ साथीसँग रहँदा । साथीभाइसँग रमाइलो गर्ने अवसर दिने ।
 विगतको समीक्षा र आगामी यात्राको तयारी गर्ने ।
 कुनै पेशा गर्ने वा स्वयम्सेवा गर्ने ।
 अनलाइनबाट नयाँ भाषा सिक्ने ।
 रुचि र आवश्यकता अनुसारका अनलाइन कोर्स लिने ।
 सीपमूलक काममा संलग्न हुने जस्तै चित्रकला, भाषणकला, पाककला ।
 रुचिमा आधारित प्रोजेक्ट गर्ने, नयाँ सामान निर्माण गर्ने, प्रोजेक्ट वर्क गराउँने ।
 पुस्तक, पत्रपत्रिका, ग्रन्थहरु पढ्ने् ।
 साथी, शिक्षक, नातेदार र परिवारका सदस्यलाई धन्यवाद पत्र लेख्ने ।
 दैनिकी लेख्ने र एउटा पुस्तक वा पुस्तिका तयार गर्ने ।
 किताब नै लेख्ने जस्तो कि उपन्यास ।
 आफ्नै परिवारको इतिहास खोजी गर्ने र लेख्ने ।
 धेरैभन्दा धेरै अग्रजसँग ‘करियर’ बारे कुरा गर्ने र कुराकानीलाई भिडियो वा लिखित रुपमा तयार गर्ने ।
 नयाँ सोख पनि बनाउन सकिन्छ जस्तै फोटोग्राफी, बगैँचा निर्माण ।
 आफ्नो घरको वरपर र कोठा सरसफाइ गर्ने र सजाउने ।
 भ्रमण गरेको स्थान वा बिदामा भएका घटनालाई खिच्ने र फिल्म बनाउने ।
 भाइ बहिनीलाई खेल्न, काम गर्न र सिक्न सहयोग पु¥याउने
 घरमा, खेतमा, पसलमा सके अनुसार काम गरेर अभिभावकलाई सहयोग गर्ने ।
 कम्प्युटरमा काम गर्ने, टाइपिङ् स्पीड बढाउने ।
 नजिकैको विद्यालय, क्याम्पस, सरकारी कार्यालय जस्तो कि अदालत वा मालपोत, पुस्तकालय भ्रमण गर्ने ।
 नातेदार र साथीसमूहलाई समय दिने, सहयोग गर्ने ।
 हाइकिङ्, पिकनिक, प्राकृतिक क्षेत्र भ्रमण आदिमा रमाउने ।

माथि उल्लेख भएका कामहरु सबै भेग, सबै तह, सबै उमेर समूह र सबै समयका लागि होइनन् । परिस्थिति र अनुकूलताका आधारमा यी कामहरु गर्नगराउँन सकिन्छ भन्ने नमुना खेस्रा हो । यी कामहरु गर्नुगराउँनुपूर्व दिइने सूचना प्रष्ट हुनुपर्ने कुरामा भने विशेष जोड दिन चाहन्छु ।

बिदाको अवसरमा होलिडे क्याम्प गर्ने संस्कृति विकास गर्न सकिन्छ । एउटा गाउँ, शहर वा टोलमा एउटा शिविर चलाउँने । सिकाइ उत्सवको रुपमा नियमित काम गर्ने । स्थानीय सरकारले यस कार्यमा सहयोग गर्न सकोस् । अभिभावकले पनि बिदाको समयमा विद्यालयले दिएको होमवर्क गर्न मात्र बल नगरे हुन्थ्यो । केही समय सँगै बिताउने गरी केही योजना बनाउन सके अझै राम्रो हुन्छ । बिदाको समयमा के काम दिने भनेर शिक्षक र विद्यालयले पनि एकपटक राम्ररी सोचे हुन्थ्यो । अभिभावकको अवस्था, बाध्यतालाई पनि ध्यानमा राख्न जरुरी हुन्छ । स्थानीय सत्यमा टेकेर काम गर्नगराउन लगाउनुपर्छ ।

P

यसो पनि हुनसक्छ कि बिदा दिने प्रचलन र विद्यालय उपस्थितिलाई कानुन झैं अनिवार्य ठान्ने प्रथालाई बिर्सेर सिकाइ उत्सवका रुपमा स्कूल चलाउने । यसो भनिरहँदा सांस्कृतिक पर्व, प्राकृतिक बाधा, स्थानीय वा राष्ट्रिय विशेष घटनाहरुमा स्कूल छुट्टी गर्नुपर्ने कुरा बिर्सिएको होइन ।

माथिका बुँदाहरु पढिरहँदा, लेखिरहँदा र यस विषमा सोचिरहँदा मनमा निरन्तर उठिरहेको एउटा प्रश्न छ, के हरेक दिन हरेक छिन शिक्षण सिकाइको उत्सव चलाउँन हुँदैन र ?

– लेखक साहित्य, शिक्षा र शैक्षिक सहजीकरणका क्षेत्रमा सक्रिय छन् ।

Comment

Related News 

© 2016 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: