सङ्घर्षशिल उद्यमी ज्ञानु गजमेरकाे सङ्घर्ष यात्रा

  • वैदेशिक राेजगार देखि नेपालमा हाेटल व्यवसाय सम्म

  •  

    ज्ञानु गजमेर, प्रबन्ध निर्देशक, पालज्ञा हाेटल (तिलगंगा)

    इमान्दारिताका साथ मेहनत गर्ने हो भने साेचेकाे काम पूरा गर्न नसकिने नहुुँदो रहेछ । विदेशमा लामो समय रहने क्रममा ज्ञानु गजमेरले यही सिक्नुभयो । सन् १९९३ देखि १७ वर्ष सम्म यु.ए.इ.मा अतिथि सत्कार गर्ने क्षेत्र अर्थात होटलहरुमा सेक्युरिटी गार्ड देखि म्यानेजर सम्मका विभिन्न पदिय रही जिम्मेवारी निर्वाह गर्नुभएका गजमेरले होटेल क्षेत्रमा नै लामो अनुभव बटुल्नु भयो ।

    लामो समय विदेशमा सिकेको सोहि अनुभव र पूँजीलाई नेपालमा लगानी गर्दै यूवा होटल व्यावसायीको परिचय बनाउनुभएका ज्ञानु गजमेर काठमाडौँ स्थित पशुपतिनाथ तथा एयरपोर्टको नजिकै पर्ने तिलगंगा स्थित पालज्ञा होटलका संचालन गर्दै आउनुभएको छ ।

    निम्न मध्यम पारिवारिक पृष्ठभूमिमा जन्मिनुभएका गजमेर पढाई लगत्तै विदेसिनु भएको हुनाले नेपालमा खासै दुःखको महसुस गर्नुपरेन । तर पनि १७ बर्सको विदेश बसाइमा ऊहाँले धेरै दुःखसुखको अनुभव सङ्गाल्नुभयो ।

    वैदेशिक राेजगारका शुरूका दिनहरू ः

    गजमेर शुरुमा विदेश जाने क्रममा ५५ हजार रकम म्यानपावरलाई बुझाउनुभएको थियो । घरमा पैसा नभएकोले गाउँका आफन्तहरु संग सुनका गहानाहरु एकको दुइ तोला दिने सर्तमा जम्मा गरेर ती गहना बेचेर ५५ हजार जम्मा सङ्कलन भएको गजमेर स्मरण गर्नुहुन्छ । उक्त सुन बापत प्राप्त ऋण रकम र सुन पुर्व सर्त (एकको दुइ तोला) बमोजिम नै साढे चार वर्ष पछि फिर्ता गनुभएको थियो ।

    विदेशको अनुभव ः
    शुरुमा सेक्युरिटी गार्डको निम्ति गएर अबुधाबी क्याटरिङ सर्भिसमा काम गर्नुभएका गजमेर करिब २ बर्ष उक्त काम गर्नुभयो । पछि कम्पनी नै बन्द हुन पुग्यो । ६ महिनाको तलब नै पाउनुुभएन । यसै क्रममा जिफोरएस नामक कम्पनीमा उहाँ जोडिनुभयो । त्यस पश्चात् भने उहाँ पछाडि पर्कनुपरेन । इमिरेट्स प्यालेस होटल लगायतमा ऊहाँले लामो अनुभव समेट्नुभयो ।

    अहिलेको अवस्थामा गजमेर ः
    ऊहाँको विदेशमा रहँदाको कमाई, अनुभव र मेहनतको प्रतिफल नै अहिलेको पालज्ञा होटल हुन पुगेको छ । पर्यटक स्तरीय होटलको रुपमा दर्ता भएको यस होटलले हाल स्वदेशी तथा विदेशी पर्यटकहरुलाई स्तरीय सेवा उपलब्ध गराउँदै आएको छ । नेपालका विभिन्न कार्यक्रमहरु समेत यस होटलमा आयोजना हुँदै आएका छन् । कन्फेरेन्स हल, रेष्टुरेन्ट, बार, कफी शप, हरियाली र मनोरम वातावरण रहेको यस होटलले स्ट्याण्डर्ड रुम, फ्याम्ली रुम र डिलक्स रुम गरी ३ किसिमका ३५ ओटा कोठाहरु सञ्चालनमा ल्याएको छ । यी काेठाहरूमा विदेशीहरुबाट २९ देखि ६२ डलर सम्म शुल्क लिने गरेको गजमेर बताउनुहुन्छ । हाल यस होटलमा १६ जना कर्मचारीहरु कार्यरत छन् ।

    धनकुटाको कृषक परिवारमा जन्मिनुभएका ऊहाँले विदेशमा गएर १७ बर्ष अनुभव समेट्नुभएको छ । विदेशमा रहँदा विभिन्न आरोहअवरोधहरु ऊहाँले व्यहोर्नुप¥यो । अहिले भने नेपालको निम्ति नै काम केही गर्नुपर्छ भन्ने मान्यताले नेपालमा नै रहेर व्यवसाय गर्दै आउनुभएको छ ।

    विदेशमा सामाजिक कार्यहरुमा संलग्नता ः
    विदेशमा रहँदा पनि विभिन्न सामाजिक र सामुहिक कार्यहरुमा चासो राख्नुहुने गजमेर सहितको संलग्नतामा प्रवासी नेपाली इन्भेष्टमेन्ट गु्रप नामक कम्पनी सञ्चालनमा ल्याइएको थियो । उक्त कम्पनी नेपालमा होटल देखि हाइड्रो सम्मका क्षेत्रमा लगानी गर्ने सोचले स्थापना गरिएको हो । जुन मान्यताले उक्त अवधारणा अघी बढाइएको थियो, त्यो बमोजिम भने लामो समय अघी बढ्न सक्ने अवस्था रहेन । नेपालमा उक्त कम्पनी सफलतापूर्वक अघी बढ्न नसकेपछि नेपालमा आफैं होटल सञ्चालन गर्नुपर्छ भन्ने मान्यतामा पुग्नुभयो गजमेर । त्यससँगै करिब साढे ३ करोड रकमको लगानीमा पालज्ञा होटल उहाँले सञ्चालनमा ल्याउनुभयोे ।

    सामुहिक लगानीको सोच तर………
    होटल टु हाइड्रो भन्ने अवधारणाले काम अघी बढ्न नसक्ने देखेपछि अहिले भने आफैं नै होटल सञ्चालनमा अघी बढ्नुभयो गजमेर । त्यो समयमा आफूहरुको सामुहिक सोच अघी बढ्न नसक्नुमा नेपालीहरुमा सामुहिक लगानी बमोजिम काम गर्ने प्रचलन त्यस बेला सम्म विकास भएको थिएन भन्ने बुझाई आफ्नो रहेको गजमेरले बताउनुभयो ।

    विदेशबाट सिकेको कुरा ः
    विदेशमा काम प्रति मानिसहरु कत्तिको इमान्दार छ भन्ने कुरा नै महत्वपूर्ण रहन्छ । यसैको आधारमा नै कामदारको तलब तथा अन्य सुविधाहरु समेत निर्धारण गरिन्छ । तर नेपालमा भने लगानी विस्तारको क्रममा अन्य केही समस्याहरु पनि रहन सक्ने अवस्था छ ।

    एकता होटल संघ स्थापनाको उद्धेश्य ः
    नेपालमा आइसकेपछि शुरुका बर्षमा रेष्टुरेन्ट र स्कुलमा समेत लगानी गर्नुभएका ऊहाँले नै एयरपोर्ट र गौशाला क्षेत्रका होटल व्यवसायीहरुलाई समेटेर एकता होटल व्यवसायी संघको स्थापना गर्नुभयो । यस संस्थाको नेतृत्व २ कार्यकाल गजमेर आफैं नै गर्नुभयो । अहिले यस संस्थाको नेतृत्व मोहन थेवेले गर्नुभएको छ ।

    नेपालमा आई आफूले होटल व्यवसाय शुरु गरेका दिनहरुमा होटल व्यवसायमा केही दलगत भातृ सङ्गठनहरुबाट आउने दबाब, कहिलेकाहीँ गुण्डागर्दी, कर्मचारी युनियनको दवाव, प्रहरी प्रशासन, कर लगायतका विभिन्न समस्याहरु होटलको क्षेत्रमा गजमेरले भोग्नुभयो । ती विभिन्न समस्याहरुको सामुहिक समाधानको उद्धेश्यले नै एकता होटल व्यवसायी संघ स्थापना गरिएको हो । त्यस समय थोरै संख्यामा रहेका होटल व्यवसायीहरुलाई संगठित गरिएको थियो । तर अहिले भने यो संघ निकै ठूलो बनेको छ भने अन्य विविध सामाजिक कार्यहरुमा समेत यो संस्था सक्रिय हुँदै आएको छ ।

    नेपालको पर्यटन प्रति गजमेरको दृष्टिकोण ः
    नेपाल पर्यटनको निम्ति निकै राम्रो सम्भावना भएको मुलुक हो । नेपालमा आएका पर्यटकहरुको स्वागत सत्कारको पहिलो बिन्दु भनेकै होटल व्यवसाय नै हो । नेपालमा यस क्षेत्रमा राम्रो सम्भावना भएकै कारण पछिल्लो समय स्तरीय होटलहरु निकै धेरै सङख्यामा सञ्चालनमा आइरहेका छन् ।
    अहिले होटल क्षेत्रको प्रतिष्पर्धा स्वस्थ नै छ । त्यस माथि हामी व्यवसायीहरु सामुहिक सोचले अघी बढेका छौं । अहिले यसरी गरिएको सामुहिक प्रयाशले हामी आफैंलाई पनि व्यावसायिक रुपमा फाइदा भएको छ । हाम्रा पाहुनाहरु समग्रमा खुसी नै हुन सकुन् भन्ने मान्यताले हामीले काम गरिरहेका छौं ।

    अहिले नेपालमा जसरी धेरै सङ्ख्यामा होटलहरु खुलिरहेका छन्, उनीहरुलाई सोही बमोजिम हाम्रो सेवा विस्तारमा ध्यान दिन र सन्तुष्टि दिलाउन सकेको खण्डमा नेपालमा होटल व्यवसाय फस्टाउने सम्भावना निकै राम्रो छ ।

    स्वस्थ प्रतिष्पर्धा ः
    अहिले पनि नेपालमा स्तरीय होटलहरु सीमित सङ्ख्यामा मात्र छन् । जुन बढ्दो क्रममा छ । अहिले जसरी नेपालमा होटलहरुको सङ्ख्या बढिरहेको छ, त्यसरी नै नेपालमा आउने पर्यटकहरुको सङ्ख्या समेत बढेको छ । नेपालमा विगतमा थोरै पर्यटकहरु आउने गरेकोमा अहिले भने नेपालको प्रचारप्रसार र विदेशी पर्यटकहरु घुईंचो समेत बढेको छ ।

    गौशाला क्षेत्रमा होटल व्यवसाय विस्तार क्रम ः
    विगतमा गौशाला वरपरको क्षेत्रमा सीमित होटलहरु मात्र थिए । शुरुमा महाराजा होटल मात्र स्तरीय थियो । विस्तारै पालज्ञा, एयरपोर्ट, मिराज लर्डस् इन लगायत खुले, होटल ट्राभल इन खुल्यो । यससँगै हाम्रा प्रति होटल ग्राहकको सङ्ख्यामा कुनै कमी आएको छैन । ग्राहकहरुले स्तरीय सेवा पाएका छन् । सँगसँगै उनीहरुको निम्ति विकल्प पनि छ । हामीलाई पनि होटल सञ्चालनमा कुनै अप्ठ्यारो परेको छैन । नेपालमा आउने पर्यटकहरु समेत त्यसरी बढ्दै गएको कारण यो सम्भव भएको हो ।

    गजमेरका आगामी योजना ः
    नेपालमा अहिले पर्यटक स्तरीय होटल सञ्चालन गर्दै आउनुभएका गजमेर आगामी दिनमा चेन होटलको रुपमा आफ्नो पालज्ञा होटललाई अघी बढाउने, रिसोर्ट तथा ट्राभल एजेन्सी लगायतका सेवाहरुमा समेत लगानी विविधिकरण गर्ने र पर्यटन क्षेत्रमा स्तरीय सेवा विस्तार गर्ने योजनामा हुनुहुन्छ ।

    युवाहरुलाई सन्देश ः
    नेपालमा नै रोजगारीको वातावरण बन्ने हो भने नेपालका युवाहरु रहरले विदेश जाँदैनन् । नेपाली युवाहरुको पसिनाको कारण थुप्रै देशहरु बनिसकेका छन् । तर नेपालमा अहिले सम्म यस्तो वातावरण बन्न नसकेको कारण युवाहरु कामको निम्ति विदेशमा जान बाध्य छन् ।

    Comment

    Related News 

    © 2016 All right reserved to

    %d bloggers like this: