आउटसोर्सिङलाई व्यवस्थित बनाउन सरकारकाे स्पष्ट नीति आवश्यक छ : चाैरसिया

  • क्यान महासंघका अध्यक्ष हेमन्त चाैरसियासँगकाे विशेष अन्तरवार्ता

  • कम्प्युटर एसोसिएसन नेपाल (क्यान)ले भर्खर सम्पन्न गरेको अधिवेशनबाट क्यानमा नयाँ नेतृत्व पाएको छ । नयाँ कार्यसमितिको अध्यक्षमा हेमन्त चौरसिया विजयी हुनुभएको छ ।
    हामीले नवनिर्वाचित अध्यक्ष चौरसियालाई अबका दिनमा क्यानलाई कसरी अघी बढाउँदै हुनुहुन्छ भन्ने सम्बन्धमा कुराकानी गरेका थियौं । प्रस्तुत छ कुराकानीको सम्पादित अंश ः

    तपाईंका क्यान महासंघलार्इ गति दिने सम्बन्धमा आगामी योजनाहरू के-के छन् ?
    आगामी दिनमा मैले मेरा योजनाहरुलाई प्राथमिकताको आधारमा अघी बढाउँदै छु । त्यसैकारण मैले मेरा विषयवस्तुहरुलाई क्रमवद्ध रुपमा समेट्ने योजना बनाएको छु । मेरो पहिलो मुख्य योजना भनेको त सङ्गठनलाई विस्तार गर्ने र निश्क्रिय सदस्यहरुलाई सक्रिय बनाउने नै रहनेछ । जसले गर्दा क्यान थप सुदृढ र सशक्त बन्न सकोस् । अहिले हामी मातहत ५४ ओटा जिल्ला शाखा मध्ये ३० जिल्लामा मात्र शाखाहरु क्रियाशिल छन् । यसको अलावा संस्थागत विकासको निम्ति मैले कुन क्षेत्रबाट कसरी काम गर्नुपर्छ भन्ने सम्बन्धमा पनि विशेष भूमीका निर्वाह गर्नेछु ।

     

    अहिलेको प्रादेशिक संरचना बमोजिम नै क्यानलाई पनि लैजाने र ती क्षेत्रीय क्यानहरुलाई केन्द्रीय क्यानसँग जोड्नको निम्ति विशेष संयन्त्रहरु अपनाउन मैले पहल गर्नेछु । प्रत्येक क्षेत्रीय क्यानसँग आपसमा भिडियो कन्फेरेन्स गर्न सकिने किसिमले उच्च गतिको इन्टरनेट पहुँच पुर्याउने, क्यानलाई स्मार्ट क्यान महासंघको रुपमा अघी बढाउने लगायतका योजनाहरु मेरो प्राथमिकतामा रहनेछन् ।
    यसको अलावा नेपालमा नीतिनिर्धारण तहमा हाम्रो अनिवार्य उपस्थिति रहने व्यवस्था गर्ने, लामो इतिहास बोकेको क्यानलाई आफ्नै जग्गा सहितको घरमा व्यवस्थित तवरले सञ्चालनको निम्ति प्रक्रिया अघी बढाउने लगायतका कामहरु प्राथमिकताको साथ अघी बढाउनुछ । यी सबै योजनाहरु मेरो कार्यकालमा नै पूरा नहुन पनि सक्छन्, यद्यपि मैले विश्राम नलिई महासंघको निम्ति निरन्तर रुपमा काम गरिनै रहनेछु । मैले मेरो कार्यकाललाई पूर्ण रुपमा सफल बनाउनको निम्ति विशेष पहल गर्नेछु ।

    पछिल्लो समय क्यान महासंघ प्रति सदस्यहरुको नै त्यति चासो देखिँदैन ? किन यस्तो भएको होला ?
    क्यानलाई जुन रुपमा गति दिनुपर्ने हो, त्यसो गर्न नसकिएको कारणले गर्दा यस्तो भएको हुनुपर्छ । यद्यपि अब हामीले क्यानलाई चलायमान बनाउनको निम्ति विशेष भूमीका निर्वाह गर्नुपर्छ । यसको निम्ति सदस्य विस्तार देखि स्वेच्छाले अनिवार्य रुपमा क्यानको सदस्य बन्न उत्प्रेरित गर्ने कार्यक्रमहरु ल्याउनु जरुरी छ । हामीले क्यानमा अनिवार्य सदस्य बन्नुपर्छ भन्ने किसिमको वातावरण सृजना गर्नु जरुरी छ ।

    नेपालमा अहिले क्यान महासंघको सदस्य सञ्जाल के–कति छ ?
    क्यान अन्तरगत अहिले हाम्रा ३२ जिल्लाका सदस्यहरु सक्रिय छन् । हाम्रा इन्ष्टिच्युसनल मेम्बरहरु पनि हुनुहुन्छ । हामीले सेक्ट्रोल मेम्बरहरु रहने व्यवस्था गरेका छौं । सूचना प्रविधिको क्षेत्रमा रहेर काम गरिरहेका संस्थाहरु सेक्ट्रोल मेम्बरको रुपमा आवद्ध हुन सक्नुहुन्छ ।

     

    • क. अहिलेको निम्ति हामीले डिजिटल नेपाल सपना मात्रै हो । तर यो राम्रो सपना हो ।
    • ख. नेपालमा अहिले सम्म आउट सोर्सिङ सम्बन्धमा राम्रो नीति बन्न सकेको छैन । पेमेन्ट गेटवे सम्बन्धी व्यवस्था हुन सकेको छैन ।
    ग. नेपालमा सञ्चालनमा रहेका कर्पोेरेट कम्पनीले अाफ्ना डाटाहरू  कति सुरक्षित छन् भन्ने कुरामा विशेष ख्याल जरूरी छ ।
    घ. अधिकांश नेपालमा बस्ने मानिसहरु अशिक्षित छन् । यस्तो अवस्थामा कसरी सहजै सम्भव होला र डिजिटल नेपाल ?

    पछिल्लो समय क्यान अन्तरगत भएका महत्वपूर्ण उपलब्धिहरु के–के हुन् ? अब के हुनुपर्छ ?
    विगत ३ बर्ष पहिले मात्रै संघको रुपमा रहेको क्यान महासंघमा परिणत भएको छ । क्यानको पछिल्लो समय खासगरी सदस्यता विस्तारमा नै केन्द्रित रह्यो । अहिले देश संघीय संरचनामा गइसकेको र प्रदेशहरु निर्माणमा जानुपर्ने आवश्यकता छ । यसबीचमा हामीले कोष स्थापनाको पहल गर्यौं । अहिले क्यानमा धेरै प्रगति भएको छ तर यतिले मात्रै पुग्दैन । हाम्रो दायरा अझ ठूलो बनाउनुछ । नेपालमा हामीसँग सबैलाई सूचना प्रविधिको निम्ति काम गर्ने गरी सोही बमोजिमका विभिन्न सचेतनामूलक कामहरु गरी हाम्रा गतिविधिहरुलाई अघी बढाउनुपर्छ भन्नेमा हामी निरन्तर क्रियाशिल छौं ।

    नेपालमा अहिले क्यानलाई हार्डवेयरमा केन्द्रित भएको आरोप लाग्दै आएको छ नि ?
    हामीले आयोजना गर्ने क्यान इन्फोटेक मेलामा कम्प्युटर सम्बन्धी सामानहरु बढी मात्रामा देखिने भएको कारण सर्वसाधारणहरुमा क्यान सामान विक्री गर्ने संस्था पो हो कि ? भन्ने भ्रम पर्न गएको हो । तर क्यान त्यतिमा मात्र सीमित छैन । अहिले क्यान नेपालमा अन्य विभिन्न कामहरुमा पनि केन्द्रित छ ।

    नेपालमा अहिले आउटसोर्सिङको काम कत्तिको व्यवस्थित छ ?
    नेपालमा हामीले हाम्रा सदस्य कम्पनीहरुलाई व्यवस्थित रुपमा काम गर्नुपर्छ भन्नेमा सचेत गराउँदै आएका छौं । तर नेपालमा अहिले सम्म आउट सोर्सिङ सम्बन्धमा राम्रो नीति बन्न सकेको छैन । पेमेन्ट गेटवे सम्बन्धी व्यवस्था हुन सकेको छैन । यस्तो अवस्थामा हामीले पहल गर्दैमा सबै काम व्यवस्थित हुन सक्ने अवस्था रहँदैन । त्यसै कारण नेपाल सरकारले नै यसलाई निश्चित नीतिको दायरामा ल्याउनु जरुरी छ ।

    यसको अलावा नेपालमा आउटसोर्सिङ गर्ने कम्पनीहरुलाई सकारात्मक दृष्टिकोण सहित सहयोग गर्ने वातावरण नेपाल सरकारले बनाउन सकेमात्र नेपालमा आउटसोर्सिङ सफल हुन सक्छ । हामीले क्यान अन्तरगत पनि उक्त नीति बने पश्चात् मात्र काम गर्न सक्छौं । पछिल्लो समय नेपाल राष्ट्र बैंकले यस सम्बन्धमा निश्चित व्यवस्था गर्न लागेको मैले सुनेको छु ।

    हेमन्त चौरसिया, अध्यक्ष, क्यान महासंघ

    नेपालमा भएका कम्पनीहरु आफ्नै देशको निम्ति काम गरेको पाईंदैन, यसो हुनुको कारण कारण चाहिँ के हो ?
    नेपालमा अहिले पनि सूचना प्रविधि क्षेत्र निजी क्षेत्र अन्तरगत नै सञ्चालन हुँदै आएको छ । यद्यपि नेपालमा अहिले सम्म पनि निजी तवरबाट सञ्चालित सूचना प्रविधि सम्बन्धी कम्पनीहरुले नेपाल सरकार अन्तरगतका कार्यहरुका निम्ति बोलपत्र बमोजिमका सर्तहरु बिड गर्न सक्ने अवस्था छैन । जसले गर्दा नेपालमा यहाँका कम्पनीले नेपालको निम्ति काम गर्नुपर्ने क्रममा पनि अन्य कम्पनीहरुसँग टायलअप गर्नुपर्ने अवस्था छ । यसको प्रत्यक्ष प्रभाव समग्रमा नेपालको अर्थतन्त्रमा नै परेको छ ।  यसको अलावा नेपाल सरकारले अहिले पनि सूचना प्रविधि क्षेत्रलाई आफ्नो प्राथमिकतामा राखेको छैन । नेपाल सरकार प्रति हाम्रो क्यानको तर्फबाट पहिले नै यस सम्बन्धी पहिलो नम्बरमा नै राखेर प्राथमिकता दिनु आवश्यक रहेको कुरा गर्दै आएका छौं ।

    नेपाल सरकारले निजी कम्पनीहरुलाई बलियो बनाउनको निम्ति यस्ता नीतिहरु ल्याएको होइन र ?
    अवश्य पनि हो, यद्यपि नेपालका कम्पनीहरु बलियो हुँदाहुँदै पनि नेपाल सरकारका मापदण्डहरु निकै कडा भएको कारण हामीले ती मापदण्ड पूरा गर्न निकै गाह्रो छ ।

    सूचना प्रविधि अन्तरगतका साना व्यवसाय प्रवद्धनको निम्ति क्यानको भूमीका कस्तो रहँदो आएको छ ?
    हामीले सानो लगानीका स्टार्टअप कार्यक्रमहरु व्यवस्थापन तथा प्रवद्धनको निम्ति विभिन्न कार्यक्रहरु सञ्चालन गर्दै आएका छौं । जिल्ला तथा केन्द्रमा हुने विभिन्न कार्यक्रम, आईटी कन्फेरेन्स, सफ्टेक, इन्फोटेक, कमटेक लगायतको माध्यमबाट समेत हामीले यस्ता कार्यक्रमहरुलाई प्रवद्र्धन गर्दै आएका छौं । यसको अलावा नेपालमा भएका स्टार्टअप कम्पनीहरु पनि नेपालमा क्यान महासंघले कसरी सहयोग गर्नुपर्छ ? त्यस सम्बन्धी योजनाको साथ क्यान महासंघमा आउनु जरुरी छ ।

    नेपालको साइबर सुरक्षा सम्बन्धमा तपाईंहरुको संस्थाले कस्तो भूमीका निर्वाह गर्न सक्छ ?
    सूचना प्रविधिलाई सुरक्षित र व्यवस्थित बनाउनुपर्छ भन्ने किसिमले नेपाल सरकारलाई हामीले लबिङ गर्ने काम मात्र हामीले हाम्रो तवरबाट गर्न सक्छौं । नेपालमा अहिले सम्म सूचना प्रविधिको क्षेत्रमा कस्ता–कस्ता समस्याहरु छन् ? ती समस्याहरु पहिल्याउने काम सम्म हामीले गर्न सक्छौं । यद्यपि हामीले ती सबै समस्याहरु समाधान गर्ने भने होइन । यसको निम्ति नेपाल सरकारले नै बलिया नीतिहरु ल्याउनु जरुरी छ । नेपालमा सञ्चालनमा रहेका कर्पोेरेट कम्पनी वा वित्तीय कम्पनीहरु पछिल्लो समय सूचनाप्रविधिमा नै आधारित हुँदै गएकोमा ती संस्थाहरुले पनि आफू कति सुरक्षित छौं भन्ने ख्याल गर्दै सेवा विस्तारमा लाग्नु जरुरी रहन्छ ।

    डिजिटल नेपालको निम्ति तपाईंको कार्यकालमा कस्तो अपेक्षा गर्न सकिन्छ ?
    नेपालमा पहिले इ–भिलिज आयो, त्यस पछि स्मार्ट सिटी र स्मार्ट भिलेज आयो । अब डिजिटल नेपाल आएको छ । यो काम भन्न जति सहज छ, व्यावहारिक रुपमा भने त्यति सहज छैन । वास्तवमा डिजिटल

    नेपाल बनाउनको निम्ति सूचना प्रविधिलाई तल्लो तहका ग्रामीण बस्तीका व्यक्तिहरु सम्म पुग्नु जरुरी रहन्छ । तर अहिलेको नेपालको परिस्थिति त्यो छैन । अहिले ग्रामीण क्षेत्रमा सूचना प्रविधिको प्रयोग निकै कम मात्र भइरहेको छ । नेपालका शिक्षित र सक्षम मानिसहरुअहिले पनि विदेशमा नै गइरहेका छन् । अधिकांश नेपालमा बस्ने मानिसहरु अशिक्षित छन् । यस्तो अवस्थामा कसरी सहजै सम्भव होला र डिजिटल नेपाल ?

    जब सम्म युजर शिक्षित हुँदैनन्, तब सम्म डिजिटल नेपाल र स्मार्ट सिटीलाई व्यवहारमा उतार्न निकै गाह्रो छ । यसैकारण सबैभन्दा पहिले हामीले नेपालका सबैलाई सूचना प्रविधिबारे शिक्षित बनाउन सक्नुपर्छ । अहिले पनि नेपालका बैंकहरुले प्रदान गर्ने एटिएम कार्ड राम्रोसँग प्रयोगमा आउन सकेको छैन । यस्तो अवस्थामा

     

    अत्याधुनिक प्रविधिको सबैमा पहुँच विस्तार गर्नु तत्कालको निम्ति कल्पना मात्र हुन सक्छ ।

    प्राथमिकताको आधारमा डिजिटलाइजेसनमा जान सकिँदैन ?
    नेपालका सबै क्षेत्रलाई एकै पटक डिजिटलाइज्ड गर्न सकिने अवस्था नरहेको कारण हामीले क्रमिक रुपमा एक पछि अर्को क्षेत्रलाई स्मार्ट बनाउँदै जान सकिन्छ । देशलाई स्मार्ट बनाउनको निम्ति हामीले हाम्रो क्षमता बमोजिमकै काम शुरु गरे हुन्छ । व्यावहारिक तवरले हेर्दा नेपालको ढल, राजमार्गको सडक, विद्युतीय सिष्टम लगायत सबैलाई एक–एक गरेर स्मार्ट बनाउँदा हामीलाई के फरक पर्छ त ? यसरी काम गर्ने हो भने हामीले हाम्रा सबै कामहरुलाई डिजिटलाईज्ड गर्न सक्छौं ।
    अहिलेको निम्ति हामीले डिजिटल नेपाल सपना मात्रै हो । तर यो राम्रो सपना हो । हामी विकसित हुनको निम्ति यस्ता सपना देख्दैपर्छ । यद्यपि हामीले हाम्रो धरातललाई बुझेर सोही बमोजिम अघी बढ्नु पनि त्यत्ति नै आवश्यक हुन्छ ।

    सूचना प्रविधिको प्रयोगको क्रममा केही नकारात्मक प्रभाव (हानी) पनि आइरहेका हुन्छन्, यसलाई क्यानले कसरी लिएको छ ?
    नेपालमा अहिले पनि सूचना प्रविधिको प्रयोगको क्रममा यसका नकारात्मक प्रभावहरुबारे उपभोक्ताहरुमा सचेतना फैलाउन सकिएको छैन । अधिकांश नेपालीहरुले यसको प्रभाव बारे जानकारी पाउन सकेका छैनन् । यस्ता जानकारीहरु अहिले इन्टरनेटको माध्यमबाट समेत पाउन सकिन्छ । अहिले शहरी क्षेत्रमा यस्ता प्रभावहरुको बारेमा अधिकांश मानिसहरुलाई जानकारी भएपनि त्यस सम्बन्धमा त्यति चासो राखेको भने पाईंदैन ।

    अन्त्यमा तपाईंले के भन्नुुहन्छ ?
    अहिले भर्खरै म सर्वसम्मतिबाट क्यानको अध्यक्ष बनेको छु । आगामी दिनमा मेरो लागि यस संस्थामा रहेर काम गर्न अति धेरै कठिनाईहरु पनि छन् । यद्यपि आगामी दिनमा यस क्षेत्रलाई संस्थागत तवरले अघी बढाउन कसरी सम्भव हुन्छ ? सोही बमोजिम म निरन्तर रुपमा अघी बढि नै रहनेछु । आगामी दिनमा हामीले कलेक्टिभ टिम वर्कको रुपमा सकारात्मक तवरले क्यान मातहत हाम्रा गतिविधिहरु अघी बढाउनेछौं ।
    हामीले नेपालमा रहेका हरेक ग्रामीण क्षेत्रमा सूचना प्रविधिको पहुँच स्थापनाको निम्ति सोही बमोजिम प्रयाश गर्दै सूचना प्रविधिको विकासको निम्ति त्यस बमोजिमको पहल गरी सूचना प्रविधिको क्षेत्रमा लहर नै ल्याउन हामी सफल नै हुनेछौं भन्ने मलाई लाग्छ ।

    Comment

    Related News 

    © 2016 All right reserved to

    %d bloggers like this: