नेपालमा पर्यटन र हाेटल क्षेत्रमा अाकर्षण बढ्दै

  • पर्यटनकाे सम्भावनाबारे यसाे भन्नुहुन्छ हानका महासचिव विनायक शाह

  • तथ्याङ्कले  देखाउँछ पर्यटनकाे लागि अाकर्षक गन्तव्य हाे नेपाल ः

    कुनै पनि मुलुकको पर्यटनको अवस्था के छ भन्ने कुरा सम्बन्धित देशमा कुनै निश्चित समयमा कति पर्यटकहरु भित्रिएका छन् भन्ने कुराले निर्धारण गर्छ । नेपालमा अहिलेको अवस्थालाई हेर्ने हो भने विगतका बर्षहरुको तुलनामा यस पटक सबैभन्दा बढी पर्यटकहरु आउने क्रममा छन् । नेपालमा विगतका बर्षहरुमा १ बर्षको अवधिमा ८ लाख सम्म मात्र पर्यटकहरु आएकोमा यस बर्ष १० लाख पर्यटकहरु आउँदैछन् । यस तथ्याङ्कले पनि नेपालमा अहिले पर्यटन क्षेत्रमा आकर्षण बढेको छ भन्ने बुझ्न गाह्रो पार्दैन ।

    अब नेपालमा तत्कालै ठूलो सङ्ख्यामा तारे सहितका स्तरीय होटलहरु करिब १ सयको सङ्ख्यामा थपिने क्रममा छन् । कतिपय सञ्चालनमा आइसकेका पनि छन् । अहिले नेपालमा होटलको क्षेत्रमा राष्ट्रिय तथा अन्तराष्ट्रिय लगानी बढ्दो क्रममा छ । अहिलेकै अवस्थामा पनि नेपालका होटलहरुमा करिब १६ लाख पर्यटकहरुलाई सुविधाजनक तवरले नै आश्रय दिन सकिने अवस्था छ । तर नेपालमा अहिले जसरी होटलको क्षेत्रमा लगानी भएको छ, त्यस बमोजिम पर्यटकहरु आउन सकेका छैनन् । यसकारण नेपालमा आउने पर्यटकहरुको सङ्ख्या अझै बढाउनु जरुरी छ । अहिलेको बजार प्रतिष्पर्धाको बजार हो । यस्तो अवस्थामा नेपालमा हामीले पर्यटकहरुको सङ्ख्या बढाउन नसकिने पनि होइन । नेपालमा हामीले भारत र चीनमा आउने पर्यटकहरु मध्येबाट केही प्रतिशत मात्रै पर्यटकहरु यहाँ आउने व्यवस्था गर्न सक्यौं भने नेपालको निम्ति ती पर्यटकहरुको सङ्ख्या प्रयाप्त नै हुनेछ । यसको निम्ति हामीले सबैभन्दा पहिले हाम्रो पूर्वाधार विकासमा विशेष ध्यान दिनुपर्छ ।

    होटलको क्षमता बमाेजिम ग्राहककाे सङ्ख्या आवश्यक :
    भिजन २०२० बमोजिम हामीले लक्षित गरेका २० लाख पर्यटकहरु नेपालमा ल्याउन नसकिने होइन । अबको ३-४ बर्षमा नेपालमा ४ हजार कोठाहरु काठमाडौंमा थपिने क्रममा छन् । जस मध्ये अधिकांश स्टार स्तरका होटल नै छन् । यी होटलहरु कसरी भर्ने भन्ने किसिमले हामीले विशेष पहल गर्नु जरुरी छ । जुन अहिलेको हाम्रो निम्ति सबैभन्दा ठूलो चुनौती बनेको छ ।
    राम्रो भविष्य ः
    नेपालमा राम्रो भविष्य भएको कारण नै अहिले नेपालमा यति धेरै सङ्ख्यामा होटलहरु थपिन लागेका हुन् । यस्तो अवस्थामा हामीले नेपालका होटलहरुलाई थप राम्रो तवरले सञ्चालन गर्नको निम्ति भारत र चीनका पर्यटकहरुलाई नै नेपाल भित्र्याउनको निम्ति विशेष पहल गर्नु जरुरी देखिएको छ ।

    विनायक शाह, महासचिव, हाेटल एसाेसिएसन नेपाल

    समस्या ः कमजोर पूर्वाधार
    नेपाल अहिले पनि राजनीतिक रुपमा स्थिर बन्न नसकेको कारण नेपालमा राज्यबाट पूर्वाधार विकासको निम्ति जति काम हुनुपर्ने हो । त्यो गर्न सकिएको छैन । सन् २०१८ मा नेपालमा एयरपोर्ट तयार हुनुपर्ने हो, तर एयरपोर्ट तयार हुने अवस्था रहेन । एयरपोर्ट निर्माणको निम्ति विनियोजित एसियाली विकास बैंकको रकम हामीसँग प्रयोगमा नआइरहेको अवस्था छ । यसको अलावा भारत र चीन जोड्नको निम्ति हामीले राम्रो बाटो निर्माण गर्न सक्ने हो भने नेपालमा ठूलो सङ्ख्यामा भारत र चीनबाट पर्यटकहरु ल्याउन सकिन्छ ।

    राजनीतिक स्थिरता सँगै मुलुकमा विकासको अपेक्षा ः
    नेपालमा भर्खर मात्र चुनाव सम्पन्न भएको छ । यस्तो अवस्थामा नेपालमा स्थिरता आउने हामीले अनुमान गरेका छौं । यद्यपि नेपालमा स्थिरता आउन सक्ने हो भने नेपालको निम्ति आगामी ५ बर्ष निकै महत्वपूर्ण हुनेछन् । नेपालका राजनीतिक एजेण्डाहरु अब स्थिरताको चरणमा छन् । यस्तो अवस्थामा अब अघी आउनुपर्ने एजेण्डा भनेको आर्थिक एजेण्डा हो । आर्थिक एजेण्डा बमोजिम हामी अहिले अभ्यासमा रहेको संघीय ढाँचाका प्रादेशिक संरचनामा प्रदेशहरु बीच विकासको निम्ति आपसी तीव्र रुपमा प्रतिष्पर्धा हुने अवस्था छ । नेपालको राजनीतिले पनि यही खोजिरहेको छ । जनताहरुले पनि यही खोजिरहेका छन् ।

    बिना पूर्वाधार पनि पर्यटन फस्टाउने अवस्था छ ः
    हामीले क्षेत्र नम्बर ६ मा पर्ने रारा क्षेत्रकै कुरा गरौं । त्यहाँ अहिले राम्रो पूर्वाधार छैन । बाटो छैन । विद्युत छैन । तर यदि नेपालमा राज्यले त्यस क्षेत्रको निम्ति पर्यटन प्रवद्धनको उद्धेश्यले नीतिगत व्यवस्था मात्रै गरिदिने हो भने हामीले त्यस क्षेत्रमा पर्यटकहरुको निम्ति पाल टाँगेर पनि ठूलो सङ्ख्यामा पर्यटकहरुलाई लैजान सक्छौं । अहिले पनि रारा क्षेत्रमा ठूलो सङ्ख्यामा नेपाली तथा विदेशीहरु जान तयार छन् । स्तरीय बाटोघाटो नभएपनि अहिलेकै अवस्थामा पनि बिना बाटोघाटो नै टे«किङ र एड्भेन्चरको माध्यमबाट थुप्रै मानिसहरुलाई त्यस क्षेत्रमा लैजान सक्छौं । यसो हुन सकेको खण्डमा त्यहाँको स्थानीय उत्पादनको बजारीकरण र स्थानीय जनताको आर्थिक अवस्थामा सुधार हुने कुरामा द्विविधा नै रहँदैन ।

    यस्तो सम्भावनापूर्ण अवस्था नेपालका ७ ओटै प्रदेशमा छ । जहाँ सबैले आफ्नै हिसाबले पर्यटनको प्रवद्धन गर्न सक्छन् । यसबाट नेपालको आर्थिक अवस्थामा निकै सुधार आउने अपेक्षा गर्न सकिन्छ । यसको निम्ति राज्यबाट स्पष्ट नीतिगत व्यवस्था मात्र भए पुग्छ । अन्य कामहरु नेपालका निजी क्षेत्रले नै गर्न तयार हुनेछन् ।
    अहिलेको अवस्थामा नेपालका व्यवसायी पनि अलमलमा छन् । व्यवसायीहरुले तिर्ने कर कसलाई तिर्ने ? स्थानीय सरकार, प्रदेश वा केन्द्र ? त्यो कुरा राम्रो तवरले स्पष्ट रुपमा व्यवस्था हुनु जरुरी रहन्छ । स्पष्ट नीति बन्न सकेको खण्डमा पर्यटन क्षेत्रको विकास नेपालमा अत्यन्तै छोटो समयमा नै हुन सक्छ ।

    लगानीको निम्ति उर्वरभूमी बन्दै पर्यटन ः
    अहिले नेपालमा विश्व बजारका स्तरीय होटलहरुले पनि चेन होटलको रुपमा नेपालमा लगानी विस्तार गरिरहेका छन् । जुन होटलले संसारभर ६ हजार शाखा विस्तार गरेका छन्, ती होटलहरु नेपालमा आउनु भनेको नेपालको निम्ति पनि फाइदाकै कुरा हो । साथै विदेशी होटलहरु नेपालमा आउनु भनेको उनीहरुले आफूलाई पनि नेपाल फाइदाजनक छ भन्ने प्रत्याभुति हुनु हो । उनीहरुले नेपालमा व्यापारको राम्रो सम्भावना देखेकै कारणले गर्दा नेपालमा लगानी गरेका हुन् । नेपालको मात्रै फाइदा हुने किसिमले उनीहरु नेपालमा आएका होइनन् । अहिलेको अवस्थामा चीन र भारतको बीचमा पर्ने नेपाल विकासको हिसाबले अघी बढ्न लागेको अवस्थामा आफूहरुलाई पनि फाइदा हुन्छ भन्ने बुझेकै कारण ती होटलहरु नेपालमा लगानी विस्तारमा लागेका छन् । यदि नेपालमा स्थिर सरकारले राम्रो नीति ल्याउन सकेको अवस्थामा नेपाल लगानीको निम्ति उर्वर भूमीको रुपमा उदाउने क्रममा छ ।

    होटलमा लगानी ः
    अहिले नेपालमा निर्माण सम्पन्न भएका होटलहरुमा मात्रै करिब ५ खर्ब रकम लगानी भएको अनुमान गर्न सकिन्छ । तर यस तथ्याङ्कमा नेपालमा निर्माणाधिन होटलहरुको लगानी भने जोडिएको छैन ।

    ग्लोबल इन्डष्ट्रि बन्दै होटल ः
    अहिले होटल क्षेत्र ग्लोबल इन्डष्ट्रि बनेको छ । जसले राम्रो तवरले काम गर्न सक्छ । उसले नेपालमा मात्र नभई विश्वभर जहाँ गएर पनि राम्रो तवरले काम गर्न सक्छ । नेपालमा रहेका सक्षम युवाहरु अहिले विश्वका अधिकांश ठाउँहरुमा पुगेर आफूलाई अब्बल साबित गरिसकेका छन् ।

    सक्षम बन्दै नेपाली ः
    अहिले नेपालका स्तरीय होटलहरु मध्ये करिब ९९ प्रतिशत होटलहरुका महाप्रबन्धक लगायतका अधिकांश युवाहरु नेपाली नै छन् । यसलाई हेर्दा नेपालीहरु अहिले तुलनात्मक रुपमा निकै नै सक्षम बनिसकेका छन् भनेर बुझ्न गाह्रो पर्दैन । यद्यपि अहिले नेपालमा भएका होटलहरुमा नेपाली युवाहरुलाई लामो समय टिकाउन निकै गाह्रो छ । नेपालका युवाहरुले नेपालमा अध्ययन गरेको कार्यक्रम बमोजिम नै विदेशमा जहाँसुकै गएर पनि काम गर्न सक्छन् ।

    अबको ५ बर्ष ः विकासको स्वर्णिम काल
    नेपालमा स्थिर राजनीति नभएको कारणले गर्दा नै नेपालमा अहिले सम्म आर्थिक एजेण्डा पछि परेको हो । यस्तो अवस्थामा आगामी दिनमा नेपालमा राजनीतिक स्थिरता आउने हो भने हामीले ५ बर्षमा त्यति काम गर्न सक्छौं, जति काम विकसित देशहरुले १५-२० बर्षमा मात्र गर्न सकेका छन् ।

    Comment

    Related News 

    © 2016 All right reserved to

    %d bloggers like this: