कलाकारले मनाए राष्ट्रिय विभूति कलाकार अरनिको स्मृति दिवस


काठमाडौँ । नेपाल कमर्शियल आर्टिष्ट संघले आफ्नो २३ औँ स्थापना दिवस तथा अरनिको स्मृति दिवस संघका केन्द्रीय अध्यक्ष आई.बि. मल्लको सभापतित्व र वरिष्ठ कलाकार शशी विक्रम शाहको प्रमुख आतिथ्यता, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति रागिनी उपाध्याय र संस्कृतिविद सत्यमोहन जोशीको विशिष्ट आतिथ्यतामा कमलादी स्थित जयगणेश बैंक्वेटमा सम्पन्न गरेको छ ।
संघका महासचिव भोलानाथ पौड्यालले संचालन गर्नुभएको थियो । उक्त कार्यक्रममा आसन ग्रहण पश्चायत राष्ट्रियगानबाट शुरु भएको उक्त कार्यक्रममा सम्पूर्ण ज्ञात अज्ञात शहीदहरू र प्रज्ञा सान्ता कुमार राई र कलाकार सुरेन्द्र प्रधान प्रति १ मिनेट मौन धारण गरिएको थियो भने कार्यक्रम संयोजक संघका केन्द्रीय सदस्य रोशन श्रेष्ठले स्वागत मन्तव्य दिनु भएको थियो ।

अरनिको स्मृति दिवसको अवसरमा संघले वर्षेनी प्रदान गर्ने हेमगंगा युवा कला प्रतिभा पुरस्कार, हेमगंगा महिला कला प्रतिभा पुरस्कार, क्यान आइडियल कला सम्मान, क्यान कला पुरस्कार र शिवाता प्रतिभा पुरस्कार, विभिन्न वरिष्ठ कलाकार र युवा कलाकारले प्राप्त गरे ।

प्रत्येक वर्ष बेग्लाबेग्लै विधामा प्रदान गरिने हेमगंगा युवा कला प्रतिभा पुरस्कार यस पटक कला लेखक कलाकारलाई प्रदान गर्ने निर्णय अनुसार केशवराज खनाललाई प्रदान गरियो । कलाकार हेम पौड्याल र कवयित्री गंगा पौड्यालले गत वर्ष देखि स्थापना गर्नु भएको हेमगंगा महिला कला प्रतिभा पुरस्कार प्रज्ञा सुक्ष्मराज राजभण्डारीलाई प्रदान गरियो । दुबै पुरस्कारको राशी दश÷दश हजार र प्रमाणपत्र रहेको छ ।

त्यस्तै आइडियल डिजाइनर्सका संचालक कलाकार सुन्दर श्रेष्ठले स्थापना गर्नु भएको विशुद्ध व्यावसायिक कला क्षेत्रमा लागेकालाई प्रदान गरिने क्यान आइडियल कला सम्मान यस पटक व्यावसायिक कलाकार ज्ञानेश्वर उदय पालपालीलाई प्रदान गरियो । त्यस्तै क्यान कला पुरस्कार कलाकार सुरेशकुमार धःलालाई प्रदान गरियो । त्यस्तै अग्रज कलाकार यादब चन्द्र भुर्तेल र अग्रज व्यवसायीक कलाकार चन्द्रमणि दाहाललाई दोसल्ला ओढाई सम्मान पत्रका साथ सम्मान गरिएको थियो ।

कार्यक्रमका अतिथि नेपाल ललितकला एकेडेमीको कुलपति रागिनी उपाध्यायले आफ्नो स्वर्गीय छोरीको स्मृतिमा ऐघार हजार राशीको शिवाता प्रतिभा पुरस्कार फोटोग्राफी विधाका युवा कलाकार सुजन श्रेष्ठलाई र अन्त्यमा संघका अध्यक्षबाट कार्यक्रम समापनको घोषणा भएको थियो ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: