ग्यास विक्रेताहरु आन्दोलनमा , मोरङबाट शुरु भयो ग्यास विक्रेताहरुको आन्दोलन


पछिल्लो समय पटक–पटक ग्यासको मूल्य वृद्धि भएसँगै अहिले देशभर यसको विरोध स्वरुप विभिन्न आन्दोलनहरु भइरहेका छन् । नेपाल आयल निगमले आफू घाटामा रहेको भन्दै छोटो अवधिमा नै पटक–पटक गरिएको मूल्य वृद्धिको विरोध गर्नेहरुमा विद्यार्थी सङ्गठन देखि ग्यास विक्रेताहरु सम्म छन् ।
विद्यार्थीहरुले मूल्य वृद्धि फिर्ताको माग गर्दै आन्दोलन गरिरहेको समयमा ग्यास विक्रेताहरु भने मूल्यवृद्धिसँगै आफूहरुको कमिसन पनि बढ्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका हुन् । ग्यास व्यवसायीहरुको आन्दोलन हिजो देखि मोरङबाट शुरु भएको छ ।

ग्यास डिलर व्यवसायीहरुको ग्यास विक्रीको क्रममा कमिसन निकै भएको र ग्यास कारोबारबाट आफूहरु टिक्न सक्ने अवस्था नै नभएको भन्दै मोरङका व्यवसायीहरु आन्दोलनमा नै उत्रिएसँगै अहिले यो विषय देशभरको निम्ति चर्चाको विषय बनेको छ । अधिकृत ग्यास विक्रेता महासंघ, ग्यास विक्रेता संघ काठमाडौं लगायत अन्य जिल्लाका व्यवसायीहरु पनि मोरङको आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् । साथै व्यवसायीहरुले आफूहरु चल्नको निम्ति न्यूनतम ५ प्रतिशत मुनाफाको व्यवस्था गर्नुपर्ने माग समेत आन्दोलनको क्रममा उठाउँदै आएका छन् ।
आफ्नो लगानीको तुलनामा प्रतिफल कमी भएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । अहिले प्रति सिलिण्डर १ हजार ३ सय ७५ मा ग्यास विक्री हुँदै आएकोमा आफूहरुले प्राप्त गर्ने कमिसन ३२ रुपियाँ मात्र हुने र त्यस मध्येबाट अनिवार्य रुपमा ४ रुपियाँ राज्यलाई कर तिर्नुपर्दा आफूहरुको मुनाफा २८ रुपियाँ मात्र हुने र यसले व्यवसाय गर्ने क्रममा तिर्नुपर्ने घरभाडा, कर्मचारी खर्च, व्यवस्थापन खर्च, वीमा लगायत पारिवारिक जीविकोपार्जन समेत गर्नुपर्ने जुन अहिलेको मुनाफाले सम्भव नरहेको भन्दै उनीहरु विरोधमा उत्रिएका हुन् ।

के भन्छन् व्यवसायीहरु ?

गुनासो सुनिदिने निकाय नै भएन : मोरङ ग्यास विक्रेता संघ
मोरङ ग्यास विक्रेता संघका अध्यक्ष विकास लालवानी आफूहरुले ग्यास व्यवसाय गर्ने क्रममा १५ बर्ष पहिलेको कमिसनमा नै अहिले पनि चल्नुपरेको भन्दै आफूहरु निकै नै अन्यायमा परेको र यस समस्याको समाधानको निम्ति निरन्तर रुपमा साथ दिन सञ्चार माध्यमहरुलाई पनि आग्रह गर्नुभएको छ ।

सेतोघर डट कम अनलाइनसँगको कुराकानीको क्रममा उहाँले आफूहरुलाई उद्योगले भेदभाव गरेको बताउँदै आफूहरुको समस्या सुनिदिने कुनै निकाय नै नभएको गुनासो समेत गर्नुभयो । आफूहरुले मोरङ र सुनसरीका ग्यास उद्योगीहरुलाई ज्ञापनपत्र बुझाएको समेत ऊहाँले बताउनुभएको छ । हाल मोरङ र सुनसरीमा कोशी, रिजाल, मारुती र प्रिमा गरी ४ ओटा ग्यास उद्योगहरु सञ्चालनमा छन् ।

चन्द्र थापा, महासचिव, अधिकृत ग्यास विक्रेता महासंघ

महासंघको धारणा यसरी राख्नुहुन्छ महासचिव चन्द्र थापा 
यता अधिकृत ग्यास विक्रेता महासंघका महासचिव चन्द्र थापा आफूहरु निरन्तर रुपमा व्यवस्थित बजार र आत्मनिर्भर कारोबारको निम्ति लागिरहेको बताउनुहुन्छ । अहिलेको मूल्य वृद्धि पश्चात् पनि आफूहरुको कमिसन नबढ्ने हो भने आफूहरु बाध्यतावश देशभरबाट नै एकैपटक आन्दोलनमा होमिनुपर्ने अवस्था आउन सक्न तर्फ ऊहाँले सञ्चारमाध्यमहरुको ध्यानाकर्षण गराउनुभयो । तत्काल महासंघको केन्द्रीय वैठक आह्वान गर्ने र त्यसै बमोजिम आफूहरुले अबको यात्रा तय गर्ने उहाँले बताउनुभयो ।
मूल्य वृद्धि सम्बन्धी धारणा राख्दै थापाले भन्नुभयो, ‘

ग्यास अत्यावश्यक वस्तु भएको कारण निरन्तर रुपमा मूल्य वृद्धि हुनु पक्कै पनि राम्रो होइन ।’ उहाँले थप्नुभयो, ‘पेट्रोलियम पदार्थ निकै संवेदनशिल वस्तु भएको कारण त्यस सम्बन्धमा हामीले जनचेतनामूलक कार्यक्रमहरु समेत निरन्तर रुपमा सञ्चालन गर्नु आवश्यक रहन्छ । दुर्घटनालाई कमी ल्याउन र बजार व्यवस्थित गर्नको निम्ति आवश्यक यस्ता कार्यक्रकहरु हाल महासंघले सञ्चालन गर्दै आएको पनि छ तर यतिले प्रयाप्त नभएको कारण उद्योग संघ र राज्य पक्षबाट पनि यसको निम्ति विशेष पहल गर्नु आवश्यक छ ।’

 

विनाेद काफ्ले, अध्यक्ष, ग्यास विक्रेता संघ काठमाडाैं

काठमाडौं संघको आन्दोलनमा ऐक्यवद्धता छ : अध्यक्ष काफ्ले
ग्यास विक्रेता संघ काठमाडौंका अध्यक्ष विनोद काफ्ले आफ्नो समस्या प्रति सरकार मातहतको वाणिज्य तथा आपुर्ति मन्त्रालय, नेपाल आयल निगम, ग्यास उद्योग संघ लगायतका सम्बन्धित निकायहरु आफ्नो समस्या बारे गम्भीर हुनुपर्ने बताउनुभयो । साथै मोरङबाट शुरु भएको आन्दोलनमा आफूहरुको ऐक्यवद्धता रहेको समेत बताउनुभएको छ ।
तुलनात्मक रुपमा अहिले सम्म काठमाडौंमा ग्यास वितरण राम्रो तवरले व्यवस्थित हुन नसकेको भन्दै यसलाई थप व्यवस्थित गर्नको निम्ति नेपाल आयल निगम, उद्योग संघ, व्यवसायी लगायत सबैले प्रभावकारी रुपमा काम गर्नुपर्ने ऊहाँले बताउनुभयो । दर्ता लगायतका सबै प्रक्रिया पूरा गरेर कानुनी दायरामा रहेका ग्यास पसलहरुलाई मात्रै सम्बन्धित कम्पनीले डिलरसिप प्रमाणपत्र दिनुपर्नेमा त्यसो हुन नसकेको हुँदा ग्यास कारोबारलाई सुरक्षित र व्यवस्थित बनाउन नसकिएको धारणा काफ्लेको छ ।

नेपाल आयल निगम घाटामा रहेको भन्दै महिनामा ३ पटक सम्म मूल्य बढाउन पाउने तर त्यही व्यवसाय गर्ने व्यवसायी १० औं बर्ष पहिलेकै मुनाफामा काम गर्नुपर्ने अवस्था भेदभावकारी रहेको समेत ऊहाँबताउनुहुन्छ ।
अध्यक्ष काफ्लेका अनुसार हाल काठमाडौं ग्यास विक्रेता संघमा करिब २ सय ५० व्यवसायीहरु समेटिएका छन् । उपत्यका भित्रबाट ८ सय भन्दा माथिको सङ्ख्यामा व्यवसायीहरु आपुर्ति व्यवस्था विभागमा सूचीकृत भएका छन् । काठमाडौंका सबै ग्यास डिलरहरु संघको दायरामा भने आउन सकेका छैनन् ।

 

उद्योगीकाे धारणा ः उद्याेगी र व्यवसायी दुवै घाटामा छाैं

विजयहरी शर्मा, काेसी ग्यास उद्याेग

कमिसन डिलरहरुलाई पनि कमी छ । हामी उद्योगीहरुलाई पनि कमिसन कमी नै छ । वास्तवमा अहिलेको कमिसनले गाह्रो पर्ने अवस्था नै रहेको कारण मोरङका व्यवसायीहरु आन्दोलनमा उत्रिसके । उनीहरुको माग कमिसन ५ प्रतिशत पु¥याउ भन्ने हो । जुन नाजायज होइन । तर हामी उद्योगीहरुको कमिसन वृद्धिको निम्ति कुनै भूमीका रहँदैन । पेट्रोलियम पदार्थ नेपाल भन्दा बाहिर बाटै आउने वस्तु हो । नेपालमा यसको निम्ति आधिकारिक निकाय नेपाल आयल निगम हो । अहिले आयल निगम आफैं घाटामा छ । साथै पेट्रोलियम पदार्थको मूल्य अन्तराष्ट्रिय तवरमा नै निर्धारण हुने भएको कारण हामीले तुलनात्मक रुपमा घाटा हुँदाहुँदै पनि कारोबार गर्नुपर्ने बाध्यता छ ।

Comment

Related News 

© 2016 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: