बाम एकताकाे प्रतिक्षा र वीर बहादुर बुवाको खुसी


हाम्रो टोलमा वीर बहादुर बुवाको सानो चिया पसल छ । जहाँ स्थानीय टोलका नेता कार्यकर्ता लगायत अरु पनि आएर चिया पिउने गर्छन् । युवा लगायत प्राय जसोले वीर बहादुरलाई बुवा भनेर सम्बोधन गर्ने गर्छन् । वीर बहादुर बुवाको चिया पसलमा राजनीतिक गफ अलिक बढि हुने गर्छ । युवा अवस्थामा वीर बहादुर बुवा पनि कम्युनिस्ट पार्टिको झण्डा बोकेर भुमिगत भएर हिँडनु भएको थियो रे ।

रवि सेन्चुरी

त्यतिबेला उहाँले तत्कालीन कम्युनिस्ट आन्दोलनका निम्ति सीमा पारिबाट पम्पलेट ल्याउने , नेताहरुलाई घरमा लुकाउन , राती राती गस्ती गरेर नेतालाई जनताको घर तथा सम्बन्धित ठाउँ पुर्याएको कुराहरु सुनाउने गर्नुहुन्छ । उहाँ सँग राजनीति गरेका साथी कोहि जिल्ला सदस्य त कोहि गा.वि.स. प्रतिनिधि भए भने उनी भन्दा पछिल्ला पुस्ता कति जना जिल्ला सदस्य, कोहि केन्द्रीय स्तरीय नेता छन्, कति जनप्रतिनिधि र कतिले राजनीतिक नियुक्ति पाएका छन् भने उहाँले सहयोग गरेका नेता आज नेपाली राजनीतिका केन्द्र किन्दुमा छन् तर वीर बहादुर बुवा हिजो पनि र आज पनि पार्टिको एउटा कट्टर मतदातामा मात्र सीमित हुनुहुन्छ । उमेरले ६५ वर्ष नाघिसकेका वीर बहादुर बुवा सँग सम्पतिको नाममा एउटा सानो घर र अरुको घरमा राखेको चिया पसल मात्र छ । गाउँमा वीर बहादुर वुवालाई खाँटी कम्युनिस्ट भनेर सबैले चिन्छन् । उहाँ खाँटी एमाले भए पनि उहाँको छोरा भने खाँटी माओवादि जसले गर्दा बाउछोराको कुरै नमिल्ने, त्यही राजनीतिक कारण नै गर्दा बाबु छोराको सम्बन्धमा ठूलो तगारो बनेर उभिने गरेको थियो विगतमा । कति पटक बाउछोरामा मतभेद पनि चुलिएको थियो ।

 

अब नेता व्यक्तिगत र गुटगत स्वार्थ भन्दा माथि उठे भने व्यक्तिगत पद र शक्ति प्राप्त नहोला तर तत्काल ठोस र वस्तुनिष्ठ उद्धेश्यका साथ वाम एकताबारे जवाफदेही तरिकाले प्रस्तुत हुन आवश्यकता छ । वाम एकता नेताले साँच्चिकै भनेका हुन् की मात्र चुनावी नारा बनाई भोट माग्ने अस्त्र बनाएका हुन्, इतिहासले पछि देखाउला, त्यो हेर्न बाँकी नै छ । यदि नेताले चुनावी अस्त्र मात्र बनाएका हुन् भने यो नेपालमा स्थिर सरकार चाहने, बाम एक भएको हेर्न चाहने नेपालीहरुको भावना प्रति भद्दा मजाक हुनेछ ।

 

जब चुनाव अघि वाम एकताको कुरा आयो । त्यतिबेला टोलमा कतिले पत्याएकै थिएनन् राजनीतिमा आस्था र रुचि राख्ने व्यक्तिहरुको आ–आफ्नै प्रश्नपुर्वक र आश्चर्यपुर्ण प्रतिकृया दिँदै थिए तर वीर बहादुर बुवाले भने एक दिन भरी आफ्नो चिया पसलमा फ्रीमा चिया खुवाएका थिए, वाम एकताको खवरले । कति काङ्ग्रेसजनले वीर बहादुर बुवालाई “कम्रेड चुनाव सिध्दियोस् न मात्र एमाले एकातिर माओवादी अर्को तिर” भनेर सुनाउने गर्थे, तर उहाँले उनिहरुको कुरामा फिस्स हाँसेर उडाई दिनुहुन्थ्यो । आफ्नो चिया पसलमा सुर्य र गोलाकार भित्रको हँसियाहथौडाको एउटै ठूलो झण्डा राख्नु भएको थियो ।

यसपालिको चुनाब उहाँलाई अचम्मित तरिकाले चुनाव लागेको थियो । चुनावी अभियानमा नाचेर, गीत गाएर अविराम तरिकाले बाम गठबन्धनलाई भोट माग्न हिँड्नु भो एक दिन चुनावी अभियानकै क्रममा ज्वरो आउँदाआउँदै पनि औषधि खाएर चुनावी अभियानमा हिँडेको देखेपछि मैले उहाँलाई “हैन बुवा विरामी हँुदा त घरमै आराम गरे हुन्छ नि” भन्दा उहाँले भन्नू भो ‘बाबू हाम्रो देश नेपालमा कम्युनिस्टको बहुमतमा हुँदाहँुदै पनि हामिले कहिल्यै स्थिर सरकार संचालनका निम्ति बहुमत प्राप्त गर्न सकेनांै । विधिवत रुपमा २००६ सालमा कम्युनिस्ट पाटी स्थापना भए पश्चात् अहिले सम्म कम्युनिस्ट पार्टिमा टुटफुट, बिद्रोह , एकता र पुनर्मिलनले गर्दा नेपालमा धेरै कम्युनिस्ट पाटी जन्मिए । जसले गर्दा नेपालमा भएका कम्युनिस्ट पाटिका भोट बाँडिएर सबै कम्युनिस्ट पाटी अल्पमतमा मात्र सीमित हुन पुगे । हामीलाई त के छ र बाबू हाम्रो त आधा जीवन सिद्धिसक्यो । अब एउटै चाहना छ वामको दुइतिहाई मत आएर देशमा स्थिर सरकार बनोस् र देशले छिटो विकास गरोस् अब नेपालीले गरीब ,दुखी भनेर परिचय दिन नपरोस् , देशमा शान्ति होस्, परिवार लाई छोडेर कुनै युवा बाध्यतापुर्वक विदेश जान नपरोस साथै युवाले देशमै रोजगारी पाउन् भनेर आएको ।’

वीर बहादुर बुवा र उहाँको छोराले एमाले र माओवादी पाटिका साझा उम्मेदवार नेताहरु जो बाम गठबन्धनबाट प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेदवारलाई मतदान गरि जिताए पनि चुनावी अभियानमा न वीर बहादुर बुवाले म एमाले हँु भन्नू भो न उहाँको छोराले म माओवादी हँ भन्नू भो । दुबैले दुबै पाटिलाइ मतदान गरे, त्यसले गर्दा आज प्रतिनिधिसभा र प्रदेश सभाका सदस्यले पाएको भोटमा न त एमालेको मात्र भोट छ न त माओवादीको मात्र भोट छ बरु त्यहाँ त बाम एकता चाहने वीर बहादुर बुवा र उनको छोरा जस्ता लाखौँ नेपालिको भोट छ । चुनावि अभियानमा हिँडिरहँदा मतदाता विचमा चुनावी चिन्ह फरक थिए तर मन भने एउटै भएको थियो । जनतामा उत्सुकता थियो, खुसी छाएको थियो धेरै समय पछि छुट्टिएको परिवारको सदस्यको पुनर्मिलन भएझैं हिजोको त्यो मतभेद अचम्मित तरिकाले सकिँदै गएको थियो । जनतामा तँ एमाले म माओवादी भन्ने भावना प्रकट भएको थिएन । मात्र हामी बाम भन्ने भावना थियो । एक दिन मैले वीर बहादुर बुवालाई जिस्काउँदै भने, ‘बुवा हामी यसरी बाम गठबन्धन भनेर हिँड्ने तर पछि पाटी एकता नै भएन भने ?’ हामीले अहिल्यै किन नकारात्मक सोच राख्ने, सकारात्मक सोचौँ, आसावादी बनाैं । वाम एकता आजको आवश्यकता हो र अब हामीले वाम एकताको लागि जनस्तरबाट जोड दिनुपर्छ । हामीले हाम्रा नेतालाई अनि हाम्रा नेताले केन्द्रमा वाम एकताका लागि दवाव दिन लगाउनुपर्छ भन्दै आफ्नो कुरा फेरि यसरी राख्नु भएको थियो पार्टिमा सबैको आ–आफ्नै स्वार्थ होला, भाग मिलाउनुपर्ने होला, विभिन्न सैद्धान्तिक समस्याहरु होलान् तर यो समय हामी जस्ता भुइ मान्छे जो दसकौँ देखि वाम एकताको पक्षमा उभिनेकोहरुको छ उनिहरुको सपना पूरा गर्ने अवसर पनि हो । त्यसैले हाम्रा नेताले पार्टी र व्यक्तिगत स्वार्थ भन्दा माथी उठि राष्ट्र ,जनता र कम्युनिस्ट आन्दोलनका निम्ति कतिको महत्वपूर्ण भुमिका खेल्छन् भन्ने नै हो । विगतमा नेताले दिवा सपना देखाएर नेपालि जनताको सपना र भावना माथि खेलेकै हुन् तर अब नेताले नेपाली जनतालाई भेंडा नसम्झिए हुन्छ । आज बाम एकताले गर्दा विगतमा मतदान नै नगरेकाले पनि यो पटक मतदान गरेछन् । कति गैरकम्युनिष्ट नेताकार्यकर्ताले पनि सकारात्मक सोँच राखेका छन् ।

चुनावको मत परिणाम आउँदै गर्दा वीर बहादुर वुवाको खुसिको सिमा थिएन त्यस माथी आफ्ना वाम प्रतिनिधिले जितेको खुसिमा त फेरि एक दिन फ्री चिया खुवाउनु भएको थियो । उहाँको खुसिको कुनै सिमा थिएन ।
आज विभिन्न माध्यमबाट वाम एकता बारे विभिन्न खबर भरिएर आएको छ तर कति साँचो हुन् कति झुठा हुन् आम जनताले बुझ्नै गार्हो । नेपाली राजनीति हेर्दा खेरी सजिलो देखिएता पनि बुझ्न भने धेरै नै जटिल छ रे । अब नेपाली जनताले चाहेर मात्र हुने होइन वाम एकता देशिविदेशी शक्ति केन्द्रको असर कस्तो पर्छ भन्ने पनि छ । नेपाली राजनीतिमा नेताहरुले बेला बखत निकै अप्ठ्यारा काम पनि सजिलै पूरा गरेर देखाएका छन् भने कति सम्भव हुने कामलाई पनि बिच बाटोमै छोडेको ईतिहास छ । त्यसैले नेपाली राजनीतिलाई जो कोहिले बुझ्न सक्दैनन् ।

वाम एकताले केही वर्ग, लिङ्ग र समुदायको शक्तिलाई झन् मजबुत बनाउँदै केही व्यक्तिमा शक्ति केन्द्रित गराउँछ तर पनि एउटै बाम शक्ति र स्थिर सरकार भए राष्ट्रको विकास र समृद्धि होला कि भनेर सामान्य जनता हौसिएका छन् । त्यसैले अब नेताले व्यक्तिगत, गुटगत स्वार्थ भन्दा माथि उठे भने व्यक्तिगत रुपमा पद र शक्ति प्राप्त नहोला तर तत्काल ठोस र वस्तुनिष्ठ उद्धेश्यका साथ वाम एकताबारे जवाफदेही तरिकाले प्रस्तुत हुन आवश्यकता छ । वाम एकता नेताले साँच्चिकै भनेका हुन् की मात्र चुनावी नारा बनाई भोट माग्ने अस्त्र बनाएका हुन इतिहासले पछि देखाउला हेर्न बाँकी छ यति नेताले चुनावी अस्त्र मात्र बनाएका हुन् भने यो नेपालमा स्थिर सरकार चाहने, बाम एकता भएको हेर्न चाहने नेपालीहरुको भावना प्रती भद्दा मजाक हुनेछ । अब हर्नु छ वीर बहादुर बुवाको सपना पूरा हुन्छ कि हुँदैन र खुसी कतिन्जेल टिक्छ किनकी वाम एकता मुख्यतः दुई पार्टिको ठुला नेताले के आफुलाई कत्तिको जवाफदेहि तरिकाले कसरी प्रस्तुत गर्छन् भन्ने पनि हो । साथै उनिहरुले बाम एकता चाहने नेपाली जनताको मनोभावलाई कसरी प्रतिनधित्व गर्छन् भन्ने पनि महत्वपूर्ण पक्ष हो । त्यही कुराले नै वीर बहादुरको खुसीलाई आगामी दिनमा निर्धारण हुनेछ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: