कसरी हुन सक्छ शैक्षिक क्षेत्रको रूपान्तरण


 

  – नरेन्द्रकुमार नगरकोटी

अचेल म फुर्सदमा छु । फुर्सद हुनु भनेको काम नै काम हुनु पो रहेछ । यो कुरा फुर्सदमा बस्नेले बुझ्न कत्ति बेर लगाउँदैन । ब्यस्त जीवन बाँच्नेले समय छैन भन्नु त स्वभाविक नै भयो । फुर्सदको समयमा मैले केही विद्यालय अवलोकन गरेँ । केही पुस्तक अध्ययन गरेँ । केही शिक्षकसँग कुराकानी गरेँ । केही शैक्षिक विज्ञसँग छलफल गरेँ । मनमा लागिरह्यो– कसरी ल्याउने होला शिक्षणसिकाइमा आवश्यक रूपान्तरण ?

रूपान्तरणको नजिकको नाता शिक्षकसँग छ । तर शिक्षकको आफ्नै दुःखद् कहानी छ । अन्य विकल्प नभएर यो पेशामा लाग्नेको संख्या धेरै छ । कार्यक्षेत्रमा बालबालिका, विद्यालय, शैक्षिक परिवर्तन वा पेशागत क्षमता विकासभन्दा बढी अरु नै गफले समय खाएको पाइन्छ । बैदेशिक रोजगारमा जाने वा देशभित्रै अर्को जागिर खोजी गर्ने जस्ता सन्दर्भ प्रमुख बनाएर भौतारिरहने एउटा जमात शिक्षक पनि हो ।

शिक्षकलाई विद्यालयमा बिदा लिएर वा ढाटेरै पनि म्यानपावर कम्पनीमा अन्तरवार्ता दिनजान बाध्य बनाउने को हो ? शिक्षण पेशालाई बिचरा पेशाको रूपमा कसले स्थापित गरायो ? कुन कुरा छ जसले विकल्प खोज्न बाध्य बनाइरहेछ ? त्यस्तो कुरा ट्युमर हो । अपरेसन गरेर फाल्न हतारो भइसक्यो ।
अदम्य इच्छा र जाँगर बोकेर बिद्यालय प्रवेश गरेको एक युवाको उत्साह केही दिनमै ओइलाउँछ । यस्तै त हो नि भन्ने निष्कर्ष निकाल्छ । को छ जिम्मेवार यसका लागि ? कोही शिक्षक चाहेर पनि गर्न पाइरहेका छैनन् । कोही नजानेर अलमलमा छन् । कोहीलाई म जान्दिनँ भन्ने नै लाग्दैन । कोहीलाई मैले सबै जानेको छु भन्ने भ्रम पनि छ । कोही राजनीतिले भिजेर बिद्यालय जान्छन् । राजनीतिको पसिना नओभाउँदै निस्कन्छन् । कसले देख्ने यो कटु यथार्थ ?
शिक्षकलाई मात्र दोषी देख्ने केही आँखा छन् । शिक्षक गर्दैनन् । शिक्षक अक्षम छन् । शिक्षकलाई ‘चेञ्ज’ गराउँनै सकिन्नँ । यसो भन्छन् ती आँखाहरू । ती आँखाले आफूलाई ऐनामा हेर्नु जरुरी छ । शिक्षकलाई काम गर्न वितृष्णा जगाउने कुतत्व नै कुतर्क गरी हिँड्छन् । कसरी हुन्छ रूपान्तरणको उद्घाटन ?


मेरो प्रश्न हो – कसरी ल्याउने होला कक्षा कोठामा आवश्यक रूपान्तरण ? (सिकाइ कक्षाकोठामा मात्र सीमित हुँदैन भन्ने कुरा सम्झेरै)
कक्षाकोठामा रूपान्तरणको अर्थ हो गुणस्तरीय कक्षाकोठा । गुणस्तरीय सिकाइ वातावरण । गुणस्तरीय शिक्षणसिकाइ क्रियाकलाप । तर शिक्षकले मन लगाएर काम नगर्ने बिकराल अवस्थाको चित्र छ । यो चित्रलाई भताभुङ्ग पार्न सक्ने ताकत भएको पनि कोही त होला । मलाई लाग्छ त्यो ताकतवाला नै ब्यस्त छ । ऊ ब्यस्त छ र त सोच्दैन । ऊ सोच्दैन र त काम गर्दैन । ऊ काम गर्दैन र त काम हुँदैन । काम हुँदैन र त उसलाई नै लाग्छ कि काम गर्न सकिँदैन । उसलाई लाग्छ कि काम गर्न सकिँदैन र त केही काम नै हुन सक्दैन ।
अब त्यो ब्यस्त ब्यक्ति फुर्सदिलो हुनुप¥यो । यसको अर्थ यो पनि हो कि काम नै काम गर्नुप¥यो । खोजी गर्ने । सोच्ने । योजना बनाउने । छलफल चलाउने । कर्मीलाई उत्प्रेरित गर्ने । कार्यान्वयन गराइहाल्ने ।

यस्तै यस्तै कामहरू गर्ने त्यो ब्यक्ति को होला ? त्यो हो नेता । त्यो हो अध्येता । त्यो हो जो उभ्याइरहेछ आफूलाई बिद्यालयको नेतृत्वको रूपमा । ऊ कोही नभएर प्रअ हो । प्रधानाध्यापक हो । हेडमास्टर हो । हेडसर हो । प्रिन्सिपल हो । जे नाम दिएपनि ऊ नै हो एउटा केन्द्र । जसको मार्गनिर्देशन र व्यवस्थापनमा विद्यालय परिवार चल्छ । घुम्छ । रोकिन्छ । अघि बढ्छ । उसले जसो गराउँछ उसै हुन्छ । तर त्यो नेतालाई घुमाउने, चलाउने, हल्लाउने अर्को अस्वस्थ शक्ति भने हुनु हुँदैन । त्यसो भएमा संस्थाको गतिमा अवरोध उत्पन्न हुन्छ । अपेक्षित लक्ष्य प्राप्ति हुँदैन । त्यस्तो अवरोध सिर्जना गर्नेमा सरकार वा सरकारी निकाय पनि हुनु हुँदैन । लेनदेनको खेल बन्द हुनुपर्छ । मेरो मान्छे र हाम्रो मान्छे भन्ने पद्धतिलाई हृदयबाटै खारेज गरिनुपर्छ ।

म त के देखिरहेको छु भने यस देशका सबै प्रअले चाहेमा भनेजस्तो विद्यालय बनाउन सम्भव छ । काम गर्ने वातावरण नभएमा देशव्यापी आन्दोलन गर्ने हो भने ढुङ्गा पनि पग्लन कर लाग्छ । म विश्वस्त छु । तर कुरा कहाँनेर गएर खटपट हुन्छ भने तिनै प्रअ कसका लागि काम गरिरहेछन् ? कसको हातमा तिनीहरूको जागिरको नियुक्तिपत्रको अन्तिम निर्णय छ ? हो यहीँनेर छ बिडम्बना ।

बालबालिकाको भविष्य र देश निर्माण आपसमा नङ र मासु जत्तिकै हुन्छ । कसले मनन गर्ने यो कुरा ?
चाहे निजी होस् वा सरकारी । जहाँजहाँ समस्या छ । जुनजुन विद्यालयमा शैक्षिक स्तर कमजोर छ, त्यहाँत्यहाँ शैक्षिक नेतृत्वले नै ‘मम’ भन्नु जरुरी हुन्छ । ती विद्यालयमा कि नेतृत्व अक्षम छ । कि जानाजान कसैले अक्षम बनाइरहेको छ । दुबै अवस्थाका प्रअले गम्भीर निर्णय गर्नु भने जरुरी हुन्छ । आत्ममूल्याङ्कन गरौं र नजानेको अवस्थामा सिकौं । जानेका कुरा गर्न नपाएको हो भने जोखिम मोलेरै निर्णय गरौं । अन्यथा बालबालिकालाई धोका दिने अभियानको नेतृत्व किन गरिरहने ? के अर्थ छ त्यसको ?


कक्षाकोठामा रूपान्तरण ल्याउनका लागि अब प्रत्येक प्रअले विद्यालयको अल्पकालीन र दिर्घकालीन सोच निर्माण गर्नु अपरिहार्य छ । उसँग चाहिन्छ ‘भिजन’ र ‘मिसन’ । कक्षाकोठा कस्तो हुनुपर्ने ? कक्षा व्यवस्थापन कसरीकसरी गर्नु उपयुक्त हो ? केकसरी शिक्षण गर्दा बालमैत्री हुनजान्छ ? कसरी प्रभावकारी सिकाइ हुन्छ ?

केकसरी प्रभावकारी मूल्याङ्कन गर्ने हो ? हाल प्रचलनमा आएका सिकाइ पद्धतिहरू केकस्ता छन् ? कस्तो विद्यालय गुणस्तरीय शिक्षालय हुन्छ ? हामी बालबालिकालाई के बनाउँन वा के सिकाउँन चाहिरहेका छौं ? यस्ता अनगिन्ती प्रश्नहरूका स्पष्ट उत्तर प्रअसँग हुनुपर्छ । नभए खोजी गर्नुपर्छ । जानेर पनि काम नगरेको हो यदि भने आफूलाई अर्को मान्छे सम्झेर सोचौं त एकपटक । कतै हामी कामचोरको सूचीमा त परेका छैनौँ ?

शिक्षकलाई शिक्षण सीप विकास हुने कस्ता कार्यक्रममा सामेल गराउँने ? कसरी गराउने ? यो प्रमुख कुरा छ । साथै, शिक्षकले जे सिकेको हुन्छ त्यो कुरा प्रअले पनि जानेको खण्डमा कार्यान्वयन प्रभावकारी हुनजान्छ । शिक्षकको दक्षताविना गुणस्तरीय विद्यालय कल्पना सम्भव छैन । शिक्षकमा लगानी नै गुणस्तरका लागि लगानी हो ।

लेखक साहित्य, लेखन र शैक्षिक सहजीकरणका क्षेत्रमा अब्बल व्यक्तिका रुपमा परिचित छन् ।

Comment

Related News 

© 2016 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: