उमेरले तीस उकालो लाग्नु भो ?  नयाँ बर्षको बाहना पारेर अब यस्ता कार्य पाे गर्ने कि ?


मित्र  पाठककाँचुली‘    

मानव शरीर आफैँमा एउटा कम्प्लेक्स नेटवर्किङले बनेको सिंगो जीवन हो । सांसारिक भौतिक जगतमा कम्प्युटर र धेरै कम्प्लेक्स मेशिन बनेका छन् । तिनिहरुमा प्रयोग हुने भन्दा हजारौँ गुणा जालो अथवा नेट्वर्किङ हाम्रो शरीरमा सन्चालित हुन्छन्, जुन कुरा हामीले स्कुल कलेजमा विभिन्न सिस्टमको रूपमा पढ्यौं र कैयौँ परिक्षा पास गर्यौ पनि । र पनि शरीरमा जतीसुकै प्रणाली भएपनि अन्ततः जीवन श्वास प्रश्वास प्रणालीमा आएर टुङ्गिन्छ । त्यसैले भनिएको होला – ‘एक मुठी सास रहुन्जेल न हो जिन्दगी’ ! सबै रोग र प्रणालीहरुले निम्त्याउने खतराहरुलाई न्युनीकरण गराउन थोरै सहयोग पुर्याउने मात्रै यो लेख उठानको उद्देश्य हो, यसलाई बिज्ञको तर्क भन्दा पनि सचेतनाको रूपमा बुझिदिन अनुरोध छ ।

केही अपबादलाई छेडेर हाम्रा धेरै अंगहरु जोडीको रूपमा छन्, जस्तो -हात, खुट्टा, कान, आँखा, फोक्सो, किड्नि आदि । यिनिहरुमा एउटा विकल्प के छ भने एउटाले काम गरिहालेन भने पनि अर्कोले धिपिर-धिपिर जिन्दगी चल्न सक्छ । तर अपबादमा पर्ने मुटु, कलेजो जस्ता अत्यन्त सम्बेदनशील अंगहरु छन्,जस्को हेरचाह र ख्याल अरुको भन्दा बढी गरिएन भने जीवनको इहलीला जतिबेला पनि ‘द इन्ड’ हुन सक्छ । जुन कुरा हामीले आज भोली हर्ट अट्याक या अरु कुनै रूपमा सुन्दै पनि अइरहेका छौं । तर कहिलेकाहीँ मनमा प्रश्न उब्जिन्छ । के मुटु साँच्चिकै सम्बेदनशिल हो ? अनि किन सजिलै यसले जीवनको साथ छोड्छ या थोरै सावधानी अपनाए मात्रै पनि हामी यसले निम्त्याउने खतराहरुबाट बच्न सक्दैनौँ त ?

 

पेशाले म बैज्ञानिक । त्यो पनि वनस्पति सम्बन्धी । रूची साहित्य संगीत र खेलकुदमा ।  पि एच डि को उपाधिले एक डेढ बर्षमा नामको अगाडि डाक्टर थपिएला । तर मेडिकल डाक्टर भने म होइन र हुने पनि छैन । स्वास्थ्य सम्बन्धी जति पनि ज्ञान बटुलेँ, ती  सबै स्व-अध्ययन र अनुभव हुन् । वर्तमानका स्वास्थ्य समस्या, घटित घटनाहरु र बदलिँदो जीवन शैलीले निम्त्याउँदै गरेका बिकराल समस्याहरु देख्दा आफ्नो भोगाइ र थोरै ज्ञान नबाँडी बस्नै सकिन र मध्यरातमा बन्यो यो चेतनामुलक लेख लेख्ने बातावरण । यो त भयो बिज्ञापन मिश्रित आफ्नै कुरा, अब लागौँ बिषय वस्तु तिर ।

उत्तर खोज्दै गइयो भने समाधान पनि भेटिन्छ । हो मुटु साँच्चिकै सम्बेदनशिल छ । त्यसमा दुई मतै छैन । तर यो मानेमा अरुको महत्व एक दुई प्रतिशत मुटुको मात्रै उनान्सय भन्ने चाँही पटक्कै हैन किनकि एउटै मुटु लिएर सय बर्ष बढी जीवन बाँच्नेहरु तपाईं हाम्रै वरिपरि प्रशस्त भेटिन्छन् । रह्यो कुरा यसको हेरचाह र मुटु स्वस्थ कसरी राख्ने भन्ने कुरा । जन्मजात मुटुको भल्बमा कुनै समस्या छैन भने टीनएज (केही अपबाद) बाहेक बिशेष गरी स्कुल कलेज पढ्दा सम्म मुटुको समस्या देखिएका घटना निकै कम सुनिन्छन् । जब ३० अथवा ३५ उकालो लागिन्छ, त्यसपछी भने बारम्बार अलार्म बज्न थाल्छ बिभिन्न रोगको जनाउँ सँगै । त्यस माथि पनि हाम्रो खानपान र जीवनशैलीको कारण कोलेस्ट्रोल, प्रेसर र हर्ट अयाट्क सम्म पनि सामान्य बन्न थाल्छ । अब भने दिनको आधा घण्टा वा एक घण्टा समय स्वास्थ्यका लागि अपरिहार्य बनेर आउँछ । अनि तपाईं हाम्रो एक घण्टा अब मुटु स्वस्थ राख्न, म त भन्छु – ‘मुटु चलाऊन’ का लागि छुट्टाउनै पर्छ ।

उमेर जती उकालो लाग्छ, त्यति हाम्रा शारीरिक कृयाकलाप कम हुँदै जान्छन् । पुरानो मेसिन जस्तो मान्छेको ज्यान अझ भनौं प्रत्येक अंगहरु निस्कृय भन्दा पनि कम सकृय हुन थाल्छन् । दिमाग धेरै चल्न थाल्छ, मनमा कुरा धेरै खेल्छ । अरुका घर सम्पत्ति, गाडी, अरुले पढेर पाएका डिग्री, पदोन्नति, अरुका श्रीमती, छोरा छोरीका प्रगति आफ्ना सँग तुलना हुन थाल्छन् । अनी सुरु हुन्छ दुखी जीवन । र त्यो दुखी जीवनको प्रत्यक्ष भार सिधै मष्तिस्कमा पर्छ, मुटुमा पर्छ र अल्पायुमै सकिन्छन् ती निर्दोश अंगहरु । त्यस माथि व्यस्त हैन, हाम्रो अस्तब्यस्त जीवन प्रतक्ष्य भागेदार हुन्छ । यी यावत कुराहरुका लागि । भौतिक प्राप्तिमा दौडिरहेको हाम्रो व्यस्त शरीरले स्वस्थ खाने कुरा भेटाउँदैन अझ भनौं पिज्जा, मोमो, चाउमिन, चाउचाउ र चटपट जस्ता खानाले प्रसय पाउँछन् र कमजोर बनाउछन् हाम्रा महत्वपूर्ण अंगहरुलाई। अझ आजभोलि चाडबाड लगायत बिभिन्न वाहनामा चल्ने पार्टी, भोज, भतेर र देखासिखी गेट टुगेदरमा गरिने धुम्रपान र मध्यपानको लेखाजोखा गर्ने फुर्सद नै कसलाई होला र ! हिजोआज बाहिरी रूपमा नदेखिएको तर मुटु लगायत शरीरका महत्वपूर्ण अंग ध्वस्त पार्ने काम मदिरा सेवनले गरीरहेको छ । हुँदा खानेहरुले सिको गर्दै त हुने खानेहरुको आदत बनी सकेको छ मदिरा । यती धेरै पिउँछन रातो मासु सँग आज भोलिका अधिकांस हुने खानेहरु तथा युवा पिंढी – मानि लिउँ रक्सी उनिहरुको जीवनको पर्याय हो । उनिहरु मात्रै पिउँदैनन् धोक्छन् जसरी ट्याङकरले डिजेल धोक्छ । ज्यान र आफ्नो शरीरको माग बिपरित जिब्रोको स्वादले जित्न थालेपछि अनी सुरु हुन्छन् अमुल्य उपहारहरु – हृदयघात, प्रेसर, मधुमेह, ग्यास्ट्रिक, कोलेस्ट्रोल, युरिक एसिड आदि ।

आफ्नो पढाईको क्षेत्र मेडिकल नभए पनि कहिले कही त्यही क्षेत्रका साथीहरु सँग भेटघाट हुन्छ, छलफल हुन्छ । त्यसमा पनि माथि उल्लेखित उपहार (रोग) हरुको अलि बढी नै चर्चा हुने गर्छ । दम, हृदयघात, मधुमेह (अहिले आएर केही हद सम्म कोलेस्ट्रोल पनि) जस्ता रोगलाई बंशाणुगत (पुरानो पुस्ताबाट जीनको माध्यमले नयाँ पुस्तामा सर्ने) रोगको रूपमा पनि लिइन्छ) तर यी रोग देखिनुमा थोरै बंशाणुगत र धेरै हामीले बाच्ने जीवन शैली र खानपान जिम्वेवार हुन्छन । यदी हामीले बेलै माथि परिवर्तन गरिएन भने, माथिका उपहारहरुलाई सम्बोधन गर्न लागिएन भने बुझे हुन्छ – तिनिहरुले नै हामीलाई उमेर छँदै सम्बोधन गर्नेछन् ।

अब के गर्ने ?

  • सके सम्म सबेरै उठ्ने जरुरी छैन कि मैले भन्दैमा तपाईं सबेरै उठ्नु पर्छ र त्यो तपाईंको बानी नहुन सक्छ या तपाईंको कामको प्रकृतिले त्यो सम्भव नहुन पनि सक्छ । तर जानकारहरुका अनुसार चाँडो सुत्नु र चाँडो उठ्नु राम्रो भने मानिन्छ है ।  तसर्थ आफ्नो रुटिनमा सुत्नुस् तर कम्तिमा सात घण्टा (या सम्भव भए आठ घण्टा) निद्रा पुराउनुहोस् । यदी राती बस्ने वा काम गर्ने बानी छ भने आधी घण्टा वा एक घण्टाको फरकमा पानी अवस्य पिउनुहोस् ।

  • मुटु चलाऊनुहोस्

अर्ती दिन सजिलो छ तर आफैंमा लागू गर्न उत्तिकै गार्हो पनि । बिहानमा समय खाली छ भने दगुर्नुहोस् (कम्तिमा आधी घण्टा वा पैतालिस मिनेट तर पसिना छुट्ने गरेर) अथवा फटाफट हिंड्नु पनि राम्रो (तर पसिना आउनु धेरै राम्रो मानिँदो रहेछ) । यदि बिहानको समय खाली छैन भने साँझ वा राती पनि सम्भव छ भने खेल्न,हिंड्न वा दगुर्न सकिन्छ ।  यस मानेमा मेरो मतलब यत्ती हो कि मुटु चलाऊनुस्, दिमागलाई रिफ्रेश गराउनुस्, कसरी सम्भव हुन्छ त्यो तपाईंमा भर पर्छ । दिनभर खेतिपाती वा शरीर थाक्ने गरी कामगर्ने हरुलाई भने शारीरिक व्यायाम नचाहिन सक्छ तर दिमाग शान्त बनाउने कुनै उपाय चाँही जरुरी हुन्छ । बिशेष गरी शहरिया जीवन जिउनेहरु र कुर्चीमा बसेर काम गर्नेहरुलाई ब्यायाम जरुरी मानिन्छ । धेरै बिकल्प मध्ये केहीलाई प्रयोगमा ल्याउन सकिन्छ । हुनतः आजभोलि जिम जाने चलन फेसन जस्तो भएकै छ । मेरो एउटा साथी हेर्दा हट्टा कट्टा थियो । लहड्मै जिम गयो । पहिलो दिन यस्सो दाँया बाँया देखाउन पनि अल्ली बढी नै तडकभडक गरेछ । तर बिडम्बना त्यसपछीका चार दिन ज्वरोले सुत्यो घरैमा । यस्तो छ हाम्रो ब्यायाम गराइको पारा । खानपान र ब्यायाम दुवैमा आफ्नो शरीरको आवश्यकता बुझ्नु जरुरी हुन्छ । जरुरी छैन तपाईं जिम नै जानुपर्छ भनेर र यो दैनिक कार्यालय जानेहरुलाई त झन असम्भव जस्तै छ । तपाईंको घरमा, गाउँमा वा बस्ने गरेको डेरा नजिकै खाली चौर छ भने त्यो तपाईंको लागि बरदान नै हो । चौर छैन तर थोरै खाली ठाउँ छ भने त्यो पनि बेठिक भएन । तपाईं जस्तै ब्यायाम गर्न रुचाउनेहरुको एउटा टीम बनाउनुस्, एउटा टेबल टेनिस बोर्ड वा ब्याडमिन्टोनको लागि नेट टाँग्ने व्यवस्था गर्नुस् । प्रत्येक दिन बिहान वा बेलुका तपाईंको समयानुकुल खेल्नुस् । मात्रै एक घण्टा अब तपाईंले श्वास्थ्यका लागि छुट्टाउनै पर्छ । जे होस् अरु दिन हल्का खेल्नुभये वा राम्रोसँग ब्यायाम हुन पाएको छैन भने शनिबार एक दिन पसिना आउने गरेर पुरै ज्यान थाक्ने गरेर कुनै गेम (फुटबल, भलिबल, क्रिकेट, टेबलटेनिस, ब्याड्मिन्टन या अरु केही) खेल्नुस् । त्यसले धेरै रिकभर गर्न सक्छ । यो मेरो भोगाइ पनि हो । खेल्ने भनेको कसैलाई जित्न र बच्चा बच्चीले मात्रै  भन्ने साघुरो ज्ञानले हामीलाई अझै धेरै रोगको सिकार बनाउँदैछ । अब सबै खेल सबैका लागि भन्ने बुझ्न ढिला गर्नुहुँदैन ।

*खानपानमा ख्याल गरौँ

स्कुल पढ्दा स्वास्थ्य सम्बन्धी सल्लाह पढिन्थ्यो । पंक्तिकार वा त्यो लेख लेख्ने स्वास्थ्य बिदको सल्लाह हुन्थ्यो – दैनिक राम्ररी पखालेर एउटा स्याउ खाउँ, रातो मासु कम खाउँ, मदिरा सेवन नगरौँ आदि इत्यादी । साँच्चिकै ‘मुखमा हान्दिउँ जस्तो’ पारो चढ्थ्यो त्यस्ता लेख पढ्दा । आफुलाई स्याउ खान घरमा कोही हुनेखाने पाहुना आउनुपर्थ्यो । मासुको गन्ध पाउन दशैं कुर्नु पर्थ्यो या दुर्लभै गाउँ घरतिर खसी काटेको हुनुपर्थ्यो । मदिरा भनेकै गोभान सिङ मूलको धाराको पानी थियो जिन्दगीमा । तर अहिले आएर उस्तै सल्लाह लेख्नु पर्दा नमज्जा लाग्दो रहेछ । खानपान जे खाउँ – सके सम्म र सम्भव भए सम्म घरमै पाकेको खाउँ । धेरै भात मात्रै खाएको राम्रो रहेनछ । सम्भव हुन्छ भने बेलुका रोटी मकै या अरु केही खाउँ तर बिहानको तुलनामा हल्का मात्रै । हामी साँच्चिकै ‘भाते’ भएका रहेछौँ । हुन त सेतै चामलको भात खान पनि दशैं कुर्नुपर्ने बाध्यता छ देशको कुनाकाप्चामा । तर त्यो त खाध्यान्नको महत्व बुझाउन नसकेर वा ‘भात’ लाई बढी महत्व दिएर रहेछ । नत्र परिवर्तित संसारमा तिनै मुल्यवान् कोदो, फापरको ढिँडो खोज्न दाउन्ने र थुम्सीका कटेज अनी थकाली भान्सा घर खोज्दै किन धाउनु पर्थ्यो र ? जे होस् हरसम्भव स्वस्थबर्दक खाना खाउँ, एकै पटक धेरै हैन थोरै थोरै धेरै पटक खाउँ, पानी प्रसस्त पिउँ । गाउँ घरमा पाइने सिजनल फलफूललाई हेला नगरौ, खोजी खोजी खाउँ । चिसो खाना नखाउँ । नेपालमा ग्यासट्राइटिसको समस्या हुनुको मुख्य कारण समयमा खाना नखानु र चिसो खाना खानु पनि हो ।

*अनावश्यक तनाव छोडि हालौँ

अहिले आएर राजनीतिले हामी लाई बर्गिकरण गरेको छ । आफ्नै परिवारका सदस्यमा मनमुटाव छ, आफ्नै गुरु चेलाहरुमा सद्भाव हराएको छ, छिमेकी अर्को पार्टीमा सीमित भएको छ । समाज तेरो र मेरोमा बिभाजित छ । बुझेर वा नबुझेर राजनीतिमा दगुर्ने हामीलाई बिभाजित गर्न सफल छन् राजनीतिक दल र नेता तथा कार्यकर्ताहरु । र सफल भएका पनि छन् उनिहरु हाम्रे सम्बन्ध टुटाउन र विश्वाश भत्काउन । रत हामी तल्लिन छौं एक आपसमा लड्न, भिड्न र इर्ष्या बटुल्न । यिनै कुराहरु मुख्य कारण पनि भएका छन् हाम्रो – मानसिक तनाव, प्रेसर बढाउन, मस्तिस्क हल्लाउन, मुटु डेथ बनाउन पनि । चुनाव आउँछ, जान्छ र फेरी आउँछ तर जीवन गयो भने आउँदैन । त्यसैले अब आत्मियता बाँडौं अरु केही आयू थप्न पनि ।

*प्रदुसित हावा पानीबाट सचेत बनौँ

अहिले काठमाडौं सपनाको शहर रहेन । यो त वाध्यकारी रूपमा नबसी नहुने फोहोरको खानी धुलोमान्डु भएको छ । राजधानी बस्ने हामी मन्द बिसपानमा रमाइरहेका छौं । यो बाध्यता मात्रै चाँही पक्कै हैन । हाम्रो कमजोरी र निरिहता माथिको प्रहार पनि हो । किनकि कुनै एउटा पार्टीको झन्डा बोकेर सडकमा टायर बाल्न हामी तयार छौं तर राजधानी प्रदुसित भो भनेर बेलामा काम नसक्ने कुनै ठेक्दार न त कार्वाहीमा परेका छन् न त सम्बन्धित निकायका अफिस अगाडि नाराबाजी र बिरोध नै हुने गरेको छ । हामी धुलोहिलोमा अभ्यस्त हुन तल्लिन छौं । स्मार्ट सिटी र मोनोरेलका सपनामा मख्ख छौं । चाहे हाम्रा स्वच्छ बातावरणमा बाँच्न पाउने आधारभूत मौलिक हक त्यही धुलोमा मिसिएको किन नहोस् । ढल मिसिएको पानीले दिनहुँ नयाँ रोग जन्माइरहेको छ । तसर्थ अहिलेलाई सबै कुरा थाती राखेर पनि कम्तिमा मार्क्स चाहिँ लागाएर हिँडौं । यथासम्भव पानी उमालेर पिउँ ।

बानी सुधारौँ अल्छिपन हाम्रो सबै भन्दा ठुलो सत्रु हो र हरेक रोगको कारण पनि । त्यसैले सकृय बनौं । दिनहुँ डायरिमा कामको लिस्ट लिएर हिँडौँ । अमुल्य समयको भरपूर सदुपयोग गरौँ । बढी पिउने बानी छ, धुम्रपान गर्ने बानी छ भने अहिले एउटा बाहना छ नयाँ बर्षको – यही बाहनामा पिउन र चुरोट तान्न छोडिहालौँ । यदि यी दुई बानी छन् भने माथि भनेका सबै कुरा तपाईंले गरेपनि लास्टमा त्यही हुन्छ … शायद कुरा बुझ्नु भो ।

कम्तिमा बर्षको एक पटक मुख्यमुख्य कुरा जाँच गरौँ

उमेर उकालो लागेपछि गर्नैपर्ने अर्को महत्वपूर्ण कुरा भनेको बर्षको एक पटक सुगर, प्रेसर (तर प्रेसर छ महिनामा एक पटक वा आफुलाई शंका लागेमा हर जुनसुकै बेला जाँच गराउनु पर्छ), युरिक एसिड जाँच गराउनु हो र सम्भव छ भने बर्षको एक पटक मास्टर चेक अप गरियो भने आफु ढुक्क हुन सकिन्छ ।

आध्यात्मिक बनौँ

संसारले प्रमाणित गरिसकेको छ – रोग शारीरिक असन्तुलनको कारण मात्रै हैन, मन र मष्तिस्कसँग प्रत्यक्ष जोडिएको छ । तन र मन दुवै स्वस्थ भएमात्रै जीवन सफल हुन्छ । जीवन छोटो छ, सपना अनगिन्ती छन् । नबिर्सौं जीवन क्षणिक हो, सके राम्रो गर्ने हो नसके नराम्रो नगरे मात्रै पनि पुग्छ । जती आफ्नो भागमा छ त्यती मात्रै मिल्ने हो, रोएर टाउको ठोकेर केही हुनेवाला छैन । आफ्नो अभिमान मर्न नदिउँ, कर्ममा तल्लिन होउँ । अरुको प्रगति आफ्नै प्रगति सम्झिन थालियो र आफुलाई अरुसँग तुलना गर्न छाडियो मात्रै भने पनि आधा तनाव आफैँ कम भएर जान्छ । दु:खको कारण हामी आफैँ स्वयम हौँ र आफ्नै मन हो । त्यसैले पुरै नास्तिकहरुले पनि नास्तिकतालाई बिर्सेंर थोरै आध्यात्मिक बनौं । मन पर्ने संगीत (भजनमा अदभूत शक्ती छ) सुनौँ । जीवन बदल्ने प्रवचनहरु सुनौँ । योग, ध्यान गरौँ । उत्प्रेरणा दिने पुस्तकहरु पढौँ, जीवन बदल्ने चलचित्र हेरौँ, आफुलाई सधैं ब्यस्त राखौँ । त्यो सानो पिउँसो मुटु जस्तै जीवन अमुल्य छ साथी ! पूरा जीवन बाँचेर जीवनको भरपूर आनन्द लिउँ ।

 

(बन मन्त्रालय अन्तर्गत बनस्पती बिभागको राष्ट्रिय हर्बेरियम तथा बनस्पती प्रयोगशाला, गोदावरीमा अनुसन्धान अधिकृतको रूपमा कार्यरत पाठक हाल अध्ययन बिदामा चीन (Chinese Academy of Science) को छेङ्दु ईन्स्टिच्युट अफ बायोलोजी छेङ्दुमा पिएचडि अध्ययनरत छन्)

 

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: