इवामुरा अस्पतालमा आएको विरामी बिना उपचार फर्कनुपर्नेछैन : रंजित मारिखु

  • उपचारको अलावा सचेतना विस्तारमा केन्द्रित हुँदै इवामुरा

  • रञ्जित मारिखु अस्पताल व्यवस्थापक डा.इवामुरा मेमोरियल अस्पताल

    को हुन् डा. इवामुरा ?
    डा. इवामुरा त्यस्ता व्यक्ति हुनुहुन्छ, जो हिरोसिमा र नागासाकीको आणविक बम्ब विस्फोटबाट बाँच्न सफल हुनुभएको थियो । परिवार, आफन्त, साथीहरु लगायतका सबै व्यक्तिहरुको दुखद अन्त्य हुँदा पनि आफू मात्र बाँच्न सफल हुनुभएका ऊहाँले आफ्नो जीवनलाई एक आश्चर्यको रुपमा लिनुभयो । सोही बमोजिम नयाँ ढंगले जीवन जिउने अठोट ऊहाँले गर्नुभयो । सेवामूलक क्षेत्रमा नै जीवन आहुति दिने मनसाय बनाएर चिकित्सा क्षेत्रलाई ऊहाँले आफ्नो रोजाइमा पार्नुभयो ।
    उनै डा. इवामुरालाई नेपालमा च्यारिटी मिशनमा आउने मौका मिल्यो । नेपालमा आएसँगै ऊहाँ लामो समय यहीँ रहनुभयो । त्यस क्रममा पाल्पाको तानसेन स्थित मिसन अस्पतालमा समेत लामो समय काम गर्नुभयो । शुरुमा शहरी क्षेत्रमा केन्द्रित रहनुभएका उहाँ पछि ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच स्थापनाको निम्ति ग्रामीण भेगहरुमा डुलेर करिब २२ बर्ष सेवा गर्नुभयो । यसै क्रममा ऊहाँले नेपाल सरकारको साथै रोटेरी क्लब लगायतबाट विभिन्न अन्तराष्ट्रिय पुरष्कारहरु समेत प्राप्त गर्नुभयाे ।

    इवामुराको सम्झनामा स्थापित ः
    विदेशबाट नेपालमा आइ लामो समय समाजसेवामा बिताएका डा. इवामुराको स्मरणमा स्थापित अस्पताल हो डा. इवामुरा मेमोरियल अस्पताल । सन् १९९८ मा निर्माण कार्य शुरु भइ सन् २००० मा यो अस्पताल सञ्चालनमा आएको हो । तत्कालिन समयमा डा. इवामुराका धर्म पुत्री पुर्णिमा गुरुङले अस्पताल सञ्चालन प्रक्रिया अघी बढाउनुभएको हो र केही वर्षमा भक्तपुरका व्यवसायीहरुले साथ दिएर संचालनमा ल्याइरहेको छ ।

    प्रोस्टेड स्क्रिनिङ प्रोग्राम सञ्चालनको तयारी हुँदै ः
    भक्तपुरको सल्लाघारीमा सञ्चालनमा रहेको यस अस्पतालले नयाँ अत्याधुनिक प्रविधि बमोजिम विभिन्न सेवाहरु सञ्चालन गरिरहेको छ । पछिल्लो समय अप्रेसन सानो प्वालको माध्यमबाट उपचार गर्न सकिने ल्याप्रोस्कोपी प्रविधि अस्पतालले सञ्चालन गरिरहेको छ । अब तत्काल नै प्रोस्टेड स्क्रिनिङ प्रोग्राम समेत सञ्चालन गर्न लागेको हस्पिटल म्यानेजर रञ्जित मारिखु बताउनुहुन्छ । कुनै विरामी पनि उपचारको अभावमा छट्पटाएर मर्नु नपरोस् भन्ने मान्यता बमोजिम स्वास्थ्य सेवा विस्तारमा केन्द्रित रहेको छ ।

    असुरक्षित गर्भपतन गर्नुहुँदैन भन्ने बारे सचेतना छर्दै अस्पताल ः
    पछिल्लो समय नेपालमा भ्रुण पहिचान गरी गर्भपतन गर्ने परिपाटी नेपालमा बढ्दै गएको छ । परिवारको दबाब (खासगरी श्रीमानको दबाब)मा ७ महिना सम्मका महिलाहरु समेत गर्भपतनको निम्ति अस्पतालमा आउने गरेको परिप्रेक्ष्यमा भू्रणहत्या गर्नुहुँदैन भन्ने बारे सचेत बनाई महिलाहरुलाई विशेष जागरुक गराउने कार्य गरेको कारण थुप्रै महिलाहरुले गर्भपतन गराउनबाट जोगिएका छन् ।

    गर्भपतनले बच्चालाई मात्र नभई आमालाई समेत समस्या आउन सक्छ भन्ने कुराबारे परिवारलाई जानकारी नभएको कारण पनि यो समस्या बढ्दै गएको हुन सक्ने भन्दै त्यसको निम्ति विशेष सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउनुहुन्छ मारिखु । आफूहरुले महिला गर्भपतनको मनसायबाट पछि हट्ने किसिमले सुझाव दिने कार्य गर्दै आएको बताउने मारिखु यसलाई हरेक अस्पतालले सामाजिक उत्तरदायित्वको रुपमा समेत लिनुपर्ने बताउनुहुन्छ ।

    महिलाको निम्ति विशेष तालिमको पहल ः
    अहिले पनि सक्षम र जागरुक महिलाहरु चुल्होचौकोमा मात्र सीमित रहेको परिप्रेक्ष्यलाई मध्यनजर गरी त्यस्ता महिलाहरुलाई उपयुक्त हुने किसिमका घरमा नै बसेर गर्न सकिने कामहरुसँग सम्बन्धित तालिम समेत सञ्चालन गर्ने योजना बमोजिम आफूहरु अघी बढ्न लागेको मारिखुले बताउनुभयो ।

    न्यूनतम शुल्कमा स्तरीय सेवा ः
    हाल ५१ शैया क्षमताको यस अस्पतालमा करिब १ सयको सङ्ख्यामा कर्मचारी र ४० जना डाक्टरहरु आफ्नो समयानुकुल खटिनुभइ अस्पताल २४ सै घण्टा सञ्चालन गरिँदै आइएको छ । महिला तथा बालबालिका अधिकार सञ्जाल अर्थात सिएसओ नेटवर्कमा आवद्ध यस अस्पतालले सिविन नेपालसँग समेत सहकार्य गर्दै आएको छ । न्यूनतम शुल्कमा सबैको स्वास्थ्य पहुँच सुरक्षित हुनुपर्छ भन्ने मान्यता बमोजिम अघी बढेको यो अस्पतालले आर्थिक अभाव भएका विरामीहरुलाई निःशुल्क उपचारको व्यवस्था गर्दै आएको छ ।

    इवामुरा अस्पताल ः विगत र अहिले
    नेपालमा सञ्चालन गरिएको यस अस्पतालको शुरुवातको समयमा नेपालीहरुको अवस्था तुलनात्मक रुपमा निजी लगानीका अस्पतालमा उपचार गर्न सर्वसाधारण जनताहरुको पहुँच पुग्ने अवस्था थिएन । यसै कारण उपचार सेवा लिन यस अस्पतालमा आउने विरामीहरु निकै कम थिए । त्यसैकारण अस्पताल पनि नोक्सानमा नै थियो । अस्पताललाई बचाउने काम मात्र भएको थियो । तर पछिल्लो समय विगत ३ बर्ष देखि भने यो अस्पताल नयाँ अत्याधुनिक सेवाहरु थप्नमा केन्द्रित भएको छ ।

    सामाजिक उत्तरदायित्वमा अग्रणी अस्पताल ः
    २४ घण्टा स्त्रीरोग सेवा लगायतका सेवाहरु न्यून शुल्कमा दिँदै आएको यस अस्पतालले पत्थरी सम्बन्धी लामो समय ल्याप्प्रोस्कोपी शिविर समेत सञ्चालन गर्यो । उक्त शिविरबाट करिब १ सय व्यक्तिहरुले स्वास्थ्य लाभ लिएका थिए ।

    अस्पतालमा कहाँबाट आउँछन् विरामीहरु ः
    हाल भक्तपुर र भक्तपुर वरपरका क्षेत्रमा बस्दै आएका विरामीहरुको खास रोजाइमा पर्दै आएको यस अस्पतालमा काठमाडौंका विरामीहरु निश्चित डाक्टरको नाम लिएर आउने गरेका छन् भने निःशुल्क शिविरको क्रममा धनुषा, गोर्खा, रामेछाप लगायतबाट समेत विरामीहरु सेवा लिनको निम्ति आएका थिए ।

    अस्पतालका आगामी योजना ः
    नेपाल सरकारका सबै मापदण्डहरु पूरा गरेर नै सञ्चालनमा रहेको यस अस्पतालका आगामी योजना सुनाउँदै व्यवस्थापक मारिखुले भन्नुभयो, ‘भक्तपुरमा कुनै पनि महिला उपचारको अभावमा ज्यान गुमाउन नपरोस् भन्ने हाम्रो उद्धेश्य हो ।’ बार्षिक योजना निर्माण गरेर नै आफ्ना गतिविधिहरु सञ्चालन गर्दै आएको यस अस्पतालले हरेक शनिवार खोप लगायतका कार्यक्रम निःशुल्क गर्दै आएको छ भने निःशुल्क परिवार नियोजन समेत आयोजना गर्न अस्पताल सफल रह्यो । परिवार नियोजन शाखा तथा आई यु सि डि ओ के जस्तो संस्थाबाट यस नियोजन सेवा विस्तार गर्न सफल भएको छ । नेपाल स्वास्थ्य मन्त्रालय सरकारको निर्देशन अनुसारले गरीब, असाहय तथा लक्षित वर्गहरुका लागि निशुल्क स्वास्थ्य सेवा पनि दिइरहेका छौँ ।

    महिलाहरुलाई नै किन केन्द्रित गर्नुभएको भन्ने सन्दर्भमा प्रश्न गर्दा मारिखुले अहिले पनि महिलाहरु श्रीमानमा नै निर्भर रहेको कारण आफू विरामी परेको अवस्थामा पनि श्रीमानको दवावको कारण रोगलाई त्यत्तिकै च्यापेर बस्नुपर्ने अवस्था रहेको बताउनुभयो । आगामी दिनमा महिलालाई माथि उठाउने आफ्नो उद्धेश्य रहेको कारण यस्तो गर्न लागिएको समेत ऊहाँले बताउनुभयो । यसको अलावा महिला कम्तीमा आर्थिक व्यवस्थापनको कामको निम्ति श्रीमानमा निर्भर रहने अवस्थाबाट माथि उठ्ने हो भने स्त्री रोगमा निकै कमी ल्याउन सकिने मारिखु दावी गर्नुहुन्छ ।

    महिला स्वावलम्ब बन्नुपर्छ ः
    नेपाल जस्तो मुलुकमा अहिले पनि अधिकांश महिलाहरु आफ्नो जीवनयापनको बारेमा निर्णय गर्ने स्वतन्त्रता उनीहरुमा छैन । श्रीमान, परिवार र समाजले दिशानिर्देश गरेबमोजिम उनीहरु चल्नुपर्ने अवस्थामा कम्तीमा काम गर्ने वातावरण बन्ने हो भने उनीहरु स्वतन्त्र तवरले जिउन सक्छन् भन्ने मान्यता लिएको यस अस्पतालले महिलाहरुलाई उद्यमशिल बनाउने किसिमले सोही बमोजिमका कार्यक्रमहरु सञ्चालनको निम्ति लायन्स क्लब भक्तपुर र रोटरी क्लब भक्तपुर सँग समेत सहकार्य गर्ने प्रक्रिया अघी बढाएको छ ।

    अस्पतालका अन्य विशेषताहरु ः
    सामाजिक उत्तरदायित्वको भावलाई आत्मसात् गर्दै आएको यस अस्पतालले समय–समयमा आउन सक्ने समस्याहरुलाई लक्षित गरी उनीहरुलाई सेवा दिने उद्धेश्य सहित लैंगिक सहायता कक्ष र प्रहरी सहायता कक्ष समेत यस अस्पतालले सञ्चालनमा ल्याएको छ ।

    Comment

    Related News 

    © 2016 All right reserved to

    %d bloggers like this: