७ हप्ता सञ्चालित सिमसिमे हेरिटेज वाक र यसको सन्देश


नेपाल पर्यटकीय हिसाबले निकै राम्रो सम्भावना रहेको मुलुक हो । यद्यपि अहिले पनि पर्यटन सम्बन्धी नै अध्ययन गर्ने विद्यार्थीहरुलाई समेत हाम्रो नजिकै रहेका चर्चित पर्यटकीय स्थानहरु के–के छन् भन्ने कुरा अधिकांश विद्यार्थीहरुलाई जानकारी हुन सकेको छैन ।

प्रेम कुमार दनुवार, युवा पर्यटन उद्यमी

यस्तो अवस्थामा नेपालमा पर्यटन सम्बन्धी अध्ययन गर्ने विद्यार्थीहरुलाई कम्तीमा पनि काठमाडौं उपत्यकाका विश्व सम्पदा सूचीमा रही विश्वभरको ध्यानाकर्षित गर्ने पर्यटकीय स्थानहरुको बारेमा आधारभूत ज्ञान उपलब्ध गराउनु पर्ने मान्यताले निरन्तर ७ हप्ता सम्म सिम्सिमे हेरिटेज वाक नामक विशेष कार्यक्रम सम्पन्न गरेको छ । यस ‘सिमसिमे हेरिटेज वाक’मा ४० विद्यार्थीहरु सहभागि थिए ।

काठमाडौंको नक्सालमा सञ्चालनमा सिकसिमे ट्राभल्सले विभिन्न ३ ओटा कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुलाई लगातार ७ हप्ता सम्म प्रति हप्ता एउटा विश्व सम्पदा सूची रहेको क्षेत्रमा भ्रमण गराइएको सिमसिमे ट्राभल्सका निर्देशक तथा पर्यटन क्षेत्रका विषयगत जानकार (प्रशिक्षक) प्रेम कुमार दनुवारले सेतोघर डट कमलाई बताउनुभएको छ । आजकै शनिवारबाट ७ हप्ते यस कार्यक्रमलाई विसर्जन गरिएको छ । यद्यपि अन्य विभिन्न कार्यक्रमहरु सिमसिमे ट्राभल्सले सार्वजनिक गर्ने समेत दनुवारले बताउनुभयो ।

चाँगुनारायण क्षेत्रको भ्रमण पश्चात् सेतोघरले दनुवारसँग लिएको छोटो प्रतिक्रियाको क्रममा ऊहाँले चाँगुनारायण क्षेत्र काठमाडौंका ७ ओटै विश्व सम्पदा सूचीका क्षेत्रहरु मध्ये विशेष महत्वको क्षेत्र भएको, यहाँको कलाको आफ्नै भूमीका रहेको तर राम्रो तवरले पर्यटनमूलक गतिविधिहरु फस्टाउन नसकेको उल्लेख गर्दै यसलाई गति दिनको निम्ति उपत्यकाव्यापी विश्व सम्पदासूचीका क्षेत्रहरुलाई समेटेर विशेष पर्यटकीय प्याकेज बनाउनुपर्ने बताउनुभयो । साथै भूकम्पले यस क्षेत्रलाई पनि प्रभावित पारेको अवस्थामा अबको पुनर्निमाण पहिलेको संरचना बमोजिम नै बनाउनुपर्ने कुरामा समेत ऊहाँको जोड दिनुभयो ।

सामाजिक दायित्वमा सिमसिने ः
आफ्नो सामाजिक दायित्व अन्तरगत आयोजना गरिएको यस हेरिटेज वाक शुरुमा भक्तपुर दरबार क्षेत्रको भ्रमण गरी शुरुवात गरिएको हो । सिम्सिमे ट्राभल्सको आयोजनामा भएको हेरिटेज वाकलाई भक्तपुरकै अर्को क्षेत्र चाँगुनारायणबाट आज अन्त्य गरिएको छ । सामाजिक दायित्व अन्तरगत समेत आफ्ना गतिविधिहरु सञ्चालित हुँदै आएको कारण यस पटकको हेरिटेज वाकको निम्ति कुनै पनि शुल्क विद्यार्थीबाट नलिइएको दनुवारले बताउनुभएको छ ।

भ्रमणको उद्धेश्य ः
अध्ययन पश्चात् कामको निम्ति पर्यटन क्षेत्रमा आउने क्रममा विद्यार्थीले पूर्णतः नयाँ महसुस गर्नु नपरोस् । सहज रुपमा काम गर्नको निम्ति व्यावहारिक ज्ञान प्राप्त हुन सकोस् । विभिन्न क्षेत्रको संस्कार, परम्परा, प्राकृतिक तथा भौगोलिक अवस्था, आपसी व्यवहार लगायतको बारेमा समेत जानकारी हुन सकोस् भन्ने नै मुख्य रहेको समेत आयोजक टिम सिमसिमे ट्राभल्सले जनाएको छ ।

हेरिटेज वाकमा संलग्नता ः
यस पटकको हेरिटेज वाकमा नेपाल कलेज अफ ट्राभल एण्ड टुरिज्म म्यानेजमेन्ट (एनसिटिटिएम), केयु सिटी कलेज (कपन), जनकल्याण मावि (महाकाल) का विद्यार्थीहरुको संलग्नता रहेको थियो ।
आफ्नै गाडी सहित यी विभिन्न क्षेत्रमा रहेका सम्पदा सूचीहरुको भ्रमणमा रहेका विद्यार्थीहरुले नयाँ क्षेत्रको भ्रमणको कारण नयाँ अनुभव लिन पाएको र यसबाट निकै नै प्रफुल्लित भएको पाइएको छ । विभिन्न क्षेत्रको भ्रमणको क्रममा त्यहाँको वातावरणसँग घुलमिल हुँदै सबै क्षेत्रका स्मरणहरु लामो समय ताजा राख्नको निम्ति उनीहरुले एकल तथा संयुक्त रुपमा फोटोहरु समेत आ–आफ्ना इलेक्ट्रोनिक्स डिभाइसहरुमा कैद गरेका छन् ।

अन्य व्यक्तिलाई समेत सकारात्मक सन्देश प्रवाह गर्ने उद्धेश्य ः
काठमाडौंको नजिकै हुँदाहुँदै पनि अधिकांश विद्यार्थीहरु यी क्षेत्रमा पुग्न नसकेको कारण आफूहरुले निःशुल्क यस्तो भ्रमणको व्यवस्था मिलाएको बताउँदै दनुवारले यस भ्रमणले विद्यार्थी आफूलाई मात्र नभई आफ्नो अनुभव विभिन्न सामाजिक सञ्जालको माध्यमबाट प्रस्तुत गर्ने, नजिकका आफन्त तथा साथीहरुसँग शेयर गर्ने साथै आफूले सिकेको सिपलाई व्यावहारिक तवरले सकारात्मक परिवर्तनको निम्ति उन्मुख गराउनेमा आफूहरु विश्वस्त रहेको बताउनुभएको छ ।
संक्षेपमा दनुवारको पर्यटन अनुभव ः
दनुवार सन् २००८ देखि एनसिटिटिएम कलेजमा ट्राभल एण्ड टुरिज्मको स्नातक तथा स्नातकोत्तर तहको अध्ययन गरी यस क्षेत्रमा प्रवेश गर्नुभएको हो । प्रकृतिसँग रमाउन चाहने दनुवारले पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न तालिमहरु लिनुभएको छ भने नेपालका विभिन्न मनोरञ्जनात्मक तथा जोखिमयुक्त क्षेत्रहरुको आफैं भ्रमण गरेर समेत अनुभव बटुल्नुभएको छ ।
सन् २०११ देखि आर्यतारा नामक ट्राभल कम्पनीबाट पर्यटन क्षेत्रको व्यावहारिक अनुभव समेट्नुभएका दनुवार आगामी दिनमा नेपालका विद्यार्थीहरुलाई लक्षित गरी एग्रो टुरिज्म अवधारणा अघी बढाउने आफ्नो योजना रहेको समेत बताउनुभएको छ ।

नेपालमा पर्यटनको सम्भावना ः
नेपालमा पर्यटन क्षेत्रको भविष्य निकै राम्रो बताउने जागरुक युवा उद्यमी दनुवार पर्यटनको क्षेत्रबाट हामीले राम्रो तवरले लाभ लिन सकिने क्षेत्रहरुलाई ३ क्याटागोरीमा औंल्याउनुहुन्छ । ती क्षेत्रहरु कल्चर, नेचर र एड्भेन्चर हुन् । यी क्षेत्रहरुलाई साथसाथै लैजान सके नेपालको पर्यटन क्षेत्रको सम्भावना निकै राम्रो छ ।

सम्पदा सूचीको पुननिर्माण सम्बन्धमा दनुवारको दृष्टिकोण ः
नेपालमा भूकम्पको कारण जीर्ण बनेका विश्व सम्पदा सूचीहरुलाई निर्माण कार्य छिटो अघी बढाउनुपर्छ । राम्रो तवरले पहिलेकै संरचनामा ती सम्पदा क्षेत्रहरु निर्माण गरिनुपर्छ । अहिलेलाई मात्रै छिटो र सजिलो हेरेर पुननिर्माण गरिनुहुँदैन । हाम्रो इतिहास जोडिएका यस्ता संरचनाहरु नै आगामी दिनमा पनि हाम्रो पहिचान बन्न सक्नुपर्छ । अधिकांश क्षेत्रमा आधुनिक तवरले यस्ता सम्पदासूचीहरु पुननिर्माण हुँदैछन् । यसले हाम्रो देशमा आउने पर्यटकको सङ्ख्या पनि घट्न जाने कुरामा समेत हामीले अहिले नै विचार पु¥याउनु जरुरी छ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: