त्यो कष्टकर बाल्यकाल : सिएअाइका अध्यक्ष बाल चन्द्र प्रवाहकाे अनुभव


बाल चन्द्र श्रेष्ठ ‘प्रवाह’, अध्यक्ष, चार्टर्ड एकेडेमिक इन्टरनेशनल प्रा.लि (सिएआई)

कमजोर आर्थिक हैसियतको परिवारमा जन्मेर पनि आफ्नो जीवनकाललाई समाजको निम्ति उदाहरणीय बनाउने र समाजको निम्ति अनुकरणीय कार्य गर्ने व्यक्तिहरु संसारमा निकै कम हुने गर्छन् । कमजोर अवस्थाका तल्लो तहबाट माथि उठेका व्यक्तिहरु नै सङ्घर्ष गरेर माथिल्लो अवस्था सम्म पुगेका सफल व्यक्तिहरु पनि प्रशस्तै छन् । तर अधिकांश माथिल्लो तहमा पुगिसके पछि आफ्नो धरातल नै बिर्सने गरेको अवस्था पनि प्रशस्तै देखिन्छ । जसले गर्दा आफ्नो वर्तमान भन्दा मुनिका कमजोर अवस्थाका व्यक्तिहरु प्रति पूरा गर्नुपर्ने दायित्व र सहानुभुतिमा अधिकांश व्यक्तिहरु चुकेको पाइन्छ । यद्यपि आफ्नो विगतलाई दृष्टिगत गर्दै सामाजिक उत्तरदायित्व तथा व्यावसायिक र राजनीतिक यात्रालाई सँगसँगै व्यवस्थित तवरले अघी बढाउनुभएका पात्र हुनुहुन्छ बाल चन्द्र श्रेष्ठ ‘प्रवाह’ ।
नेपालमा पहिलो पटक चार्टड एकाउन्टिङ सम्बन्धी शैक्षिक कार्यक्रम भित्र्याउने व्यक्तिको रुपमा पहिचान बनाउनुभएका श्रेष्ठले सन् १९९१ देखि नै नेपालमा प्राइभेट तवरबाट सिए अध्ययन गराउँदै आउनुभएको थियो । हुनतः सन् १९९६ देखि नै चार्टर्ड एकेडेमिक इन्टरनेशनल प्रा.लि (सिएआई) सञ्चालन भएको हो । तर यस संस्थाले राम्रोसँग गति लिन सकेको थिएन । सन् २००५ मा श्रेष्ठको प्रवेश भइ सन् २००७ मा अध्यक्षको भूमीका निर्वाह गरे पश्चात् भने यो संस्था निकै राम्रो तवरले अघी बढ्यो । त्यससँगै हाल सम्म यस संस्थाको नेतृत्व निरन्तर रुपमा बाल चन्द्र श्रेष्ठले नै गर्दै आउनुभएको छ । । शुरुमा साझेदारि अवधारणा बमोजिम व्यवस्थित तवरले इन्ष्टिच्युसनल प्रोग्रामको रुपमा ऊहाँले शुरुवात गर्नुभएको यो कार्यक्रम अहिले नेपालका विविधिकरण भएको छ । जसले गर्दा बार्षिक हजारौं सङ्ख्यामा सिए अध्ययन गर्ने ट्रेण्ड बढ्दो छ । युवाहरुलाई क्षमता विकासको निम्ति काम गर्ने क्रममा ऊहाँको महत्वपूर्ण योगदान रहेको छ ।

यसको अलावा ऊहाँ एक वहुआयामिक प्रतिभाशाली व्यक्तित्व समेत हुनुहुन्छ । एमबीए, एमए (अर्थशास्त्र), सिए, एलएलएम, बिएड लगायतका विभिन्न शैक्षिक कार्यक्रमहरुमा सफलता प्राप्त गर्नुभएका ऊहाँ नेपालको विकास, सम्भावना, युवा शशक्तिकरण र क्षमता विस्तार लगायतको क्षेत्रमा पोख्त समेत हुनुहुन्छ ।

श्रेष्ठको बाल्यकाल र त्यस समयको अनुभव ः
श्रेष्ठ काठमाडौंकै स्थानीय बासिन्दा हुनुहुन्छ । तर त्यतिबेलाको काठमाडौं र अहिलेको काठमाडौंको धरातल निकै भिन्न छ । जिल्लाको हिसाबले काठमाडौं भएर मात्रै पनि त हुँदो रहेनछ । विकासको हिसाबले भने निकै पछाडि रहेको इन्द्रायणी सानागाउँमा जन्मिनुभएका श्रेष्ठको बाल्यकालको अनुभव निकै कहालीलाग्दो नै रह्यो ।


हुनतः त्यस समयमा कोही मानिसहरु पनि अहिलेको जस्तो सम्पन्न वा मध्यम जीवनस्तर सम्म पनि माथि उठ्न सकेका थिएनन् । तर समाजमा सामन्त र शासक वर्गहरुले आफ्नो कब्जा जमाएका थिए । सोही परिस्थितिमा हुर्किएका हुनाले श्रेष्ठको मनमा सानै देखि नै समाजको लागि उदाहरणीय काम गर्न सफल हुनैपर्छ भन्ने कुरा मनमा सदैव बिझिरह्यो । साथै सामाजिक उत्तरदायित्वका काममा पनि आफ्नो पहुँचले भ्याएसम्म सहयोग नै गर्नुपर्ने कुरा पनि श्रेष्ठले कहिल्यै बिर्सनुभएन । यसैकारण अहिले आर्थिक अवस्था कमजोर रहेका व्यक्तिहरुको निम्ति उनले निःशुल्क रुपमा सिए कोर्ष अध्ययन गराइरहेनु भएको छ ।

पारिवारिक संस्कार र बुबाको परिश्रमबाट प्रभावित ः
आर्थिक हिसाबले निम्म अवस्था रहँदारहँदै पनि श्रम र संस्कृतिको हिसाबले भने ऊहाँको परिवार निकै माथिल्लो स्तरमा नै थियो । त्यसैकारण परिश्रम गर्न र अवस्था अनुसार आदर सद्भाव गर्नुपर्ने कुरा ऊहाँले परिवारबाट सिक्नुभयो ।

सिए कोर्षको थालनीः

बाल चन्द्र श्रेष्ठ प्रवाह नेपालमा पहिलो पटक चार्टड एकाउन्टिङ सम्बन्धी शैक्षिक संस्था चार्टर्ड एकेडेमिक इन्टरनेशनल प्रा.लि (सिएआई) सञ्चालन गर्ने व्यक्ति हुनुहुन्छ । हाल सम्म यस संस्थाले सिएहरु उत्पादन गरिसकेको छ । नेपालको सबैभन्दा पुरानो र प्रतिष्ठित यस संस्थामा संलग्न रहनुभएका विभिन्न व्यक्तिहरुले अहिले आफैं सिए कोर्ष सञ्चालन गर्दै आउनुभएको छ । नेपालमा सिए शिक्षाको जग बसाल्ने कार्यमा महत्वपूर्ण योगदान रहेका श्रेष्ठ निकै नै जागरुक, मिजासिला, आत्मविश्वासी र सबै प्रति समभाव राख्ने व्यक्ति हुनुहुन्छ ।

त्यो बाल्यकाल : पेटभर खान पाउने अवस्था नहुँदाको पीडा
सुखदुखलाई नजिकबाट नियाल्नुभएका श्रेष्ठको सङ्घर्ष कथा निकै नै दर्दनाक छ । बाल्यकालमा २ छाक खाना पेटभरी खान पाउने अवस्था संयोगवश मात्र प्राप्त हुन्थ्यो । राम्रो कपडा लगाउन बर्ष दिनमा पनि मुस्किल–मुस्किल पर्थ्याे । उनै श्रेष्ठ अहिले नेपालमा निकै नै प्रतिष्ठित र सुपरिचित व्यक्ति बन्न सफल हुनुभएको छ । बाल्यकालमा घरायसी कृषि काममा नै संलग्न रहँदै आफ्नो जीवन अघि बढाउनुभएका ऊहाँले सेतोघर डट कम सँगको कुराकानीको क्रममा आफ्नो बाल्यावस्था सम्झँदै भन्नुभयो, ‘राम्रो सँग २ छाक खाना खान नपाउने अवस्था थिएन । कहिलेकाहीँ त पेटको भोकलाई शान्त पार्न अन्य व्यक्तिहरुले खाना खाँदा बाँकी रहेको खाना पनि खानुपर्ने अवस्था थियो । जुन परिस्थितिको बाध्यता थियो ।’

हाल नेपालमा सिए सम्बन्धी अध्ययन गराउने सिएआई नामक शैक्षिक संस्था सञ्चालन गर्दै आएका व्यक्ति हुन् । नेवारी चलन अनुसार सोही संस्कारमा हुर्किएका उनलाई आफ्नो बुबाको कृषि क्षेत्र प्रतिको लगनशिलताले निकै नै प्रेरित गरेको थियो ।

शिक्षादिक्षा ः
गाउँकै विद्यालयबाट प्रारम्भिक शिक्षा लिनुभएका ऊहाँ २०४२ मा द्वितीय श्रेणीमा उत्तीर्ण हुनुभएको हो । त्यस समय सम्म नेपालमा निकै कम व्यक्तिहरु मात्र एस.एल.सी.परिक्षामा उत्तीर्ण हुने परिस्थिति थियो । जसको प्रभाव श्रेष्ठलाई पनि पर्यो । अर्थात शैक्षिक आधार कमजोर नै थियो । त्यसमा पनि अङ्ग्रेजी शिक्षाको अवस्था त झनै कमजोर । जिल्लाको हिसाबले काठमाडौं नै भएपनि काठमाडौंलाई सुगम काठमाडौं र दुर्गम काठमाडौं गरी फरक तवरले हेर्नुपर्ने अवस्था थियो । श्रेष्ठ दुर्गम काठमाडौंमा जन्मिनुको प्रभाव समेत थियो त्यो ।

एस.एल.सी उत्तीर्ण भइसकेपछि ऊहाँ अध्ययनको निम्ति एकैपटक २ ओटा क्याम्पसहरुमा घुम्ने गर्नुहुन्थ्यो । एउटै तहको शिक्षा लिनको निम्ति विहानमा र दिउँसो समय मिलाएर पब्लिक युथ क्याम्पस र पिपुल्स क्याम्पस अध्ययन गर्न जाने ऊहाँ समय–समयमा सरस्वती क्याम्पसमा समेत जाने गर्नुहुन्थ्यो । यसको मतलब समय कटाउने अन्य माध्यम नभएर भने होइन । शैक्षिक अवस्थालाई जसरी पनि अब्बल बनाउने प्रयास स्वरुप ऊहाँ त्यसो गर्नुहुन्थ्यो । निकै जागरुक र भविष्य प्रति चिन्तित व्यक्ति एक होनहार व्यक्तिको रुपमा क्याम्पसका गुरुहरुले ऊहाँलाई चिन्ने गर्नुहुन्थ्यो । सोही बमोजिम प्रेरणा पनि प्रदान गर्नुहुन्थ्यो । स्नातक तहको अध्ययन ऊहाँले संकरदेव क्याम्पसबाट गर्नुभयो ।

खाजा खानु टाढाको कुरा थियो ः
त्यो समय, घरबाट अध्ययनको निम्ति काठमाडौं आउनलाई भर्खरै बस सेवा सञ्चालनमा आएको समय थियो । दिउँसोमा खाजा खानु त निकै टाढाको कुरा हुन्थ्यो । नेपालमा अध्ययनको क्रममा ऊहाँले निकै नै कष्टपुर्ण तवरले पूरा गरेको अध्ययनकाल शब्दमा वर्णन गरिसक्नु नै छैन । अहिलेको भौतिक सुखसयलमा हुर्किएका विद्यार्थी र युवाहरुको निम्ति ऊहाँको यस्तो सङ्घर्ष सपना जस्तो लाग्न सक्छ ।

त्यो बेला विहान ५-६ बजे नै खाना खाएर घरबाट निस्कनुपर्ने, बेलुका ६-७ बजे घर पुगेर मात्र खाजा वा खाना खानुपर्ने अवस्था थियो । त्यस बेलाको परिस्थिति नै त्यस्तै थियो । आर्थिक हिसाबले त सबैको अवस्था उस्तै–उस्तै नै थियो । तैपनि श्रेष्ठ एक जागरुक व्यक्ति भएको कारण जस्तोसुकै विषम परिस्थितिको वावजुद पनि आफूलाई निरन्तर रुपमा अघी बढाइ नै रहनुभयो । जसले गर्दा आफ्नो समयका अन्य व्यक्तिहरुको तुलनामा ऊहाँ महत्वपूर्ण स्थानमा पुग्न सफल हुनुभएको छ ।

सफलता एकैचोटि प्राप्त हुँदैन ः
सफलता एकै पटक प्राप्त हुँदो रहेनछ । विभिन्न विषम परिस्थितिको वावजुद निरन्तर रुपमा लागिरहेको कारण नै ऊहाँ अहिलेको अवस्थामा आउन सफल हुनुभएको हो । श्रेष्ठकाे सङ्घर्षशिल यात्राबाट अहिलेका युवा पिँढीले निरन्तर रूपमा अाफूलार्इ अघी बढाउने पाठ सिक्न सके काेही पनि असफल बन्नु नपर्ला ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: