सकिनुभन्दा अगाडि आत्मसमीक्षा गरोस् कांग्रेसले


– डिल्लीराम अम्माई, बेल्जियम

आँकलन गरिँदै छ- आफूलाई पुरानो र सशक्त लोकतान्त्रिक दल दाबी गर्दै आएको नेपाली कांग्रेसले येनकेन ‘सशक्त प्रतिपक्ष’को जनमत ल्याउँदै छ । ऊ सधैं सत्ताको वरिपरि रहिआएको पार्टी हो । नेपाली कांग्रेसले इतिहासदेखि अहिलेसम्म देखिने गरि कुनै दीर्घकालिक महत्वको काम गर्न नसकेको आरोप लाग्ने गरेको छ । खासगरी बाम पक्षधर खेमाबाट कांग्रेसले देशका लागि लाभभन्दा हानी नै बढी पुग्ने काम गर्दै आएको अभियोग लाग्दै आएको जगजाहेर छ । यतिबेला प्रदेश र संसदीय चुनावको परिणाम आउने क्रम जारी छ । आफै सत्तामा रहेर चुनाव गराउँदा पनि कम मत ल्याएकोमा कांग्रेसभित्र जुन कोक्किएर रुने स्थिति देखिएको छ, अहिलेसम्म ठुलो पार्टी रहँदै आएको नाताले त्यो स्वाभाविक हो र विगतको उसका दुर्भाग्यपूर्ण कर्मका दुष्परिणाम हेर्दा यसरी कोक्किनु अस्वाभाविक पनि हो ।
आफ्नो भागमा परेको बहुमत कांग्रेसले थाम्न सक्दैन भन्ने इतिहासले प्रमाणित गरिसकेको हो । २०१५ सालको संविधान बनाउँदा राजालाई संकटकालीन अधिकारको धारा संविधानमा नराखेको भए २०१७ मा संसदीय ब्यबस्था समाप्त हुने थिएन । कम्युनिष्ट हाबी हुने र राजावादी भन्दा बामपन्थी खतरनाक हुन सक्छन् भन्ने वाह्य सुझावलाई बीपीले मानेर दबाउनकै लागि त्यो धारा राखियो, जुन आत्मघाती सावित भयो ।
२०५१ सालको आफ्नै नेतृत्वको बहुमतीय सरकार उखेलेर फाल्ने अरु कोहि नभएर गिरिजा स्वयम् थिए । कांग्रेसको लागि बहुमत राहुको दशा जस्तै हो, बहुमतको उन्मादले उसले आफ्नो पार्टी फुटाइदिन्छ, आफ्नो नेतृत्वको सरकारमाथि आफैले वार गर्छ र देशलाई पनि रसातलमा पुर्याउँछ भन्ने बाहेक सकारात्मक उत्तर अहिलेसम्म कांग्रेसले दिन सकेको छैन ।
अहिले पनि कांग्रेस ‘कम्युनिष्ट आए अधिनायक आउँछ’ भन्ने आफ्नो बनिबनाउ एजेन्डा लिएर चुनावमा होमियो । नेतृत्वले लड्खडाउँदै चुनाव सम्पन्न त गरायो तर स्वर्गका कपडा लगाएका अकबरले जस्तै आफ्नो पार्टीको शरीर नाङ्गो पारेर देखाइदियो । उसका विवादित ठुला नेताहरु केही बाहेक जनताबाट तिरस्कारमा पर्ने खतरा देखिएको छ । नेपाली कांग्रेसमा यो संकट आउनुका केही कारण छन् ।
१. राजनैतिक स्थायित्वप्रतिको जनमत बाम एकतातर्फ़ जानु स्वाभाविक हो, किनकि नेपाल बाम-रुझान भएको देश हो र उसको चुनावी नारा पनि राजनैतिक स्थायित्वको लागि बहुमत भन्ने थियो । नेपाली जनताले यो एकताको प्रयासलाई आत्मादेखि स्वीकार गरेका छन् । यो बामपन्थीहरुको विजयको लहर र जन उत्साहले त्यतैतर्फ़ संकेत गरेको छ ।
२. कांग्रेसमा संकट आउनुको अर्को प्रमुख कारण वर्तमान प्रधानमन्त्री शेरबहादुरको अदुरदर्शिता र मनपरी निर्णय पनि हो । उनले जनअपेक्षा विपरीत ६४ जनाको प्रलयकारी मन्त्रीमण्डल बनाए । त्यसको मनोवैज्ञानिक जनप्रतिक्रिया चुनावमा देखियो । त्यस्तै उनको मिडियाअमैत्री शैली, जनतालाई हेप्ने कार्यले पनि उनीप्रतिको वितृष्णा सम्पूर्ण पार्टीमाथि पर्न गयो ।
३. काङ्ग्रेसको कार्यकालमा भएका अलोकप्रिय निर्णय जस्तो कि विदेशीले नेपालको जनस्तर उकास्नको लागि बनाएका ५० भन्दा बढी राष्ट्रिय उद्योगहरु निजीकरणको बहानामा करोडौँको कमिसनसहित कौडीको मुल्यमा भारतीय पुँजिपतिलाई बेचेर उद्योगहरु समाप्त पारियो । बेचिएका मध्ये अहिले कुनै पनि उद्योगहरु संचालनमा छैनन् । ती उद्योगका सम्पूर्ण मेसिन भारत लगियो र त्यहिँ स्थापित गरियो ।

४. नाकाबन्दीले देश थिलोथिलो हुँदा राष्ट्रियताको पक्षमा कांग्रेस बोल्न सकेन । सिराहा, सप्तरी र टिकापुरमा भारतीय योजनामा नेपालीको कत्लेआम हुँदा, नेपाल थिचोमिचोमा पर्दा कांग्रेस चुँ सम्म बोलेन । परिणाम जनताले चुनावबाट देखाइदिए ।
५. नेपाली जनताको संविधान घोषणा गर्ने सार्भर्वम अधिकार हुँदाहुँदै पनि भारतले दबाब, विशेष दुत, राजदुत र नाकाबन्दी मार्फत संविधान घोषणा हुन नदिने षड्यन्त्र गर्यो । कांग्रेस चुप मात्र बसेन, राजदुत दीपकुमार उपाध्यायमार्फत दलाली गरिरह्यो । त्यसको परिणाम पनि चुनावमा देखिँदै छ ।
६. भनिन्छ १० वर्षे जनयुद्धमा नपालको ९२ अर्बको सम्पत्ति नोक्सान भयो तर त्यो भन्दा बढी गत नाकाबन्दीको समयमा १५ खर्ब सम्पत्ति नोक्सान भयो भने त्यति नै औषधिको अभावमा जनताले ज्यान गुमाउनु पर्यो । त्यो नाकाबन्दी मानविय, अधिकार र राष्ट्रिय स्वाधिनताको सवालमा निन्दनीय थियो तर नाकाबन्दीको समयमा युएनको सम्मेलनमा पुगेका उपप्रधानमनत्री प्रकाशमान श्रेष्ठले नेपालको नाकाबन्दी बारेमा युएन अध्यक्षले राखेको जिज्ञासामा नेपालमा नाकाबन्दी भएको छैन, त्यो सबै अफवाह हो । हाम्रो सम्बन्ध भारतसंग विगत झैँ राम्रो छ भनेर झुट बोले । जुन कुरा नेपालीहरुले बिर्सेका थिएनन् । चुनावमा देखाइदिए ।
७. यो पटकको चुनावमा केपी ओलीको राष्ट्रिय अडानलाई जनताले सम्मान गरेका छन् । तत्कालिन प्रम ओलीले भारत सरकारद्वारा हेपेर लेखिएको संयुक्त विज्ञप्तिमा सहि गरेनन् जुन इतिहासमा पहिलो थियो । तर पछि प्रचण्ड भारत जाँदा १६ बुँदेमा सहि भयो त्यो विज्ञप्तिले नेपालको परराष्ट्र सम्बन्ध भारतको अधिनस्त बनाएको थियो । जुन उनको एतिहासिक भुल थियो ।
८. एउटा किताब ब्यावशायीलाई जनक शिक्षाको जिएम बनाउनु, मानव बेचबिखनको दलाली आरोपीलाई कतारको राजदुत बनाउनु, पार्टीप्रति कुनै योगदान नै नभएकी तथा कमिशनखोरको आरोप लागेकी श्रीमतीलाई पार्टीका इमानदार कार्यकर्ताको चाहनाविपरीत उम्मेदवार बनाउनु, तत्कालिन प्रधानन्यायाधीशप्रति पूर्वाग्रही व्यवहार गर्नु, आइजीपी नियुक्ति काण्डमा कमिसनको खेलले निम्त्याएको बबण्डर आदि कारण देउपा जनतामा अत्यन्त अलोकप्रिय छन् । उनको त्यो अलोकप्रिय शैली र अप्रिय कामलाई जनताले चुनावबाट चेतावनी दिँदै छन् । यदि समयमै नचेते कांग्रेसले प्रजापरिषदको जस्तै ऐतिहासिक पाठ्यक्रममा सीमित बन्नुपर्ने अवस्था आउन धेरै समय कुर्नु पर्दैन । समयमै गल्ती स्वीकार गरेर सच्चिँदै अघि बढ्ने सदबुद्धि मिलोस् । अस्तु ।
(टिप्पणीकार पत्रकार महासंघ युरोपका वरिष्ठ उपाध्यक्ष हुन् ।)

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: