मुस्ताङ्, मनाङ् र रुकुम पूर्वमा वाम गठबन्धन निर्वाचित


मुस्ताङमा एमाले निर्वाचित
पहिलो चरणको निर्वाचन अन्तर्गत १० मंसीरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको परिणाम आउन शुरु भएको छ ।
मुस्ताङको प्रतिनिधिसभा सदस्यमा एमालेका प्रेमप्रसाद तुलाचन ३,५४४ मत ल्याई निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रोमी गौचन थकालीले ३,२८१ मत ल्याएको जिल्ला निर्वाचन कार्यालय मुस्ताङका प्रमुख सीताराम शर्मा लामिछानेले जानकारी दिए ।

त्यस्तै, प्रदेशसभा १ (क) मा एमालेका इन्द्रधारा विष्ट १,१६७ मत ल्याई निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी छिरिङधावा गुरुङले ६५७ मत ल्याए ।

यसैगरी, प्रदेशसभा १ (ख) मा एमालेकै महेन्द्रबहादुर थकालीले २,५८४ मत ल्याई निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकाका छिरिङ गुरुङले २,२५९ मत प्राप्त गरेका थिए ।

९,४२७ मतदाता रहेको मुस्ताङमा ६,७१४ मत खसेको थियो ।

रुकुम पूर्वमा वाम गठबन्धनकी रोका विजयी
रुकुम पूर्वमा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका प्रतिनिधिसभा सदस्य उम्मेदवार कमला रोका विजयी भएकी छन् । रोकाले आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेसका हरिशंकर घर्तीलाई ६ हजार २८ मतअन्तरले पछि पार्दै निर्वाचित भएकी हुन् ।

रोकाले १०,४३४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी घर्तीले ४,४०६ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको प्रदेशसभाका दुवै क्षेत्रमा पनि माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् ।

प्रदेशसभामा वाम गठबन्धनका उम्मेदवार विजयी
रुकुम पूर्वका दुवै प्रदेशसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् ।
प्रदेशसभा क्षेत्र नं (क) मा आफ्ना प्रतिस्पर्धी नेकाका दूतकुमार पुनलाई ३,२८३ मतले पछि पार्दै माओवादी केन्द्रका तेजबहादुर ओली निर्वाचित भएका हुन् ।

ओलीले ५,४२७ मत प्राप्त गर्दा पुनले २,१४४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत दुर्गाबहादुर भुसालले जानकारी दिए ।

यस्तै, प्रदेशसभा क्षेत्र नं (ख) मा पनि माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी नेकाका दत्तबहादुर बस्नेतलाई २,७०५ मतले पछि पार्दै केन्द्रका पूर्णबहादुर घर्ती विजयी भएका हुन् ।

विजयी घर्तीले ५,८१६ मत प्राप्त गर्दा बस्नेतले ३,१११ मत प्राप्त गरेका थिए । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको रुकुम पूर्वमा प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना सकिएपछि अब समानुपातिक तर्फको मतगणना शुरु गरिएको छ ।

मनाङ प्रतिनिधिसभामा एमाले
हिमालपारिको जिल्ला भनिने मनाङमा प्रतिनिधिसभामा नेकपा एमाले र प्रदेशसभामा नेपाली कांग्रेस र स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।
प्रतिनिधिसभा सदस्यका लागि एक मात्र निर्वाचन क्षेत्र भएको मनाङमा एमालेका उम्मेदवार पोल्देन छेपाङ गुरुङ निर्वाचित भएका छन् । नेका मनाङका सभापति एवं पूर्वराज्यमन्त्रीसमेत रहेका कांग्रेस उम्मेदवार टेकबहादुर गुरुङलाई २८९ मतले उछिन्दै एमाले उम्मेदवार पोल्देन छोपाङ गुरुङ निर्वाचित भएका हुन् ।

विजयी पोल्देन छोपाङले २,३०० मत प्राप्त गरे भने प्रतिद्वन्द्वी टेकबहादुरले २,०२१ मत पाएका छन् ।

नेपालमै सबैभन्दा कम मतदाता रहेको मनाङमा ४,३३८ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । यहाँ ५,८८१ मतदाता छन् ।

प्रदेशसभा (क) मा कांग्रेस र (ख) मा मनाङ्गे
प्रदेशसभाका सदस्यका लागि नेपाली कांग्रेसले हिमाली जिल्ला मनाङबाट खाता खोलेको छ । कांग्रेस उम्मेदवार चिन्तबहादुर घलेले प्रदेशसभा (क) बाट एमालेका धोर्जे डण्डुल गुरुङलाई १०२ मतअन्तरले पराजित गर्दै निर्वाचित भएका छन् । विजयी घलेले ९९८ मत प्राप्त गरेका हुन् ।

एमालेका धोर्जे डण्डुल गुरुङले ८९६ मत प्राप्त गरेका छन् ।
प्रदेश सभा (ख) मा दीपक मनाङ्गे भनेर चिनिने स्वतन्त्र उम्मेदवार राजीव गुरुङ निर्वाचित भएका छन् । उनलाई वामगठबन्धनको समर्थन थियो । गुरुङले एक हजार ४१० मत प्राप्त गरेका छन् भने प्रतिद्वन्द्वी नेकाका कर्म गुरुङले एक हजार २० मत प्राप्त गरेका छन् ।

एमाले उम्मेदवार खाण्डा लामा गुरुङले उम्मेदवारी फिर्ता लिँदै राजीव गुरुङलाई समर्थन जनाएकी थिइन् ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: