मतदानको समय सकियो : मतगणना सुरु हुँदै


काठमाडौं । दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा चुनाव अन्तर्गत ४५ जिल्लामा मतदानको समय सकिएको छ । ५ बजेपछि मतदानको समय सकिएको हो । ५ बजेसम्म लाइनमा बसेकाले भने मतदान गर्न पाउनेछन् ।

बिहीबार प्रदेश नम्बर एकका ७ वटा जिल्लामा मतदान भएको हो । यी जिल्लामा २१ वटा निर्वाचन क्षेत्र रहेका छन् । मोरङमा ६, झापामा ५, सुनसरीमा ४, इलाम र उदयपुरमा २/२ क्षेत्र छन् भने धनकुटा र तेह्रथुममा एक एक वटा निर्वाचन क्षेत्र रहेका छन् ।

प्रदेश नम्बर २ का सबै जिल्लामा आज मतदान भएको छ । यो प्रदेशका ८ जिल्लामा चार चारवटा गरि ३२ वटा निर्वाचन क्षेत्र रहेका छन् । प्रदेश दुईका कुनैपनि क्षेत्रमा पहिलो चरणमा चुनाव भएको थिएन । प्रदेश नम्बर दुईमा सिरहा, सप्तरी, सर्लाही, धनुषा, महोत्तरी, बारा, पर्सा, रौतहट जिल्ला पर्छन् ।

प्रदेश नम्बर तीनका सातवटा जिल्लामा आज मतदान भएको हो । १३ जिल्लाका ३३ वटा निर्वाचन क्षेत्र मध्य ६ वटा जिल्लामा पहिलो चरणमा चुनाव भैसकेको छ । आज चुनाव भएकोमा काठमाडौंमा १०, भक्तपुरमा २, ललितपुरमा ३, काभ्रेपलान्चोकमा ३, चितवनमा ३, मकवानपुरमा २ र सिन्धुलीमा २ वटा निर्वाचन क्षेत्र रहेका छन् ।

प्रदेश नम्बर चारका पाँचवटा जिल्लामा आज चुनाव भएको हो । ११ जिल्लाका १८ निर्वाचन क्षेत्र मध्य ६ वटा जिल्लामा पहिलो चरणमा चुनाव भएको थियो । आज चुनाव भएकामा नवलपरासी पूर्वका २, तनहुँका २, काँस्कीका ३, स्याङ्जाका २ र पर्वतमा एउटा निर्वाचन क्षेत्र रहेका छन् ।

प्रदेश नम्बर ५ का १० वटा जिल्लामा आज मतदान भएको हो । ५ नम्बर प्रदेशका १२ जिल्लामा २६ वटा निर्वाचन क्षेत्र रहेका छन् । यीमध्ये रुकुम पूर्व र रोल्पामा पहिलो चरणमा चुनाव भएको थियो ।
आज चुनाव भएका नवलपरासी पश्चिम, पाल्पा, अर्घाखाँची, गुल्मी, रुपन्देही कपिलवस्तु, दाङ, प्युठान, बाँके र बर्दियामा २४ वटा निर्वाचन क्षेत्र रहेका छन्

प्रदेश नम्बर ६ का ५ वटा निर्वाचभन क्षेत्रमा आज मतदान भएको छ । दैलेख र सुर्खेतका दुई दुई तथा सल्यानको एउटा निर्वाचन क्षेत्रमा दोश्रो चरणमा चुनाव भएको हो ।

प्रदेश नम्बर ७ का ५ वटा जिल्लामा आज चुनाव भएको । प्रदेश नम्बर ७ का ९ वटा जिल्लामा १६ वटा निर्वाचन क्षेत्र रहेका छन् । यी मध्ये एक एक वटा निर्वाचन क्षेत्र रहेका ४ जिल्लामा पहिलो चरणमा चुनाव भैसकेको छ । आज चुनाव भएकामा कैलालीमा ५, कञ्चनपुरमा ३, डडेलधुरा, अछाममा दुई र डोटीमा एउटा क्षेत्र रहेका छन् ।
मतगणना सुरु हुँदै

पहिलो चरणको चुनाव भएका ३२ जिल्लामा मतगणना सुरु हुँदैछ । दोस्रो चरणको मतदान सकिएलगत्तकै ३७ निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको हो ।

३२ जिल्लामा ७०२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रतिनिधिसभाका लागि ३७ निर्वाचन क्षेत्रमा १६ जना महिलासहित २८२ जना चुनावी मैदानमा छन् ।
त्यस्तै, प्रदेशसभाका लागि ७४ निर्वाचन क्षेत्रमा २० जना महिलासहित ४२० जना उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रतिस्पर्धी मध्ये प्रत्यक्षतर्फको चुनावबाट प्रतिनिधिसभाका लागि ३७ जना र प्रदेशसभामा ७४ जना निर्वाचित हुनेछन् ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: