दलाई लामा घरै फर्कन चाहन्छन् ?


काठमाडौं । दलाई लामाले अन्त्यमा घरै फर्कने इच्छा जनाएपछि अहिले धेरै कुराहरुबारे पुनः विवाद उत्पन्न गराइरहेको छ ।

केही समयअघि मात्र उनले ‘भूतकालका सबै कुराबाट अघि बढेर अब तिब्बतीहरु चीनमै बस्न चाहन्छन्’ भन्ने बयान दिएको द वायरले जनाएको छ ।

उनको यस बयानले अहिले धेरै प्रतिक्रिया पाइरहेको छ । यसअघि पनि लामाले तिब्बतीहरुको उद्देश्य चीनबाट स्वतन्त्र हुने नरहेको भनिरहे पनि उनले हालै दिएको बयानमा चाहिँ उनले सहमत भएमा तिब्बत अब सधैँका लागि चीन नै फर्कनेछ भनेर उनले घोषणा नै गरेको बताइएको छ ।

उनको यस्तो निर्णयमाथि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सि जिङपिङसँगको भेटको पनि प्रभाव रहेको अनुमान लगाइएको छ । चीनको असमर्थनमा पनि पूर्वराष्ट्रपति बाराक ओबामासँग भेट गरेका लामाप्रति ट्रम्पले कुनै चासो र भेट्ने चाहना समेत देखाएनन् । बेइजिङले लामाको पश्चिमी मूलूकको भ्रमणमाथि पहिलेदेखि नै असमर्थ व्यक्त गर्दै आइरहेको थियो ।

आफूहरुसँग सहमतिमा आउन चाहेमा पश्चिमी मूलूकको भ्रमणलाई रोक्न चीनले आग्रह गरिरहेको थियो ।

यसैबीच ट्रम्पको चीन भ्रमणपछि नै लामाले आफ्ना दुई अधिकारीलाई अन्तर्राष्ट्रिय सहभागिताका लागि नियुक्त गरेका छन् । उनको यस निर्णयले पनि चीनसँग सहमतिमा आउने तिब्बतको चाहनाबारे संकेत गरेको थियो ।

वास्तवमा तिब्बत राष्ट्रपति जिङपिङकै शासनकालमा चीनसँग सहमतिमा आउन खोजिरहेको बताइन्छ । राष्ट्रपति जिङपिङले पहिलेदेखि नै तिब्बतप्रति नम्रता अपनाइरहेकाले पनि लामाले उनीबाट धेरै आशा गरेको बताइन्छ ।

जिङपिङ खुला विचारधारा भएका व्यक्ति भएकाले उनले सधैँ तिब्बतको भलाई नै सोच्ने लामाको विश्वास रहेको बताइएको छ । त्यसकारण उनकै पालामा आफूहरु सहमतिमा आउन नसके चीनको ढोका सधैँका लागि बन्द हुने डरले पनि उनले अहिले यस्तो बयान दिएको बताइएको छ ।

यसका साथै तिब्बतीहरुले पनि दलाई लामालाई मौकाको उपयोग गरी अहिले नै सहमतिमा आउन दबाब दिइरहेको हुन सक्ने अनुमान गरिएको छ । दिन प्रतिदिन उनको उमेर बढ्दै गइरहेका बेला चीन शक्तिशाली राष्ट्रका रुपमा स्थापित भएपछि उनले अन्तर्राष्ट्रिय समर्थकहरु पनि गुमाइरहेका छन् ।

यसरी दलाई लामाले अहिले निकै अफ्ठ्यारो राजनीतिक बाटोतर्फ हिँडिरहेको आफैँले पनि महसुस गरिरहेका छन् । त्यसैले उनले भारत र चीनबीचको डोक्लाम विवादबारे पनि कुनै ठोस प्रतिक्रिया दिएका छ्रैनन् । उनले यसलाई शान्तिपूर्ण ढङ्गले सुल्झाउन सुझाव मात्र दिइरहेका छन् ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: