यतीको वास्तविकता

  • पर्यटनको लागि यती जस्तो प्राणी भएको राम्रो, तर विज्ञान काल्पनिक भन्छ । चित्त बुझाउनु बाहेक विकल्प छैन ।

  • हिमाली शृंखलामा मानवबाट अलग्गिएको एउटा प्राणी यती हो कि भनेर वैज्ञानिकहरूले समेत अनुमान गरेका थिए । हिउँमा हिंड्ने वनमान्छेको किंबदन्ती तथ्यमा आधारित हो कि भन्ने पनि थियो । फेरि विश्वका अन्य भागमा पनि वनमान्छेको ‘साइटिङ’ हुने गरेको थियो– जस्तै, उत्तर अमेरिकाको जंगलमा दुई खुट्टाले उभिने जनावर ‘बिगफुट’ ।
    विश्वका ठूल्ठूला स्तनधारी प्राणी सबैको जाति–प्रजाति गणना नभइसकेकोले एकाध शताब्दीअघिसम्म हिमालय क्षेत्रको कुनाकाप्चामा मानवसँग नजिक सम्बन्ध राख्ने दुईखुट्टे प्राणी छ भन्ने रोमाञ्चक सम्भावना छँदैथियो । फेरि हिमाली भेकका विभिन्न गुम्बामा ‘यती’ नाम गरिएको जनावरको अवशेष राखिएको भन्ने पनि थियो– कतै एउटा सुकेको हातको हड्डी, कतै भुत्ले रौं रहेको छाला वा पिठ्यूँ । यी सब यतीकै हुन् भन्ने थियो ।

    यती रहेको सबभन्दा गतिलो प्रमाण त कहलिएका पर्वतारोही एरिक शिप्टनद्वारा आयो । उनले दोलखाको गौरीशंकर हिमालको पूर्वोत्तर मेलुङ्से हिमनदीमा एउटा पाइलाको तस्वीर खिचे सन् १९५१ मा । त्यो उँचाइमा मानिस त्यो पनि विना बूटजुत्ता हिंड्ने कुरै थिएन । मानिस जसरी हिंड्ने कुनै जनावरको जस्तो देखियो त्यो पाइलाको डोब । शिप्टनको त्यो तस्वीरले यती नामक प्राणी रहेछ नै भन्ने विश्वास धेरैलाई दिलायो ।

    एरिक शिप्टनले मेलुङ्से हिमनदीमा सन् १९५१ मा खिचेका ‘यती’ का डोब र पाइलाहरू ।

    राणाकालको अन्त्यपछि पर्यटनको गन्तव्य बन्न गयो, त्यतिबेला यतीको रोमाञ्चक चर्चाले नेपाली पर्यटनलाई राम्रो गर्‍यो । यतिसम्म कि एकपटक म स्वयम्‌ले ठट्टेउलो सुझावसमेत दिएको थिएँ– कि केही वर्ष बिराएर यतीको ‘साइटिङ’ प्रायोजन गर्नुपर्‍यो, ताकि पर्यटकको नेपाल आगमन कायम रहोस् । सगरमाथाको प्रथम आरोही जोडीका एडमण्ड हिलारीले पनि पांगबोचे गुम्बामा रहेको यतीको भनिएको अंगको रौं अनुसन्धानको लागि समुद्रपार लगे ।
    पश्चिममा ‘नेचर टेलिभिजन’ च्यानलहरूले केही वर्ष बिराएर यतीको खोजी अभियान चलाई नै रहे । यी सबले नेपालको पर्यटन राम्रो नै गर्‍यो । नेपाली पर्यटन व्यवसायीहरूले पनि यती किंबदन्तीको विभिन्न सफल प्रयोग गरे । शाही नेपाल वायु सेवा निगमले त आफ्नो ‘म्यास्कट’ नै बनाएर आफ्नो मुख्यालय अगाडि यतीको धातुको मूर्ति ठड्यायो, आफ्नो सेवालाई ‘यती सर्भिस’ नाम दियो ।
    दुई दशकयता भने नजानिंदो पाराले यतीको चर्चा परिचर्चा पातलिंदै थियो । नेपालको पर्यटन ‘लिटरेचर’ र विज्ञापनहरूमा समेत यतीको प्रयोग कम हुँदै गयो । वैज्ञानिक हिसाबले अस्तित्व पुष्टि नहुने बुझेरै होला पर्यटनको लागि नेपालभित्रै पनि यतीको चर्चा घट्दै गयो ।

    गत साता एउटा विस्तृत वैज्ञानिक रिपोर्ट प्रकाशित भयो युनिभर्सिटी अफ् बफेलोकी वैज्ञानिक शार्लट् लिङ्क्वीस्टद्वारा ‘प्रोसिडिङ्गस् अफ् द रोयल सोसाइटी’ जर्नलमा ।
    विभिन्न हिमाली भेगबाट संकलित ‘यतीका अंग र छाला’ हरूको जेनेटिक अनुसन्धानपछि निक्र्योल भयो– सबै ‘स्पेसिमिन’ एक न एक परिचित हिमाली भालु प्रजातिसँग सम्बन्धित रहेछ । कुनै रौं हिमाली ‘ब्राउन बेर’ को, कुनै हिमाली ‘ब्ल्याक बेर’, कुनै केको … ।
    अध्ययन गरिएका सबै अंग यतीका नभएपछि बाँकी रह्यो विभिन्न बेला यतीको ‘साइटिङ’ को सन्दर्भ, यसलाई पनि अन्य प्रमाण नहुनुको कारण कल्पनामा आधारित नै भन्नुपर्‍यो ।
    बाँकी रह्यो, एरिक शिप्टनले मेलुङ्सेमा खिचेका ती तस्वीरहरू । तिनले कुनै प्राणीको पाइलाको डोब प्रष्टै देखाउँछन् । अन्य प्रमाण नभेटिएको सन्दर्भमा यी तस्वीरहरूबारे पनि पहिल्यै केही वैज्ञानिकले लगाएको अड्कल दोहोर्‍याउनुपर्ने हुन्छ– ती पाइलाहरू कुनै हिमाली भालुका हुन् र घामको रापले किनारको वरफ पगालेका कारण मानिसको जस्तो ठूलो देखिन गएको ।

    यती जस्तो प्राणी थियो नै भने कतै न कतै कसैले एउटा प्रष्ट तस्वीर वा भिडियो खिचेको हुनुपर्ने थियो, यतीको बासस्थान भएको प्रमाण जुट्नुपथ्र्याे अथवा मरेको यतीको लास या अस्थिपञ्जर या कुनै अवशेष भेटिनुपथ्र्याे । यती जस्तो ठूलो जीउडालको प्राणी संसारका आँखाबाट आजसम्म बाहिर रहिरहनु सम्भव छैन ।
    यद्यपि, यती छैन भन्नु भन्दा छ भन्नुमै रोमान्स छ । यती प्राणी भइदिएको भए कति गज्जब । तर विज्ञानको आड लिई भन्नु नै पर्ने हुन्छ– यती अस्तित्वमा रहेनछ । गुडबाई यती !

    Comment

    Related News 

    © 2016 All right reserved to

    %d bloggers like this: