नेपालको आर्थिक विकास र सम्वृद्धिका लागि चुनाव महत्वपूर्ण : प्रमुख आयुक्त


काठमाडौं । बिहीबार हुने दोस्रो चरण अन्तर्गतको प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । बुधबार निर्वाचन आयोगमा गरिएको पत्रकार सम्मेलनमा सुरक्षाकर्मीबाहेक १ लाख ५५ हजार कर्मचारी सबै ठाउँमा पुगिसकेको आयोगले जनाएको छ ।

निर्वाचन आयोगमा बुधबार गरिएको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले अहिलेको चुनावले लामो समयदेखिको संक्रमणकालको अन्त्य गर्ने बताउनुभयो । प्रमुख आयुक्त यादवले यो चुनाव संविधान कार्यान्वयनका लागि महत्वपूर्ण खुड्किलो भएको भन्दै ऐतिहासिक चुनावमा सहभागी हुन सबैलाई आग्रह गर्नुभयो । देशका केही ठाउँमा भएका छिटफुट घटनासँग नडराई मतदानमा सहभागी हुन यादवले आग्रह गर्नुभयो ।

प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले चुनावबाट नेपालको संविधान कार्यान्वयन भई संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ हुने र राज्यको पुनर्संरचना व्यवहारमै लागू भएर विद्यमान सङ्क्रमणकालको अन्त्य हुने बताउनुभएको छ । उहाँले सबै मतदातालाई मतदानमा सहभागी भई नेपाललाई दीगो आर्थिक विकास र समृद्धिको मार्गमा लैजान आ–आफ्नोतर्फबाट योगदान पुर्‍याउन आग्रह गर्नु भएको छ ।

दोस्रो चरणमा चुनाव हुने प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्रमा र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्रका ७ हजार ७५२ मतदान स्थलका १५ हजार ३४४ मतदान केन्द्रमा मतदान हुने व्यवस्था गरिएको आयोगले जनाएको छ ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: