पर्सामा घरदेखि मतदानस्थलसम्म मतदाताको सुरक्षा, ६ हजार सुरक्षाकर्मी परिचालन


वीरगंज । बिहीबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदान गर्न जाने मतदाताको घरदेखि मतदानस्थलसम्म सुरक्षा व्यवस्था कडा पारिएको स्थानीय प्रशासनले जनाएको छ।

पर्साका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले मतदाताले प्रयोग गर्ने बाटोभरि सुरक्षा व्यवस्था कडा पारिएकाले ढुक्क भएर मतदान गर्न आह्वान गरेका छन्।

मतदाता हिँड्ने बाटोभरि नेपाली सेना तथा प्रहरीको मोबाइल गस्ती टोलीले गस्ती गर्ने भएकाले मतदाता सुरक्षित मतदानस्थल पुगेर आफ्नो मताधिकार प्रयोग गर्न पाउने उनले बताए।

पर्साका सबै मतदान केन्द्रमा आवश्यक हातहतियार र बन्दोबस्तीका सामानसहित सुरक्षाकर्मी परिचालन गरिसकिएको छ।

मतदान केन्द्रमा नेपाल प्रहरी, त्यसभन्दा बाहिर सशस्त्र प्रहरी र नेपाली सेना रहने गरी तीन घेरामा निर्वाचन सुरक्षा व्यवस्था मिलाइएको छ।

मतदानस्थल वरिपरि कुनै पनि अवरोध एवं अवाञ्छित गतिविधि हुन नदिन सशस्त्र प्रहरीको उपस्थित बाक्लो बनाइएको मध्यक्षेत्रीय सशस्त्र प्रहरी बल पथलैयाका प्रहरी नायब महानिरीक्षक कवीन्द्रमान श्रेष्ठले जानकारी दिए।

निर्वाचनलाई शान्तिपूर्ण तथा भयरहित वातावरणमा सम्पन्न गर्न पर्सामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी तथा नेपाली सेना गरी करिब ६ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ।

पर्साका १६७ मतदानस्थलमध्ये ७३ वटा मतदानस्थल अतिसंवेदनशील भएकाले ती मतदानस्थलमासमेत सुरक्षा व्यवस्था कडा पारिएको छ।

सीमावर्ती भारतसँग सीमा जोडिएका पर्साको १०७ किलोमिटरमा पर्ने करिब दुई दर्जन सानाठूला नाका भएकाले ती नाकामा दुबैतर्फका सुरक्षाकर्मीले विशेष निगरानी गरेका प्रजिअ सिंहले जानकारी दिए। चार निर्वाचन क्षेत्र रहेको पर्सामा दुई लाख ९९ हजार ५४ मतदाता छन् । रासस

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: