समृद्ध र विकसित मुलुक बन्ने लक्ष्यमा दृढ रहेकाे चीनमा रहँदाकाे अनुभव


मेरो चीन बसाई र भोगाईबारे फेरी अर्को एउटा लेख लेख्ने जमर्को गरेको छु । चीन सरकारले यसबर्ष विश्वभरका ३० हजार विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिएर पढाईरहेको छ , त्यसमध्ये एक विद्यार्थीमा म पनि पर्छु, जो एक बर्षे एल.एल.एम अध्ययन गर्न चीन आएको ४ सहिना पूरा भईसकेको छ । यसबिचमा मैले देखेका र भोगेका थोरै कुरा अघिल्लो लेखमा यसै अनलाईन मार्फत प्रकाशित गरिसकेको छु । थप बिषयमा लेख्ने प्रतिबद्घता अनुसार यस लेखमा थप कुराहरु खुलेर लेख्ने जमर्को गरेको छु ।

मेरो एक सेमेस्टर कक्षा सकिइसकेको छ । मैले यतिबेला सम्म थुपै्र बिषय पढ्ने, देख्ने र भोग्ने मौका पाएँ । मैले अध्ययन गरिरहेको बिषय कानूनमा ‘ईन्टरनेशलन ईकोनोमिकल ल’ भएपनि ‘चिनिया विशेषता सहितको समाजवाद’ ले कसरी सफलता हासिल गरिरहेको छ भन्ने थाहा पाउन त्यही विषयको छुट्टै कक्षा भने चाहिएन । कानूनकै बिषय पढाउँदा पनि हरेक बिषयको लेक्चरमा चिनियाँ प्रोफेसर यो या त्यो उदाहरण दिँदै चीनले गरीरहेको प्रगतिबारे बोल्न छुटाउँदैनन् । चिनियाँ विशेषताको समाजवाद के हो ? र चीनले आर्थिक प्रगति कसरी गरिरहेको छ ? क्रान्ति सम्पन्न भएको ६८ वर्षमा चीन गुणात्मक तवरले कसरी बदलिएको छ भन्ने कुरा सगर्व उनी बताउँदछन् ।

चीन १९४९ को चरम अनिकालले गुज्रेको मुलुकबाट अहिले विश्वको दोस्रो आर्थिक महाशक्तिका रूपमा रूपान्तरित भइसकेको तथ्य सबैका सामु स्पष्ट नै छ । अहिले विश्वको आर्थिक वृद्धिदर सालाखाला २.५ प्रतिशत छ, विकासशील मुलुकको सरदर ४ प्रतिशत छ, तर चीनको वृद्धिदर भने औसत ७.२ प्रतिशत छ । यसमा अब कुनै द्विविधा छैन कि यही गतिमा हिँडिरहे अबको १० वर्षमै चीनले अमेरिकालाई भेट्टाउने छ । उनीहरुको लक्ष्य नै पनि यहि छ । जो यीनीहरु हाकाहाकी भन्छन् । त्यसपछि चीन विश्वकै पहिलो आर्थिक महाशक्ति बन्नेछ । अहिले संसारमा सबैभन्दा ज्यादा विदेशी विनिमय सञ्चिती चीनसितै रहेको छ, जुन सेप्टेम्बर २०१७ सम्ममा ३.१०९ हजार अर्ब डलर पुगेको छ । त्यस्तै यतिबेला चीन औद्योगिक हिसाबले विश्वकै सबैभन्दा ठूलो वस्तु निर्माणकर्ता र निर्यातकर्ता मुलुक भएको छ । कृषि उत्पादनमा पनि चीन विश्वको सबैभन्दा ठूलो उत्पादनकर्ता भइसकेको छ । अहिले विश्वमा सबैभन्दा ज्यादा विदेशमा लगानी गर्ने मुलुक पनि चीन नै हो । संसार भ्रमण गर्न हिँड्ने पर्यटक मध्ये सबैभन्दा ज्यादा र खर्चालु पर्यटक चीनबाटै निस्कन्छन् भन्न थालिएको छ ।

वास्तवमा चीनमा भएको औद्योगिक र प्राविधिक क्रान्ति अचम्म लाग्दो छ । चीनमा आजभन्दा ११ वर्ष अघिसम्म एक किलोमिटर लामो अति उच्च गतिको रेलवे ट्रयाक पनि थिएन । तर आज एक दशकमै प्रतिघन्टा ४३१ किलोमिटर कुद् नसक्ने विश्वको सबैभन्दा छिटो बुलेट ट्रेन माल्भेव पनि चीनसितै छ र सबैभन्दा ज्यादा गतिमा ट्रेन कुँद्ने रेलवे लाइन पनि यहीँ बनेको छ । जुन २२,००० किलोमिटर लामो छ ।

चीनले यस बीचमा विश्वलाई नै चकित बनाउने गरी २०१६ मा चीनमा गरिबीको रेखामुनिको जनसंख्यालाई ३.३ प्रतिशतमा ओरालिएको छ, जबकि यही साल अमेरिकामा भने १२.७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेका छन् । त्यस्तै २००३ सम्ममा चीनको सहरी क्षेत्रका ४० प्रतिशत र ग्रामीण क्षेत्रको करिब ८० प्रतिशत जनसंख्यासित कुनै पनि स्वास्थ्य बिमाको सुविधा थिएन । तर ८ वर्षकै अन्तरालमा २०११ मा तीनवटा अलग–अलग बिमा कार्यक्रम मार्फत चीनका ग्रामीण र सहरिया गरी सरदर ९५ प्रतिशत भन्दा ज्यादा जनसंख्यालाई स्वास्थ्य बिमाको छातामुनि पुर्याइसकेको छ । फैलावट र गतिका हिसाबले अहिले चीनको स्वास्थ्य बिमा कार्यक्रमलाई मानव इतिहासमै सबैभन्दा विशाल र गतिवान बिमा कार्यक्रम मानिएको छ । यतिखेर चीनको बढ्दो आर्थिक तथा व्यवस्थापकीय क्षमताले चिनियाँ नेतृत्वको मानसिकतामा ठूलो परिवर्तन ल्याएको देखिन्छ ।

चीनको पछिल्लो आर्थिक सुधारको पहिलो विन्दु नै सन् १९७८ लाई मानिन्छ । तङ सियाओ पिङको नीतिलाई पछ्याउँदै अगाडि बढेको चीनले १९८७ मा चिनियाँ कम्युनिस्ट पार्टीको तेह्रौं सम्मेलनबाट ‘तीन चरणको रणनीति’ पारित ग{यो । जसमा पहिलो चरणमा १९९० सम्म आय वृद्धि दोब्बर गर्ने, सन् २००० सम्म जनताको जीवनस्तर राम्रो बनाइसक्ने र शताब्दीको आधासम्म विकसित मुलुकको सूचीमा पुग्ने, आधुनिक र समृद्ध बन्ने । यही रणनीति अन्तर्गत चीनले आर्थिक प्रगति गरिरहेको छ । अहिले तेस्रो अर्थात् आधुनिक र समृद्ध बन्ने चरणमा छ ।

१९७८ मा चीन विश्व व्यापारको ३२ औं नम्बरमा पथ्र्यो । क्लोज इकोनोमी थियो । त्यसयता खुला अर्थतन्त्र अँगालेको चीन अहिले उक्त सूचीमा पहिलो नम्बरमा उक्लिसकेको छ । सन् २०१० देखि विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक बनेको छ । सन् १९७८–२०१६ को तुलना गर्ने हो भने सहरियाहरूको आय ३४३ युआनबाट बढेर ३३ हजार ६ सय १६ पुगेको छ । गाउँलेहरूको आय १३४ बाट बढेर १२ हजार ३ सय ६३ पुगेको छ । अर्थात् औसत साढे ७ प्रतिशतको आर्थिक वृद्धिसँगै प्रतिव्यक्ति आय झन्डै १५ गुणा बढेको छ । अब चीनको मुख्य ध्यान नै कसरी आर्थिक रूपमा पहिलो मुलुक बन्ने भन्नेमा नै केन्द्रित छ ।

आजको समृद्ध चीन निर्माण गर्न मुलत दुई नेताको योगदान छ – चेयरमेन माओ र देङ सियाओ पिङको । त्यसपछीका सबै राष्ट्र प्रमुखहरुको योगदान राम्रो रहेको र हालका राष्ट्रपति सि जिङ्ग पिङ्गको कार्यकालमा तिव्र आर्थिक विकास गर्न चीन सक्षम भएको अवस्था छ । हुन पनि चीनियाँ राष्ट्रपतिको महत्वकांक्षा नै हेरौं न, अब त चीन विश्वबजार कब्जा गर्र्न ‘वन रोड वन बेल्ट’ (एकै बाटो, एकै पाटो) नीतिअनुसार ‘सिल्क रोड’ आर्थिक क्षेत्र बनाउन लागिपरेको छ । यो मामिलामा राष्ट्रपति सी र अन्य नागरिकले बोल्ने भाषा करिब एउटै छ । त्यसैले ५ बर्षका लागि राष्ट्रपतिमा सि जिङ्ग पिङ्ग नै चुनिएका छन । हरेक विषयको उदाहरण चीनियाँहरू अमेरिकासँंग

तुलना गरेर दिन्छन् । कक्षामा प्रोफेसर र गेस्ट प्रोफेसरहरू जो कसैले पनि अरू मुलुकको नामै लिँदैनन तुलना गर्न अमेरिका बाहेक । ‘अमेरिकाले यो गरिरहेको छ’, ‘हामी यो गर्दै छौं’ र ‘यहाँ पुग्छौं’ भन्ने वाक्यांश हरेक प्रशङ्गमा पटक–पटक दोहो¥याइरहेका हुन्छन् । त्यो लक्ष्य हासिल गर्ने बाटो भनेको ‘चिनियाँ विशेषता सहितको समाजवाद’ हो भनी सी विचारधाराको प्रशंसा गर्न कसैले छुटाउँदैनन् । यस पटकको नेशलन कंग्रेसबाट त सी विचारधारा नै पास गरिएको छ । जसले राष्ट्रपति सी सर्बशक्तिमान नेता भएका छन् ।

हुन पनि हो, पूर्वाधार, व्यापार, आविष्कार, प्रविधिमा चीनले गरेको प्रगतिको प्रमाण आँखैले देखेपछि उनीहरूका सपना झूटा लाग्दैनन् । चीनका पाँंच ठूला मध्येमा पर्ने सांघाई, बेइजिङ, गोन्जाउ, कुन्मिङ्ग र होन्जाउ लगायतको भ्रमणका क्रममा देखिएका विकास र प्रगति खास छ । चिल्ला फराकिला सडक, गगनचुम्बी भवन, बाहिरबाट हेर्दा झट्ट देखिने विकासका सूचक हुन् । तर ती गगनचुम्बी भवनभित्र भइरहेका र देखिने काम त्योभन्दा बढी विकसित खालका छन् ।

सांघाईलाई त चिनियाँहरुले ईकोनोमिक जोन नै भन्दछन् । जुन सहर विकासको नमुना नै छ । पूर्ण रूपमा वातावरणीय सन्तुलत कायम गर्ने गरी विकास गरिएको यो झण्डै ३ करोड आवादी भएको सहर छिर्दा पनि अर्कै संसारमा पुगेजस्तो अनुभव हुँदो रहेछ । यो सहर र क्षेत्र हेर्दा राष्ट्रपतिले सी जिङ्ग पिङले १९ औं सम्मेलनमा गरेको वातावरणमैत्री सहर र प्रविधि विकासको उद्घोष व्यवहारमा कार्यान्वयन भइरहेको र कतिपय भइसकेको भान हुन्छ । वातावरणमैत्री अभियानलाई सफल पार्न सहरकै बिचमा पनि कृत्रिम नदीहरु बनाउने क्रम चीनमा बढिरहेका छन् ।

चीन अरूको ‘कपी’ मात्र गर्छ भन्ने होइन । उसका आफ्ना उत्पादनले अहिले विश्व बजारमा कब्जा जमाइरहेका छन् । चिनियाँ माल कमसल मात्र हुन्छ भन्ने होइन । मान्छेको क्रयशक्ति अनुसार आवश्यकता बमोजिमका मालहरु यहाँ तयार हुने रहेछन् । आफ्नो आवश्यकता अनुसार जस्तो गुणस्तरको सामान पनि भेटिन्छ । कुनै बेला अरूसँग प्रविधि सिक्नुपर्ने समेत अवस्थाबाट गुज्रिएको चीन अहिले आफ्नै आविष्कार अरूलाई निर्यात गर्ने अवस्थामा पुगिसकेको छ । चीनको सबैभन्दा ठूलो र तीव्र गतिको रेल सञ्जाल र प्रविधिले विश्वको ध्यान खिचेको छ । अहिले चीनले ‘नयाँ प्रविधिको­ ‘एयरक्राफ्ट’ निर्माण गरेर ‘सी ९१९’ को सफल परीक्षण गरीसकेका छन् । त्यसैगरी वायु उडानको ईतिहासमा नयाँ आयाम दिँदै बायो ग्यासले ‘एयरक्राफ्ट’ चीनदेखि अमेरिकाको चिकागो सम्म उडान परीक्षण गरीसकेका छन् । संसारका अन्य ठूला मोबाइल कम्पनीहरूकै हाराहारीमा पुगेका छन् चिनियाँ कम्पनीहरू । ओप्पो र हुवावे जस्ता ब्रान्डले अहिले संसारका धेरै मुलुकमा राम्रो व्यापार गरिरहेका छन् । कुनै बेला एप्पलको आइफोनका लागि चिनियाँहरू मरिहत्ते गर्थे रे । तर अझ राम्रो फिचर भएका मोबाइल सस्तोमा पाउने भएपछि बिस्तारै आइफोन प्रतिको आकर्षण घटिरहेको देखिन्छ । चिनीयाँहरू पश्चिमा विश्लेषण माथि दिमाग ख्याउने झन्झट गर्दैनन् । केवल आफ्नो आत्मविश्वास प्रकट गर्छन् ।

चिनियाँ प्रविधि सिक्न अन्य विकसित मुलुकहरूबाट चीन भित्रिनेको संख्या पनि पछिल्लो समय बढेको छ । कुनै बेला अन्य देशमा सिक्ने जाने चिनियाँहरू अहिले आफ्नो देशमा पढ्न र सिक्नका लागि बोलाउने गर्छन् । चिनियाँ विश्वविद्यालयहरूले विदेशीहरूको छात्रवृत्तिको संख्या बढाएका छन् । हालैका बर्षहरुमा चिनियाँ विश्वविद्यालयहरूमा करीब ३० हजार विदेशी विद्यार्थीहरु पूर्ण छात्रवृत्तिमा पढिरहेका छन् । त्यसैगरी आफ्नो विकास र प्रगतिको कथा सुनाउन, देखाउन समाजका विभिन्न क्षेत्रका अगुवाहरुलाई उनीहरूले बर्षेनी हजारौं विदेशीलाई सेमिनार र भ्रमणका लागि निम्त्याउँछन् । र, ती भ्रमण–सेमिनारमा ‘चिनियाँ विशेषताको समाजवाद र आर्थिक प्रगति’ शीर्षकका विषय भने सम्भवत छुट्दैनन् ।

इन्टरनेट प्रविधिलाई प्रयोग गरेर डिजिटल कारोबार गर्ने क्रम बढेको छ । यसले बिस्तारै पुरानो बजार प्रणालीलाई धक्का दिइरहेको छ । चीनको ‘अलिबाबा’ कम्पनी नै त्यस्तो एउटा सफल उदाहरण हाे, जो अनलाइन व्यापारबाटै धनी बन्ने विश्वका दसवटा धनी कम्पनीहरू मध्ये पर्छ । चिनियाँ सामान बिक्री गर्नका लागि ज्याक माले १९९९ मा खोलेको ‘अलिबाबा डट कम’ वेब पोर्टलले अहिले अनलाइन व्यापारको साम्राज्य खडा गरिरहेको छ । कुनै बेला चिनियाँहरूलाई अंग्रेजी सिकाउने यी दार्शनिक गुरुले अमेरिका पुगेपछि चिनियाँ सामान बिक्री गराउने ‘आइडिया’ अनुसार यो वेबसाइट खोलेका थिए । एउटा कोठाबाट सुरु गरेको उनको व्यापारको सञ्जाल संसारका झन्डै २०० मुलुकमा पुगिसकेको छ ।

पछिल्लो तथ्यांक अनुसार मासिक झन्डै ५५ करोड भन्दा बढी मोबाइल फोन प्रयोगकर्ताहरूले अनलाइन मार्फत् अलिबाबासँग कारोबार गर्छन् । राम्रा सामान उत्पादन गर्ने बित्तिकै कम्पनीहरू ‘अलिबाबा’ संँग पुग्छन् र किन्न चाहने ग्राहकहरू पनि मोबाइलको कि प्याडमा औंला दबाउँदै सम्पर्क गर्छन् । व्यस्त जीवनशैली र गुणस्तरीय सामान खोज्ने मानिसलाई ‘अलिबाबा’ को जस्तो अनलाइन कारोबारले सजिलो बनाइदिएको छ । अलिबाबा त एउटा उदाहरण मात्र हो, यस्ता धेरै कम्पनी चीनमा चलिरहेका छन् । प्रविधिको प्रयोग गरेर सामाजिक संजाल ‘वी च्याट’लाई अझ विकसित ‘वी च्याट’बाट क्यू आर स्क्यानिङ्ग गरेर रकम भुक्तानी गर्ने प्रविधिले नगद कारोवारलाई करीब–करीब विस्थापित गर्ने तहमा पुगिसकेको छ । ‘अली पे’ को माध्यमले रकमको भुक्तानी र ट्रान्सफरमा त्यस्तै क्रान्ति ल्याईसकेको छ । सम्भवत चीन यो शताब्दीको मध्य सम्म विश्वकै समृद्ध र विकसित मुलुक बन्ने लक्ष्य पूरा गर्न सफल हुनेछ ।

‘पछिल्लो समय चिनियाँ नेतृत्वले भ्रष्टाचार अन्त्य, रोजगारी सिर्जना र प्रविधि विकास जस्ता कदम चालेकोप्रति जनता खुसी छन् र यही नेतृत्वले थप प्रगति गराउन सक्छ भन्नेमा विश्वस्त पनि छन् । वास्तवमा चीनका जनताले भरोसा गर्ने नेतृत्व छ भने यसमा अरूले टाउको दुखाइराख्नुपर्दैन । ‘चिनियाँ विशेषता सहितको समाजवाद जस्तो राजनीतिक प्रणाली चिनियाँ कम्युनिस्ट पार्टी र चिनियाँ जनताको सिर्जना हो । चीन आएको चार महिना बित्दै गर्दा एउटा निष्कर्षमा पुग्दैछु वास्तवमा चुस्त व्यवस्थापन र भिजन सहितको मिसनले यो देश अब्बल बन्दै रहेछ । हाम्रो जस्तै भौगोलिक विकटता हु‘दाहुदै पनि चीनले हरेक क्षेत्रमा लोभलाग्दो प्रगति गरेको छ ।

हाम्रो नजिकको छिमेकि मुलुक चीनले गरेको तीव्र विकासलाई नजिकबाट नियाल्नै पर्छ । साथै यहाँबाट सिप र प्रविधिको सहायता लिँदै दृढ ईच्छाशक्ति राखेर हामीले हाम्रो देशमा आर्थिक क्रान्ति गर्न अब पछि पर्नु हुँदैन । आर्थिक विकासका दृष्टिले हामी गरिबी र पछौटेपनबाट मुक्त हुन नसक्नुका कारण दृढ ईच्छा शक्तिको कमी र उपयुक्त नेतृत्वको कमी नै भएको मैले महसुस गरेको छु । हाम्रा अरु कमजोरीहरुलाई समेत बेलैमा आत्मसमिक्षा गरी पहिचान गरी उन्नत भविष्यको मार्गचित्र कोर्न हामीले अब कत्ति पनि ढिला गर्नु हुँदैन । अन्यथा भावी सन्ततिले केवल हाम्रा नेताजीहरु र कर्मचारीतन्त्रलाई मात्रै हैन, हामी सबै सचेतजनलाई समेत धिक्कार्ने छन् । नजिकको छिमेकि हुनुका नाताले चीनबाट प्रबिधि भित्र्याउन हामीलाई गाह्रो पनि पर्दैन । भारतले जस्तो हाम्रो आन्तरिक मामलामा हस्तक्षेप पनि गर्दैन । त्यसैले चीनको समाजवादी लोकतन्त्रका सबल र विशिष्ट विशेषतालाई अब हामीले पनि पछ्याउन तयार हुने पो हो कि ? यसप्रति गम्भिर बहस गर्न तयार हुने पो हो कि ?

बिकास गिरी, हाल सांघाई, चिनमा अध्ययनरत

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: