ग्रिल उद्योग : २० हजारलाई तत्काल रोजगारी दिन सकिने क्षेत्र


नेपालमा अहिले पनि करिब ११ हजार ग्रिल उद्योगहरु सञ्चालनमा छन् । यी उद्योग मार्फत हामीले जनशक्तिमा दक्षता भए २० हजार व्यक्तिहरुलाई रोजगारी दिन सक्छौं । अहिले नेपालमा ग्रिलको क्षेत्रमा काम गर्ने दक्ष र अर्धदक्ष जनशक्तिको सङ्ख्या करिब १ लाख ६० हजार छ ।

 

नेपालमा अहिले ग्रिल तथा स्टिलको क्षेत्रमा २ लाख देखि ५ करोड सम्मको पुँजीमा सञ्चालित उद्योगहरु सञ्चालनमा छन् । त्यस मध्ये अधिकांश साना तथा मझौला उद्योगहरु नै बढी मात्रामा सञ्चालित छन् । सीपमूलक काम भएको कारण यस क्षेत्रमा सानै लगानीमा पनि स्वरोजगार बन्न सकिने किसिमले लगानी हुँदै आएको छ । यद्यपि पछिल्ला बर्षहरुमा यस क्षेत्रमा काम गर्ने क्रममा नयाँ अभ्यास भइरहेको छ । ठूलो लगानीका उद्योगहरु अहिले करिब २ दर्जनको हाराहारीमा मात्र हुनुपर्छ ।

अहिले पनि नेपालमा ग्रिल तथा स्टिलको क्षेत्रमा प्रयाप्त सम्भावनाहरु छन् । जसले गर्दानेपालमा यस क्षेत्रमा निकै नै राम्रा अवसरहरु सृजना भएका छन् । तर त्यस बमोजिम प्रयाप्त सीपमूलक दक्ष जनशक्ति भने उपलब्ध हुन सकेको छैन । हामीले यसै योजना बमोजिम नै कार्यस्थलमा आधारित अन द जब ट्रेनिङ शुरुवात गरेका हौं । जुन निकै नै महत्वपूर्ण र उपलब्धिमूलक भएको हामीले महसुस गरेका छौं ।

माेहन कटुवाल, अध्यक्ष, ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपाल

अहिले नेपालमा भएका दक्ष जनशक्तिहरु विभिन्न उद्धेश्य र बाध्यताले नेपालबाट विदेशिइरहेको र कामको निम्ति जनशक्ति पाउने अवस्था नरहेको कुरालाई लक्षित गरेर हामीले कार्यस्थलमा आधारित मुल्यांकन प्रणाली सहितको विशेष कार्यक्रम सञ्चालन गरेका हौं । यस किसिमको तालिम लिएका व्यक्तिहरु नेपालमा मात्र नभई विदेशमा नै गएर काम गर्ने क्रममा पनि योग्य ठहरिन्छन् । हाल यस तालिमको निम्ति आइएलओले सहयोग प्रदान गरेको छ । जुन साँच्चिकै प्रभावकारी समेत बनेको छ ।

सम्भावनाको क्षेत्र ग्रिल :
नेपालमा अहिले पनि करिब ११ हजार ग्रिल उद्योगहरु सञ्चालनमा छन् । यी उद्योग मार्फत हामीले जनशक्तिमा दक्षता भए २० हजार व्यक्तिहरुलाई रोजगारी दिन सक्छौं । अहिले नेपालमा ग्रिलको क्षेत्रमा काम गर्ने दक्ष र अर्धदक्ष जनशक्तिको सङ्ख्या करिब १ लाख ६० हजार छ ।

ग्रिलको महत्व :
कम लागत, प्रयोगमा सहज, आवश्यकता बमोजिम सजिलै अर्को क्षेत्रमा लैजान समेत सकिने, लगायतका विशेषताहरु रहेको कारण ग्रिललाई विशेष महत्वको साथ हेर्ने गरिन्छ । नेपालमा राजनीतिक अवस्था स्थिरताको दिशामा गइरहेको र मुलुक विकासको दिशामा नै अघी बढ्ने अवस्था देखिएकोमा नेपालमा नै रहेर पूर्वाधारको विकास गर्नुपर्ने आवश्यकता छ । यस क्रममा सबैभन्दा पहिले फलामका सामानहरु नै आवश्यक पर्ने हुन्छ । यसको साथै अहिले ग्रिलको प्रयोग बढेसँगै वन विनाश रोक्न र वातावरण संरक्षणमा समेत विशेष सहयोग पुगेको पाइएको छ भने एकपटक प्रयोग गरिएका ग्रिलजन्य सामानहरुलाई पुःन प्रयोगमा ल्याउन सकिने अवस्था समेत छ ।

कार्यस्थलमा आधारित तालिमको महत्व :
अहिले सम्म जसरी विभिन्न तालिमहरु देखावटी मात्र भएका छन्, त्यसरी नै अब प्रदान गरिने तालिम समेत केवल प्रमाणपत्र वितरणमा मात्र सीमित हुनुहुँदैन । हाम्रो मुख्य उद्धेश्य पनि यही हो । हामीलाई आवश्यक पर्ने जनशक्तिको महत्व बुझेर अहिले राज्यले नै यस किसिमको तालिमलाई सरकारले आफ्नो योजनामा नै ल्याइसकेको छ । हामी राज्यले ढिलै भएपनि यसप्रति आँखा खोलेकोमा कृतज्ञ छौं ।

तत्काल ग्रिल क्षेत्रमा ४ सयलाई तालिमको अवसर :
अहिले तत्काल नेपाल सरकारले यस क्षेत्रको तालिमको निम्ति ४ सयको दरखास्त आह्वान गरेको छ । संस्थागत मात्र नभई हामीले व्यक्तिगत रुपमा पनि यस किसिमका कार्यक्रमहरु गर्नको निम्ति निरन्तर रुपमा पहल गरिरहेका छौं । हामीले कन्स्ट्रक्सन सम्बन्धी अन्य क्षेत्रका व्यक्तिहरुलाई पनि संगठित गर्दै सहकार्यको साथ अघी बढेका छौं ।
अहिले सम्म नेपालमा यस किसिमका कामहरुमा पढेलेखेका युवाहरु आकर्षित हुन नसकेको कुरालाई हामीले विशेष लक्षित गरेका छौं । काम आफैंमा श्रममा आधारित रहेको, कार्यालयमा मात्र नभई फिल्डमा नै पुगेर काम गर्नुपर्ने, कालो धुलो मैलो लाग्ने, लगायतमा काम गर्नुपर्ने अवस्थामा हामीले काममा केही नयाँपन ल्याउनको निम्ति अब ४ सय जनालाई तालिम दिन लागेका हौं ।

अन दि जब ट्रेनिङ संस्थागत गर्नु जरुरी :
अहिले सम्म यस क्षेत्रमा काम गरेको हेरेको भरमा मात्र काम सिक्ने हुनाले सबै किसिमका सैद्धान्तिक ज्ञान नेपालका जनशक्तिलाई उपलब्ध गराउन नसकिएको र यस्ता तालिमहरु केही व्यक्तिहरुलाई सम्बन्धित उद्योगहरुमा माथिल्लो तहका व्यक्तिहरुले मात्र सिकाउने भएको कारण काममा नयाँपन ल्याउन सकिएको छैन । यस्तो अवस्थामा नेपालमा अन दि जव टे«निङलाई संस्थागत गर्ने पहल हामीले गरेका छौं ।

विशेष सजगता आवश्यक ः
काम गर्ने क्रममा हुन सक्ने सम्भावित दुर्घटनाहरुलाई कमी गर्नको निम्ति ग्रिल उद्योग सञ्चालनको ध्यान खिच्ने र स्तरीयतामा जानको निम्ति हामीले पहल गरेका छौं । यस क्रममा त्यसको न्यूनतम मापदण्ड लागु गर्नु जरुरी छ । उद्योग सञ्चालनको क्रममा वातावरणमा पर्ने प्रभावलाई न्यून गर्ने, सुरक्षालाई विशेष प्राथमिकताको साथ अबलम्बन गर्ने साथै ग्रिल तथा स्टिल जस्ता श्रममूलक उद्योगमा काम गर्ने जनशक्तिलाई तलबको अलावा बीमा, स्वास्थ्य उपचार लगायतका अवसरहरु समेत सृजना गरिनु जरुरी छ ।

आवश्यकता बमोजिम मात्र उद्योग स्थापना आवश्यक ः
अहिले नेपालमा उद्योगहरु दर्ता गर्ने क्रममा राज्यले त्यति चासो दिन नसकेको कुरालाई दृष्टिगत गरी काममा गुणस्तरीयता ल्याउने किसिमले न्यूनतम पूर्वाधार पूरा गरेका उद्योगहरुलाई मात्र निश्चित सङ्ख्यामा दर्ता गर्ने व्यवस्था गर्नु आवश्यक छ । यसो हुन सकेको खण्डमा सञ्चालनमा रहेका उद्योगहरुलाई व्यवस्थित गर्न सहज हुन्छ भने कर्मचारीहरुलाई पनि तोकिएको न्यूनतम सुविधा प्रदान गर्न सहज हुन्छ । यसलाई बाध्यकारी गराउनुपर्छ ।
अहिले नेपालमा निजी क्षेत्र काम गर्ने मान्छे छैन भन्ने किसिमले आफूलाई जिम्मेवार नबनाई तर्कने अवस्था छ । अब यसरी हुँदैन । निजी क्षेत्र समेत जिम्मेवार बन्नु जरुरी छ । नेपालमा सञ्चालनमा रहेका निजी उद्योगहरुले पनि अब काममा तत्परता देखाउनु जरुरी छ ।

अब हामीले तालिमको लागि तालिम नदिइ देशका कुन क्षेत्रमा कस्ता उद्योग र कस्ता जनशक्ति आवश्यकता पर्छन्, त्यसै बमोजिमका उद्योगहरु सञ्चालनको निम्ति पहल गर्नु जरुरी छ । साथै हामीले जसरी सरकारी क्षेत्रमा शाखा अधिकृतबाट शुरु भएको जागिरे माथिल्लो तहसम्म पुग्छ, त्यसरी नै निजी क्षेत्रका प्राविधिकहरुलाई पनि कार्यदक्षता र अनुभवको आधारमा गे्रडिङ गर्ने हो भने उनीहरुलाई आफ्नो काममा गर्व गर्ने वातावरण बनाउन सकिन्छ, भन्ने कुराको ड्राफ्ट हामीले बनाउँदै छौं । यसको निम्ति म आफैं पनि काम गरिरहेको छु । राज्यले पनि यस सम्बन्धमा नियमावली बनाउँदैछ । यसको साथै नेपालमा विदेशबाट आउने कामदारलाई करको दायरामा निश्चित प्रणाली र कार्यविधि बनाई त्यसैको आधारमा काम गर्न पाउने व्यवस्था गर्नुपर्ने र उनीहरुलाई जवाफदेही बनाउने किसिमको व्यवस्था गर्नु जरुरी छ ।

विगतमा ग्रिल क्षेत्र ः
नेपालमा निश्चित वर्ग (विश्वकर्मा)ले मात्र फलामको काम गर्नुपर्छ भन्ने मान्यता रहँदै आएकोमा अहिले हामीले कम्तीमा काम प्रति सम्मान र व्यवहार प्रति सदाचार देखाउनुपर्छ भन्ने अवस्थामा समाजलाई अग्रसर बनाउन सकेका छौं । यसमा हामी सन्तुष्ट छौं ।

विश्वबजारमा नयाँ प्रविधिहरु भित्रने क्रम ः
अहिले नेपालमा प्रयाप्त कामदार अभाव छन् भन्ने अवस्थामा पनि विश्वबजारमा भने १ सय जना मानिसले गर्ने काम १ जना मानिसले मेसिनको सहयोगमा गर्न सक्ने प्रविधिहरु पनि विकास भएका छन् । यद्यपि नेपालमा यस किसिमका प्रविधिहरु एक व्यक्ति वा एउटा उद्योगले मात्र सञ्चालन गर्न सक्ने अवस्था रहँदैन । त्यसैकारण यस्ता कामहरु गर्नको निम्ति नेपालमा सञ्चालनमा रहेका उद्योगहरु कम्तीमा कार्यगत तवरले आपसमा मिलेर यसरी ठूला उद्योग खोल्नको निम्ति लगानी गर्नु जरुरी छ ।

राज्यका अस्पष्ट नीति ः
नेपालमा अहिलेको अवस्थामा पनि राज्यका नीतिहरु स्पष्ट छैनन् । उद्योगको वर्गिकरण गर्ने, सबै उद्योगहरुलाई समेट्ने, न्यूनतम पूर्वाधारको व्यवस्था गर्ने लगायतका काममा सरकार चुक्दै आएको छ । यसा हुनुमा मुलुकको अस्थिर राजनीति पनि मुख्य बाधक बनेको थियो । यसको अलावा अब हामीले नेपालमा नयाँ प्रविधि विस्तारमा जानुपर्ने अवस्था छ । हामीले विश्वबजारमा प्रतिष्पर्धामा जानको निम्ति नयाँ प्रविधि विस्तारमा समेत विशेष पहल गर्नु जरुरी छ । यस क्रममा राज्यको समेत सहयोग हुनु आवश्यक छ ।

अहिले पनि निकै ठूलो परिमाणमा आवश्यक सामाग्रीहरु भारत र चीनबाट नै आयात भएका छन् । नेपालमा अहिले पनि ग्रिल तथा स्टिल व्यवसाय क्षेत्र निकै फराकिलो भइसकेको छ । सुरक्षा निकाय देखि घरको सजावट सम्म महत्व बढ्दै गएको ग्रिललाई काठको विकल्पको रुपमा समेत प्रयोग गर्ने प्रचलन बढेको छ भने ठूला पूर्वाधार निर्माणमा समेत ग्रिल अनिवार्य बनिसकेको छ ।

विकसित देशहरूकाे अभ्यास ः
विदेशमा नेपालमा जस्तो उद्योगहरु छरपष्ट हुँदैनन् । देशका निश्चित क्षेत्रमा मात्र उद्योगहरु सञ्चालनमा रहेका हुन्छन् । काम गर्ने क्रममा सुरक्षालाई विशेष महत्व दिइएको हुन्छ । साथै गुणस्तरमा नै विशेष जोड दिइएको छ ।
समग्रमा हेर्दा विदेशमा नियमलाई निकै कडाईको साथ पालना गरिएको छ । तर नेपालमा भने हामीले यसरी नियममा बस्न सकेका छैनौं । सबैले नीतिनियममा नै रहेर काम गर्ने हो भने हामीले नेपालमा राम्रो तवरले काम गर्न नसकिने भन्ने हुँदैन ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: