धुलाम्मे काठमाडौं !

  • धुलाम्मे काठमाडौंको अस्वस्थ जीवन

  • विश्वको धेरै प्रदूषित देशमध्ये नेपाल विश्वमा तेस्रो नम्बरमा पर्छ । त्यसमा पनि राजधानी काठमाडौं धूलो र धुवाँका कारण बढी नै प्रदूषित भएको छ । विशेषतः यतिखेर काठमाडौंको कलंकी–नागढुंगा सडक, कलंकी–सातदोबाटो हुँदै गौशाला, चाबहिल पूरै चक्रपथ र चक्रपथभित्रका सडकहरुसमेत एकदमै धुलाम्मे भएका छन् । पछिल्लो समय काठमाडौंवासी धूलोको समस्याले एकदमै आक्रान्त बनेका छन् । सरकारले तोकेको मापदण्डभन्दा काठमाडौं शहर कैयौं गुणा बढी प्रदूषित भएको छ । सडक विस्तार र मेलम्ची खानेपानीको पाइप विस्तारका क्रममा सडक भत्काइँदा बढेको धूलो अनि अनगिन्ती थोत्रा सवारीसाधनले फालेको धुवाँले काठमाडौंको वायुमण्डलमा प्रदूषणको मात्रा उच्च रहेको छ । धूलो–धुवाँले यहाँको वातावरण प्रदूषित मात्र भएको होइन, राजधानीवासीको स्वास्थ्यमा पनि गम्भीर असर पारिराखेको छ ।

    धूलोको कण मन्द विषजस्तै
    अदृश्य रुपमा फैलिने धूलोका कणहरुले स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ । वातावरण विज्ञ रामचरित्र साहका अनुसार वायु प्रदूषणमा पाइने हेभी मेटल्स, सिलिकनलगायतका हानिकारक तथा क्यान्सिरोजेनस तत्वका कारण मानिसमा दम, खोकी, छातीको संक्रमणजस्ता समस्या बढ्दै गएको छ । वायु प्रदूषणबाट निस्कने हानिकारक ग्यासले स्नायु प्रणालीमा समेत असर पार्ने हुन्छ । साथै वायु प्रदूषणले क्यान्सर नै निम्त्याउन सक्ने पनि साह बताउँछन् । विशेषतः राजधानी काठमाडौंमा प्रदूषणयुक्त धूलोका कणहरु मन्द विषजस्तै फैलिराखेकाले धूलो सोस्ने कुनै आधुनिक प्रविधि भित्र्याएर यसको नियन्त्रण गर्नु जरुरी भइसकेको छ ।

    हावामा भएका २.५ पीएमभन्दा साना कण हामीले श्वास लिँदा सीधै फोक्सोमा पुग्छ, जसलाई नाकका रौं वा सामान्य मास्कले पनि रोक्न सक्दैन । यसले स्वास्थ्यमा गम्भीर प्रभाव पार्छ । विज्ञका अनुसार वायु प्रदूषणका कारण एसिडयुक्त वर्षाको पनि सम्भावना हुन्छ । यस्तो वर्षाले छालाका समस्या निम्त्याउँछ । बढ्दो तथा अव्यवस्थित शहरीकरणले गर्दा वायु प्रदूषण बढ्दो छ । त्यसैले राजधानीवासीले सतर्कता अपनाउनुका साथै सम्बन्धित निकायको समेत ध्यान आकृष्ट हुनु जरुरी छ ।

    वायु प्रदूषणले नाकको एलर्जी

    डा. प्रकाश काफ्ले
    नाक, कान,घाँटी विशेषज्ञ
    ग्रान्डी इन्टरनेसनल हस्पिटल

    पछिल्लो समय वायु प्रदूषणले नाकको एलर्जी धेरै बढेर गएको छ । नाक चिलाउने, हाच्छिउँ आउने, नाक बन्द हुने, सुख्खा हुने, कसै–कसैमा सुख्खा बढी हुँदा रगत आउने पनि हुन्छ । अहिलेको राजधानीको वायु प्रदूषणले टाउको दुख्ने भई पिनासको समस्या पनि बढाउन सक्छ । टाउको दुख्ने, बाक्लो सिँगान बग्ने, सँगसँगै नाक र कान जोड्ने स्टेचम ट्युब नामको नली ब्लक हुने सम्भावना हुन्छ । यसले गर्दा कानको समस्या पनि बढ्न सक्ने हुन्छ ।

    यति मात्र होइन, वायु प्रदूषणले नाक, कान अनि छाती सबैलाई असर पार्दछ । अन्तिममा गएर दम हुने कुरालाई बढाउँछ । घाँटीमा खसखस हुने, चिलाउने, सुख्खा खोकी लाग्ने, घाँटीमा अड्किएको जस्तो हुने, घाँटी पोलेजस्तो हुने समस्या लिएर धेरै बिरामी आउने गरेका छन् । यस्ता बिरामीमा सास फेर्ने नलीमा इन्फेक्सन भई कालान्तरमा दम नै हुन सक्छ । दैनिक ४०–५० जना नाक, कान, घाँटीका बिरामी स्वास्थ्य परीक्षणका लागि आउने गर्छन्, ती मध्ये एक चौथाइ बिरामी त यस्तै समस्या लिएर आउने गरेकाले पनि वायु प्रदूषणको समस्या विकराल भएको पुष्टि हुन्छ ।

    स्वच्छ हावा पाउनै कठिनाइ
    श्वासप्रश्वासका समस्या धूलो र धुवाँले बढी देखिएको छ । जसमा दमको जोखिम उच्च रहेको छ । विशेष गरी बच्चा र वृद्धलाई यो रोगले बढी मात्रामा सताउने गरेको छ । वरिष्ठ छातीरोग विशेषज्ञ डा. दीर्घसिंह बमका अनुसार धूलो–धुवाँले श्वासप्रश्वासमा गम्भीर असर पारेको छ । धूलोका कणसँगै ब्याक्टेरियाहरु नाक–मुखको माध्यमबाट फोक्सोमा प्रवेश गर्नाले दमरोगी उच्च देखिएका छन् । आफूकहाँ आउने बिरामीमध्ये दमको समस्या लिएर आउने ३० प्रतिशतको हाराहारीमा रहेका डा. बम बताउँछन् । मास्क लगाए पनि आँखाले देख्न नसक्ने धूलोका कणहरु पस्न सक्छन् । मसिना कणले मुख, घाँटी, फोक्सो र रक्तनलीलाई समेत असर पुर्याउने डा. बम बताउँछन् । धूलोकै कारण आँखा र छालाका रोगी पनि बढ्दै गएका छन् । विशेषगरी काठमाडौंमा स्वच्छ हावा लिन मिल्ने कुनै ठाउँ नै देख्दैनन् डा. बम । उनी भन्छन्– ‘काठमाडौंको जतासुकै जानुस्, प्रदूषणले गर्दा स्वास नै फर्न कठिन, अनि रोग लाग्ने त भइहाल्यो नि ।’

    दमको उच्च जोखिम
    विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा प्रत्येक वर्ष वायु प्रदूषणका कारण हुने विभिन्न रोगबाट १० हजार मानिसले ज्यान गुमाइरहेका छन् । त्यसमध्ये मुटु रोग, स्ट्रोक र श्वासप्रश्वास सम्बन्धी समस्या मुख्य रहेको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ एवं फिजिसियन डा. हरिहर खनालका अनुसार वायुमा मिश्रित स–साना धूलोका कण फोक्सोमा पुगेर एलर्जी, दम, रुघाखोकीलगायत फोक्सोको संक्रमण गराउँछ । दम रोग मुख्यतः श्वासप्रश्वास प्रणालीसँग सम्बन्धित छ । जसमा श्वासनली र फोक्सोभित्रका ठूला–साना उपश्वासनलीहरु साँघुरिई अवरोध सृजना हुन्छ । त्यसपछि श्वास फेर्न गाह्रो हुन्छ ।

    डा. खनाल भन्छन्– ‘दम दुई प्रकारको हुन्छ, मुटुको दम अनि फोक्सोको दम ।’ उनका अनुसार मुटु सुन्निएर, भल्भहरु लिक भएर, साँगुरिएर, पानी जमेर जब मुटुले गर्नुपर्ने काम गर्न सक्दैन त्यसलाई मुटुको दम भनिन्छ । गर्भवतीलाई हुने मुटुको दम निको भएर जान्छ तर रक्सी खानेको ठीक हुँदैन । मुटुको बाथ भएर, हर्टअट्याक भएर, मुटुको इन्फेक्सन भएमा सन्चो हुन गाह्रो हुन्छ ।

    स्याँस्याँ हुने, सास फेर्न गाह्रो हुने अवस्थालाई फोक्सोको दम भनिने गरेको डा. खनाल बताउँछन् । उनका अनुसार फोक्सोमा सास लैजाने पाइप हुन्छ, जुन रुखको हाँगाजस्तै फैलिएको हुन्छ । तिनीहरु ब्लक भएर, साँगुरिएर वा थुनिएर कुनै कारणले सास फेर्न गाह्रो भयो भने फोक्सोको दम हुन्छ । फोक्सोको दम फोक्सोकै वरिपरि पानी जमेर, फोक्सोमा टीबी भएर हुन सक्छ । चुरोट खानेलाई अनि प्रदूषणले पनि यो समस्या निम्तिन सक्छ ।

    विशेषतः राजधानी काठमाडौंमा प्रदूषणयुक्त धूलोका कणहरु मन्द विषजस्तै फैलिराखेकाले धूलो सोस्ने कुनै आधुनिक प्रविधि भित्र्याएर यसको नियन्त्रण गर्नु जरुरी भइसकेको छ ।

    दमको लक्षण
    दमको मुख्य लक्षण खोकी लाग्ने, खोक्दा खकार निस्कने, श्वास फेर्न गाह्रो हुने हुन्छ । शुरुमा हिँड्दा, उकालो–ओरालो गर्दा श्वास बढ्छ । पछि गएर बसिरहँदा पनि श्वास बढ्न सक्ने वरिष्ठ मुटुरोग विशेषज्ञ एवं फिजिसियन डा. खनाल बताउँछन् । यसबाहेक कसै–कसैलाई छाती दुख्ने पनि हुन सक्छ । दम भएका मानिसलाई खोक्दा रगत आउने पनि हुन्छ । क्रोनिक ब्रोङ्काइटिस रोगमा रगत आउँछ । समग्रमा भन्दा दमका मुख्य लक्षणहरुमा श्वास लिन कठिनाइ, सुत्न असजिलो, खोकी, निद्रामा बेचैनी, थकावट आदि नै हुन् ।

    दम हुनुको कारण
    वरिष्ठ छातीरोग विशेषज्ञ डा. दीर्घसिंह बमका अनुसार एलर्जी, सुर्तीजन्य पदार्थको सेवन, श्वासनली र फोक्सोको संक्रमण, आनुवांशिक, मौसम, मोटोपन, तनाव आदिले गर्दा दम हुने सम्भावना बढ्छ । वातावरण प्रदूषणले झनै दम रोग लाग्ने सम्भावना हुन्छ । धेरै नेपालीलाई क्रोनिक ब्रोङ्काइटिस भएर दम हुन्छ । किनभने यो चुरोट खाने, धुवाँमा बस्नेलाई बढी हुन्छ । यसबाहेक सानोमा छातीको संक्रमण वा क्षयरोग हुनेलाई पनि पछि गएर दम हुने सम्भावना बढी हुने वरिष्ठ मुटुरोग विशेषज्ञ एवं फिजिसियन डा. हरिहर खनाल बताउँछन् । यस्ता रोगले फोक्सो बिगारेको छ भने शुरुमा खोकी लाग्ने, खकार आउने हुन्छ र पछि गएर दम हुने सम्भावना बढ्छ । त्यस्तै, मुटुको रोगले गर्दा पनि बिरामीलाई श्वास फेर्न गाह्रो हुने उहाँको भनाइ छ ।

    चुरोट खानेलाई मात्र होइन, अम्मलीको वरिपरि बस्नेलाई पनि दमरोग हुन सक्छ । त्यस्तै, गर्भवती महिलाले चुरोट खान्छिन् भने बच्चालाई पनि दम हुने सम्भावना रहन्छ । वातावरणप्रति बढी संवेदनशील व्यक्तिलाई पनि दम हुन सक्छ । कसैलाई खाद्यवस्तुको एलर्जीले पनि दम हुन्छ । बाल्यावस्थामा छातीको संक्रमण, न्युमोनिया, ब्रोङ्काइटिस भएका व्यक्तिलाई सामान्य रुघाखोकी लाग्नासाथ दम–खोकी शुरु हुन सक्छ ।

    डा. हरिहर भन्छन्– ‘आफैंले विचार गर्नुस् न, बन्द कोठाभित्र त आफैं धूलो बस्छ भने यति प्रदूषित शहरमा धूलोले हाम्रो शरीरलाई कति असर पारेको होला ?’ उहाँका अनुसार श्वासको माध्यमबाट धूलो फोक्सोमा पुगी टाँसिएर बस्छ र यसको कारण फोक्सोको लचकता घटेर जान्छ । लचकता घटेपछि श्वासप्रश्वासको नलीको गुणात्मक महत्व पनि घट्छ ।

    अक्सिजन लिने र कार्बनडाइअक्साइड फाल्ने अनि रगत पम्प गर्ने जुन प्रक्रिया छ त्यो प्रक्रिया ड्यामेज हुँदै जान्छ । त्यसपछि बिस्तारै दीर्घकालीन रुपमा खराबी आउँछ । दमको कारक नै प्रदूषण हो । डा. खनाल अहिलेको जस्तै धूलो–धुवाँ रहिरहने हो भने अबको २०–२५ वर्षपछि काठमाडौंका ५ देखि १० प्रतिशत जनतामा क्यान्सरको जोखिम निम्तिने बताउँछन् ।

    रोकथाम तथा उपचार
    डा. दीर्घसिंह बम भन्छन्–‘हामीले गर्न सक्ने भनेको सकेसम्म धुलाम्मे बाटो नहिँड्ने, धेरै फिल्टर गर्नेवाला मास्क लगाउने, शरीर छोपेर हिँड्ने, दिउँसो कमभन्दा कम बाहिर एक्सपोज हुने, टोलमा धूलो छ भने पानी छर्कने हो ।’ स्वस्थ जीवनशैली अपनाउने, मर्णिङ वाक जानुपरे बिहान जाने, केही समस्या परे चिकित्सक भेटिहाल्ने उहाँको सुझाव छ । त्यस्तै पुरानो अमिलो अचार, अमिलो दही, अमिलो मही आदि नखाने सल्लाह दिन्छन् चिकित्सकहरु । साथै दमबाट बच्न धुवाँ–धूलो, चिसो, अस्वस्थकर वातावरणबाट जोगिनु जरुरी छ ।

    छातीको कुनै संक्रमण देखियो भने चेकजाँच गराएर छातीरोग विशेषज्ञको सल्लाहअनुसार औषधोपचार गराउनुपर्छ । दमको उपचार रोग हेरेर हुन्छ । विभिन्न किसिमका रोगका कारण श्वास फेर्न गाह्रो हुने भएकाले पहिले कुन रोगका कारण श्वास फेर्न गाह्रो भयो भन्ने पत्ता लगाउनुपर्छ र त्यस रोगको उपचार गर्नुपर्छ । डा. हरिहर खनाल भन्छन्– ‘दमका रोगीले खाने, पिउने, सुँघ्ने औषधि पाइन्छ । बिरामीले औषधि खाने र सुँघ्ने विधि जान्नु जरुरी छ । विशेषज्ञले विभिन्न औषधि उपचारको माध्यमले दमको रोग व्यवस्थापन गरेर दैनिक जीवनलाई सहज बनाउन सक्छन् । त्यसैले विशेषज्ञ डाक्टरको सल्लाह अनुसार उपचारमा लाग्नुपर्छ ।

    धूलो, धुवाँ काठमाडौंका साझा समस्या हुन् । यसबाट आजित नहुने कोही छैन । सबै रोगी हुन बाध्य छन् । यस्तो प्रदूषित वातावरणको अन्त्य कहिले होला ? दम तथा फोक्सोको समस्या मात्र होइन यसले दीर्घकालीन क्यान्सरजस्तो रोग निम्त्याउने संकेत दिइसकेको छ । त्यसैले आमजनता आफैंले पनि सावधानी अपनाउनुपर्ने देखिन्छ ।

    पानी पर्दा बाटो पूरै हिलो हुन्छ भने पानी नपर्दा धूलो–धुवाँले कुइरीमण्डल बन्ने गरेको छ राजधानी काठमाडौं । धूलो मापन गर्ने यन्त्र मात्र जडान गरेर हुँ दैन, धूलो नियन्त्रण गर्ने उपाय पनि खोज्नु जरुरी छ । धूलो–धुवाँ नियन्त्रण गरेर सर्वसाधारणको स्वास्थ्यमा पर्न गइरहेको असर न्यूनीकरण गर्नु सरकारको दायित्व पनि हो ।

    Comment

    Related News 

    © 2016 All right reserved to

    %d bloggers like this: