मनास्लु हिमालको शिखर चुमेपछि…


‘मलाई हिमालप्रतिको मोह जागेको धेरै भएको छैन । म फोटो पत्रकारिता गर्दैन थिएँ भने म हिमाललाई पच्छ्याउँदिन थिएँ होला । म क्यामेरामा नयाँ–नयाँ दृश्य र फरक वस्तुहरूको दृश्य कैद गर्न निकै आतुर हुन्छु ।’

कहिले हिमाल पुग्छु, कहिले पहाड त कहिले तराईका समथर भूमिमा पुग्छु । फोटोको लागि प्रायः उपत्याकामा बढि घुमिरहने म जब एभरेष्ट बेसक्याम्प पुगेँ अनि मलाई हिमालप्रतिको मोह बढ्यो । मलाई हिमालले मोहनी लगाएछ । रातदिन तिनै सेता अनि चम्किला हिमालको दृश्यले मलाई छाडेन । सपना र विपनामा मलाई हिमालले च्यालेञ्ज दिइरह्यो । मलाई त हिमाली दृश्यले पागल नै बनाएर छाड्यो ।

एभरेष्ट बेसक्याम्प पुगेर फर्केलगत्तै मलाई मनाङतर्फको मनास्लु पदमार्गको भ्रमण गर्ने अवसर मिल्यो । चार दिनको भ्रमणले मलाई मनास्लु हिमालको आरोहण गर्ने उर्जा दिलायो । सोहीअनुरुप मैले योजना बुन्न थालेँ । मैले सोधेँ, ‘कति लाग्छ मनास्लु हिमाल चढ्नको लागि ?’ जवाफ आयो– ‘घटिमा पनि पाँच लाख ।’ एकातिर हिमाल आरोहणको भूत चढिसक्यो भने अर्कोतिर आर्थिक सङ्कट पनि उस्तै । एउटी केटी मान्छे । कसरी जुटाउने यतिका रकम ? मैले एउटा उखान सम्झेँ– तँ आँट म पुर्याउँछु ! सोहीअनुरुप नै मैले हिमाल चढिछाड्ने निधो पनि गरेँ । २–४ महिनाको योजना बुनाइपछि मैले मनास्लु अर्थात माउन्ट किलरको नामले विख्यात मनास्लु हिमालको आरोहणको तयारीमा लागेँ ।

अन्तिम तयारी पनि सकियो । साइत गरेर हिँड्ने दिन पनि आयो । अब गोरखास्थित घरमा गएर बा–आमाको आर्शिवाद लिएर आरुघाटबाट यात्रा शुरु गर्ने निधो भए पनि बाटो अबरुद्ध भएकोले म घर नगई मनाङ खण्डबाट जाने तयारीका साथ काठमाडौंबाट निस्किएँ ।

पहिलो दिनको बास लमजुङ सदरमुकाम बेसीशहरमा भयो । भोलिपल्ट बिहान सबैरे उठेर मनाङ जाने जीप समातेर मनाङतर्फ निस्किएँ । अन्नपूर्ण पदमार्गमा जीपको यात्रा गर्दै धारापानी ओर्लिएँ । धारापानीबाट शुरु भयो मेरो पैदलयात्रा । धारापानीबाट मनोरम बस्ती तिल्चे हुँदै दोस्रो दिनको बास मनाङको पर्यटकीय क्षेत्र गोवामा भयो । त्यहाँका पर्यटन ब्यवयायी गुनराज र डिलराम गुरुङले सहयोग गरे । तेस्रो दिनको यात्रा गोवाबाट भिमथाङसम्म भयो । साँझ भिमथाङमा बास बसियो । भिमथाङ क्षेत्र मनास्लु पदमार्गको प्रख्यात ठाउँ पनि रहेछ । यहाँ निर्माण गरिएका सुविधासम्पन्न होटेलले विदेशीको मन लोभ्याउँछ । वडा अध्यक्ष समेत रहेका पर्यटन ब्यवसायी धनबहादुर गुरुङले भीमथाङमा मलाई साथ दिए ।

चौथो दिन गोरखाको साम्दो, पाँचौँ दिन सामागाउँ र छैटौं दिनमा मनास्लु बेसक्याम्पमा बास पर्यो । मानव बस्ती जब सकियो तब मेरो मनमा एकखालको खुल्दुली पैदा हुन थाल्यो । अब के हुने हो । मसँगै गएका सहयोगी, पथप्रदर्शक र साथीहरुले हौसला दिँदै गए । बाटोमा म पहिलोपटक मनास्लु आरोहणका लागि आएको भन्दा सबैले मलाई हाँसोमा पनि उडाए । तर म आत्मविश्वासका साथ अघि बढेँ ।

बेसक्याम्प पुग्दा त फरक संसारमा आएका जस्तो भान भयो । जता हेरे पनि हिमाल । डाँडाभरि बनाइएका टेन्टले झनै रातलाई रमाइलो बनायो । टेन्टभित्र सुत्दाको आनन्द छुट्टै रह्यो । हल्का टाउको दुखे पनि रमाइलोका कारण सारा थकाई मर्यो ।

बेसक्याम्पबाट मनास्लु हिमाल आरोहणका लागि जाने बाटो निकै असजिलो रहेछ । पर्यटकहरु २–३ दिनसम्म बेसक्याम्पबाट क्याम्प वान, टु, थ्रि र फोर सम्म पुगे बाटो बनाउने अनि अभ्यास गर्ने गर्दा रहेछन् । हामीले पनि त्यसै गर्यौँ । बेसक्याम्पको चार दिनको बसाई निकै आनन्दित भयो । चार हजार ६ सय मिटरको उचाईमा रहेको यो क्षेत्रमा अत्याधिक जाडो पनि । एकातिर जाडो अर्कोतिर कसरी हिमाल चढ्ने भन्ने चिन्ता । सबैको नजरमा म कमजोर पनि सावित भइसकेको थिएँ । म सँगै गएका पाँच महिलामध्ये हामी दुईजना नेपाली नै थियौँ । बाँकी तीनजना विदेशी महिला पनि थिए । यसका साथै गाइड र अन्य सहयोगी पनि थिए साथमा । उनीहरूको माया, सहयोग र साथले मलाई थप उर्जा मिल्यो ।

बेसक्याम्पबाट रातको १२ बजे मनास्लु आरोहणका लागि हाम्रो यात्रा तय भयो । राती टर्च बालेर डोरीको सहायताबाट हिउँलाई पन्छाएर गन्तब्यतिर लागेँ । निकै संघर्षपछि बल्ल भूस्वर्ग जस्तै लाग्ने मनास्लुको शिखर चुम्न सफल भएँ ।

अन्ततः मैले सेप्टेम्बर १४ तारिखका दिन बिहान ७:३० बजे ८१६३ मिटर अग्लो मनास्लु हिमालको चुचुरोमा पाइला टेक्न सफल भएँ । चुचुरोमा नेपालको राष्ट्रिय झण्डा र मेरो बाजेको फोटो देखाएँ । मलाई संसार जितेको भान भयो । गर्व लाग्यो । खुशीको सीमा नै रहेन । सधैं मनास्लुको चुचुरोमै बसीरहुँ जस्तो लाग्यो मलाई । तर के गर्ने फर्किनैपर्यो ।

बिस्तारै त्यसै दिन बेसक्याम्प आएर बास बस्यौँ । हिमाल चढेर फर्किएपछि म रजस्वला भएँ । एकातिर जाडो र अप्ठेरो हिमाली बाटो अर्कोतिर ब्यक्तिगत समस्या । दुबैलाई जितेर आफूले लिएको लक्ष्य भने पूरा गर्न सकेकोमा असीम सन्तोष मिल्यो ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: